२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

इतिहासमै बिलाए ‘आरबी राजा’

खासमा उनी आफैं फुटबल खेलाडी थिए, उनको वास्तविक परिचय फुटबल खेलाडीकै रूपमा थियो । उनी त्यो समयका खेलाडी थिए, जति बेला राणशासनबाट फुटबल सर्वसाधारणमा हस्तान्तरण भएको थियो । उनलाई नेपाली फुटबलको ठ्याक्कै पहिलो पुस्ताका खेलाडी भन्दा हुन्छ ।
हिमेश

काठमाडौँ — सन् १९९३ को डिसेम्बर टुंगिनै लागेको थियो, छैटौं दक्षिण एसियाली खेलकुदका लागि बंगलादेशको ढाकामा रहेको नेपाली टिमको तनाव भने बढ्दै थियो ।

इतिहासमै बिलाए ‘आरबी राजा’

तनावको पारो उत्कर्षमै थियो भन्दा हुन्छ । नहोस् पनि किन र ? प्रतियोगिता सकिन एकै दिन जतिमात्र बाँकी थियो तर नेपालले एउटै स्वर्ण जित्न सकेको थिएन । नेपाली टिमको अगुवाइ गरिरहेका ‘आरबी राजा’ को तनाव र आक्रोशसँगै डर सबै हेरिनसक्नु थियो ।

आखिरमा उनी राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव थिए । एउटै स्वर्ण जित्न नसक्नुले नेपाल फर्केयता कति गाह्रो हुने हो, उनलाई पनि राम्रैसँग थाहा थियो । तर नेपालको अन्तिम दिनअगाडिसम्म पनि स्वर्णको सम्भावना भने मरेको थिएन किनभने नेपाली पुरुष फुटबलको फाइनलमा पुगिसकेको थियो । प्रतिद्वन्द्वी थियो भारत । आरबी राजा एकछिन पनि चुप लागेर बस्न सकेका थिएनन् । ओहोरदोहोर गरिरहेका थिए, जहाँ जतिबेला पनि ।

उनी नेपाली फुटबल खेलाडी स्वर्ण जित्नैपर्छ भनेर उक्साइरहेका थिए । उक्साएरमात्र पुगेको थिएन । लोभ पनि देखाइरहेका थिए । नेपालले स्वर्ण जितेमा खेलाडीलाई पुरस्कारको ओइरो लाग्ने सपना देखाइरहेका थिए उनी । डिसेम्बर २६ । अन्ततः नेपालले त्यो दिन फुटबलमा स्वर्ण जित्यो नै, टाइब्रेकरमा भारतलाई हराएर । नेपाली फुटबलले आत्मसात् गरेको सबैभन्दा ठूला उपलब्धिमध्ये यो पनि एक हो । सबैभन्दा ठूलोभन्दा केही फरक पर्दैन ।

आखिरमा नेपाल स्वर्ण पदकबिना स्वदेश फकर्नुपरेन । केही दिन त नेपाली फुटबल खेलाडीले खुसीमै बिताए, तर पुरस्कारका रूपमा तिनले केही पनि पाएनन्, जस्तो वाचा गरिएको थियो ।

तत्कालीन कप्तान राजुकाजी शाक्य ती दिन सम्झेर प्रायः भावुक हुने गर्छन् । बारम्बार दोहोर्‍याएर यी सम्झना सुनाउँदा पनि थाक्दैनन् । त्यतिबेला वास्तवमै के भएको थियो त ? यो प्रश्न आरबी राजासँग सायद कहिले कसैले गर्न पाएनन् । तिनै आरबी राजा अब रहेनन् ।

उनको खास नाम थियो, राजबहादुर सिंह । उनलाई यो नामले नेपाली खेलकुदमा बिरलै चिनिन्छ । सबै उनलाई आरबी राजाकै नामले सम्झने गर्छन् । शुक्रबार उनको निधन भयो, ८८ वर्षको उमेरमा । उनी लामो समयदेखि बिरामी थिए, सार्वजनिक रूपमा देखा पर्न छाडेको धेरै भइसकेको थियो । नेपाली मिडियासँगको अन्तिम कुराकानीमा उनले के स्वीकारेका छन् भने परिषद्मा रहेर उनले खासै काम गर्न सकेनन् । किनभने काम गर्न सक्ने वातावरण नै थिएन ।

यो विषयमा उनलाई चित्तदुखाइ थियो, अफसोच पनि । ढाका जानुअगाडि त्यो स्वर्ण पदक विजेता नेपाली टिमबारे उत्तिकै चर्को विवाद भएको थियो । त्यो समय गणेश थापा आफ्नो खेलजीवनको सबैभन्दा बढी लयमा थिए तर उनी नै टिममा परेनन् । उनलाई बेइज्जतीपूर्ण तरिकाले टिमबाट निकालिएको थियो । उनीमाथि ठूलै अन्याय भएको थियो भन्दा पनि हुन्छ । त्यो टिममा आफू किन परिनँ, स्वयं थापा यसलाई लिएर सधैं गुनासो र चित्तदुखाइ गरिरहन्छन् ।

एउटा तथ्य के निश्चित थियो भने आरबी राजा ढाकाको त्यो स्वर्ण पदकमा भने असाध्यै खुसी भएका थिए । यसको कारण नेपालले आखिरमा एउटा स्वर्ण त जित्यो भन्नेमा मात्र थिएन । खासमा उनी आफैं फुटबल खेलाडी थिए, उनको वास्तविक परिचय फुटबल खेलाडीकै रूपमा थियो । उनी त्यो समयका खेलाडी थिए, जतिबेला राणा शासनबाट फुटबल सर्वसाधारणमा हस्तान्तरण भएको थियो । उनलाई नेपाली फुटबलको ठ्याक्कै पहिलो पुस्ताका खेलाडीभन्दा हुन्छ । उनको परिचय त्यत्तिकै सकिन्न । उनी पहिलो पुस्ताका खेलाडी मात्र थिएनन्, त्यो पुस्ताका सबैभन्दा राम्रा खेलाडी पनि थिए । त्यो जमानामा आरबी राजाले खेल्दैछ भने त्यो नै धेरै हुन्थ्यो, सर्वसाधारणलाई फुटबल हेर्न जानका लागि । उनले सबैभन्दा बढी विद्या व्यायाम मन्दिरबाट खेले । यो टिम सुशील मशेरको थियो । बागदरबारको टिमभन्दा पनि हुन्छ । यो टिमलाई सर्वसाधारणले खुबै मन पराउँथे किनभने यो टिमले भलाद्मी फुटबल खेल्थ्यो ।

नत्र त्यो जमानामा फुटबल भन्नुको अर्थ डरलाग्दोसँग फाउल खेल्ने जमाना न थियो । जसले बढी ज्यानमारा फुटबल खेल्न सक्यो, त्यही खेलाडी राम्रो । आरबी राजा स्वयं भने फरवार्डका राम्रै खेलाडी थिए । उनले एकै साल मात्र एनआरटीका लागि खेले । अब त विद्या व्यायाम मन्दिर टिम पनि रहेन । नत्र यसले ०२२ सालमा सहिद स्मारक लिग जितेको थियो र त्यसका एक सदस्य यिनै आरबी राजा पनि थिए । टिमका अन्य केही नाम चलेका खेलाडी थिए, हर्क गुरुङदेखि अफ्ताब उद्दिन ।

अफ्ताब उद्दिनलाई पनि आरबी राजालाई लिएर धेरै सम्झना छन् । उनी पनि मान्छन्, आफ्ना यी साथी खेलाडी अब्बल दर्जाका थिए । आरबी राजालाई लिएर सबैभन्दा उल्लेखनीय पक्ष हो, सन् १९६३ को आगा खाँ गोल्डकपको प्रसंग । यो त्यही प्रतियोगिता जसलाई नेपालले औपचारिक रूपमा विदेशी भूमिमा खेलेको पहिलो मानिन्छ । आरबी राजा त त्यस टिमका कप्तान पनि थिए । त्यो टिम नरशमशेरले बनाएका थिए । अब नरशमशेरले बनाएका कप्तान कम्तीको हुन्थ्यो होला त ?

त्यो प्रतियोगिता तत्कालीन पूर्वी पाकिस्तानमा भएको थियो । त्यसो भनेको अहिलेको बंगलादेश । खेल भने ढाकामै भएको थियो । खासमा आरबी राजा भित्री काठमाडौंका रैथाने थिए । उनको पुर्ख्यौली घर असनमा थियो । जन्मिएका थिए भारतको जयनगरमा । राणा शासकले उनको परिवारको सर्वस्वहरण गरेको थियो । उनले फुटबल भारतमै सिके । किशोर उमेरमै नेपाल फर्केयता फुटबल खेल्न थाले । उनी २०११ सालमा कोलकातामा भएको आईएफए सिल्ड खेल्न जाने नेपाली टिमका एक सदस्य पनि थिए ।

खेल्न छाडेपछि केही समय उनले रेफ्रीको भूमिका पनि निभाए । यो सबै त्यो जमानाको फुटबलको कुरा हो । जतिबेला अहिलेको अखिल नेपाल फुटबल संघ (एन्फा) को अस्तित्व पनि थिएन । फुटबल चलाउने काम गर्थ्यो, नेपाल फुटबल संघले । यी त भए, सबै इतिहास । नमीठो के छ भने नेपाली खेलकुदको इतिहास बिरलै लेखियो । पुस्ता हराउने क्रममा यो इतिहास पनि हराउँदै गएको छ । आरबी राजा स्वयं इतिहासका विद्यार्थी थिए, उनले यसमा स्नातकोत्तरसमेत गरेका थिए ।

तर न त उनले आफ्नो समयको खेल इतिहास लेखे । न अरू कसैले लेख्न प्रयास गरे । बिस्तारै यो इतिहास हराउने क्रममा छ । यसबारे बोल्न सक्ने पनि धेरै कम छन् । छँदै छैनभन्दा पनि हुन्छ । यसैक्रममा आरबी राजा पनि इतिहासमै बिलाए । त्यो पनि धमिलो इतिहासमा । नत्र उनी कम्तीको चर्चामा रहनुपर्ने पात्र होइनन् । आफ्नो देशका पहिलो औपचारिक फुटबल टिमको कप्तान कम ठूलो उपलब्धि होइन, यसकै लागि आरबी राजालाई सम्झे पुग्छ ।

प्रकाशित : असार १५, २०७७ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?