३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

५०० विकेटनजिक ब्रोड

बिनादर्शक खेल्ने ब्रोडलाई बानी नै छैन, यसपल्ट यही पृष्ठभूमिमा नखेलेर सुख पनि छैन
द गार्डियन

लन्डन — आँखा चिम्लेर एकपल्ट स्टुवार्ट ब्रोडले खेलेका उत्कृष्ट क्षण सम्झौं त ? त्यो दृश्यमा दृश्य मात्र छैन, आवाज पनि छ ।

५०० विकेटनजिक ब्रोड

सन् २००९ को ओभल । सन् २०११ मा भारतविरुद्ध ह्याट्रिक । सन् २०११ मा ट्रेन्ट ब्रिजमा भएको खेलको बिहानी सेसन । र, सन् २०१६ मा जोहानेसबर्ग । यी दृश्यमा ब्रोड ब्याट र बलमा बोलेको हेर्न पाइन्छ । अनि पृष्ठभूमिमा पूरा भरिएको रंगशालाका दर्शकको आवाज पनि । टेस्ट क्रिकेट भनेको यस्तै हुन्छ र यसमा ब्रोड खुबै सुहाउने खेलाडी हुन् ।

अर्को साताको बुधबारबाट वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज सुरु हुँदै छ । ब्रोड खुबै मन लगाएर सोचिरहेका छन्, दर्शकविनाको खेल कस्तो हुँदो हो ? उनी भन्छन्, ‘म त चिन्तित छु भन्दा हुन्छ ।’ साउथह्याम्पटनको अगेस बाउलमा उनी अभ्यासरत छन् र यो प्रशिक्षक ‘बायो सेक्योर’ छ । ‘म त्यही बेला राम्रो खेल्छु, जतिबेला खेल रोमाञ्चक मोडमा हुन्छ । अभ्यास खेलमा भन्दा म पक्कै पनि एसेज सिरिजमा राम्रो गर्छु । ठूला अवसरमा म बढी खुल्ने गर्छु,’ ब्रोड भन्छन् ।

यो महिनाको सुरुदेखि उनी एउटा काममा खुबै व्यस्त छन् । यो हो, मनोविज्ञ डेविड योङसँग ठोस सरसल्लाह । बिनादर्शक खेल्ने ब्रोडलाई बानी नै छैन तर यसपल्ट यही पृष्ठभूमिमा नखेलेर सुख पनि छैन । उनी भन्छन्, ‘यस्ता परामर्शले राम्रो काम गर्ने रहेछ । अहिले हामी बढी ब्याट्सम्यान र बलरको कमजोरीप्रति केन्द्रित छौं । अबको सिरिजमा हामीलाई समर्थकको साथ हुन्न । हामी निश्चिन्त हुन चाहन्छौं, दर्शनबिनाको टेस्ट सिरिजमा ।’

क्रिकेटको सबै कालखण्डमा विपक्षी खेलाडीसँगको गरम जोसको प्रतिद्वन्द्विताले फाइदा नै गरेको छ । वेस्ट इन्डिज टिमका कप्तान जेसन होल्डर र ब्रोडबीचको सम्बन्ध यस्तै छ, अलिकति माया र अलिकति घृणा । दुवै एकापसमा मुखामुख हुने गरेका छन्, चर्को शब्दको मद्दतले । त्यसैले ब्रोड भन्छन्, ‘यसपल्ट यो संघर्ष चल्नेछ । तर यो बीचमा बुबाको उपस्थितिले अलिकति गाह्रो बनाएको छ ।’

भएको के छ भन्दा वेस्ट इन्डिजबीचको सिरिजमा म्याच रेफ्री हुनेछन्, क्रिस ब्रोड । अर्थात् उनका बुबा । उनी अर्को स्थिति बुझ्न पनि आतुर छन् । पहिलो टेस्ट सुरु हुने जुलाई ८ को बिहान लगभग शान्त र शून्य स्थितिमा कसरी खेल सुरु हुनेछ त ? त्यसो त काउन्टी क्रिकेटमा पनि अपार दर्शक कहाँ हुने हो र ? कहिलेकाहीं त हातैले दर्शक पनि गन्न सकिन्छ । त्यसैले कम्तीमा इंग्लिस टिम भाग्यमानी मान्नुपर्छ, यसले जहाँ–जहाँ खेल्छ, त्यहाँ दर्शकको अभाव हुन्न । उनका लागि त अहिले फेरि क्रिकेट सुरु हुनु पनि ठूलै उपलब्धि रहेको छ, नत्र यो सिरिज पनि हुने नहुने टुंगो थिएन ।

ब्रोड ३४ वर्षका भइसके । सायद अब उनको खेलजीवन धेरै लामो छैन । उनका लागि सबैभन्दा ठूलो लक्ष्य हो, ५ सय विकेट । अहिले नै उनले ४ सय ८५ विकेट लिइसके, त्यसैले त्यो उपलब्धिको उनी नजिक छन् । यो कम्ती ठूलो उपलब्धि होइन, टेस्ट क्रिकेटमा ५ सय विकेटले खास अर्थ राख्छ । उनी यो उपलब्धि गुमाउन चाहँदैनन् । फेरि यो सिरिजमा राम्रो गर्न सकेनन् भने ब्रोड निश्चिन्त छैनन्, फेरि फेरि मौका पाउँछु भन्नेमा । त्यसैले उनी दर्शनबिना खेल्न पनि तम्तयार छन् ।

प्रकाशित : असार १६, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?