कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेरिस्टोको नजर विकेटकिपिङमा

एएफपी

लन्डन — वेस्ट इन्डिजसँगको शृंखलाका लागि खेलाडीले आफ्नो स्थान निश्चित गर्ने तयारी गरिरहँदा जोनी बेरिस्टोले आफू इंग्ल्यान्डको विकेटकिपरको भूमिका निभाउन सक्षम रहेको दाबी गरेका छन् ।

बेरिस्टोको नजर विकेटकिपिङमा

इंग्ल्यान्डले अर्को महिना सुरु हुने वेस्ट इन्डिजसँगको तीन टेस्ट शृंखलाको तयारी गरिरहेको छ । यो सँगै कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट पनि फर्किंदै छ । शृंखलाअघि कुनै प्रथम श्रेणीको क्रिकेट पनि खेलिएको छैन । खेलाडीको फर्मको स्थिति बुझ्न जुलाई ८ मा सुरु हुने पहिलो टेस्टअघि साउथह्याम्पटनमा अभ्यास खेल हुनेछ । यही स्थानमा पहिलो टेस्ट हुनेछ ।

गत वर्ष न्युजिल्यान्डको भ्रमण गर्दा इंग्ल्यान्डको टोलीमा बेरिस्टोलाई राखिएको थिएन । त्यसमा इंग्ल्यान्डका छनोट प्रमुख इड स्मिथले उनको अन्तर्राष्ट्रिय भविष्य विशेषज्ञ ब्याट्सम्यानका रूपमा मात्र रहेको संकेत गरेका थिए । सन् २०१२ मा लामो फर्म्याटमा ‘डेब्यु’ गरेयता उनले ७० टेस्ट खेलिसकेका छन् । तर पछिल्लो पटक डिसेम्बरमा उनले टेस्ट खेलेको दक्षिण अफ्रिकाविरुद्ध हो । दक्षिण अफ्रिकामा उनले खेलेको त्यही एक टेस्ट हो ।

श्रीलंका भ्रमणमा उनलाई आराम दिँदै लामो समयदेखि बेरिस्टोको विकेटकिपिङमा प्रतिस्पर्धी रहेका जोस बटलर र बेन फोक्सलाई राखिएको थियो । त्यसपछि कोरोना महामारीका कारण मार्चयता क्रिकेट हुन सकेको छैन । क्रिकेटको सबै संरचनामा खेल्दै आएका आएका उनी अहिले टेस्ट क्रिकेट खेल्न चाहन्छन् र आफ्नो मनपर्ने भूमिका पनि निश्चित गरेका छन् ।

‘पछिल्लो समयमा म आफ्नो विकेटकिपिङबाट सन्तुष्ट छु,’ बेरिस्टोले मंगलबार कन्फरेन्स कलमार्फत भने, ‘मेरो खेलजीवनको सुरुआतमा यस्तै केही थियो, जसमा प्रश्न उठाइएको थियो । तर पछिल्ला वर्षमा यस बारेमा मान्छेले तर्क गर्न छाडेका छन् । मैले तथ्यांक हेरेको छु र मेरो तथ्यांक धेरै राम्रो छ ।

त्यसैले मलाई यसमा फर्किन खासै कुनै समस्या छैन ।’ योर्कसायर र इंग्ल्यान्डबाट खेलेका पूर्व विकेटकिपर डेविड बेरिस्टोका छोरा जोनीले आफूले खेलेका ७० मध्ये ४८ टेस्टमा इंग्ल्यान्डका लागि विकेटकिपिङ गरेका छन् । तर पछिल्लो ७ टेस्टमा विकेटकिपरको भूमिकामा खेल्दा उनको ब्याटिङ औसत १८ मात्र छ । अभ्यासमा बोलाइएका ५ खेलाडीको सूचीलाई छोट्याएर इंग्ल्यान्डको टोलीको घोषणा गरिँदा बेरिस्टोको भविष्य कस्तो हुने हो टुंगो लाग्नेछ ।

प्रकाशित : असार ४, २०७७ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?