चल्तीमा अनलाइन चेस

राजु घिसिङ

काठमाडौँ — मार्सल आर्ट्समा विशेषगरी फाइटका स्पर्धामा सफलता प्राप्त गर्न प्रतिस्पर्धीलाई पराजित गर्नैपर्छ । यसमा एकले अर्कालाई किक–पन्च प्रहार गर्ने र टेक्निक लगाएर पछार्ने हुन्छ ।

चल्तीमा अनलाइन चेस

फुटबल, बास्केटबललगायत टिम गेममा पनि प्रतिस्पर्धी गरिरहँदा दुई टिमका खेलाडीको शारीरसँग सम्पर्क हुन जान्छ नै ।

चेस (बुद्धिचाल) भने यस्तो खेल हो जहाँ आफ्नो टिम वा प्रतिस्पर्धीसँग शारीरिक रूपमा सम्पर्क हुँदैन । तर यस खेललाई पनि कोरोना भाइरस (कोभिड–१९) को महामारीले असर गरेको छ । यसबीच चेसको अनलाइन प्रतिस्पर्धा बाक्लिएको छ । सरकारले महामारीका कारण चैत ११ देखि लकडाउन घोषणा गरेयता चेसको गतिविधिबारे नेपाल बुद्धिचाल संघका सचिव धरमबहादुर लामाले भने, ‘नेपालमा वार्षिक रूपमा झन्डै १ सय प्रतियोगिता हुन्छ । त्यसमध्ये संघको अफिसियल प्रतियोगिता ४–५ वटा हुन्छ । अरू प्रतियोगिता जिल्ला, क्लब र संस्थाहरूले गर्छन् । लकडाउन लागू भएपछि खेलाडीबीच प्रत्यक्ष भेटघाट बन्द भए पनि विभिन्न संस्था र क्लबहरूले ५० वटा जति अनलाइन चेस प्रतियोगिता गरिसकेका छन् ।’

संघले पनि अनलाइन प्रतियोगिताको घोषणा गरेको छ, नेसनल अनलाइन चेस च्याम्पियनसिप । विभिन्न उमेर समूहमा महिला र पुरुषको गरी १५ स्पर्धा समावेश गरिएको यो च्याम्पियनसिप असार १९ देखि साउन २८ गतेसम्म चल्नेछ । ‘मानिस उपस्थित भएरै खेल्ने प्रतियोगिता आयोजना गर्न सरकारको इजाजत लिनुपर्छ, जुन यसबेला सम्भव छैन,’ सचिव लामाले भने, ‘विश्व बुद्धिचाल महासंघ (फिडे) तथा एसियाली बुद्धिचाल महासंघले पनि जुलाई २०२० सम्म एउटै स्थानमा भेला भएर खेल्ने प्रतियोगिता स्थगित गर्न निर्देशन जारी गरिसकेको छ । त्यसैले हामी पनि अनलाइन प्रतियोगितामै गएका हौं ।’

शारीरिक रूपमा एउटै स्थलमा भेला भएर खेल्नु र अनलाइनमार्फत प्रतिस्पर्धा गर्नुमा के फरक ? ‘कोभिड–१९ का कारण अहिले एकअर्कालाई भेट्न र समूहमा रहेर खेल्न मिल्दैन । भर्चुअल भए पनि खेल्न सकिरहेका छौं, मुख्य यही हो,’ आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी सुजना लोहनी भन्छिन्, ‘बोर्ड चाहिँदैन, इन्टरनेट भएपछि अनलाइन चेस जहाँ बसेर पनि खेल्न सकिन्छ ।’ अनलाइन चेस खेल्दा खेलाडीले कम्प्युटर प्रोग्राम प्रयोग गर्न सक्नेमा पनि ध्यान दिनुपर्ने उनले बताइन् ।

सुजनासहित नेपालका ६ खेलाडीले गत महिना सम्पन्न एसियन जुनियर एन्ड गर्ल्स अनलाइन चेस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए, जहाँ उनीहरूको चुनौती जोनल ३.२ को छनोटमै टुंगिएको थियो । २० वर्षीया सुजनाले स्वदेशमा भएका अनलाइन चेस प्रतियोगिता बिरलै गुमाएकी छन् । भन्छिन्, ‘यो बेला खासै काम छैन । त्यसैले धेरै खेलेकी छु । २–३ वटा प्रतियोगितामात्रै खेलिनँ । मुख्य स्पर्धामा एकपल्ट दोस्रोसम्म भएँ, शीर्ष २० मा २–३ पल्ट छिरेकी छु ।’ उनले थपिन्, ‘शारीरिक रूपमा एउटै ठाउँमा उपस्थित भएर खेल्दा मानसिक रमाइलो लाग्थ्यो । घरमै बसेर खेल्दा फ्रेस महसुस भएन, त्यति रमाइलो चाहिँ लागेको छैन । तर, यात्रा गर्दाको थकान पनि भोग्नुपरेको छैन । यस बेला धेरै अभ्यास गर्न पाएकी छु ।’

नेसनल अनलाइन चेस च्याम्पियनसिपको लागि संघले खेलाडी दर्तालगायतका सबै प्रक्रिया पनि अनलाइनबाटै गरेको छ । आयोजक कमिटीको भर्चुअल बैठक हरेक दिन दिउँसो १ बजे र बेलुकी ८ बजे भइरहेको छ । ‘सोमबारसम्म ७८ खेलाडीले नाम दर्ता गरेका छन्,’ सचिव लामाले भने, ‘सुरुका दुई स्पर्धाका लागि २७ जना खेलाडी भइसकेका छन् ।’ प्रतियोगिता स्विस प्रणालीअनुसार सञ्चालन हुनेछ ।

संघ आफैंले पहिलोपल्ट आयोजना गर्न लागेको भर्चुअल प्रतियोगितामा महिला र पुरुषका यू–८, यू–१०, यू–१२, यू–१४, यू–१६, यू–१८ र यू–२० गरी १४ स्पर्धा समावेश गरिएको छ भने ५० वर्षमाथिका खेलाडीले भेट्रानको रूपमा प्रतिस्पर्धा गर्नेछन् । संघले जनाएअनुसार सप्ताहन्तका रूपमा प्रतियोगिता हुनेछ र यस्तोमा महिलाको स्पर्धा शुक्रबार हुनेछ भने पुरुष खेलाडीले शनिबार प्रतिस्पर्धा गर्नेछन् ।

महामारीका कारण खेल गतिविधि ठप्प हुनुअघि नेपालमा भएको चेसको अन्तिम हो, पीबी थापा स्मृति केसीसी इन्टरनेसनल ओपन । नाइट चेस क्लबले झापाको काँकडभिट्टामा फागुन २१–२५ मा आयोजना गरेको प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका १ सय ३२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । संघ आफैंले औपचारिक प्रतियोगिताको रूपमा गत कात्तिकमा १५ हजार ५ सय डलर पुरस्कारको एसियन एमेच्योर चेस च्याम्पियनसिप र साउनमा टिम च्याम्पियनसिप गरेको थियो । सचिव लामाले भने, ‘सन् २०२० को तालिका तयार गरिसकेका छौं । महिला र पुरुषका खुला राष्ट्रिय प्रतियोगिता र ट्रेनिङहरू छठपछि हुनेछन् ।’

नेपालमा फिडे रजिस्टर्ड खेलाडी ३,२४३ जना छन् भने रेटेड (फिडेको वरीयताप्राप्त) खेलाडी संख्या ९२२ छ । संघको चुनावी साधारणसभा पनि लकडाउनको कारण स्थगित भयो, जुन चैत २९ लाई तोकिएको थियो । त्यसयता अर्को मिति तय गरिएको छैन ।

प्रकाशित : असार १६, २०७७ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?