कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

९४ दिनपछि खेल

कोरोना भाइरसको महामारीका कारण सरकारले चैत ११ गते लकडाउन घोषणा गरेपछि देशमा ट्रेनिङ, प्रतियोगितालगायतका खेल गतिविधि ठप्प छ । त्यसयता ट्रेनिङ सुचारू गर्ने पहिलो खेल बन्यो ब्याडमिन्टन ।
राजु घिसिङ

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जोगिन सरकारले लकडाउन घोषणा गरेपछि ब्याडमिन्टन खेलाडी शोभा गौचनको नियमित कार्य बनेको थियो– भात पकायो, खायो । भन्छिन्, ‘कहिलेकाहीं म:म बनाएँ । पारिवारिक समय बन्यो, जुन यसअघि कहिल्यै मिलेको थिएन ।’

९४ दिनपछि खेल

खेलका लागि चाहिँ के गरिन् त ? १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला टिम स्पर्धामा कांस्य पदक हात पारेकी उनी भन्छिन्, ‘फिटनेसको लागि हल्का पेटको शारीरिक व्यायाम गरें । घर वरिपरि दौडिएँ । छत र भर्‍याङमा फुटवर्क गरें । भित्तालाई प्रतिस्पर्धी मानेर सटल हानें ।’

ब्याडमिन्टनको राष्ट्रिय टिमका खेलाडीहरूको प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरश्वरस्थित कभर्डहलमा हुने गर्छ र शोभासहित १०–१२ खेलाडीले यही नियमित ट्रेनिङ गर्थे । यहाँ लकडाउनअघि अन्तिमपल्ट चैत ७ मा ट्रेनिङ भएको थियो । त्यसपछि महामारीको त्रासले नेपाललाई पनि छोप्यो । सामाजिक जीवन नै प्रभावित पार्‍यो । त्यसैले ७ चैतयता राष्ट्रिय खेलाडीले कभर्डहल प्रवेश गर्नै पाएनन् । लकडाउन कायमै भए पनि बल्ल ९४ दिनपछि आएर आइतबार उनीहरूले कभर्डहलमा प्रवेश पाए, खेल्न पाए ।

‘कति बेला कभर्डहल जाउँ भन्ने लागिरहेको थियो । खेल्न नपाएर अर्कै भइरहेको थियो,’ जुनियरको विश्व वरीयतामा सातौं स्थानमा रहेका प्रिन्स दाहालले भने, ‘फेरि कभर्डहल छिर्दा एकदमै खुसी लाग्यो र धेरैपछि खेल्न पाउँदा एकदमै उत्साही भएको छु । अब प्रतियोगिता कहिले खेल्ने भइरहेको छ ।’

१३ औं सागमा पुरुष डबल्स र टिम स्पर्धामा कांस्य हात पारेका उनी जुनियरको विश्व वरीयतामा सबैभन्दा माथिल्लो स्थानमा पुग्ने खेलाडी हुन् । दुबई इन्टरनेसनल जुनियर सिरिज २०१८ र २०१९ का यी च्याम्पियनले भने, ‘जुनियरमा विश्वकै नम्बर १ बन्ने मेरो लक्ष्यलाई यो लकडाउनले असर गर्‍यो ।’

प्रिन्स चैत ११ मा सरकारले लकडाउन घोषणाको एकसाता अघिमात्रै युरोपबाट फर्किएका थिए, जहाँ जुनियरका दुई प्रतियोगिता खेलेका थिए । लकडाउनअघिको अवधिमा उनले घरमै फिटनेसका लागि अभ्यास गरिरहेका थिए तर, र्‍याकेट समातेर कोर्टमा उत्रिन पाएका थिएनन् । लकडाउनपछि ट्रेनिङ पुन: सुचारु हुँदा पहिलो दिन आइतबार १६ वर्षीय उनीसँगै शोभा, विजित थापामगर र महिलातर्फकी नम्बर एक रसिला महर्जन सहभागी थिए । पहिलो दिन उनीहरू दशरथ रंगशालाको ट्रयाकमै शारीरिक अभ्यास गरेर फर्किएका थिए । दोस्रो दिन झरीको कारण ट्रेनिङ नै सम्भव भएन । तेस्रो दिन मंगलबार कोरियाली प्रशिक्षक चोई सिउन कुकले कभर्डहलमा करिब साढे २ घण्टा अभ्यास गराएँ, जहाँ प्रिन्स, शोभा र विजित थिए ।

दीपेश धामीसँगै पाकिस्तान इन्टरनेसनल सिरिज २०१७ मा स्वर्ण जितेकी शोभाले ९४ दिनपछि कोर्टमा फर्कंदाको अनुभव बताइन्, ‘घरै बस्दा कहिले जाउँ, कहिले जाउँ भइरहेको थियो, धेरैपछि कभर्डहल छिर्दा एकदमै रमाइलो लाग्यो । यति ग्याप पहिला कहिल्यै भएको थिएन ।’

२७ वर्षीया उनले थपिन्, ‘कहिले जाउँ, कहिले खेलौं, साथीहरू कहिले भेटौं भएको थियो । जति झगडा परे पनि यति ग्याप भएपछि त्यही साथी, झगडा, ट्रेनिङ मिस हुन्थ्यो ।’ कोर्टमा थप साथीहरू चाँडै भेट्न पाउने उनले आशा गरेकी छन् । लकडाउनका बेला उनको प्रिन्स र अमिता गिरीसँग कहिलेकाहीं भर्चुअल गफ हुन्थ्यो, जसले उनको ब्याडमिन्टनका अरू खेलाडीसँग सम्पर्क कायम राखेको थियो ।

दुई दिनको ट्रेनिङपछि शोभाले भनिन्, ‘तीन महिनापछि एकैपल्ट जिरो लेबलबाट सुरु गर्नुपर्‍यो । अलिकति गाह्रो नै भइरहेको छ । तर मैले लकडाउनमा घरै बस्दा पनि फिटनेस कायम राखेकी छु ।’

पहिला ४८–४९ केजीमा रहने गरेकी उनी लकडाउनमा ६१.५ केजीसम्म पुगेकी थिइन् । यसरी मोटाएपछि बेलुका खाना छाडेकी उनी ५४ केजीमा झरेकी छन् । यसले खेलमा असर गर्दैन त ? एपीएफकी यी सटलर्स भन्छिन्, ‘पहिला तौल (शरीरको) कम थियो, पावर (खेलमा) हुँदैन थियो । अहिले तौल बढेर फाइदा भएजस्तो लाग्छ, पावर बढेको छ । पहिला जति खाए पनि मोटाउनै सक्दिनँ थिएँ, अहिले तौल बढेपछि खेलमा कन्फिडेन्ट भएकी छु ।’

राखेपकै स्वीकृतिमा ट्रेनिङ

नेपाल क्रिकेट संघ र अखिल नेपाल फुटबल संघले असार दोस्रो सातापछि राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्नका लागि राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिन पहल गरिसकेका छन् । क्रिकेट खेलाडीहरू व्यक्तिगत रूपमा कीर्तिपुर मैदानमा धाउन थालेका छन् । यसबीच लकडाउनपछि ट्रेनिङ थाल्ने पहिलो खेल ब्याडमिन्टन बनेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै स्वीकृतिमा ट्रेनिङ सुचारु गरिएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताए ।

‘राखेपकै स्वीकृति लिएरै ट्रेनिङ सुरु गरिएको हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘ट्रेनिङमा सामाजिक दूरी कायम राख्दै कोभिड–१९ बाट बच्नका लागि सबै उपाय अपनाइएको छ । राखेपले पनि चिकित्सक टोली पठाउने भनेको छ, त्यसैको सुझावअनुसार अगाडि बढ्नेछौं । खेलाडीहरूको पीसीआर टेस्ट पनि गर्दैछौं ।’

उनले थपे, ‘एउटा कोर्ट र अर्को कोर्टमा रहेर खेलाडीले प्रतिस्पर्धा गर्ने भएकाले पनि हामीलाई (ब्याडमिन्टन) खेलमा फर्किन सजिलो भएको हो । भारत, मलेसिया, कोरियामा ट्रेनिङ सुरु गरेपछि हामीले पनि खेलाडीलाई बोलाएका हौं । तर, सबै खेलाडीलाई अनिवार्य गरेका छैनौं, मिल्नेलाई आउनु भनेका छौं । अहिले ३–४ जना छन्, आइतबारदेखि ८–१० खेलाडी आउँछन् होला ।’

प्रतियोगिता सारिँदै

यो वर्ष नेपालमा हुने भनिएका चार अन्तर्राष्ट्रिय प्रतियोगिता पनि कोरोनाको महामारीको कारण सार्ने निश्चित भएको ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताए । काठमाडौं जिल्ला ब्याडमिन्टन संघले काठमाडौं फ्युचर सिरिज सेप्टेम्बरमा आयोजना गर्न विश्व ब्याडमिन्टन महासंघबाट स्वीकृति लिइसकेको थियो । यससँगै अन्नपूर्ण इन्टरनेसनल सिरिज (नोभेम्बर), नेपाल इन्टरनेसनल च्यालेन्ज (डिसेम्बर) र जुनियर इन्टरनेसनल च्यालेन्ज (जनवरी २०२१) पनि सर्ने निश्चित भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘डिसेम्बरमामात्रै प्रतियोगिता फर्किएला, त्यसअघि कुनै पनि प्रतियोगिता नहोला ।’

मंसिरमा काठमाडौं–पोखरा–जनकपुरमा सम्पन्न १३ औं सागपछि नेपालमा ब्याडमिन्टन प्रतियोगिता नै भएको छैन । घरेलु ब्याडमिन्टनका कृष्णमोहन स्मृति, राष्ट्रिय प्रतियोगिता, पुष्पलाल स्मृति, जेष्ट ब्याडमिन्टनलगायतका प्रतियोगिताहरू पनि महामारीको कारण स्थगित भएकाले आयोजनाका लागि पछि मिति तय गरिने अध्यक्ष श्रेष्ठले बताए ।

फिलिपिन्समा अप्रिलमा तोकिएको एसियन च्याम्पियनसिपलगायत सबै अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता स्थगित भइसकेको छ । सेप्टेम्बरदेखि प्रतियोगिता पुन: सञ्चालन गर्ने विश्व ब्याडमिन्टन महासंघले जनाएको छ ।

प्रकाशित : असार १०, २०७७ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?