कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एन्फा अध्यक्षलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौँ — राष्ट्रियताको विषयमा विवादास्पद अभिव्यक्ति दिएका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाही गर्न माग गर्दै चार वटा जिल्ला फुटबल संघले प्रधानमन्त्री कार्यालयमासोमबार निवेदन दिएका छन् ।

एन्फा अध्यक्षलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग

अध्यक्ष शेर्पाले दुई साताअघि दिएको एक मिडियामा फेसबुक लाइभमार्फत् दिएको अन्तरवार्तामा ‘तराईतिर जाँदा राष्ट्रियताको भावना अलि कम’ भएको भन्दै चार जिल्लामा नेपाली सेनाको ब्यारेकमा ग्रासरुट फुटबल सुरु गरेको बताएका थिए ।

त्यसैलाई लिएर एन्फा विधान र मुलुकी संहिता ऐन २०७४ विपरित भएको भन्दै काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघले अध्यक्ष शेर्पालाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गरेका हुन् ।

‘देशको दक्षिणी सीमाको सुरक्षा नै तराईवासीले गरिरहेका छन् उनीहरूमा नै राष्ट्रियता कम भएको भन्दै राष्ट्रियता र सेनालाई प्रयोग गरेर राष्ट्रिय गान सिकाउने भन्ने पनि हुन्छ ?,’ काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहीले भने,‘राष्ट्रिय एकतामै खलल पुर्‍याउने एन्फा अध्यक्ष शेर्पाको भनाई संविधान विपरित छ । एकता विथोल्ने अभिव्यक्ति दिएर शेर्पाले समग्र नेपाली फुटबललाई नै बदनाम गरेका छन् । त्यसैले उनलाई कारबाही गर्न माग गरेका छौं ।’

एन्फाका पूर्व कोषाध्यक्ष समेत रहेका उनले थपे, ‘अध्यक्ष शेर्पाले ग्रासरुट फुटबललाई नयाँ कार्यक्रम भनिरहेका छन् । तर, ग्रसरुट फुटबल २० वर्षअघि नै ४५ जिल्लामा प्रशिक्षक नियुक्त गरेर प्रारम्भ गरिएको थियो ।’

यसबारे गत बुधबार संघीय संसदमा सांसद विमलप्रसाद श्रीवास्तवले पनि यस विषयमा बोल्दै एन्फा अध्यक्ष शेर्पालाई कारबाही गर्न सभामुखसँग माग गरेका थिए । काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष शाही, धादिङका अध्यक्ष दीपक खतिवडा, भक्तपुरका अध्यक्ष गौतम सुजखुसँगै आउने अधिवेसनसम्म निलम्बन गरिएका ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले एन्फा अध्यक्ष शेर्पालाई कारबाही माग गरेका हुन् ।

उनीहरूले २२ वैशाख २०७५ मा भएको निर्वाचनयता नै अनियमितता गरेको, स्वेच्छाचारी ढंगले संथा सञ्चालन गरेको भन्दै अध्यक्ष शेर्पाको विरोध गरिरहेका छन् । ललितपुरका अध्यक्ष थापाले विधान विपरित कारबाही गरेको भन्दै अन्तर्राष्ट्रय फुटबल महासंघ (फिफा) र एन्फाकै अपिल किमिटीलाई पनि निवेदन दिइसकेका छन् ।

प्रकाशित : जेष्ठ १९, २०७७ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?