पाकिस्तानी टोली इंग्ल्यान्ड भ्रमणमा

एजेन्सी

कराँची — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका १० खेलाडीबिनै पाकिस्तानी क्रिकेट टोली आइतबार इंग्ल्यान्ड भ्रमणमा निस्किएको छ ।

पाकिस्तानी टेस्ट टोलीका कप्तान अझर अलीले आफूहरू इंग्ल्यान्डमा गएर खेल्न आतुर रहेको जनाएका छन् । कोरोनाको महामारीसँग रोकिएयता टेस्ट म्याच हुन सकेको छैन । पाकिस्तानले त्यसयता पहिलो पटक टेस्ट खेल्न लागेको हो । इंग्ल्यान्डले पाकिस्तानसँग खेल्नुअघि वेस्ट इन्डिजसँग खेल्नेछ । त्यसका लागि वेस्ट इन्डिज यसअघि नै इंग्ल्यान्ड आइसकेको छ ।

‘कठिन परिस्थितिपछि सबै खेलाडीहरू उत्साही छन्,’ अलीले इंग्ल्यान्ड प्रस्थान गर्नुअघि भने, ‘कठिन स्थितिमा इंग्ल्यान्ड भ्रमणमा जाँदैछौं, त्यसै पनि इंग्ल्यान्डसँग खेल्नु चुनौती छ । हामीले त्यहाँ गरेको पछिल्लो दुई भ्रमणको प्रदर्शनले राम्रो खेल्न प्रेरणा दिनेछ, हामीले त्यसैलाई निरन्तरता दिने प्रयास गर्नेछौं ।’ पाकिस्तानले २०१६ को इंग्ल्यान्ड भ्रमणको चार टेस्ट शृंखलामा २–२ तथा दुई वर्षअघि दुई टेस्ट शृंखलामा १–१ को नतिजा निकालेको थियो ।

चार्टर गरिएको प्लेनमा २० खेलाडी पाकिस्तान लागेका थिए, त्यसमा दुई वैकल्पिक खेलाडी छन् । पाकिस्तान क्रिकेट बोर्डले उपलब्ध गराएको तस्बिरमा पाकिस्तानी क्रिकेट टोलीले लाहोर एयरपोर्टमा माक्स लगाएर समाजिक दूरी कायम राखेको देखिन्थ्यो । पाकिस्तानी टोली इंग्ल्यान्डमा पुगेपछि दुई साता आइसोलेसनमा बस्नेछ भने पहिलो टेस्टअघि दुई चार दिवसीय अभ्यास खेल खेल्नेछ ।

भ्रमणमा कोरोनाको संक्रमण भएका १० खेलाडीलाई समावेश गरिएको छैन । गत सोमबारमात्र सद्दाब खान, हरिश रौफ र हैदरी अललाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट फखर जमान, मोहम्मद रिजवान, वाहब रियाज, इमरान खान, मोहम्मद हफिज, मोहम्मद हस्नाइन, कासिफ भाटीमा कोरोना संक्रमण भएको थियो । त्यसमा पछि पुनः परीक्षण गर्दा ६ जनाको रिपार्ट नेगेटिभ आएको हो । तर लगातार दुई पटक नेगेटिभ नतिजा आएपछि मात्र खेलाडी पाकिस्तानी टोलीमा समावेश हुन पाउनेछन् । पाकिस्तानले अगस्टमा इंग्ल्यान्डसँग तीन टेस्ट र तीन ट्वान्टी–२० खेल्ने कार्यक्रम छ ।

प्रकाशित : असार १५, २०७७ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्

इतिहासमै बिलाए ‘आरबी राजा’

खासमा उनी आफैं फुटबल खेलाडी थिए, उनको वास्तविक परिचय फुटबल खेलाडीकै रूपमा थियो । उनी त्यो समयका खेलाडी थिए, जति बेला राणशासनबाट फुटबल सर्वसाधारणमा हस्तान्तरण भएको थियो । उनलाई नेपाली फुटबलको ठ्याक्कै पहिलो पुस्ताका खेलाडी भन्दा हुन्छ ।
हिमेश

काठमाडौँ — सन् १९९३ को डिसेम्बर टुंगिनै लागेको थियो, छैटौं दक्षिण एसियाली खेलकुदका लागि बंगलादेशको ढाकामा रहेको नेपाली टिमको तनाव भने बढ्दै थियो ।

तनावको पारो उत्कर्षमै थियो भन्दा हुन्छ । नहोस् पनि किन र ? प्रतियोगिता सकिन एकै दिन जतिमात्र बाँकी थियो तर नेपालले एउटै स्वर्ण जित्न सकेको थिएन । नेपाली टिमको अगुवाइ गरिरहेका ‘आरबी राजा’ को तनाव र आक्रोशसँगै डर सबै हेरिनसक्नु थियो ।

आखिरमा उनी राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव थिए । एउटै स्वर्ण जित्न नसक्नुले नेपाल फर्केयता कति गाह्रो हुने हो, उनलाई पनि राम्रैसँग थाहा थियो । तर नेपालको अन्तिम दिनअगाडिसम्म पनि स्वर्णको सम्भावना भने मरेको थिएन किनभने नेपाली पुरुष फुटबलको फाइनलमा पुगिसकेको थियो । प्रतिद्वन्द्वी थियो भारत । आरबी राजा एकछिन पनि चुप लागेर बस्न सकेका थिएनन् । ओहोरदोहोर गरिरहेका थिए, जहाँ जतिबेला पनि ।

उनी नेपाली फुटबल खेलाडी स्वर्ण जित्नैपर्छ भनेर उक्साइरहेका थिए । उक्साएरमात्र पुगेको थिएन । लोभ पनि देखाइरहेका थिए । नेपालले स्वर्ण जितेमा खेलाडीलाई पुरस्कारको ओइरो लाग्ने सपना देखाइरहेका थिए उनी । डिसेम्बर २६ । अन्ततः नेपालले त्यो दिन फुटबलमा स्वर्ण जित्यो नै, टाइब्रेकरमा भारतलाई हराएर । नेपाली फुटबलले आत्मसात् गरेको सबैभन्दा ठूला उपलब्धिमध्ये यो पनि एक हो । सबैभन्दा ठूलोभन्दा केही फरक पर्दैन ।

आखिरमा नेपाल स्वर्ण पदकबिना स्वदेश फकर्नुपरेन । केही दिन त नेपाली फुटबल खेलाडीले खुसीमै बिताए, तर पुरस्कारका रूपमा तिनले केही पनि पाएनन्, जस्तो वाचा गरिएको थियो ।

तत्कालीन कप्तान राजुकाजी शाक्य ती दिन सम्झेर प्रायः भावुक हुने गर्छन् । बारम्बार दोहोर्‍याएर यी सम्झना सुनाउँदा पनि थाक्दैनन् । त्यतिबेला वास्तवमै के भएको थियो त ? यो प्रश्न आरबी राजासँग सायद कहिले कसैले गर्न पाएनन् । तिनै आरबी राजा अब रहेनन् ।

उनको खास नाम थियो, राजबहादुर सिंह । उनलाई यो नामले नेपाली खेलकुदमा बिरलै चिनिन्छ । सबै उनलाई आरबी राजाकै नामले सम्झने गर्छन् । शुक्रबार उनको निधन भयो, ८८ वर्षको उमेरमा । उनी लामो समयदेखि बिरामी थिए, सार्वजनिक रूपमा देखा पर्न छाडेको धेरै भइसकेको थियो । नेपाली मिडियासँगको अन्तिम कुराकानीमा उनले के स्वीकारेका छन् भने परिषद्मा रहेर उनले खासै काम गर्न सकेनन् । किनभने काम गर्न सक्ने वातावरण नै थिएन ।

यो विषयमा उनलाई चित्तदुखाइ थियो, अफसोच पनि । ढाका जानुअगाडि त्यो स्वर्ण पदक विजेता नेपाली टिमबारे उत्तिकै चर्को विवाद भएको थियो । त्यो समय गणेश थापा आफ्नो खेलजीवनको सबैभन्दा बढी लयमा थिए तर उनी नै टिममा परेनन् । उनलाई बेइज्जतीपूर्ण तरिकाले टिमबाट निकालिएको थियो । उनीमाथि ठूलै अन्याय भएको थियो भन्दा पनि हुन्छ । त्यो टिममा आफू किन परिनँ, स्वयं थापा यसलाई लिएर सधैं गुनासो र चित्तदुखाइ गरिरहन्छन् ।

एउटा तथ्य के निश्चित थियो भने आरबी राजा ढाकाको त्यो स्वर्ण पदकमा भने असाध्यै खुसी भएका थिए । यसको कारण नेपालले आखिरमा एउटा स्वर्ण त जित्यो भन्नेमा मात्र थिएन । खासमा उनी आफैं फुटबल खेलाडी थिए, उनको वास्तविक परिचय फुटबल खेलाडीकै रूपमा थियो । उनी त्यो समयका खेलाडी थिए, जतिबेला राणा शासनबाट फुटबल सर्वसाधारणमा हस्तान्तरण भएको थियो । उनलाई नेपाली फुटबलको ठ्याक्कै पहिलो पुस्ताका खेलाडीभन्दा हुन्छ । उनको परिचय त्यत्तिकै सकिन्न । उनी पहिलो पुस्ताका खेलाडी मात्र थिएनन्, त्यो पुस्ताका सबैभन्दा राम्रा खेलाडी पनि थिए । त्यो जमानामा आरबी राजाले खेल्दैछ भने त्यो नै धेरै हुन्थ्यो, सर्वसाधारणलाई फुटबल हेर्न जानका लागि । उनले सबैभन्दा बढी विद्या व्यायाम मन्दिरबाट खेले । यो टिम सुशील मशेरको थियो । बागदरबारको टिमभन्दा पनि हुन्छ । यो टिमलाई सर्वसाधारणले खुबै मन पराउँथे किनभने यो टिमले भलाद्मी फुटबल खेल्थ्यो ।

नत्र त्यो जमानामा फुटबल भन्नुको अर्थ डरलाग्दोसँग फाउल खेल्ने जमाना न थियो । जसले बढी ज्यानमारा फुटबल खेल्न सक्यो, त्यही खेलाडी राम्रो । आरबी राजा स्वयं भने फरवार्डका राम्रै खेलाडी थिए । उनले एकै साल मात्र एनआरटीका लागि खेले । अब त विद्या व्यायाम मन्दिर टिम पनि रहेन । नत्र यसले ०२२ सालमा सहिद स्मारक लिग जितेको थियो र त्यसका एक सदस्य यिनै आरबी राजा पनि थिए । टिमका अन्य केही नाम चलेका खेलाडी थिए, हर्क गुरुङदेखि अफ्ताब उद्दिन ।

अफ्ताब उद्दिनलाई पनि आरबी राजालाई लिएर धेरै सम्झना छन् । उनी पनि मान्छन्, आफ्ना यी साथी खेलाडी अब्बल दर्जाका थिए । आरबी राजालाई लिएर सबैभन्दा उल्लेखनीय पक्ष हो, सन् १९६३ को आगा खाँ गोल्डकपको प्रसंग । यो त्यही प्रतियोगिता जसलाई नेपालले औपचारिक रूपमा विदेशी भूमिमा खेलेको पहिलो मानिन्छ । आरबी राजा त त्यस टिमका कप्तान पनि थिए । त्यो टिम नरशमशेरले बनाएका थिए । अब नरशमशेरले बनाएका कप्तान कम्तीको हुन्थ्यो होला त ?

त्यो प्रतियोगिता तत्कालीन पूर्वी पाकिस्तानमा भएको थियो । त्यसो भनेको अहिलेको बंगलादेश । खेल भने ढाकामै भएको थियो । खासमा आरबी राजा भित्री काठमाडौंका रैथाने थिए । उनको पुर्ख्यौली घर असनमा थियो । जन्मिएका थिए भारतको जयनगरमा । राणा शासकले उनको परिवारको सर्वस्वहरण गरेको थियो । उनले फुटबल भारतमै सिके । किशोर उमेरमै नेपाल फर्केयता फुटबल खेल्न थाले । उनी २०११ सालमा कोलकातामा भएको आईएफए सिल्ड खेल्न जाने नेपाली टिमका एक सदस्य पनि थिए ।

खेल्न छाडेपछि केही समय उनले रेफ्रीको भूमिका पनि निभाए । यो सबै त्यो जमानाको फुटबलको कुरा हो । जतिबेला अहिलेको अखिल नेपाल फुटबल संघ (एन्फा) को अस्तित्व पनि थिएन । फुटबल चलाउने काम गर्थ्यो, नेपाल फुटबल संघले । यी त भए, सबै इतिहास । नमीठो के छ भने नेपाली खेलकुदको इतिहास बिरलै लेखियो । पुस्ता हराउने क्रममा यो इतिहास पनि हराउँदै गएको छ । आरबी राजा स्वयं इतिहासका विद्यार्थी थिए, उनले यसमा स्नातकोत्तरसमेत गरेका थिए ।

तर न त उनले आफ्नो समयको खेल इतिहास लेखे । न अरू कसैले लेख्न प्रयास गरे । बिस्तारै यो इतिहास हराउने क्रममा छ । यसबारे बोल्न सक्ने पनि धेरै कम छन् । छँदै छैनभन्दा पनि हुन्छ । यसैक्रममा आरबी राजा पनि इतिहासमै बिलाए । त्यो पनि धमिलो इतिहासमा । नत्र उनी कम्तीको चर्चामा रहनुपर्ने पात्र होइनन् । आफ्नो देशका पहिलो औपचारिक फुटबल टिमको कप्तान कम ठूलो उपलब्धि होइन, यसकै लागि आरबी राजालाई सम्झे पुग्छ ।

प्रकाशित : असार १५, २०७७ ०९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×