‘बन्द प्रशिक्षण तत्काल सुरु गरौं’

लकडाउनका कारण लामो समय घरमा रहनुपर्दा खेलाडीको स्तर शून्यमा झर्ने जोखिम कम गर्न कम्तीमा सागका पदकविजेता खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न विज्ञहरुले सुझाएका छन् ।
कुशल तिमल्सिना

काठमाडौँ — कोरोना भाइरसको महामारीसँगै ठप्पप्रायः रहेको विश्व खेलकुद पुनः सुरु गर्ने प्रयासका रूपमा इंग्ल्यान्ड र वेस्ट इन्डिजले द्विपक्षीय क्रिकेट शृंखला जुलाईमा गर्ने सहमति गरे । फुटबलमा जर्मन बुन्डेसलिगा सुरु भइसकेको छ भने अधिकांश देशले कोरोनाले अवरुद्ध घरेलु प्रतियोगिता फेरि सञ्चालन गर्न मिति तय गरिसकेका छन् ।

‘बन्द प्रशिक्षण तत्काल सुरु गरौं’

कोरोनापछि तंग्रिने प्रयासको रूपमा रहेका यी प्रतियोगितापछि सम्बन्धित निकायले स्वास्थ्य सुरक्षा अपनाएर क्रमशः प्रतियोगिता आयोजना गर्न सक्नेछन् । यसै पनि खेलकुदलाई लामो समय लकडाउनमा राख्न नहुने आवाज विश्वव्यापी रूपमा उठिरहेकै छ ।

महामारी नियन्त्रणकै लागि भनेर देशमा लकडाउन लागू गरिएको साढे २ महिना पुग्न लागेको छ । यसबीच खेलकुद गतिविधि ठप्पजस्तै छन् । पूर्वाधार निर्माणका क्षेत्रमा आंशिक काम भइरहे पनि नेपालमा प्रतियोगिता र प्रशिक्षण बन्द छ । खेलाडीहरू घरमै थन्किएका छन् । लामो लकडाउनका कारण पुगेको शारीरिक र मानसिक क्षतिपूर्तिका लागि उनीहरूले अरू लामो समय चुकाउनुपर्ने निश्चित छ ।

एथलेटिक्सका प्रशिक्षण प्रशिक्षक सुशीलनरसिंह राणाले लकडाउनको नाममा खेलाडीलाई घरभित्रै थुनेर राख्नु नेपाली खेलकुदका लागि प्रत्युत्पादक हुने दाबी गर्छन् । १३ औं सागपछि नेपाली खेलाडी फुर्सदमा छन् । चैत दोस्रो साता लकडाउन घोषणा भएयता घरमै रहनुपरेपछि नियमित प्रशिक्षणबाट पनि उनीहरू वञ्चित छन् ।

पूर्व प्रमुख प्रशिक्षक राणाका अनुसार घरमा रहेर गरिने फिटनेस प्रशिक्षणले खेलाडीको प्राविधिक क्षमताको स्तरोन्नति हुँदैन । बरु उनीहरूको क्षमतामा ह्रास आउनेछ । ‘हाम्रा खेल अधिकारीहरूले बुझ्नुपर्ने कुरा के हो भने अब तत्कालै प्रशिक्षण सुरु गर्नुपर्नेछ । कोरोनाका नाममा चुप लागेर बस्ने हो भने हाम्रा खेलाडीको स्तर शून्यमा झर्नेछ,’ राणाले कान्तिपुरसँग भने, ‘एउटा स्तरीय खेलाडी तयार गर्न राज्यको दसौं वर्षको लगानी छ । उनीहरूले पछिल्ला समय ल्याएका नतिजाका आधारमा त्यसभन्दा ठूला प्रतियोगितामा सफलता हासिल गर्न नियमित प्रशिक्षणले निरन्तरता पाउनुपर्नेछ ।’

उनका अनुसार लामो समयसम्म खेलमैदानबाट बाहिरिनुपर्दा खेलाडी शून्यमा झर्ने र पुरानै अवस्थामा ल्याउन निकै कठिन हुन्छ । यो नितान्त प्राविधिक कुरा हो र खेलपदाधिकारीले पनि त्यहीअनुसार बुझ्नुपर्छ । राणाले खेलाडीलाई प्रशिक्षणमा राख्न उपाय पनि सुझाएका छन् । ‘कम्तीमा सागका पदक विजेता खेलाडीका लागि होटलमा क्वारेन्टाइनमा राखेर रंगशालामा प्रशिक्षणको व्यवस्था गर्नुपर्छ,’ उनले थपे, ‘हामीले सागमा ठूलो सफलता हासिल गर्‍यौं । यसलाई कायम राख्न लामो समयको योजना बनाउनुपर्छ र त्यसका लागि यो सबैभन्दा उपयुक्त अवसर हो ।’

‘प्रतियोगिता नभए पनि बन्द प्रशिक्षण सुरु गर्ने हो भने खेलाडीको स्तर बुझ्न सकिन्छ । कोरोना महामारीबीच खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नु स्वास्थ्यका हिसाबले सुरक्षित पनि हुन्छ,’ उनले थपे  ।

१३औं सागमा नेपाललाई पहिलो पदक दिलाउने कराते खेलाडी चञ्‍चला दुनुवार फाइल तस्बिर : कान्तिपुर

कोरोनाका कारण स्थगित गरिएका प्रतियोगिताहरू महामारी कम भएसँगै क्रमशः आयोजना हुनेछन् । युरोप र अमेरिकामा कोरोना महामारी अन्त्यको चरणमा छ उनीहरू प्रतियोगिता सन्चालन गर्ने तयारीमा छन् । त्यसका लागि खेलाडीलाई तयारी समय आवश्यक पर्न सक्छ । कोरोनाकै कारण ग्रीष्मकालीन ओलम्पिक २०२१ मा सारिएको छ । त्यही वर्ष पाकिस्तानमा १४ औं साग आयोजना हुनेछ । सन् २०२२ मा १९ औं एसियाली खेलकुद आयोजना हुँदै छ । प्रशिक्षक राणाले यिनै ठूला प्रतियोगितामा सफलता हासिल गर्ने गरी दीर्घकालीन प्रशिक्षण सुरु गर्ने यो उपयुक्त अवसर भएको बताए ।

यता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) भने तत्कालै त्यस्ता खाले प्रशिक्षण सुरु गरिहाल्न तयार देखिँदैन । राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले खेलाडीको प्रशिक्षण तत्काल सुरु गरिहाल्न सरकारबाट अनुमति नपाएको बताए । ‘सरकारले अनुमति दिएको पूर्वाधारको क्षेत्रमा हामीले काम सञ्चालन गरिरहेकै छौं । सरकारले प्रशिक्षण सुरु नगर्नु भनेको छ, प्रतियोगिता त रोकेकै छ । प्रतियोगिताको सम्भावना अहिले छैन,’ उनले कान्तिपुरसँग भने, ‘खेलाडीलाई नियमित प्रशिक्षण व्यवस्था गर्नेबारे हामीले छलफल गरिरहेका छौं । केही एकल खेलको प्रशिक्षण सुरु गर्ने कि भन्ने छलफलमा पनि छौं । संक्रमितको संख्या दिनदिनै बढिरहेको अवस्थामा अहिले नै प्रशिक्षण सञ्चालन हुने सम्भावना कमजोर छ ।’

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपालमा अहिलेको अवस्था हेर्दा मैदानमा गएर क्रिकेट खेल्ने अवस्था नरहेको बताए । ‘आईसीसीले निर्देशिका जारी गरेको छ । त्यहीअनुसार परिपत्र नेपाल क्रिकेट संघलाई पनि आएको होला । तर युरोपमा कोरोना महामारी अन्त्यतिर पुगेको छ भने नेपालमा भर्खरै सुरु भएको छ । त्यहाँ ३ महिनाअगाडिको स्थितिमा नेपाल अहिले पुगेको छ । हामीले हाम्रो सरकारको निर्देशन पनि पालना गर्नुपर्छ । यो स्थितिमा मैदानमा फर्कने अवस्था छैन,’ कप्तान ज्ञानेन्द्रले थपे, ‘हाम्रो देशमा कोरोना संक्रमितको दर बढिरहेको छ । हाम्रा अधिकांश खेलाडी संक्रमण दर उच्च रहेका जिल्लाहरूमा छन् । त्यसैले हामी घरभित्रै रहनुको विकल्प छैन ।’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लामो समय मैदानबाहिर रहेका खेलाडीलाई लयमा फर्काउन लाग्ने समयबारे निर्देशिका जारी गरेको छ । आईसीसीका अनुसार टेस्ट क्रिकेट खेल्न ८ देखि १२ साताको तयारी हुनुपर्नेछ । ट्वान्टी–२० र एकदिवसीयलाई ६ साता तयारी गर्नुपर्नेछ । खेलाडीलाई चोटबाट जोगाउ त्यसो गर्नुपरेको आईसीसीले प्रस्ट पारेको छ ।

क्रिकेटर हरिबहादुर चौहान फाइल तस्बिर : कान्तिपुर

महामारीका कारण नेपालले नामिबिया र पपुवा न्युगिनीसँग विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेल स्थगित भएको थियो । नेपालको राष्ट्रिय टोलीले स्कटल्याडसँग जुलाई र मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) सँग अगस्टमा शृंखला खेल्ने तय भएको छ । यी प्रतियोगिता अहिलेसम्म स्थगित गरिएको छैन । टेस्ट मान्यताप्राप्त देशहरूले शृंखला सुरु गर्ने तयारी गरे पनि एसोसिएट मुलुकका टोलीहरूमा सबै मापदण्ड पूरा गरी प्रतियोगिता आयोजना गर्न असम्भवजस्तै छ । त्यसैले आईसीसीले एसोसिएट टिमका लागि जोखिम नलिन पनि सक्छ ।

फुटबलको विश्वकप छनोटअन्तर्गत जोर्डन, चाइनिज ताइपेई र अस्ट्रेलियासँगको नेपालमै हुने खेल कोरोनाकै कारण स्थगित गरिएका छन् । ओलम्पिक छनोटअन्तर्गतका प्रतियोगितामा निकट भविष्यमै सञ्चालनको तयारी हुनेछ । त्यसका लागि आफ्ना खेलाडीलाई तयारी अवस्थामा राख्न र सुखद नतिजाको अपेक्षा गर्ने हो भने लकडाउनको बहानामा खेलाडीलाई घरमै फिटनेसमा बस्न भनेरमात्र नहुने विज्ञको सुझाव छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा कराते प्रशिक्षक दीपक श्रेष्ठले लकडाउनका कारण खेलकुदमा धेरै नकारात्मक असर परेको बताए । ‘घरमै बसेर प्रशिक्षण गर्ने भनिए पनि त्यो प्रभावकारी हुँदैन । लामो समयको लकडाउनले खेलाडीको प्रदर्शनस्तर शून्यमा झरिसकेको छ । यसबाट माथि आउनका लागि जति समय लकडाउन भयो त्यति नै समय कुर्नुपर्छ । कतिपय खेलाडी नैराश्यताका कारण खेलकुद नै छाड्ने मनस्थितिमा पुगिसकेका छन् । यो भन्दा दुःखको कुरा अरु के होला ?,’ श्रेष्ठले भने, ‘खेलकुद मन्त्रालय र राखेपले निर्देशिका बनाएर खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न ढिला भइसकेको छ । अन्यथा एउटा खेलाडी तयार पार्न लागेको दशकौंको मिहिनेत खेर जानेछ ।’

प्रकाशित : जेष्ठ २०, २०७७ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?