कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हाइअल्टिच्युड ट्रेनिङ सेन्टर किन ?

सन् १९९७ देखि २००१ सम्म तीनपटक एभरेस्ट म्याराथन जितेर उनी विश्व कीर्तिमानी खेलाडी बनेका हुन् । यही परिचयले उनलाई स्थापित बनायो । जुम्लाका डाँडाकाँडा र त्यसको फेदमा दैनिक अभ्यास गरिरहने उनलाई नाम्चेको बेसक्याम्पमा पाएको सफलता कुनै नौलो भने थिएन ।
विनाेद पाण्डे

काठमाडौँ — जुम्लाका हरिबहादुर रोकाय नेपाली एथलेटिक्समा लामो दूरीका धावक रहे । सन् १९९२ को बार्सिलोना ओलम्पिकमा म्याराथन दुरी पूरा गरेका उनले आंशिकमात्र सफलता पाए । उनको खास परिचय हाइअल्टिच्युडमा पाएको सफलताले दियो । आफ्नो खेलजीवन टुंगाउने क्रममा उनी एकाएक विश्व कीर्तिमानी खेलाडी बने । 

हाइअल्टिच्युड ट्रेनिङ सेन्टर किन ?

सन् १९९७ देखि २००१ सम्म तीन पटक एभरेस्ट म्याराथन जितेर उनी विश्व कीर्तिमानी खेलाडी बनेका हुन् । यही परिचयले उनलाई स्थापित बनायो । जुम्लाका डाँडाकाँडा र त्यसको फेदमा दैनिक अभ्यास गरिरहने उनलाई नाम्चेको बेसक्याम्पमा पाएको सफलता कुनै नौलो भने थिएन । ५ सय मिटरको फरकमा एभरेस्ट म्याराथन जितेको विगतले उनी अहिले पनि तरंगित हुन्छन् । जुम्लाको पहाडी भेगमा गरेको प्रशिक्षणले रोकायलाई हाइअल्टिच्युडमा ठूलो सफलता दिलाएको थियो ।

संसद्मा तीन साताअघि प्रस्तुत आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रममा खेलकुदको ५ क्षेत्रलाई समेट्दै यसपल्ट उच्च पर्वतीय (हाइअल्टिच्युड) खेलकुद तालिम केन्द्र स्थापना गर्ने लक्ष्यले पहिलोपल्ट स्थान पायो । यसले उच्च पहाडी क्षेत्रमा ट्रेनिङ सेन्टर विकास हुने सम्भावना देखाएको छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्नुअघि आफूले प्रत्येक पटक काठमाडौं आउँदा जुम्लालगायत हाइअल्टिच्युड क्षेत्रमा ट्रेनिङ सेन्टर बनाउनुपर्ने बारे घच्घचाएको रोकाय स्मरण गर्छन् । ‘नेताको गाउँमा भएको भए उहिल्यै बजेट आइसक्थ्यो होला । यहाँ त अहिलेसम्म केही आएको छैन । जुम्लामा भए धेरै सुविधा हुन्छ, अर्ग्यानिक खाना पाउँछन् । फाइदा पनि धेरै छ । हाइअल्टिच्युड ट्रेनिङ सेन्टर जहाँ बने पनि राम्रो हो, जुम्लामा बने धेरै राम्रो हुन्छ,’ रोकायले कान्तिपुरसँग भने, ‘यसको स्थापना हुनाले अक्सिजनको फाइदा हुने भएर समग्र नेपाली खेलाडी नै फाइदा छ ।’

हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्नुअघि खेलाडी उत्पादन कहाँबाट भइरहेको छ त्यसको निर्क्यौल गरी स्थान टुंगो लगाउन सुझाउँछन् । यसो गर्दा जुम्लाका खेलाडीहरूले पाएका पछिल्ला सफलताहरूले नै धेरै छर्लङ्ग हुने उनी बताउँछन् । हङकङमा सुनमाया बुढा ५ किलोमिटर अल्ट्रामा पहिलो भइन्, विष्णु बुढाले पछि त्यही सफलता दोहोर्‍याइन् । रेजिना भण्डारीले स्विट्जरल्यान्डमा ६४ किलोमिटर जितेकी थिइन् । पूर्णलक्ष्मी न्यौपानेले स्विट्जरल्यान्डले ५५ किलोमिटरको दौड नै जितिन् । यी सबै जुम्लामै प्रशिक्षित खेलाडी हुन् । त्यसपछि विश्वरूपा बुढा आइन् । उनी अहिले राष्ट्रियस्तरमा जमेकी खेलाडी हुन् । दुर्गाबहादुर बुढा पनि जुम्लाकै उत्पादन हुन् । उनी भारतीय सेनामा आबद्ध भएर क्षेत्रीय प्रतियोगिता जितेका छन् । ठूलो प्रतियोगिता खेल्न जानुअघि दुर्गा प्रशिक्षण गर्नका लागि जुम्ला नै आउने रोकाय बताउँछन् ।

लामो समयदेखि चर्चामा रहेको हाइअल्टिच्युड तालिम केन्द्रको स्थापना परियोजनालाई राखेपको हरेक नेतृत्वले अभियानका रूपमा अगाडि बढाए पनि कार्यान्वयनमा सधैं ओझेल पर्दै आएको थियो । हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणका लागि अध्ययनका साथै निर्माण प्रक्रिया पनि अगाडि बढिरहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल बताउँछन् ।

‘जुम्लामा कभर्डहल बन्यो । हाइअल्टिच्युड जस्तो सबै भएको छैन । खेल्ने कभर्डहल बनेको छ । हाइअल्टिच्युडमा बनेको छ । हाइअल्टिच्युडमा बनेको र हाइअल्टिच्युड फरक छ । त्यसैगरी कास्कीको घान्द्रुकमा निर्माणको क्रममा छ । मेलम्ची र सैलुङमा पनि बनाउने सोचेका थियौं, लकडाउनका कारण यो पटक सम्भव भएन,’ सिलवालले भने, ‘साँच्चै भन्नुपर्दा हामीसँग हाइअल्टिच्युड ट्रेनिङको विज्ञता भएको जनशक्ति कमी छ । त्यसमा डिजाइन गर्नुपर्ने इन्जिनियरहरू कम छन् ।’

रोकाय उच्चस्तरको हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बनाउन जुम्ला तयार रहेको जनाउँछन् । उनका अनुसार बीचमा केन्द्रले ७५ लाख बजेट पठाउने भनेको तर आएन। त्यसअघि एकपल्ट ७ लाख आयो र डीपीआर बनाउन त्यसपछि २५ लाख आए पनि झारो टार्ने काममात्र भएको छ ।

‘यसरी फुटकर बजेट आएर हुँदैन । एकै पटक बनाउनुपर्छ भनेर राखेपमा भनेका छौं, अहिले सरकारको नीति तथा कार्यक्रममै परेको हुनाले केही आशा जागेको छ,’ रोकायले भने, ‘सदरमुकाम खलङ्गा बजारको राजासिम भन्ने सार्वजनिक स्थानमा ४ सय मिटर ट्र्याक बन्ने जग्गा अधिकरण गर्न मिल्छ । माथि लोडचौर स्कुलको जग्गा छ, त्यहीं डीपीआर बनाएको छ । त्यो जग्गा स्कुलको नाममा छ ।’

विशेष गरी लामो दूरीका धावकले हाइअल्टिच्युड प्रशिक्षणको फाइदा उठाउने गरेका छन् । समुद्र सतहदेखि २ हजार ५ सय मिटरभन्दा माथिका क्षेत्रमा अक्सिजनको मात्रा कम हुन्छ । खेलाडीहरूले कम अक्सिजन भएको ठाउँमा प्रशिक्षण गरी कम उचाइमा आउँदा रक्तकोषिकाहरू बढ्ने र सहनशक्तिमा सुधार हुने भएकाले खेलकुदलाई प्राथमिकतामा राखेका देशमा हाइअल्टिच्युड प्रशिक्षणलाई महत्त्व दिने गरिएको छ । एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक सुशील नरसिंह राणा उदाहरण खोज्न धेरै टाढा जान नपर्ने बताउँछन् । नेपालमा सबैभन्दा पहिला हाइअल्टिच्युडमा आफैंले प्रशिक्षण गराएको दाबी उनको छ । उनी सन् १९९४ को हिरोसिमा एसियाली खेलकुदका लागि टीका बोगटीलाई म्याराथनका लागि दोलखाको चरिकोटमा क्याम्प राखेको स्मरण गर्छन् ।

‘त्यो प्रशिक्षणको नतिजा अलिकति राम्रै आएको थियो । हिरोसिमा समुद्री सतहमा जस्तो थियो । उचाइमा अभ्यास गरेर तल गएर खेल्दा त्यसको फाइदा धेरै छन्,’ राणाले भने, ‘हिरोसिमा एसियाडमा हामी दक्षिण एसियाली सबै राष्ट्रलाई उछिन्दै कुल आठौं भएका थियौं । भारत, श्रीलंकाका खेलाडीलाई पछाडि पार्दा हाम्रो मनोबल अर्कै भएको थियो । त्यसको अर्को वर्ष टीकाले मद्रासको सातौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका थिए । त्यसको मतलब के हो भने हिरोसिमामा हामीले मनोवैज्ञानिक रूपमा पनि दक्षिण एसियाली राष्ट्रमाथि धावा बोलिसकेका थियौं । त्यसको प्रभाव साग नतिजासम्म रह्यो ।’


१३ औं दक्षिण एसियाली खेलकुदमा पनि हाइअल्टिच्युडको प्रभाव रहेको उनी जनाउँछन् । प्रतिस्पर्धा गर्न आएका ६ मध्ये ५ राष्ट्रसामु एउटा प्रमुख समस्या काठमाडौंको चिसोलाई झेल्नु र हाइअल्टिच्युडमा खेल्नु थियो । काठमाडौंको त्यतिखेरको तापक्रम न्यूनतम ७ र अधिकतम १४ डिग्री सेल्सियस थियो । त्यो समयमा भुटानको राजधानी थिम्पुको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस, बंगलादेशको ढाकाको न्यूनतम तापक्रम २२, कोलम्बोको २६, भारतको दिल्लीको १६ र माल्दिभ्सको २८ डिग्री सेल्सियस थियो ।

समुद्री सतहबाट काठमाडौं १४ सय मिटर उचाइमा छ । श्रीलंका ४ सय देखि ५ सय मिटर, भारतको दिल्ली २ सय मिटर, ढाका ४ मिटर र माले १.५ मिटरमात्र समुद्री सतहबाट माथि छ । थिम्पु २२ सय मिटर माथि छ । मैदानमा प्रतिस्पर्धा गर्नुअघि नै नेपाल र भुटानबाहेकका राष्ट्रहरू चिसो र हाइअल्टिच्युडले पिरोलिसकेका थिए । नेपालले अहिलेसम्म साग इतिहासमै सबैभन्दा बढी ५१ स्वर्ण जित्नुको कारण नै त्यही भएको आरोप लगाउन पछि परेनन् सार्कका अन्य राष्ट्रहरू । सागमा खेल्न आउने टोलीका केही खेलाडीले हाइअल्टिच्युडमै गएर अभ्यास पनि गरेका थिए ।

भुटान सागको इतिहासमा पहिलो पटक फुटबल फाइनलमा पुगेको थियो । त्यसका केही आधार हाइअल्टिच्युडमा खेल्नुले पनि पारेको थियो । स्वर्ण पदक प्रतिस्पर्धामा नेपालसँग पराजित भए पनि भुटानको यो अहिलेसम्मकै ठूलो सफलता थियो । यसको फाइदा नेपालले फुटबलको विश्वकप छनोटमा पनि उठाएको थियो । कुवेत सिटीमा भएको पहिलो लेगमा नेपाललाई कुवेतले ७–० ले पराजित गरेको थियो । दोस्रो लेग खेल्न कुवेत काठमाडौं आउनुअघिसम्म दशरथ रंगशालाको पुनर्निर्माण जारी नै थियो । त्यसैले नेपालले आफ्नो घरेलु मैदानको खेल भुटानको थिम्पुमा खेल्ने निधो गरेको थियो ।

यसको कारण त्यहाँको अल्टिच्युडमा कुवेतले खेल्न सक्दैन भन्ने नै थियो । समुद्री सतहबाट करिब ३ सय मिटरको उचाइमै छ कुवेत सिटी । समुद्री सतहबाट झन्डै २ हजार मिटर माथि गएर नेपाल जस्तो कमजोर टोलीसँग खेल्न कुवेतलाई हम्मे परेको थियो । नेपाल १–० ले पराजित भए पनि ठूलो अन्तरले पराजित हुनु नपरेकाले नेपालका लागि त्यो जितसरह थियो ।

राखेप सदस्य–सचिव सिलवाल पनि यसमा सहमत छन् । १३ औं सागमा आफ्नो गृह जिल्लाका खेलाडीको प्रदर्शन नै हाइअल्टिच्युडको उदाहरण मान्छन् । १३ औं सागमा सहभागी धादिङका ११ खेलाडीमध्ये तीन खेलाडीले स्वर्ण, तीन रजत र तीन कांस्य पदक जिते । दुई खेलाडीले केही पनि जितेनन् । सिलवालले भने, ‘तीन स्वर्ण जित्ने उत्तरी भाग (उच्च पहाडी क्षेत्र) र रजत ल्याउने बीचका क्षेत्रका छन् । सडक छेउका दुई जनाले कुनै पदक जित्न सकेनन् । हाइअल्टिच्युडमा मेरो विश्लेषण जन्म, त्यसभित्रको हावापानी र हुर्काइले फरक पार्दोरहेछ भन्ने हो । वैज्ञानिक हिसाबमै नहुन सक्छ । विज्ञहरूले हाइअल्टिच्युडको प्रदर्शनले फरक पर्छ भनेका छन् ।’

‘१३ औं सागमै कराते स्पर्धालाई मनाङ लैजाउँ भन्ने मेरो एउटा सोच थियो । करातेको आफ्नै विवादका कारण लैजान सकिएन । उच्च पहाडी क्षेत्रमा एक पटक लगेर हेरौं भन्ने हो,’ सिलवालले पछाडिको कारण दिए, ‘१३ औं सागकै लामो दुरीको दौड जुम्लामा गर्नु भनेको थिएँ । ५ हजार मिटर माथिको दौडलाई त्यहाँ विशेष प्रशिक्षण दिउँ भन्ने थियो । तर हाम्रो सोच के रहेछ भने जुम्ला पठायो भने खेद्यो भन्दा रहेछन् । मैले चाहिँ त्यहाँ प्रतियोगिता आयोजना गर्दा प्रदर्शनमा कति फरक आउँछ भनेर जाँच्न खोजेको थिएँ । रिसर्च जस्तो पनि हुन्थ्यो । खेलाडी, प्रशिक्षकले यसलाई सहज रूपमा नलिएपछि मैले दबाब दिइनँ । अन्तिम समयमा आएर उहाँहरूले हुन्छ पनि भन्नुभएको थियो, त्यतिखेरसम्म समय घर्किसकेको थियो ।’

सदस्य–सचिव सिलवाल सरकारले हाइअल्टिच्युडमा लगानी गर्नुका कारण यही भएको जनाउँछन् । एथलेटिक्स प्रशिक्षक राणा लामो दूरीको प्रशिक्षणका लागि काठमाडौं बाहिर विकल्प हेर्ने बेला आइसकेको सुनाउँछन् । हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणले कम्तीमा लामो दूरीको प्रशिक्षणलाई नयाँ दिशा देखाउन सक्छ ।

सम्बन्धित समाचार :

प्रकाशित : जेष्ठ २४, २०७७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?