कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

एन्फा बैठक : अध्यक्ष शेर्पाको राजीनामा माग

राजु घिसिङ

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को अनमालइनमार्फत् सोमबार सम्पन्न कार्यसमिति बैठकमा राष्ट्रियताको विषयमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको राजीनामा माग गरेका छन् ।
बिहान ११ बजेपछि सुरु भएर करिब साढें ८ घन्टा चलेको बैठकमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र केन्द्रीय सदस्य दावा लामाले अध्यक्ष शेर्पाको राजीनामा माग गरेका हुन् ।

एन्फा बैठक : अध्यक्ष शेर्पाको राजीनामा माग

एन्फा स्रोतकाअनुसार बैठकमा वरिष्ठ उपाध्यक्ष नेम्बाङले तराईमा राष्ट्रियता सिकाउने अध्यक्षको अभिव्यक्तिलाई लिएर भनेका थिए, ‘अध्यक्षले बोलेको कुरा मिडिया र संसदमा आइरहेको छ । यो विषयमा अध्यक्षले प्रस्ट पार्नुपर्छ । यसले संस्थाको गरिमामै आँच लाग्यो, संस्थालाई नै आरोप लाग्यो । सदनमा पनि उठेको अवस्थामा यो बैठकबाट निष्पक्ष छानबिन गर्ने समिति गठन गरौं, त्यसको म्याद तोकौं, त्यो छानबिनको मितिसम्म अध्यक्ष आफैले स्व–निलम्बन (पदीय जिम्मेवारीबाट अलग) घोषणा गर्नुपर्छ । त्यो अवधिको लागि अध्यक्षको राजिनामा माग गर्छु । त्यसैमा संस्थाको भलो छ ।’

‘कुनै पनि निकायले छानबिन गर्नुअघि हामी आफैंले छानबिन गरौं । अनि निकास निस्कन्छ,’ नेम्बाङको भनाइ उद्दृत गर्दै स्रोतले भन्यो, ‘विधानलाई आ–आफ्नो तरिकाले व्यख्या गरिदैछ । पटकपटक विधान विपरितका कुराहरू दोहोरिँदैछ । यसले संस्थाको गरिमा गिराउँदैछ । यसबारे म एएफसी (एसियाली फुटबल महासंघ), फिफा (अन्त्र्राष्ट्रिय फुटबल महासंघ), युवा तथा खेलकुद मन्लालयलगायत सम्बन्धित निकायहरूमा पनि राख्छु, जुन वरिष्ठ उपाध्यक्षको रुपमा संस्थाको गरिमा उच्च राख्ने र नीति–नियमको पालना गर्नलाई गरिने मेरो पहल हुनेछ ।’

अध्यक्ष शेर्पाले भने आफ्नो बचाउ गर्दै भनेका थिए, ‘मेरो १ घन्टा १० मिनेटको अन्तरवार्ता हेर्नु त्यस्तो विवाद आउने कुरा बोलेको छैन । यो विषय राज्यसँग हो, एन्फासँग होइन ।’ एन्फाको १७ सदस्यीय कार्यसमितिको बैठक भएपनि सहभागी गराइएका मानार्थ उपाध्यक्ष शिक्षित पारजुली, सामाजिक उत्तरदायित्व समितिका संयोजक उत्तम राज भण्डारी, सहायक महासचिवद्वय विश्व पौडेल र अरुणमान जोशीले ‘अध्यक्षले त्यस्तो (विवादास्पद अभिव्यक्ति) नबोलेको’ भन्दै बचाउ गरेका थिए ।

अध्यक्ष शेर्पाले दुई साताअघि दिएको एक मिडियामा फेसबुक लाइभमार्फत् दिएको अन्तरवार्तामा ‘तराईतिर जांदा राष्ट्रियताको भावना अलि कम’ भएको भन्दै चार जिल्ला (सप्तरी, सिराह, धनुषा र महोत्तरी) मा राष्ट्रियता र राष्ट्रिय गान सिकाउन नेपाली सेनाको ब्यारेकमा ग्रासरुट फुटबल सुरु गरेको बताएका थिए । त्यसैलाई लिएर एन्फा विधान र मुलुकी संहिता ऐन २०७४ विपरित भएको भन्दै काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघले अध्यक्ष शेर्पालाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री कार्यालय र युवा तथा खेलकुद मन्त्रालयमा सोमबारै निवेदन दिएका थिए । गत वुधबार संघीय संसदमा सांसद विमलप्रसाद श्रीवास्तवले पनि यस विषयमा बोल्दै एन्फा अध्यक्ष शेर्पालाई कारबाही गर्न सभामुखसँग माग गरेका छन् ।

पहिला कारबाही अनि सिफारिस

बैठकले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई ग्रुप च्याटमा गरिएको प्रतिक्रियालाई लिएर सचिवालयले आउने अधिवेसनसम्मको लागि निलम्बन गरिएको भन्दै ५ जेठमा पत्र पठाएको थियो । त्यसलाई अनुमोदन गर्दै कार्यसमिति बैठकले कारबाहीको लागि अनुशासन समितिलाई सिफारिस गर्ने निर्णय पनि गर्‍यो ।

उस्तै किसिमको अभिव्यक्ति दिएका मानार्थ केन्द्रीय सदस्य रुपेश अधिकारी र कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई पनि कारबाही हुनुपर्ने बैठकमा माग गरिएको थियो । ‘कसैलाई काखा कसैलाई पाखा गरिनु हुदैन, विधान र विधि अध्यक्षदेखि सबै सदस्यलाई समान रुपमा लागू हुनुपर्छ,’ केन्द्रीय सदस्य दावा लामालाई उद्दृत् गर्दै एन्फा स्रोतले भन्यो ।

बजेट ७० करोड

बैठकले आर्थिक वर्ष २०७७–७८ को लागि ७० करोड ४१ लाख १९ हजार ६ सय ८५ रुपैयाँको बजेट विनियोजन गर्ने निर्णय पनि गर्‍यो ।

त्यस्तै, कोभिड १९ महामारीको पीडतलाई राहतको लागि फिफाले उपलब्ध गराएको १ लाख डलर ४८ वटा जिल्ला फुटबल संघ, राजधानीका १४ ए डिभिजन क्लब, १२ बी डिभिजन क्लब, १४ सी डिभिजन क्लब, मोफसलका प्रतियोगिता, प्रशिक्षक, कर्मचारी, रेफ्रि र खेलाडीहरूलाई उपलब्ध दिने निर्णय पनि गर्‍यो । कोभिड १९ संक्रमणको अवस्था सामान्य नरहे भच्र्युअल रुपमै भएपनि एन्फाको १९ औं साधारणसभा १५ भदौमा गर्ने निर्णय पनि भयो ।

प्रकाशित : जेष्ठ १९, २०७७ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?