३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेम्वाङलाई स्पष्टीकरण सोध्न माग

राजु घिसिङ

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग कार्यसमितिका दुई पदाधिकारीले स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन् ।

नेम्वाङलाई स्पष्टीकरण सोध्न माग

नेम्वाङले आफ्ना अध्यक्ष कर्माछिरिङ शेर्पाको कार्यशैली र विधानविपरीत अभिव्यक्ति दिएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा निवेदन दिएका थिए ।

एन्फाको सातदोबाटोस्थित मुख्यालयमा मंगलबार बसेको कार्यसमितिको आपत्कालीन बैठकमा उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य रत्नकुमार श्रेष्ठले नेम्वाङसँग स्पष्टीकरण सोध्न माग गरे । उपाध्यक्ष खड्काको भनाइ उल्लेख गर्दै स्रोतले भन्यो, ‘एन्फाको वरिष्ठ उपाध्यक्षजस्तो मान्छे भएर विभिन्न मिडिया र फेसबुकमा हालेर, फिफा र एएफसीमा उजुरी पठाएर हामीले गरेका केही कार्य अवैधानिक भन्नुभएको छ । आउने कार्यसमिति बैठकमा उहाँले स्पष्टीकरण दिनुपर्छ ।’ केन्द्रीय सदस्य श्रेष्ठले पनि नेम्वाङलाई स्पष्टीकरण सोध्नुपर्ने माग राखेका थिए । उनले आफूले एन्फाबाट पटक पटक लिएको उपचार खर्च फर्काउने पनि बताएका थिए ।

उनीहरूको माग सम्बोधन गर्दै अध्यक्ष शेर्पाले भनेका थिए, ‘एन्फाकै केही भित्रका साथीहरूले हाम्रो आन्तरिक कुरा बाहिर लगेर यस्तो (विवाद) भयो । उहाँलाई (वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ) साँच्चिकै कुर्सीको लोभ हो भने आउनुस् म कार्यवाहक दिइदिन्छु ।’ स्वास्थ्यको कारण जनाउँदै वरिष्ठ उपाध्यक्ष नेम्वाङ भने बैठकमा उपस्थित भएनन् । उनले उपस्थित हुन नसक्ने जानकारी गराएपछि सोमबार बोलाइएको आपत्कालीन समितिको बैठक स्थगित भएको थयो र त्यसको भोलिपल्टै अध्यक्ष शेर्पाले आपत्कालीन बैठक बोलाएका थिए ।

शेर्पालाई गणेश थापाविरुद्धको अभियानमा नेम्वाङले निरन्तर साथ दिएका थिए । त्यही अभियानलाई अगाडि बढाउँदै शेर्पा वैशाख २२, २०७५ मा एन्फा अध्यक्ष चुनिएका थिए । तर, उनको पछिल्लो समय नेम्वाङसँग सम्बन्ध चिसिएको छ । अध्यक्ष शेर्पाले एक अन्तर्वार्तामा ‘सेनामार्फत् राष्ट्रियता सिकाउन तराईका चार जिल्लामा ग्रासरुट फुटबल सुरु गरेको’ अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए । उनकै निर्देशनमा एन्फाको सचिवालयले ग्रुप च्याटमा दिएको प्रतिक्रियाको आधारमा ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई आउने अधिवेशनसम्मलाई निलम्बन गरेको थियो, जुन अधिकार कार्यसमितिको हो । यिनै विषयलाई लिएर ‘अवैधानिक कार्य भइरहेको’ भन्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङ, पूर्वअध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र ललितपुर अध्यक्ष थापाले फिफा र एएफसीमा निवेदन दिएका थिए ।

एक दिनअघिमात्रै बोलाइएको आपत्कालीन बैठकमा उपाध्यक्ष कृष्ण थापा कास्की, वीरबहादुर खड्का सिन्धुपाल्चोक, केन्द्रीय सदस्यहरू दीर्घबहादुर केसी (कुमार) रूपन्देही, रत्नकुमार श्रेष्ठ तनहुँ र पूर्णमान चित्रकार नुवाकोट, रवीन्द्रमान कोजु काभ्रेबाट सातदोबाटो आइपुगेका थिए । उपत्यकामा रहेका निर्वाचित र मानार्थ सबै पदाधिकारी बैठकमा सहभागी थिए । राजधानीबाहिर रहेका केन्द्रीय सदस्यद्वय किरण राई र नीरज खड्गीसँगै मानार्थ पदाधिकारीहरूलाई जुममार्फत भर्चुअल रूपमा सहभागी गराइएको थियो ।

भक्तपुर जिल्ला संघ विघटन

अध्यक्ष शेर्पाको कार्यशैलीको सुरुबाटै विरोध गरेका तथा एन्फामा अनियमितता भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न निकायमा काठमाडौं, ललितपुर र धादिङसँगै उजुरी दिएका भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गर्ने निर्णय गर्दै आपत्कालीन कार्यसमिति बैठकले तदर्थ कमिटी पनि बनायो ।

फिफाद्वारा भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाइएका एन्फाका पूर्वअध्यक्ष गणेश थापानिकट मानिएका गौतम सुजखु अध्यक्षताको कार्यसमितिलाई विधानको धारा १४ को उपधारा १ क र ट तथा धारा २१ को उपधारा ३ विपरीत कार्य गरेको भन्दै विघटन गरिएको एन्फाले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड–१९ का कारण सरकारले लगाएको लकडाउन पूर्ण रूपमा खुलेको ६ महिनाभित्रलाई भन्दै किशोर हेक्कालाई अध्यक्ष, अनिल हेक्का र विकास थापालाई उपाध्यक्षको जिम्मेवारी दिँदै १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

फर्काइए घले

कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमिति निर्वाचित भएको पहिलो बैठकबाट टासी घलेलाई मानार्थ अध्यक्षमा मनोनयन गरिएको थियो । तर, चाहेको जिम्मेवारी नपाएपछि उनी अध्यक्ष शेर्पाविरुद्ध उत्रिए । उनले चुनावअघि आफ्नो समूहको बैठकको ‘टेप रेकर्ड’ नै सार्वजनिक गरे, फिफा र एएफसीसम्मै पुर्‍याए । त्यसपछि अध्यक्ष शेर्पाले कार्यसमिति बैठकबाट निर्णय गराउँदै घलेलाई दिइएको मानार्थ अध्यक्ष पद खोसेका थिए ।

मनाङ मर्स्याङ्दी क्लबका पूर्वअध्यक्ष रहेका घले आफ्नो मानार्थ पद खोसिएपछि अदालत पुगे । अदालतले उनलाई उक्त पदमा कायमै राख्नू भन्दै राष्ट्रिय खेलकुद परिषद्लाई आदेश दियो । तर, परिषद्ले घलेलाई पुनःस्थापित गर्न एन्फालाई पत्राचार गरेको छैन । त्यसैले उनलाई अहिलेको कार्यसमितिले दोस्रो पटक मानार्थ अध्यक्षमा मनोनयन गरेको हो । पछिल्लो समय गणेश थापाको सम्पर्कमा रहेका घलेलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एन्फा अध्यक्ष शेर्पासँग सम्बन्ध सुधार गर्ने प्रयास गराएका थिए ।

अध्यक्ष शेर्पाले घलेलाई फेरि मनोनयन गर्नेबारे कार्यसमिति बैठकमै भने, ‘मैले टासी दाइलाई एन्फामा फर्काउन केही पदाधिकारी साथीहरूलाई पठाएको थिएँ । उहाँ फर्किनुभएकोमा हामीले गौरव गर्नुपर्छ ।’ एन्फाको कार्यशैलीको विरोध चर्किदै गएपछि अध्यक्ष शेर्पाले पूर्व पदाधिकारीहरूलाई फकाउन थालेका छन् । बैठकले केहीअघिसम्म गणेश थापानिकट रहेका पूर्वकेन्द्रीय सदस्य रमेश रायमाझीलाई लिग कमिटीको उपसंयोजक मनोनयन गर्‍यो ।

बैठकले बैंकिङ कसुरमा परेका कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङको विषयमा छानबिन गर्न बनाइएको समितिका संयोजक रत्नकुमार श्रेष्ठले कोभिड–१९ र स्वास्थ्यको कारण राजीनामा दिएको उल्लेख गर्दै त्यो जिम्मेवारी उपाध्यक्ष वीरबहादुर खड्कालाई दिने निर्णय गर्‍यो । जबकि श्रेष्ठले यही अवधिमा कोरोना भाइरसको महामारीबाट प्रभावितलाई राहत दिनका लागि बनाइएको समितिको संयोजक भएर काम गरेका थिए ।

त्यस्तै, विश्वकप २०२२ छनोटको तयारीको लागि राष्ट्रिय टिमको प्रशिक्षण जुलाईबाट गर्ने तथा पुरुष र महिला राष्ट्रिय टिमका ३५–३५ खेलाडीको कोरोना बिमा गर्ने निर्णय गर्‍यो ।

विरोधीको जिम्मेवारी खोसियो

एन्फा कार्यसमितिको आपत्कालीन बैठक बसेको भोलिपल्ट बुधबार अध्यक्ष कर्माछिरिङ शेर्पाको केही कार्यको विरोध गर्दै आएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र केन्द्रीय सदस्य दावा लामाको जिम्मेवारी खोसेको छ ।

नेम्वाङ संयोजक रहेको पदपूर्ति समितिमा मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीलाई प्रमुखको जिम्मेवारी दिइएको एन्फाले बुधबार आफ्नो फेसबुक पेजमार्फत जनाएको छ । त्यस्तै, दावा लामा संयोजक रहेको फुटसल कमिटीको जिम्मेवारी पनि रत्नकुमार श्रेष्ठलाई दिइएको छ । संयोजक परिवर्तन गरिएकोबारे केही उल्लेख नगरे पनि दुवै समितिमा सदस्यलाई भने यथावत राखिएको छ । सदस्य संघहरूको संयोजन समितिको संयोजक उपाध्यक्ष वीरबहादुर खड्कालाई बनाइएको छ । यसअघि यो समिति संयोजकमा नेम्वाङ रहेका थिए । नयाँ जिम्मेवारी पाएका तीनै पदाधिकारीले पछिल्लो समय अध्यक्ष शेर्पाको बचाउ गरिरहेका छन् । नेम्वाङ र लामाले भने मधेशमा राष्ट्रियता सिकाउने अध्यक्षको अभिव्यक्ति विधानविपरीत भएको भन्दै कार्यसमिति बैठकमै शेर्पाको राजीनामा माग गरेका थिए ।

प्रकाशित : असार ४, २०७७ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?