१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

'महिला विश्‍वकप फुटबल-२०२३' अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने

नारायण खड्का

काठमाडौँ — सन २०२३ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिता अस्ट्रेलिया तथा न्युजिल्याण्डमा आयोजना गरिने भएको छ । स्विजरल्याण्डमा भएको मतदानमार्फत अस्ट्रेलिया र न्युजिल्यान्डलाई संयुक्त रुपमा प्रतियोगिता आयोजनाको अधिकार दिइएको हो ।

'महिला विश्‍वकप फुटबल-२०२३' अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने

अस्ट्रेलिया तथा न्युजिल्याण्डले संयुक्त रुपमा उक्त प्रतियोगिता आयोजनाका लागि दाबी प्रस्तुत गरेका थिए । शुक्रबार बिहान भएको निर्वाचनमा दुई देशले अर्काे दाबेदार देश कोलम्बियालाई ९ मतले पछाडि पार्दै प्रतियोगिता आयोजनाको अधिकार पाउन सफल भएका हुन् । ३७ सदस्य रहेको फिफाले आयोजना गरेको मतदानमा झरेको ३५ मतमा अस्ट्रेलिया र न्युजिल्याण्डको पक्षमा २२ मत परेको सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै कोलम्बियाको पक्षमा १३ मत आएको थियो । सन २०२३ को जुलाई र अगस्टमा आयोजना गरिने प्रतियोगितामा विश्वभरिबाट ३२ टिमले सहभागिता जनाउँदैछन । यसअघि आयोजना गरिएको प्रतियोगितामा जम्मा २४ टिममात्र सहभागी भएकोमा यो संख्या बढाएर ३२ पुरयाइएको हो ।

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन र न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्था आर्डनले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतियोगिता आयोजनाका लागि आफूहरुलाई चयन गरेकोमा धन्यवाद दिएका छन् । उनीहरुले यो निर्णय यस क्षेत्रको महिला फुटबलका लागि उत्कृष्ट भएको दाबी गरेका छन् । यो निर्णयले कोरोना भाइरसका कारण असरमा परेको खेलक्षेत्रमा परेको असरलाई पुन:स्थापित गर्न सहयोग पुग्ने बताएका छन् । अस्ट्रेलियाका सरकारी अधिकारीहरुले महिला विश्वकपले स्थानीय अर्थतन्त्रलाई सहयोग पुग्ने जनाएका छन् ।

प्रतियोगिता आयोजना गर्न पाउने अधिकार पाउनेबित्तिकै यहाँस्थित चर्चित ओपेरा हाउस र न्युजिल्याडको स्काई टावरमा आफ्नो टिमको फोटोसहित खुसीयाली मनाइएको थियो । फिफाले नतिजा सुनाएसँगै प्रत्यक्ष प्रसारण हेरिरहेका अस्ट्रेलियाली फुटबलका अधिकारी तथा महिला खेलाडीले एकापसमा खुसीयाली बाँडेका थिए । ‘हामी यसमा सफल भएका छौं ’ अस्ट्रेलियाली फुटबल टिम (मटिल्डा) की क्याप्टेन साम केरले भनिन् । अस्ट्रेलिया तथा न्युजिल्याण्डका १ दर्जन बढी सहरमा विश्वकप प्रतियोगिता आयोजना गरिनेछ । विश्वकप आयोजना गर्ने देश बनेपछि अस्ट्रेलिया तथा न्युजिल्याण्डले छनोट प्रतियोगिता खेल्नुपर्ने छैन ।

गत वर्ष फ्रान्समा आयोजना गरिएको महिला विश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको थियो भने नेदरल्याण्ड्स उपविजेता बनेको थियो । फिफा काउन्सिल अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगितामा सहभागी हुने टिमको संख्या वृद्धि हुनु सकारात्मक भएको बताउँदै यसले महिला फुटबलको विकासमा सकारात्मक सन्देश दिने बताएका छन् ।

प्रकाशित : असार १२, २०७७ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?