१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अर्टेटालाई प्रदर्शन अस्वीकार्य

रोयटर्स

लन्डन — आर्सनल व्यवस्थापक मिखेल अर्टेटाले इंग्लिस प्रिमियर लिगमा ब्राइटनविरुद्ध आफ्नो क्लबले बेहोरेको हार अस्वीकार्य रहेको बताएका छन् । उक्त खेलमा आर्सनलको प्रदर्शन सुधारिएको भए पनि टिमले एक गोलको अग्रता मात्र गुमाएन, हारसमेत आत्मसात् गरेको थियो । खेल सकिन २० मिनेटअगाडि निकोलस पेपेले आर्सनललाई अग्रता दिलाएका थिए ।

अर्टेटालाई प्रदर्शन अस्वीकार्य

तर कमजोर डिफेन्सका कारण लेविस डन्कले बराबरी गोल फर्काए भने अतिरिक्त समयको पनि पाँचौं मिनेटमा निल मउपेले ब्राइटनका लागि विजयी गोल गरे । ‘हाम्रो टिम पक्कै युवा छ र कम अनुभवी छ । तर हामीले हातमा रहेको खेल गुमायौं,’ उनले भने, ‘म वास्तवमै निकै दु:खी छु । जसरी हामीले खेल गुमायौं, त्यो स्विकार्न सकिने खालको नै छैन ।’

आर्सनलको यो लगातार हार हो । यसअघि टिम म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । सिटीविरुद्ध इतिहादमा भएको त्यस खेलमा डिफेन्डर डेविड लुइजले कमजोर प्रदर्शन गरेका थिए । ब्राइटनसँग त्यस्तै खेल नदेखिए पनि पहिलो गोल आर्सनलको कमजोर डिफेन्सकै कारण खाएको थियो ।

कोरोना भाइरस संक्रमणको महामारीले खेल रोकिनुअगाडि आर्सनल सन् २०२० मा अपराजित रहेको थियो । यस प्रदर्शनको कारण टिमले अर्को सिजन युरोपमा खेल्ने सम्भावना बढेको थियो । तर लगातार दुई हारले यो सम्भावना कमजोर बनाएको छ । आर्सनल शीर्ष चारबाट ८ अंकले पछाडि छ ।

अर्टेटाले भनेका छन्, ‘पछिल्लो समय हामीले केही क्षेत्रमा निकै राम्रो पनि गरेका छौं । तर त्यसको फाइदा लिन सकेनौं । यति माथिल्लो स्तरमा लगातार कमजोरीले विपक्षीलाई गोलको अवसर दिनुहुन्न । आर्सनल जत्तिको क्लबबाट खेल्दा हामीले कम्तीमा यस्तो प्रदर्शन स्विकार्न सकिन्न । त्यसैले म अब आउने खेललाई लिएर चिन्तित पनि छु । हामीले प्रदर्शनमा चाँडै सुधार गर्नुपर्नेछ ।’

आर्सनलले थप समस्याका रूपमा आफ्ना गोलरक्षक ब्रेन्ड लेनोलाई पनि गुमाएको छ । फेरि खेल सुरु भएयता घाइते हुने उनी आर्सनलका तेस्रो खेलाडी हुन् । सिटीविरुद्धको खेलमा पाब्लो मारी र ग्रानिट जाका पनि घाइते भएका थिए । आर्टेटाले लेनो घाइते हुनु दुर्भाग्यपूर्ण रहेको पनि बताए ।

प्रकाशित : असार ८, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?