कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेसी हुनुको अर्थ

अहिले मेसीले म्याराडोना जत्तिकै गरिरहेका छन् । या त्यो भन्दा पनि बढी । खाली एउटै फरक के छ भने म्याराडोनाले विश्वकप जिते, मेसीले सकेका छैनन् । तर यसले उनको महान्तामा के फरक पार्छ र ?
बीबीसी

लन्डन — लियोनल मेसीले पस्कने खेलमा त्यो स्वाद छ, जुन अरू कसैमा छैन । उनी फुटबललाई कलामा परिवर्तन गर्ने गर्छन् । जति–जति बेला उनको खेल हेर्छु, म आफैंले आफूलाई प्रश्न गर्ने गर्छु, ‘कसरी पो सक्छन्, मेसी यसरी खेल्न ?’ मेसीको दिन नलाग्दा पनि खेल कम्ताको हुन्न । पूरा खेल अवधिमा मेसीले तीन वा चारपल्ट यस्तो कला प्रदर्शन गर्ने गर्छन्, जुन मैले आफ्नो पूरा खेलजीवनमा कहिले पनि गर्न सकिनँ ।

मेसी हुनुको अर्थ

खासमा उनी त्यस्तो काम गर्छन्, जुन अरूले सक्दैनन् पनि । भर्खरै मैले माइकल जोर्डनबारे बनाइएको वृत्तचित्र हेरेको थिएँ, ‘द लास्ट डान्स’ । म बास्केटबलको प्रशंसक होइन र यो खेललाई पछ्याउने पनि गर्दिनँ । तर मलाई त्यो वृत्तचित्र भने मनपर्‍यो । त्यसमा जोर्डन किन बास्केटबलका महान् खेलाडी हुन् भनेर मज्जाले देखाइएको छ । जोर्डनको व्यक्तित्व फरक छ । यस्तै भाषामा मेसीको पनि बयान गर्न सकिन्छ ।

उनी त्यस्ता खेलाडी हुन्, जसले एक्लै पूरा खेल परिवर्तन गर्न सक्छन् । जसरी जोर्डनको प्रशंसक हुँदा बास्केटबल नै मन पर्नुपर्छ भन्ने हुन्न । त्यसरी नै मेसीलाई मन पराउन उनको प्रशंसक हुनु आवश्यक छैन । मेसी पनि फुटबलले पाएका सबैभन्दा महान् खेलाडीमध्ये एक हुन् । केही खास क्षेत्रमा मेसीभन्दा अरू नै राम्रो भन्ने नभएका पनि होइनन् । जस्तो क्रिस्टियानो रोनाल्डो । रोनाल्डो गोल गर्नमा मेसीभन्दा माहिर छन् ।

तर यसमा मेरो फरक धारणा छ । फेरि फुटबल खाली गोलमात्र पनि त होइन । खासमा मेसीमा केही असाधारण गुण छन् । त्यसले उनलाई पूर्ण खेलाडी बनाउँछ । बल ड्रिबरको रूपमा उनी डिएगो म्याराडोना जत्तिकै छन् । दुवै खेलाडी जटिल परिस्थितिमा पनि ट्याकलबाट बच्न सक्षम छन् । प्रायः यी दुवै खेलाडी विपक्षीले घेरिएको स्थितिमा हुने गर्छन् । मेसीबारे सबैभन्दा उल्लेखनीय पक्ष के हो भने उनी उत्कृष्ट पास निकाल्न माहिर छन् ।

अरू कसैले नसक्ने पास उनले निकालिरहेका हुन्छन् । यतिले मात्र पनि महान् खेलाडी भएका होइनन् । बार्सिलोनाका लागि युरोपेली च्याम्पियन्स लिगमा नोउ क्याम्पको खेल हेर्दा मैले मेसीका यस्तो पास ठ्याक्कै हेर्न पाएको छैन किनभने हामी मैदानभन्दा धेरै टाढा र माथि हुने गर्छौं । उनले अहिलेसम्म बार्सिलोनाका लागि ७ सय १८ खेल खेलेका छन् । त्यसमा ६ सय २७ गोल गरेका छन् भने २ सय ६१ ‘एसिस्ट’ ।

यति धेरै माथिल्लो स्तरको फुटबलमा यतिका योगदान दिएका हुनाले मेसीको तुलना नै गर्न सकिन्न । उनी उत्तिकै अब्बल दर्जाका ‘फिनिसर’ पनि हुन् । उनी पोस्टको माथिल्लो कुनातिर बललाई घुमाउने बाटो दिएर मीठो प्रहार गर्न सक्छन् । यस्तो बेला पास निकाल्न सकिएला भन्दा उनी त्यस्तै गर्छन् । खासमा मेसी स्वार्थी मात्र छैनन्, ठीक समयमा ठीक निर्णय गर्न सक्नु उनको विशेषता हो । उनी त्यस्तो गर्छन्, जुन अरूले सक्दैनन् ।

अनि यस्तो गर्न अरूलाई आउँदा पनि आउँदैन । उनी निकै कल्पनाशील छन् । फरक लाग्ने कला प्रदर्शन गर्छन् । यत्तिले मात्र पनि मेसीलाई महान् खेलाडी बनाउने गर्दैन । यत्तिकै कारणले मात्र मेसी सबैले पछ्याउने र उदाहरण दिने खेलाडी भएका होइनन् । खासमा मेसीले मैदानमा सबैका लागि खुसी ल्याउने गर्छन् । फुटबलमा आएको नियमको परिवर्तनले पनि उनलाई धेरै फाइदा गरेको छ । म्याराडोनाका बेला स्थिति बेग्लै थियो ।

अगाडि खेल्न राम्रा खेलाडी भनेपछि त्यतिबेला डरलाग्दो फल खेलिन्थ्यो । तर मेसीले यति धेरै खेल खेल्नु सक्नुमा उनलाई अझ विशेष बनाउने गर्छ । चोटबाट बचेर मेसी मात्र होइन, रोनाल्डोले पनि जति खेले, त्यो ठूलै हो । किशोर छँदादेखि मेसीले लगातार खेलिरहेका छन् र अब उनी ३३ वर्षका पनि हुनेछन् । सायद रोनाल्डो पनि उत्तिकै राम्रा समकलीन खेलाडी भएर पनि उनलाई धेरै फाइदा भएको छ । उनीहरूमध्ये एकले अर्कोलाई राम्रो खेल्न प्रेरित गरिरहेको हुन्छ वा दबाब सिर्जना गरिरहेको हुन्छ । मेसीलाई लिएर राम्रो पक्ष के पनि हो भने उनी कहिल्यै ठूलो विवादमा फसेनन् । जस्तो, म्याराडोना खेलजीवनको उत्सर्गमा फसे । उनको व्यक्तित्व नै फरक छ र यसको कारण अन्तर्मुखी स्वभाव पनि हो । यही कारणले उनी फुटबलका अन्य महान् खेलाडीभन्दा फरक छन् । तर यो तथ्यले उनलाई फुटबलमा आफ्ना भावना पोख्न मद्दत गरेको हुनुपर्छ ।

मैले नजिकबाट मेसीलाई धेरैपल्ट देखेको छु । तर राम्रैसँग भेटेको एकैपल्ट मात्र हो । त्यो पनि बार्सिलोनाका पूर्वसाथी तथा खेलाडी लोबो कारास्कोको माध्यमबाट । त्यो केही वर्षअगाडि हो । म आफ्ना छोराहरूसँग होटल पुगेको थिएँ । त्यहाँ उनी सबैसँग तस्बिर खिचिरहेका थिए । त्यतिबेलाको भेट खुबै रमाइलो र सम्झनालायक रह्यो । त्यो पक्कै छोटो समयको थियो । इमान्दारीपूर्वक भन्दा मेसीलाई भेट्दा अनुभव नै बेग्लै हुन्छ ।

भलै, म आफैं पनि खेलाडी रहिसकेको थिएँ । त्यो पनि माथिल्लो स्तरमै । यस्तै अनुभव म्याराडोनालाई भेट्दा पनि भएको थियो । हामी खेल्दा म्याराडोना यस्तै खेलाडी थिए । जस्तो अहिले मेसी छन् । मेसी अगाडि म्याराडोना पूर्ण खेलाडी थिए । पेले गोल गर्न बढी माहिर थिए, जस्तो अहिले रोनाल्डो छन् । मलाई कहिले पनि लागेको थिएन, म्याराडोना जतिको खेलाडी फेरि जन्मने छन् भनेर ।

तर अहिले मेसीले म्याराडोना जत्तिकै गरिरहेका छन् । या त्यो भन्दा पनि बढी । खाली एउटै फरक क छ भने म्याराडोनाले विश्वकप जिते, मेसी सकेका छैनन् । तर यसले उनको महान्तामा के फरक पार्छ र ? सन् २०१४ को विश्वकपमा गोन्जालो हिगुइनले गोल गरेको भए, सम्भवतः मेसीले पनि विश्वकप जित्थे । तर हिगुइनले गोल गर्न सकेनन् र मेसीको भाग्यमा विश्वकप आएन । हिगुइन निश्चित गोलको अवसरमा चुकेका थिए ।

सन् १९८६ को विश्वकप फाइनलमा म्याराडोनाले के पास निकाले, त्यसमा जोर्गी बुराचागाले निर्णायक गोल गरे । अर्जेन्टिनाले त्यो खेल गुमाएको भए, के म्याराडोना महान् खेलाडी हुने थिएनन् त ? निश्चित रूपमा होइन । मेसीलाई महान् मान्न हो भने उनले पनि विश्वकप जित्नुपर्छ भन्ने धेरै छन् । मलाई यस्तो कुरा पटक्कै मन पर्दैन । मेसीले त्यो सबै काम गरिरहेका छन्, जसले उनलाई महान् खेलाडी बनाउने गर्छ ।

– ग्यारी लिनेकर

प्रकाशित : जेष्ठ २१, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?