सफलताको आधार हाइअल्टिच्युड ट्रेनिङ सेन्टर

हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बनाएर मार्केटिङ गर्न सक्यौं भने विदेशी टिम, खेलाडी आएर यहाँ प्रशिक्षण गर्न सक्छन् ।
रमेशकुमार सिलवाल

हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणका लागि विस्तृत अध्ययन भएको छैन । अहिले हामी यही अध्ययन गर्न खोज्दैछौं । ५ वर्षदेखि हाइअल्टिच्युडमा बजेट निकासा भएको रहेछ, तर पूर्वाधार बनेको केही छैन । अहिले केही ठाउँमा सुरुआत भएको छ ।

मनाङमा मैदान सम्याउने काम सम्पन्न गरेका छौं र कभर्डहल बनाउन सुरु गर्दैछौं । मुस्ताङको जग्गा प्राप्तिको क्रममा छ । मुस्ताङको स्थिति विचित्र रहेछ । त्यहाँ जोमसोमअगाडि कभर्डहल बनिरहेको छ । कालीगण्डकीको किनारमा पर्खाल लगाउने काम भएको छ । मुक्तिनाथ मन्दिरसँगै बनाउने भनेर ठाउँ छुट्याइएको छ । तर कित्ताकाट भएको छैन । व्यक्तिको जग्गाबाहेक सिंगो एकमुष्ट सरकारी जग्गा रहेछ । कित्ताकाटका लागि नेपाल सरकारमा फाइल पुगेको छ । त्यो फाइनल भएर आइपुगेको छैन ।

हाइअल्टिच्युड ट्रेनिङको निर्माणमा पहिला के गर्ने भन्ने थाहा पाउँदा एउटा खेल मैदान, एथलेटिक्स ट्रयाक र कभर्डहल आवश्यक पर्दोरहेछ । पौडीपोखरी, साउना ज्याकुजी, स्टिम बाथ, साइक्लिङ, हर्स राइडिङ आवश्यक रहेछ । यसका पनि तीनवटा सिद्धान्त हुने रहेछ, एउटा हाइअल्टिच्युड उच्च प्रदर्शन, लो अल्टिच्युड उच्च प्रदर्शन र हाइअल्टिच्युड लो प्रदर्शनमा आधारित । यसैमा आधारित रहेर प्रशिक्षण गराउनुपर्ने रहेछ । यसबाहेक फिजिकल फिटनेस, अस्पताल यसका आवश्यकता रहेछन् । हाइअल्टिच्युड ट्रेनिङ सेन्टर नजिक होटल र आवासको राम्रो व्यवस्थासहित हेलिप्याड हुनुपर्छ । यसका आधारभूत आवश्यकता यही हुन् ।

यसैमा अन्य आवश्यकता के के छन् भनेर बनाउन एउटा जिम्मा दिइएको छ । मेरो सोच पहिला अलिकति धेरै जग्गा भएको स्थान हेरौं भन्ने हो । मेलम्चीमा पनि जग्गा धेरै भएको स्थान पाइएको छ, तर लकडाउनका कारण त्यहाँ हेर्न जान पाइएको छैन । त्यहाँ जग्गा विवाद छ भन्ने सुनेका छौं । सैलुङमा स्थानीय तहले ५ रोपनी जग्गा दिएको छ । त्यो जग्गा थोरै हुने भएकाले सैलुङमा तेक्वान्दो कभर्डहल बनाउने सोचेका छौं । लुक्लामा पनि १७–१८ रोपनी जग्गा पाइएको छ । विस्तृत नक्सा बनाएर त्यसको आवश्यकता हेरेर अर्को स्थानमा जाने भन्ने हो । मनाङमा एउटा बहुउद्देश्यीय कभर्डहल र अर्को फुटबल मैदानबाहेक बनाउन सकिँदैन । नेपाल सरकारले यसलाई प्राथमिकता दिएको छ । काम गर्दै जाउँ बजेट पुगेन भने थप्दै जाने हो । बजेटले सम्बोधन गरेको कर्णालीमा खेलकुद पूर्वाधार बनिसकेपछि हाइअल्टिच्युड खेल आयोजना गर्न सकिन्छ ।

वैज्ञानिक हिसाबमा प्रमाणित भएको के हो भने एउटा खेलाडीले समुद्री सतहमा खेल्नु, त्यसपछि मध्यमा खेल्नु र हाइअल्टिच्युडमा खेल्नुमा अल्टिच्युटकै राम्रो प्रदर्शन रहेको पाइयो । कारण फोक्सो ठूलो हुने, शरीरले अक्सिजन पाउने, खेलाडीहरू ध्यान एकीकृत भएर खेल्न सक्ने हुनाले प्रदर्शन भएको छ ।

हाइअल्टिच्युड ट्रेनिङको परिकल्पना गरिएको पनि धेरै भएको छैन । नेपालको सन्दर्भमा हेर्ने हो भने हरिबहादुर रोकाय, विश्वरूपा बुढालगायत जुम्लाका खेलाडीले राम्रो नतिजा दिइएको पाइएको छ । मीरा राई, स्व. सञ्जय पण्डितजस्ता खेलाडीको प्रदर्शन पनि हाइअल्टिच्युडले गर्दा राम्रो पाइएको थियो । सम्भव भएको स्थानमा हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बनाउँदै जाने हो । तर कर्णाली प्रदेशमा त्यसका लागि जग्गा नै भेटिँदैन । जग्गा भएको स्थानबाट प्रस्ताव आएको छैन, प्रस्ताव आएको स्थानमा जग्गा छैन । जुम्लाको एक स्थानमा म उद्घाटन नै गर्न जाँदैथिएँ, लकडाउनले रोकियो । रारा ताल नजिक पनि जग्गा छ भनेको छ, त्यहाँ पनि गएर हेर्नेछु । डोल्पामा जग्गा किनिएको छ, नपुग जग्गा व्यवस्थापन गर्नेछौं ।

हामीले हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बनाएर मार्केटिङ गर्न सक्यौं भने विदेशी टिम, खेलाडी आएर यहाँ प्रशिक्षण गर्न सक्छन् । त्यसको दुई कारण छन् । कतिपय देशले हाइअल्टिच्युड प्रशिक्षण दिएको जानकारी दिन खोज्दैनन् रहेछन् । १०–११ वर्षअगाडि दक्षिण कोरियाको यू–१९ को २३ सदस्यीय टोली प्रशिक्षण गर्न नेपाल आएको थियो । मैले र दिवाकरलाल अमात्यले त्यसको सहकार्य गरेका थियौं । उनीहरूले यहाँ झन्डै ३५ दिन दशरथ रंगशालामा अभ्यास गरे । जुन स्थानमा गएर उनीहरू खेल्दै थिए त्यसको हावापानी सबै नेपालसँग मिल्थ्यो । त्यस्तो वातावरण कोरियामा मिल्दैनथ्यो । यसले राम्रो प्रदर्शन दिन्छ भनेर उनीहरू नेपाल आएका थिए । उनीहरूले नतिजा पनि राम्रो ल्याएको सुनियो । हाइअल्टिच्युडमा उच्च प्रदर्शन दिन्छ भन्ने एउटा आधार पनि भयो । व्यावसायिक खेलाडी हाइअल्टिच्युड मात्र हेरेर आउँदैनन् । उनीहरूलाई होटलसहित खानेबस्ने सुविधा त्यहीअनुसार हुनुपर्छ । स्वास्थ्यमा सचेत हुन्छन् । अस्पतालमा हामीले ध्यान दिन सक्नुपर्छ । जिमलगायतका सुविधा राम्रो हुनुपर्‍यो । राम्रो सुविधा बनाएर मार्केटिङ गर्न सक्यौं भने मात्र विदेशी खेलाडी र टिम आउँछन् ।

सबैभन्दा राम्रो र ठूलो जग्गा देखिएको मुस्ताङमा हो । स्थानीय विद्यालयले मैदान उपलब्ध गराइदिन्छ । मुक्तिनाथको नजिक होटल बनाउनुपर्दैन । त्यहाँ राम्रो होटल सुविधा छ । खानपिनको पनि समस्या छैन । हेलिकप्टर राख्न पनि समस्या छैन । जिमको लागि सामाग्री खरिद गरेर लान सकिन्छ । त्यहाँ एउटा देखिएको छ । एकै वर्षमा सबै नसकिएला, तर प्रारूप तयार बनायौं भने क्रमश: हामीले त्यसलाई विकास गर्दै लान सक्छौं । झन्डै ३–४ महिना हिउँ पर्ने भएकाले त्यहाँ खेल्न सकिन्न । अरू समयमा प्रशिक्षण गर्न सकिन्छ । स्वास्थ्यको हिसाबले पनि धेरै बुझेर यो प्रक्रिया अगाडि बढाउनुपर्छ ।

–राष्ट्रिय खेलकुद परिषद् सदस्य–सचिव सिलवालसँग विनोद पाण्डेले गरेकाे कुराकानीमा आधारित

प्रकाशित : जेष्ठ २४, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

हाइअल्टिच्युड तालिम केन्द्र र यसको महत्त्व

सुशीलनरसिंह राणा

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा हाइअल्टिच्युड तालिम केन्द्र स्थापना बारेमा सम्माननीय राष्ट्रपतिबाट सम्बोधन भएबाट नेपाली खेलकुदको लामो समयदेखि प्रतीक्षारत महत्त्वाकांक्षी परियोजना सफलताउन्मुख देखिएको छ ।

हाइअल्टिच्युड र यसको इन्डोरेन्स खेलमा पर्ने प्रभाव

इतिहासलाई फर्केर हेर्दा समुद्री सतहबाट करिब २,२५० मिटर उचाइमा रहेको मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सन् १९६८ मा आयोजना भएको १९ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी भएका खेलाडीमध्य उचाइमा तालिम गर्ने र समुद्र सतहमा तालिम गरेका खेलाडीको प्रदर्शनमा ठूलो भिन्नता रह्यो । लामो दुरी तथा म्याराथन विधातर्फ कम उचाइबाट आएका धेरै खेलाडीहरू दौड पूरा गर्न नसक्नु, दौडँदा दौडँदै अचेत परेर ढल्नु र समग्रमा नतिजा समेत नराम्रो भएपछि यसका पछिका कारणहरूको अनुसन्धान सुरु भयो र विश्व खेलकुदमा हाइअल्टिच्युड ट्रेनिङको महत्त्व बढेको थियो ।

सन् १९६४ मा जापानको टोकियोमा भएको १८ औं ग्रीष्मकालीन ओलम्पिकमा इथियोपियाका धावक अबिबी बिकिलाले म्याराथनमा २ घन्टा १२ मिनेट ११ सेकेन्डमा दौडेर विश्व कीर्तिमान बनाएका थिए भने हाइअल्टिच्युडका कारणले मेक्सिको सिटी ओलम्पिकमा इथियोपियाकै मामो ओल्डीले २ घन्टा २० मिनेट २६ सेकेन्डमा दौड पूरा गरी पहिलो भएका थिए ।

मेक्सिको ओलम्पिकदेखि हालसम्मै विश्व एथलेटिक्सका म्याराथन र लङ डिस्टान्सका इभेन्ट्समा आफ्नो देशको हाइअल्टिच्युडको फाइदा लिँदै केन्या, इथियोपिया, इरेट्रिया, युगान्डाका धावकले विश्व कीर्तिमानमा आधिपत्य जमाउँदै आएका छन्, जसमा म्याराथनका विश्व कीर्तिमानी केन्याका धावक इल्युड किपचोगी (२ घन्टा १ मिनेट ३९ सेकेन्ड), जोसेप किपसाङ, पिटर किपलागाट र चारपटकका विश्व च्याम्पियन र दुईपल्ट ओलम्पिक जितेका इथियोपियाका हैइली गेबेर्सिलासी, टिरुनेस डिबाबा ५००० मिटर दौडमा विश्व कीर्तिमान, केनिसिया बिकेली (२ घन्टा १ मिनेट ४१ सेकेन्ड), इरेट्रियाका विश्व कीर्तिमानी हाफ म्याराथन धावक जरसिने टडेसे (५८ मिनेट २३ सेकेन्ड) र युगान्डाका २०१२ का म्याराथन ओलम्पिक च्याम्पियन स्टिफन किपरोटिभका नाम प्रमुख छन् ।

सैद्धान्तिक हिसाबले हाइअल्टिच्युड ट्रेनिङका लागि २००० देखि २५०० मिटरको उचाइ उपयुक्त मानिन्छ । हाइअल्टिच्युडमा हावाको चाप कम हुनाको कारणले वातावरणमा अक्सिजन प्रतिकूल रहन्छ । रगतमा अक्सिजनको मात्रा घट्दा लामो दूरीका धावक र इन्डोरेन्स खेलका खेलाडीहरूमा मांसपेशीको कार्यक्षमतामा ह्रास हुँदै जाने, श्वास र्फेन गाह्रो हुने, वाकवाकी लाग्ने रिङ्गटा लाग्ने र बीचैमा खेल परित्याग गर्नुपर्ने सम्मको स्थिति आउँछ यस अवस्थामा खेलाडीलाई तुरुन्त अक्सिजन दिनुपर्ने हुन्छ । हाइअल्टिच्युडमा अक्सिजन कमीको बाबजुद लामो समयसम्म वैज्ञानिक विधिसम्मत ट्रेनिङ गर्दा शरीरले अतिरिक्त रातो रक्तकोशिकाको वृद्धि गर्छ, जसले समुद्री सतह वा कम उचाइ भएको स्थानमा प्रतियोगिता खेल्दा मांसपेसीमा अतिरिक्त रातो रक्तकोशिकासहितको अक्सिजन प्रवाह हुने हुँदा दौडमा सहजता आउनाले नतिजामा १ देखि २ प्रतिशतसम्म सुधार आउने र यसको असर १० देखि २० दिनसम्म देखिने वैज्ञानिक अध्ययनले देखाएको छ ।

हाइअल्टिच्युड ट्रेनिड सेन्टरको बहस चलिरहँदा यो दुई प्रकारको विधिबाट चयन गर्न सकिन्छ । पहिलो विधि जुन एकदमै सान्दर्भिक र प्राकृतिक विधि हो । जुन सैद्धान्तिक हिसाबले सामुद्रिक सतहबाट २ हजार मिटर देखि २५ सय मिटर (६५६१ देखि ८२०२ फिट) सम्म उचाइमा सेन्टरको स्थापना गर्न सकिन्छ किनकि यस प्रकारको उचाइमा उपत्यका वा समथल पहाडी भागलाई विशेषत समेट्न सकिन्छ यसका लागि खेल सामग्री, जिमसहितको अत्याधुनिक सिन्थेटिक ट्रयाक, स्वास्थ्य वैज्ञानिक प्रयोगशाला, खेलाडी होस्टेल, मेस, खेलविज्ञको व्यवस्था, स्तरीय होटलको व्यवस्थासहित सानो बजार, यातायातको राम्रो पहुँच, आपत्कालीन एयर लिफ्ट गर्न सकिने वा एयरपोर्टको सुविधा हुनु राम्रो मानिन्छ ।

दोस्रो विधि भनेको कृत्रिम विधि हो । विशेष वैज्ञानिक उपकरणको प्रयोग गरी आफ्नो अनुकूल ठाउँमा विज्ञ प्राविधिकको प्रत्यक्ष निगरागीमा आफ्नो अनुकूल रगतमा अक्सिजनको कमी गरी गराइने क्लिनिकल प्राक्टिसलाई हाइपोक्सिया उपचार विधि वा हाइपोक्सिया ट्रेनिङ भनिन्छ । कृत्रिम तबरले बनाइएको यस प्रकारको च्याम्बरमा आफूलाई अभ्यस्थ बनाउन महिनौं बिताउँदा मानसिक रूपमा पनि खेलाडीलाई असर पर्ने हुँदा प्रशिक्षणका लागि खुला पहाडी प्राकृतिक वातावरण नै हाइअल्टिच्युड ट्रेनिङ गर्नेहरूको रोजाइमा पर्छ ।

हाल दक्षिण एसियाली मुलुकमा रहेका प्रमुख दुई हाइअल्टिच्युड ट्रेनिङ सेन्टरको कुरा गर्दा २०१० मा भारतको हिमाञ्चल प्रदेशको सिमलाको सिलारो भन्ने ठाउँमा करिब ८००० फिट (२४३७ मिटर) उचाइमा ७८ एकड क्षेत्रफलमा स्थापना भएको नेताजी सुभाष हाइअल्टिच्युड ट्रेनिड सेन्टरलाई लिन सकिन्छ, जसमा हाइअल्टिच्युड ट्रेनिङ सेन्टरका लागि आवश्यक विश्वस्तरीय सुविधाहरू उपलब्ध छन् । त्यसयता भारतका मध्यम र लामो दूरीको नतिजा हेर्दा यसले ठूलो छलाङ मारेको देखिन्छ । ती इभेन्टसहरूमा एसियामा स्वर्ण पदक मात्र नभै धेरै खेलाडी आगामी ओलम्पिक र विश्व एथलेटिक्स प्रतियोगितामा समेत योग्य भई छनोट हुन सफल भइरहेका छन् ।

यसैगरी दक्षिण एसियाको सानो मुलुक भुटानको थिम्पुमा सन् २०१५ मा भुटान एमेच्योर एथलेटिक्स एसोसिएसनद्वारा स्थापना भएको हाइअल्टिच्युड ट्रेनिङ सेन्टरलाई लिन सकिन्छ । ७३७५ फिट (२३३४ मिटर) को उचाइ तथा उत्कृष्ट प्राकृतिक वातावरणमा अवस्थित यो सेन्टरको स्थापनासँगै भुटानका खेलाडीहरूले लामो दूरीमा नयाँ नयाँ कीर्तिमान बनाउन थालेका छन् । हाल यो सेन्टर अल्टिच्युड ट्रेनिङका लागि दक्षिण एसियालगायत एसियाका खेलाडीहरूको रोजाइमा पर्छ ।

-लेखक अन्तर्राष्ट्रिय एसोसिएसन अफ एथलेटिक्स महासंघका प्रशिक्षक एवं लेक्चरर हुन् ।

प्रकाशित : जेष्ठ २४, २०७७ ०९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×