कसरी बस्यो क्रिकेटमा भारतको माया ?

भारतमा अरुभन्दा बढी केही बिक्छ भने त्यो क्रिकेट हो । यो खेल भनेपछि भारतीयहरु मरिहत्ते गर्छन् । त्यसो त भारतमा क्रिकेटको इतिहास लामो छ । तर, प्रश्न उठछ, क्रिकेटले भारतमा कस्सिने गरेर जरा गाडेको कहिले हो त ? यही उत्तर खोज्दै फ्रान्सेली समाचार संस्था एएफपीले सामग्री तयार पारेको छ । समय जुन २५ को दिन । वर्ष थियो, सन् १९८३ । अब त यसबारे सिनेमा पनि बन्दैछ । र, यो कथा हो, भारतले पहिलोपल्ट विश्वकप जित्दाको ।
एएफपी

नयाँदिल्ली — साँच्चै, पहिलो माया कसले मात्र बिर्सन सक्छ र ? सन् १९८३ मा कपिल देवको भारतले विश्वकप जित्दा त्यसका एक सदस्यले यस्तै भनेका थिए । हुन् पनि त्यो त्यही क्षण थियो, जतिबेला भारत क्रिकेटको मायामा गाढासँग बेरिएको थियो । यही बिन्दुबाट क्रिकेट आफैं पनि सधैंका लागि परिवर्तन भयो ।

कसरी बस्यो क्रिकेटमा भारतको माया ?

लर्ड्समा भएको फाइनलमा भारतले वेस्ट इन्डिजलाई हराएको थियो । लर्ड्स अर्थात् क्रिकेटको मक्का । त्यो विश्वकप जित्ने टिमलाई अहिले पनि भन्ने गरिन्छ, ‘कपिलका दैत्य’ भनेर ।

यसैले आखिरमा भारतलाई क्रिकेटको सबैभन्दा ठूलो बजारका रूपमा स्थापित गरेको थियो अनि भारतीय क्रिकेट बोर्ड बन्यो, यो खेलका सबैभन्दा धनी र शक्तिशाली । त्यसअगाडि भारतमा हक्कीप्रेमी देश थियो, यसले पाँचपल्ट ओलम्पिकमा स्वर्ण पनि जितेको छ । यो समय थियो, सन् १९८४ देखि १९८० बीच । सन् १९८३ को जुन २५ मा भारतले के क्रिकेटको विश्वकप जित्यो, यसको लोकप्रियताले हक्कीलाई नराम्रोसँग छोप्यो ।

भारतले त्यो विश्वकप जित्ने छ भनेर कसैले पनि कल्पना गरेका थिएनन् । गरुन् पनि कसरी ? त्यसअगाडिका दुई विश्वकप संस्करणमा भारतले जम्माजम्मी एक खेल जितेको थियो । त्यो पनि कोही न कोही इस्ट अफ्रिका जस्तो टिममाथि । त्यो बेला भारतीय टिममा विकेटकिपरको भूमिका निभाएका बिन्दास सइद किरमानी भन्छन्, ‘हामीले त नकआउट चरण पुग्ने कल्पनामात्र गरेका थियौं, अरू त परै जाओस् । त्यसैले टिमकै केही साथीले भनेका थिए, विश्वकप खेलौं र मज्जा लुटौं ।’

उनी थप्छन्, ‘तर हामीले त्यही विश्वकप जितेर भारतमा क्रिकेटको बलियो आधार बनायौं । यो पहिलो मायाजस्तै थियो, कहिल्यै भुल्न नसक्ने । त्यो विश्वकपका जित पनि अब ३७ वर्ष भइसकेको छ, तर सबैले आजकै जस्तो गरेर सम्झिने गर्छन् । अहिलेको युवापुस्ताले पनि हामीले त्यो विश्वकप कसरी जित्यौं भनेर खोजीनिती गर्ने गर्छन् । खेलाडी को को थिए भनेर पनि सोधपुछ गर्छन् । यो वास्तवमै अद्वितीय उपलब्धि थियो । खुबै सम्झनलायक थियो, सबै घटनाक्रम ।’

जितले फेरेको भाग्य

अब त पूरा यही विश्वकप यात्रालाई लिएर बलिउडमा सिनेमा बन्ने भएको छ । कपिल देवको पात्रमा देखा पर्नेछन्, लोकप्रिय नायक रणवीर सिंह । महेन्द्रसिंह धोनीको नेतृत्वमा भारतले पहिलो संस्करणको ट्वान्टी–२० विश्वकप जित्यो । त्यसपछि सन् २००७ मा भारतले फेरि एकपल्ट धोनीकै कप्तानीमा दोस्रोपल्ट विश्वकप जित्यो । तर अहिलेसम्म राम्रैसँग सम्झिने भनेको कपिल देवले जितेको विश्वकपको हो, न कि धोनीले जितेको विश्वकप ।

द बोर्ड अफ कन्ट्रोल क्रिकेट अर्थात् बीसीसीआई यो खेलको विश्वकै सबैभन्दा धनी संस्था बनेको छ । सन् १९८३ को विश्वकप विजेता टिमका एक सदस्य सुनील गावस्कर, त्यसपछि सचिन तेन्दुलकर र अहिले विराट कोहलीले भारतीय क्रिकेटलाई अझ नयाँ उचाइमा पुर्‍याएका छन् । भारतको १४ सदस्यीय टिमका एक सदस्य सुनील भाल्सन भन्छन्, ‘त्यो विश्वकप पछि मात्र हो, बोर्डले व्यावसायिक प्रायोजक पाउन थालेको छ । यो जितले भारतमा क्रिकेटको भाग्य नै फेरियो ।’

उनी आफैं केही अभाग्यशाली रहे किनभने टिमका बाँकी सबै सदस्यलै एक न एक खेल खेले । उनले भने पाएनन् । तर त्यो दिन सम्झेर तर्क भने ठीक गर्छन् । उनी भन्छन्, ‘अहिले भारत जता गए पनि बलियो टिम मानिन्छ । सन् १९८३ मा यस्तो थिएन । भारतमाथि कसैको विश्वास थिएन, तर टिमले गज्जब खेलेको थियो । सबैको अपेक्षाविपरीत भारतले उपाधि जितेको थियो । यसपछि त भारतमा क्रिकेटलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भयो ।’

सेमिफाइनल र फाइनल खेलका दृश्य । तस्बिर : एजेन्सी

कमाल कपिल देवको

जिम्बावेविरुद्धको खेलमा भारत एक समय ५ विकेट गुमाएर १७ रनको दयनीय स्थितिमा थियो । तर त्यही स्थितिमा कपिल देवले के खेल्न सुरु गरे, खेल भारतको पक्षमा मोडियो । उनले १ सय ७५ रन बनाए । नटआउट पनि रहे । यो नै पूरा प्रतियोगितामा भारतका लागि निर्णायक मोड रह्यो । भारतीय टिमले त्यसपछि त सेमिफाइनलमा आयोजक इंग्ल्यान्डलाई मज्जाले हरायो । फाइनलमा १ सय ८३ रनको स्कोरलाई पनि रक्षा गर्न सक्यो ।

फाइनलमा वेस्ट इन्डिजका कप्तान क्लाइभ लोयडलाई ८ रनमा आउट पारेका रोजर बिन्नी मान्छन्, भारतको सफलताका दुई कारण थिए, पहिलो कपिल देवको जादूयी नेतृत्व । अर्को टिममा एकसेएक अलराउन्डर । उनी भन्छन्, ‘त्यो विश्वकप अलराउन्डरले जिताएभन्दा हुन्छ । सबै खेलको स्कोर बोर्ड हेर्नुपर्छ, सबैभन्दा बढी रन तल्लो क्रमका ब्याट्सम्यानले बनाएका छन् । कपिल देवको नेतृत्व पनि निर्णायक रह्यो ।’ उनी के मान्छन् भने लिग चरणमा वेस्ट इन्डिजलाई हराउन सक्नु पनि ठूलै कारण थियो, टिममा आत्मविश्वास बढाउन । त्यो विश्वकपको समाचार संकलन गर्न आधा दर्जन जति पत्रकार इंग्ल्यान्ड पुगेका थिए । त्यसमध्ये एक थिए अयाज मेनन । उनी पनि मान्छन्, भारतले विश्वकप जित्ने छ भनेर कसैको पनि विश्वास थिएन । भन्छन्, ‘अपेक्षा साँच्चैभन्दा शून्य थियो । यसको एउटा कारण यसअघिका विश्वकपमा भारतको निकै खराब प्रदर्शन पनि थियो ।’

वेस्ट इन्डिज र भारतबीचको पहिलो खेल पनि हेरेनन् उनले । कारण ? उनलाई लागेको थियो, त्यो खेलमा भारत सजिलै पराजित रहनेछ ।

तर उनले जिम्बावेविरुद्ध कपिल देवले खेलेको खेल भने हेरे । त्यो दिन बीबीसीमा एक दिनको हडताल भइरहेको थियो, त्यसैले यो खेल टीभीमा देखाइएको थिएन । न त रेडियोमा कमेन्ट्र्री नै । मेनन भन्छन्, ‘एक जना खेलाडीको खेलले अन्तत: भारतलाई उपाधितर्फ दोहोर्‍याएको थियो । उनको त्यो प्रदर्शनले सबै खेलाडी उत्साही र आत्मविश्वासी भए ।’ उनी के पनि भन्छन् भने त्यसपछि क्रिकेट शक्तिको समीकरण पनि फेरियो, विश्व क्रिकेटमा भारतको उपस्थिति र पकड बलियो हुन थाल्यो ।

याे पनि पढ्नुहाेस् :

प्रकाशित : असार १४, २०७७ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?