कमालकी येलेना

क्या ! गज्जबकी खेलाडी थिइन्, उनी । अहिले त उनी ठूलै खेल पदाधिकारीको भूमिकामा छिन् । उनीसँगै जोडिएर आउने गर्छ, केही न केही विवाद पनि । उनी हुन्, जुन ३ मा जन्मेकी रूसी पोल्भल्ट खेलाडी येलेना इसेनबायभा ।
राेयटर्स

एथेन्स — केहीले मात्र आफ्नो स्पर्धामा यति धेरै एक्लो प्रभुत्व कायम गरेको हुनुपर्छ । रुसी खेलाडी येलेना इसेनबायभाको नाममा अझै रहेको छ, पोलभल्टको विश्व कीर्तिमान ।

कमालकी येलेना

उनले लगातार ओलम्पिकमा स्वर्ण पनि जितिन् । उनको नाममा दुई दर्जन जति विश्व कीर्तिमान ज्युँको त्युँ छ । त्यस्तै सात इन्डोर र आउटडोर विश्व उपाधि पनि । यो कथा हो, कमालकी येलेनाको ।

अहिले उनी ३७ वर्षकी भइन् । खेल्न छाडेको लामै समय भइसकेको छ । अहिले उनी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को सदस्य पनि छिन् । प्रतिबन्धित शक्तिबर्द्धक औषधिको प्रयोगका कारण प्रतिबन्धमा परेको आफ्नो देशलाई दिएको सजायको विषयमा बोलेर पनि उनी विवादमा तानिन्छिन् । त्यतिमात्र होइन, समलैंगिकताबारे उनका धारणा पनि कम्ता विवादास्पद छैनन् ।

एउटा के तथ्यमा पटक्कै दुईमत छैन भने उनको जत्तिको पोलभल्टको कलाकौशल कसैमा थिएन, त्यो चाहे पुरुष होस् वा महिला खेलाडी । उचाइ नाप्ने क्रममा उनको सुरुआत नै बलियो र आक्रामक हुने गर्थ्यो । जति बेला उनी घुमाउरो बाटो तय गरेर माथि पुग्ने गर्थिन्, त्यसमा लचकता पनि औधी हुने गर्थ्यो । लाग्थ्यो, यसलाई दोहोर्‍याएर हेरिरहुँ, फेरि दोहोर्‍याएर हेरिरहुँ ।

यसै कारण लगभग दुई दशक पोलभल्ट मन पराउने सबैले उनकै नाम जपे । आउटडोरमा उनको कीर्तिमान छ, ५.०६ मिटरको । सन् २००९ मा उनले यो कीर्तिमान जुरिचमा कायम गरेकी थिइन् । यसलाई अहिलेसम्म कसैले उछिन्ने छाँटकाँट देखाएका छैनन् । सन् २००३ मा उनी विश्व एथलेटिक्समा देखापरेकी थिइन्, जतिबेला उनी भर्खर २१ वर्षकी थिइन् ।


येलेनाले त्यही समय विश्व कीर्तिमान बनाएकी थिइन् । त्यसको एक वर्षपछि त उनी एथेन्स ओलम्पिककी नायिका नै साबित भइन् । स्वर्ण जितिन् र बनिन् सबैका प्रिय । झन् त्यसपछि त विश्व च्याम्पियन र विश्व कीर्तिमान त उनको पछि पछि लाग्यो । सन् २००९ को बेइजिङ ओलम्पिकमा पनि उनले स्वर्णको उपलब्धि दोहोर्‍याइन् । यसक्रममा उनले आफूलाई साबित गरिन्, महिला पोलभल्टकै सर्वकालीन महान् खेलाडी ।

सन् २००९ मा बर्लिनमा भएको विश्व च्याम्पियनसिप भने उनका लागि दुःखद साबित भयो, सुरुआती तीन प्रयासमै उनी नराम्रोसँग चुकिन् । त्यो त्यस्तो स्थिति थियो, जतिबेला उनको सुन्दर अनुहारबाट आँसु छचल्किएको थियो । त्यो रसाएको आँखाले उनलाई अझ राम्रो खेल्न प्रेरित गर्‍यो । नभन्दै उनले केही साताको अन्तरमा विश्व कीर्तिमान पनि बनाइन्, जुन अहिलेसम्म कायमै छ ।

सन् २०१२ को लन्डन ओलम्पिकमा उनको नाममा खाली कांस्य रह्यो । प्रतिस्पर्धाको त्यो दिन चिसो हावा बगिरहेको थियो । येलेना लय समात्न चुकिरहेकी थिइन् । त्यसैले उनले आफ्नो संन्यास योजना तीन वर्षले पछाडि धकेलिन् । घोषणा गरिन्, सन् २०१६ को रियो दी जेनेरियो ओलम्पिक पनि खेल्ने योजना । तर त्यो सपना तुहियो । किनभने रुस डोपिङ प्रकरणमा बदनाम थियो, प्रतिबन्धमा परिसकेको थियो ।

त्यसैले येलेनाले संन्यासको घोषणा गर्न किञ्चित पनि समय लगाइनन् । तर यति भने पक्कै भनिन्, ‘कोही कसैले येलेनाबबिना प्रतिस्पर्धा गर्छ र स्वर्ण जित्छ भने त्यसको के नै अर्थ र ?’

उनी यत्तिकैमा रोकिइनन् र जसले रुसको डोपिङ प्रकरणको पर्दाफास गरे, त्यसको पनि खिल्ली उडाइन् । यस्तोमा उनी चर्को विवादमा पर्नु थियो नै । आखिरमा रुसले देशै लागेर आफ्ना खेलाडीलाई शक्तिबर्द्धक औषधि प्रयोग गर्न लगाएको थियो ।

समलैंगिकताबारे पनि उनी आफ्नो विवादास्पद धारणा राख्ने गर्छिन् । सन् २०१४ को सोची ओलम्पिकअगाडि उनले भनेकी थिइन्, ‘हामीले आफूलाई सामान्य मानिस मान्नुपर्छ जहाँ लोग्नेमानिस र स्वास्नीमानिससँग हुने गर्छ अनि युवायुवतीसँग, किशोरकिशोरीसँग ।’ पछि धेरै विवाद भएपछि उनले आफ्नो भनाइको गलत अर्थ निकालिएको पनि भनिन् आफ्नो बचाउमा ।


प्रकाशित : जेष्ठ २५, २०७७ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?