खेलकुदमन्त्रीले एन्फाबाट रकम लिएको सांसदको आरोप

एन्फा अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न माग
कुशल तिमल्सिना

काठमाडौँ — पर्साका सांसद प्रदीप यादवले खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)बाट पैसा खाएको गम्भीर आरोप लगाएका छन् । आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफलमा शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद यादवले यस्तो आरोप लगाएका हुन् । सांसद यादवले यस्तो आरोप लगाइरहँदा मन्त्री विश्वकर्मा पनि संसदमै उपस्थित थिए ।

खेलकुदमन्त्रीले एन्फाबाट रकम लिएको सांसदको आरोप

समाजवादी पार्टीका सांसद यादवले एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले केही दिनअघि एउटा वेबपोर्टललाई दिएको विवादित अन्तरवार्ताप्रति कटाक्ष गर्दै खेलकुद मन्त्रीले शेर्पासँग १७ करोड रुपैयाँ लिएको आरोप लगाए ।

‘मैले के सुनिरहेको छु भने माननीय खेलकुदमन्त्रीले एन्फासँग १७ करोड रुपैयाँ लिनुभएको छ,’ संसद बैठकमा समय लिएर बोल्ने क्रममा यादवले भने, ‘केही दिनअघि एन्फा अध्यक्ष कर्मा शेर्पाले मधेसीलाई राष्ट्रियता आउँदैन भन्नुभएको छ । उहाँले कसको ताकतमा हामीलाई राष्ट्रियता सिकाएको ? पक्कै पनि खेलकुदमन्त्रीको ताकतमा भन्नुभएको होला ।’

सांसद यादवले तराई क्षेत्रको १३ सय किलोमिटर सीमाको रक्षाका लागि मधेशीले बिना बर्दीको सिपाहीको रुपमा खटिएको भन्दै आफूहरुलाई हेपेको र होच्याइएको आरोप लगाए । ‘उहाँले आफ्नो अभिव्यक्तिमा सेनालाई पनि मुछ्नुभएको छ । सेना हाम्रो पवित्र संस्था हो । सेनालाई पनि मुछेर के गर्न खोज्नुभएको ?' यादवले थपे, ‘त्यस्ता अभिव्यक्ति दिने कर्मा छिरिङ शेर्पालाई अविलम्ब निलम्बन गर्नुपर्छ र कानूनी काठघरामा ल्याउनुपर्छ । किनभने उहाँले मधेसीको अपमान गर्नुभएको छ ।’ यादवले तराई, पहाड र हिमाललाई छुट्याउने अभिप्रायले यस्तो अभिव्यक्ति दिएको गम्भीर आरोपसमेत लगाए ।

अन्तर्वार्तामा एन्फा अध्यक्ष शेर्पाले तराईका चार जिल्लामा नेपाली सेनासँग मिलेर सन्चालित ग्रासरुट फुटबल कार्यक्रममा फुटबलसँगै राष्ट्रियता पनि सिकाउने बताएका थिए । उनले तराई क्षेत्रमा राष्ट्रियताको कमी रहेको बताएका थिए ।

यसबारे अध्यक्ष शेर्पाले बुधबार बिज्ञप्ति जारी गरी आफ्नो अभिव्यक्तिका लागि माफी मागेका थिए । उनले कुनै पनि जाती, धर्म लिंग वा सम्प्रदायलाई राष्ट्रियता सिकाउने अभिप्रायले अभिव्यक्ति नदिएको पनि प्रष्ट पारेका थिए ।

‘नारायणी रंगशाला प्रदेश सरकारले बनाउँछ’

सांसद यादवले देशभर रहेका खेलकुद पूर्वाधारमा संघीय सरकारकै नियन्त्रण हुनु दुखत रहेको बताए । संघले प्रदेशलाई हस्तान्तर गरे थुप्रै पूर्वाधार बनिसक्ने उनको आशय थियो ।

वीरगन्जको नारायणी रंगशालाको उदाहरण दिँदै उनले भने, ‘पन्चायतकालमा स्थानीय जनश्रमदानबाट बनेको नारायणी रंगशाला दशरथ रंगशाला भन्दा ठूलो छ । त्यसको स्तरोन्नत्तिका लागि ५० लाख बजेट आउँछ । त्यसबाट के गर्ने ?’ उनले प्रतिप्रश्न गरे, ‘अहिले त्यो रंगशाला कोमामा पुगेको छ । प्रदेश सरकारले बनाउँछु भन्दा पनि दिएको छैन । संघीय सरकारले हडपेर राखेको छ ।’

मन्त्री विश्वकर्माले महानगरपालिका, नगरपालिका वा गाउँपालिकाको बहानामा आफ्नै क्षेत्रलाई केन्द्रित गरी बजेट तर्जुमा गरेको आरोप यादवको थियो । उनका अनुसार अधिकांश मन्त्रीहरुले बजेटको प्राथमिकतामा आफ्नै क्षेत्रलाई राखेका छन् ।

प्रकाशित : जेष्ठ २३, २०७७ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?