२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अस्ट्रेलियामै अड्किए दुई खेलाडी

राजु घिसिङ

काठमाडौँ — चेस खेलाडीद्वय मदनकृष्ण कायस्थ र राजन दाहाल अस्ट्रेलियाको चर्चित चेस प्रतियोगिता ‘द डोएबर्ल कप’ मा भाग लिन चैत ४ मा सिड्नीतर्फ उडेका थिए । त्यसको दुई दिनअघि नै आयोजकले कोरोना भाइरसका कारण यसपालि (सन् २०२०) को संस्करण रद्द गरिएको सूचना आफ्नो वेबसाइटमा राखिसकेका थिए । तैपनि ‘केही पछि भए पनि’ प्रतियोगिता खेल्न पाउने आशामा मदन र राजन अस्ट्रेलिया पुगे । त्यसयता यी दुई खेलाडी अस्ट्रेलियामै अड्किएका छन् ।

अस्ट्रेलियामै अड्किए दुई खेलाडी

सातौं राष्ट्रिय खेलकुद २०७२ को स्वर्ण पदक विजेता मदनले भने, ‘विमान चढेपछि मात्रै थाहा पायौं प्रतियोगिता स्थगित भयो भनेर । किनभने कोरोनाले नेपालमा त्यतिबेला समस्या ल्याइसकेको थिएन । हामी अस्ट्रेलिया आएपछि नेपालमा लकडाउन (११ चैत) भयो र अन्तर्राष्ट्रिय उडान पनि बन्द गरियो । त्यसैले यतै (अस्ट्रेलिया) अड्कियौं ।’

उनीहरू दुई साताको क्वारेन्टाइनसहित १६ दिन सिड्नी बसे । त्यसपछि अप्रिल २ मा मेलबर्न पुगे । राजनले नातेदरको घरमा बसेको बताए भने मदनले साथीभाइको सहारा लिइरहेका छन् ।

‘सिड्नी ओर्लनेबित्तिकै दुई साता होटलमा क्वारेन्टाइन बस्नुपर्‍यो,’ अस्ट्रेलियाबाट राजनले भने, ‘आफ्नै खर्चमा आफ्नै तरिकाले खेल्न आएका थियौं । दुईतर्फी हवाई टिकट पहिल्यै लिइसकेकोले हामी दुई जनाले बोक्न पाउने जति २ हजार डलर (अस्ट्रेलियन) ल्याएका थियौं । त्यो पनि अस्ट्रेलियाको चिनो किन्नुपर्छ कि भनेर बोकेका थियौं । तर, त्यो सबै पैसा क्वारेन्टाइन बस्दा होटलमै सकियो । थप खर्च घरबाट मगाउनुपर्‍यो । एक हप्तामा फर्किने भनेको धेरै बस्नुपरेपछि गाह्रै भयो । गाह्रै भए पनि हामीले व्यवस्थापन गरिरहेका छौं ।’ गैरआवासीय नेपाली, नातेदार र साथीहरूले सहयोग गरिरहेको उनले बताए ।

अस्ट्रेलियाको प्रिमियर ग्राँप्रि चेसको रूपमा सन् १९६३ यता नियमित आयोजित डोएबर्ल कप यसपालि अप्रिल ९–१३ मा क्यानबेरामा गर्ने तय गरिएको थियो । तर कोरोना महामारीको कारण अस्ट्रेलियन सरकारले भीडभाड हुने अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने कार्यक्रममा प्रतिबन्ध घोषणा गरेपछि आयोजकले १५ मार्चमा १३ हजार १ सय ३५ अस्ट्रेलियन डलर पुरस्कारको डोएबर्ल कप यसपालिलाई रद्द गर्दै अब सन् २०२१ मा मात्रै आयोजना गर्ने सूचना प्रकाशित गरेको थियो । त्यसैले मदन र राजन क्यानबेरा पुग्नै पाएनन् । अप्रिल १५ को रिटर्न टिकट लिए पनि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा उतै अड्किएका उनीहरू हाल मेलबर्नमा छन् ।

‘आफन्तकहाँ बसिरहेको छु । बिस्तारै खुलेपछि आउनेछौं (नेपाल),’ तनहुँका ३६ वर्षीय राजनले भने । फिडे रेटिङमा १६२३ वरीयताका उनले भिसासम्बन्धी समस्या नभएको पनि बताए, ‘हामी ४०८ (सांस्कृतिक तथा खेलकुद) भिसामा आएका हौं । कोभिड– १९ को कारण अस्ट्रेलियाले स्वत: तीन महिना भिसा थप्ने नियम ल्याएकाले हामीलाई समस्या छैन । यहाँको अध्यागमनमा पनि सम्पर्कमा गरिसक्यौं ।’

‘धेरै गाह्रो भएको छ । साथीभाइसँग बसिरहेको छु,’ काभ्रेका २९ वर्षीय मदनले भने, ‘मेलबर्न पूरै लकडाउन छैन । तर पूरा खुल्न भने बाँकी नै छ । यत्तिकै बस्न निकै गाह्रो भइरहेको छ ।’

नेपाल सरकारले आफ्नो नागरिक स्वदेश फर्काउन अस्ट्रेलियामा पनि उडान गर्ने सूची प्रकाशित गरिसकेको छ । ‘पहिला उद्धार गर्छ कि भनेर धेरैसँग सम्पर्क गरेका थियौं,’ २०४८ रेटेड मदनले भने । उनले जर्जियाको बातुमीमा सन् २०१८ मा भएको ४३ औं चेस ओलम्पियाड र तुर्कमेनिस्तानको अस्गाबातमा २०१७ मा सम्पन्न पाँचौं एसियन इन्डोर गेम्समा पनि प्रतिस्पर्धा गरेका थिए । ४४ औं चेस ओलम्पियाड अगस्ट ५–१७ मा मस्को (रुस) मा तय गरिए पनि अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) ले कोरोना भाइरसका कारण उक्त प्रतियोगिता सन् २०२१ को लागि सारिसकेको छ ।

प्रकाशित : असार १, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?