१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मैदान फर्कन आतुर डोना

०७२ सालमा यू–१६ साफ च्याम्पियनसिपमा भारतविरुद्ध निर्णायक गोल गरी नेपाललाई जिताएका डोना थापाले मनाङ मस्याङ्दी क्लबमा प्रवेश गरेपछि सन् २०१९ मा भारतको सिक्मिममा भएको गभर्नर्स गोल्पकपमा सेमिफाइनलमा एटीके कोलकाताविरुद्ध ह्याट्रिक गरेर सनसनी मच्चाएका थिए । प्रशिक्षण गर्ने क्रममा २०७५ फागुनमा डोनाको देब्रे घुँडामा समस्या आयो । लिगामेन्ट च्यातिएर अप्रेसन गर्नुपर्‍यो । अब चोटमुक्त भएका उनी मैदान फर्कन आतुर छन् ।
सन्जु पौडेल

तिलोत्तमा — दैनिक बिहान ७ बजे उठ्छन् । फ्रेस भएर पानी पिउँछन् अनि योगा र ध्यान गर्छन् । फुटबल खेलाडी मिडफिल्डर डोना थापाको दैनिकी यसरी नै सुरु हुन्छ । योगा सकेर खाजा खाएको आधा घण्टापछि फिजिकल व्यायाम थाल्छन् । त्यो कार्य ३ घण्टा चल्छ ।

मैदान फर्कन आतुर डोना

‘अहिलेको बन्दाबन्दीले शरीरलाई शिथिल बनाउन खोज्छ तर म जागरुक बनाइराख्छु,’ उनले सुनाए, ‘बिहानको व्यायामले दिनभर आराम मिल्छ ।’

दिउँसो खाजा खाएपछि कान्छो भाइसँगै घरको कौसी र छेवैको खाली जमिनमा बल खेल्छन् अनि फेरि घरमै व्यायाम थाल्छन् उनी । दिउँसोको समयमा गीत गाउन र वाद्यवादन बजाउन सिकिरहेको उनले बताए । डोनाले केही समयअघि आफ्नो गीत बजारमा ल्याइसकेका छन् । ०७४ असारमा यूएईमा सम्पन्न यू–२३ च्याम्पियनसिप खेलेर फर्किएपछि प्रशिक्षण गर्नेक्रममा डोनाको ०७५ फागुनमा देब्रे खुट्टाको घुँडामा समस्या आयो । लिगामेन्ट च्यातिएर अप्रेसन गर्नुपर्‍यो । त्यसपछि डोनाको खेलयात्राले विश्राम लियो ।

सधैंका लागि खेल्न नसक्ने अवस्था नरहोस् भनी उनले चिकित्सकको सल्लाहमा खुट्टाको अप्रेसन गराए । ‘अप्रेसनपछि आफू कसरी छिटो ठीक हुने भनेरै संघर्ष थालें,’ कान्तिपुरसँग उनले भने, ‘झन्डै १५ महिना नखेलेर कसरी दिन बिताएँ होला, त्यो त मलाई मात्र थाहा छ । तर हरेक दिन फुटबल र मैदान सम्झँदै व्यायाम गरी खुट्टा ठीक बनाएको छु ।’

लकडाउन खुलेपछि उनी कमब्याक हुन तयार छन् । घरमा बस्दा मसला, चिल्लो, पिरो बढी खाने बानी पर्छ भन्ने डरले अप्रेसन गरेबाटै उमालेका चिज खान उनको जोड छ। अहिले त्यसमै बानी परिसकेका छन् । ‘अप्रेसन गर्नासाथ थेरापी, जिम र घरमै वर्कआउट गरेर समय बिताएँ,’ उनले भने, ‘झन्डै डेढ वर्षको पर्खाइपछि मैदान छिर्छु भनेर तयार थिएँ, बन्दाबन्दीले रोकिदियो ।’ लामो समय थेरापी, अस्पताल, जिम सेन्टर धाउँदा मानसिक रूपमै खेलमोह बढेको डोना बताउँछन् । मैदान जान नपाए पनि खाली समय सदुपयोग गर्दै उनले मोडलिङ सिके । मोडल बनेका तस्बिर पनि छापिए । अफर पनि आए । तर आफू खेलाडी र मैदानमै रमाउने भएकाले मोडलिङपट्टि ध्यान नदिएको उनले सुनाए ।

देशको अवस्था कहिले पुरानो लयमा आउला भन्नेमा अन्योल रहेकाले आफ्नो पुनरागमनमै समस्या देखिनसक्ने डोना बताउँछन् । अन्य केही काम नगरी खेलमै व्यावसायिक बनेका खेलाडीलाई बन्दाबन्दीले शारीरिक र आर्थिक दुवै हानी गरिरहेको उनको बुझाइ छ । अहिलेको स्थितिले धेरै कुरा बिर्साइसकेको र खुल्नेबित्तिकै मैदानमा होमिँदा राम्रो नतिजा दिन नसकिने उनी सुनाउँछन् ।

०५३ सालमा भारतको दार्जिलिङमा एन्ड्रयु थापा र लक्ष्मी थापाको पहिलो सन्तानका रूपमा जन्मिएका उनी तीन वर्षमात्रै त्यहाँ बसे । त्यसपछि परिवारका साथ रूपन्देहीको सैनामैना–१० सिप्लापुरमा बसाइँ सरेका हुन् । उनले आफ्नै बुवाबाट नै फुटबल सिकाइ सुरु गरेका थिए । ‘बुवा पनि भारतका विभिन्न क्लबबाट खेल्नुहुन्थ्यो,’ उनले सुनाए, ‘बुवाकै खेल हेर्न जान्थें । घरबाटै सिकेर म मैदान प्रवेश गरेको हुँ ।’

सानैमा गाउँका साथीभाइसँग खेल्दै हुर्किएका उनले १४ वर्षको उमेरमा सिनियरसँग मिलेर प्रतियोगिता खेल्न थालेका थिए । उनले बुटवलका धेरै क्लबबाट खेल्दा थुप्रैपल्ट म्यान अफ द म्याच पाएको खुसी साटे । त्यससछि घरमा बसेर, गाउँमा खेलेर हुँदैन, ठाउँ खोज्नुपर्छ भनेर काठमाडौं गएका थिए । ०६७ मा काठमाडौं पसेका डोनाले त्यहाँको माहोल, खेलाडी र क्लब सबैको वास्तविकता आफूले सोचेभन्दा धेरै फरक पाए । ‘गाउँमा बसेको मलाई के थाहा ? राजधानीका खेलाडी, क्लब र तिनमा प्रवेश पाउन कत्तिको गाह्रो हुन्छ भनेर,’ उनले विगत स्मरण गरे, ‘धेरै क्लबमा धाएँ । ट्रायल दिएँ तर हात लाग्यो शून्य ।’

दुई/तीन महिना नै त्यसरी बिताएपछि उनी घर फर्किए । प्रयास जारी राखे एकदिन पालो आउला भन्नेमा उनी विश्वस्त रहे । फेरि स्वयम्भू, मछिन्द्रजस्ता क्लब छिर्न केही सीप नलागेपछि अन्तिम प्रयासका लागि पुलिस क्लबमा पुगे । पुलिसमा प्रशिक्षक हरि खड्काको रोजाइमा पर्न सफल भए उनी । पुलिसमा रहुन्जेल सिक्दै अघि बढेका उनलाई ३ हजार रुपैयाँ पकेट खर्च पाएको सम्झना छ । पुलिसमा केही महिना रहेपछि उनलाई प्रशिक्षक खड्काले एन्फामा यू–१६ मा छनोटमा पुर्‍याए । ट्रायल दिए, छनोट भए । उनी त्यतिबेला साढे १५ वर्षका थिए । त्यसपछि नै उनको व्यावसायिक खेलयात्रा सुरु भयो । एन्फामा जोडिएको दुई महिनापछि एएफसी च्यालेन्ज कप यू–१६ का लागि छनोटमा परे । ‘छनोटमात्र होइन, सुरुआती ११ खेलाडीमै परेर खेलें,’ उनले सुनाए ।

बेलायती प्रशिक्षक ग्राहम रोबर्टससँग सिक्न पाएका डोनाको खुसीको सीमै रहेन । यता गाउँमा उनका आमाबुवा छोराको छनोटप्रति गद्गद् थिए । पहिलो खेलमा सिरियासँग नेपाली भूमिमा नेपालको झण्डा अंकित टिसर्ट लगाएर खेल्न पाउने खुसीमा रातभर निदाउन नसकेको उनले सुनाए । भोलिको दिन कहिले आउला र मैदानमा गई देशको टिसर्ट लगाउँदा भन्ने लागिरह्यो । मैदानमा सिरियाका खेलाडी देख्दा उनलाई त अचम्म लाग्यो । ‘हाम्राअगाडि उनीहरू त बुवासरहका थिए,’ उनले कान्तिपुरसँग भने, ‘उचाइले जो सहजै जित्लान् जस्ता ।’ कसरी खेल्ने होला भन्ने सोचले पसिना छुटाएको उनी सम्झन्छन् । उनीहरूका सामु नेपाली खेलाडीको फिजिकल फिटनेस र अभ्यास नै नपुगेको भान भएको उनले स्मरण गराए । उक्त खेलमा नेपाली टिम पराजित भयो ।

समूहमा रहँदा गीत गाउने, नाच्ने, रमाइलो गर्ने स्वभावका डोना सबैसँग एकनासैको व्यवहार गर्थे । एन्फा एकेडेमीबाटै उनी फुटबल सिक्ने, विद्यालय जाने गर्न थाले । एएफसी च्यालेन्ज कपमा छनोट नभए पनि उनीहरू एन्फाका आन्तरिक प्रतियोगितामा सहभागी हुन गइरहन्थे । यू–१७ एन्फा टिम थियो । त्यो टिमबाट उनले स्वदेशमा हुने आहा गोल्डकप, भोजपुर कप, सिमरा गोल्डकपजस्ता प्रतियोगिता खेले ।

त्यसपछि उनी पुलिस क्लबसँग जोडिए । उनले एकवर्षे सम्झौता गरे । मासिक ७ हजार रुपैयाँ तलब पाउने भए । टिममा परे पनि उनले खेल्ने मौका त्यति पाएनन् । एक वर्ष बित्यो । सम्झौता लम्ब्याए । पर्वत पाण्डे, भोला सिलवाल, रविन श्रेष्ठ, रितेश थापाजस्ता खेलाडी पुलिसमा थिए । जसले डोनाको मैदान उत्रने अवसर कम थियो । अर्को वर्ष पनि त्यति खेल्न पाएनन् । त्यसपछि भने उनले पुलिस छाड्ने निधो गरे ।

त्यसपछि रानीपोखरी कर्नर टिम (आरसीटी) बाट अफर आयो । उनी एक वर्षका लागि १६ हजार रुपैयाँमा अनुबन्ध भए । सुरुबाटै खेल्न पाए । प्रदर्शन राम्रो हुँदै गयो । उनी बल्ल प्रशिक्षक र बाहिरी क्लबको नजरमा परे । ए डिभिजन लिगमा आफूले आर्मीविरुद्ध निर्णायक गोल गरेर आरसीटीलाई जिताउँदा औधी खुसी भएको क्षण सम्झन्छन् उनी । त्यतिबेला आरसीटीको प्रायोजक श्रीनाथ कलेक्सनबाट उनी उत्कृष्ट खेलाडी छानिएका थिए । रोजीरोजी कोट र पाइन्ट लगाएको त्यो क्षण आफ्नो लागि स्मरणयोग्य रहेको डोनाले सुनाए ।

०७२ सालमा यू–१६ साफ च्याम्पियनसिप खेल्न पाएका डोना र उनको टिमले झन्डै २३ वर्षपछि नेपाललाई उक्त उमेर समूहमा विजेता बनाएको थियो । त्यसमा डोनाले भारतविरुद्ध पेनाल्टीमा गोल गरेका थिए । नेपालको यो जितले खेलाडीको मनोबल बढ्यो । सरकारबाट एक लाख र एन्फाबाट दुई लाख रुपैयाँ पुरस्कार पाए । त्यतिमात्र होइन, राजधानीका धेरै स्थानमा सम्मानका कार्यक्रम भए । ‘पैसा कमाइयो, खेल खेलियो, कपडा किनियो,’ डोनाले सुनाए, ‘केही समयमै बिदा पनि भइयो ।’

देशका लागि खेलेर जितेपछि छोरो घर आउने खुसीमा आमाबुवा पर्खिरहेका थिए । डोनाले पुरस्कार पाएको रकमबाट मोटरसाइकल किने । उनी लामो समयपछि घर आउन बिदा पाएका थिए । हवाई यात्रा गरेर घर आए । भैरहवाको एयरपोर्टमा उनका अभिभावक, शुभचिन्तक र गाउँले लामबद्ध भएर उनलाई स्वागत गर्न बसेको दृश्यले भावविह्वल बनेका डोना त्यो दिन फेरि देख्ने इच्छा रहेको बताउँछन् । ‘कल्पनाबाहिरको दृश्य देखें,’ उनले भने, ‘तस्बिर लिने, माला लगाइदिनेको ताँती देख्दा खेलको संघर्ष भुलें ।’ उनीलगायत विमल घर्तीमगर र अन्य खेलाडीलाई भैरहवाबाट बुटवल नगरपरिक्रमा गराइयो । त्यहाँबाट डोना आफ्नो घर गए । सानैमा पढेको विद्यालय पुगे । सम्मान पाए । उनले त्यही कमाइबाट ७५ हजार रुपैयाँ आमाबुवालाई दिएका थिए ।

उक्त रकम हातमा लिँदा आफूलाई गर्व महसुस भएको बुवा एन्ड्रयु थापाले बताए । ‘मेरो सपना नै छोरालाई नेपालको राष्ट्रिय खेलाडी बनाउने थियो, त्यो पूरा भएको दिन खुसीको सीमा रहेन,’ उनले भने, ‘छोराको मिहिनेतले मेरो इच्छा पूरा भयो ।’ त्यसलगत्तै उनीहरू इरान गए यू–१९ साफ च्याम्पियनसिपका लागि । तर, उनीहरू पराजित भएर फर्किए ।

नेपाल आएपछि राष्ट्रिय लिग सुरु भयो । उनलाई मोरङ ११ले आबद्ध गरायो । खेलैपिच्छे पारिश्रमिक दिने गरी डोना अनुबन्धित भए । उनले लिग खेले । तर जित निकाल्न सकेनन् । उनको खेल भने राम्रै थियो । त्यतिबेलै उनलाई मनाङ मर्स्याङदी क्लबको निम्तो थपियो । त्यसपछि उनी मनाङसँग मिडफिल्डरका रूपमा जोडिए । पहिलो खेलमै हेटौंडामा उनी म्यान अफ द म्याच बने । ड्रिम क्लबमा अवसर पाउनु अविस्मरणीय छ । सोही बीचमा उनी बंगलादेश, सिक्किम पुगे । सिक्किमको पाल्जोर स्टेडियममा डोनाले गरेको ह्याट्रिक ३३ वर्षपछि त्यो मैदानमा भएको ह्याट्रिक थियो । उनले इतिहास रचे । र नेपाली टिमका प्लेमेकर डोनाकै साथमा मनाङले गोल्डकप पनि जित्यो । अहिले उनी मनाङमा आबद्ध भएको तीन वर्ष पूरा भएको छ ।

प्रकाशित : असार ५, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?