डेब्यु खेलमा प्रभाव

एजेन्सी

आफ्नो पहिलो खेल खेल्नेक्रममा विश्व क्रिकेटमा अनेकौं र अनौठा कीर्तिमान बनेका छन् । त्यसमा क्रिकइन्फोले प्रस्तुत गरेको तथ्यांक यस्तो छ :

डेब्यु खेलमा प्रभाव

शतक

आफ्नो पहिलो टेस्ट खेल्नेक्रममा १ सय ६ ब्याट्सम्यानले शतक पूरा गरेका छन् । यो सफलता एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५ खेलाडीको नाममा छ । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा टेस्ट खेल्ने राष्ट्रका अझै कुनै पनि खेलाडीले आफ्नो ‘डेब्यु’ मा शतक पूरा गर्न सकेका छैनन् । पाकिस्तानका अविद अलीले सन् २०१९ मा एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दै १ सय १२ र टेस्टमा पनि आफ्नो पहिलो खेलमै अविजित १ सय ९ रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्टमा आफ्नो पहिलो खेलमै शतक बनाउने उनी एक्लो खेलाडी हुन् । अलीले अस्ट्रेलियाविरुद्ध दुबईमा एकदिवसीय अन्तर्राष्ट्रिय तथा श्रीलंकाविरुद्ध रावलपिण्डीमा आफ्नो पहिलो खेलमै शतक प्रहार गरेका थिए ।

उच्च स्कोर

टेस्ट क्रिकेटमा आफ्नो पहिलो खेलमै उच्च स्कोर बनाउने कीर्तमान इंग्ल्यान्डका टिप फोस्टरको नाममा छ । उनले १९०३ मा अस्ट्रेलियाविरुद्ध सिड्नीमा २ सय ८७ रन बनाएका थिए । आफ्नो ‘डेब्यु’ टेस्टमै कुल सर्वाधिक रन वेस्ट इन्डिजका लरेन्स रोवले बनाएका छन् । उनले १९७२ मा आफ्नो पहिलो टेस्टको दुई इनिङ्समा किंगस्टनमा न्युजिल्यान्डविरुद्ध क्रमशः २ सय १४ र अविजित १ सय गरी ३ सय १४ रन बनाएका थिए । वेस्ट इन्डिजका डेसमोन्ड हेन्सले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेलमै उच्च स्कोर बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनले अस्ट्रेलियाविरुद्ध सेन्ट जोन्समा सन् १९७८ मा १ सय ४८ रनको इनिङ्स खेलेका थिए । टेस्ट खेल्ने राष्ट्रका खेलाडीमा आफ्नो पहिलो ट्वान्टी- २० अन्तर्राष्ट्रियमै उच्च स्कोर बनाउने अस्ट्रेलियाका रिकी पोन्टिङ हुन् । उनले ट्वान्टी-२० मा ‘डेब्यु’ गर्नेक्रममा अविजित ९८ रन बनाएका थिए । प्रथम श्रेणीमा ‘डेब्यु’ गर्दै मध्यप्रदेशका अजय रोहेराले २०१८-१९ मा अविजित २ सय ६७ रन बनाउँदै उच्च स्कोर बनाएका थिए । लिस्ट ‘ए’ मा नटालका लागि खेल्दै एलन बेरोवले १९७५-७६ मा आफ्नो पहिलो खेलमा अविजित २ सय २ तथा ट्वान्टी-२० मा सिएलकोट स्टालिएन्सका बिलाल असिफले २०१५ मा ‘डेब्यु’ मै अविजित १ सय १४ रन बनाएका थिए ।

पाँच विकेट

टेस्ट क्रिकेटमा कुल १ सय ५६ खेलाडीले आफ्नो पहिलो खेल खेल्दै ५ वा सो भन्दा बढी विकेट लिएका छन् । त्यसमा अल्बर्ट ट्रटले १८९५ मा ४३ रन खर्चेर ८ विकेट लिएको टेस्ट ‘डेब्यु’ को अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । आफ्नो पहिलो टेस्टमै १५ खेलाडीले १० वा सो भन्दा बढी विकेट लिएका छन् । त्यसमा भारतका नरेन्द्र हिरवानीले १९८८ मा वेस्ट इन्डिजविरुद्ध कुल १ सय ३६ रन खर्चेर ८ विकेट लिएको प्रदर्शन ‘डेब्यु’ टेस्टको उत्कृष्ट बलिङ हो । एकदिवसीय अन्तर्राष्ट्रियमा १४ बलरले आफ्नो पहिलो खेलमै ५ वा सोभन्दा बढी विकेट लिएका छन् । त्यसमा दक्षिण अफ्रिकाका कागिसो राबाडाले २०१५ मा बंगलादेशविरुद्ध ढाकामा १६ रन खर्चेर ६ विकेट लिनु उत्कृष्ट थियो । केन्टरबरीका अल्बर्ट मोसले १८८९-९० मा आफ्नो पहिलो प्रथम श्रेणीको खेलमा २८ रन खर्चेर सबै १० विकेट लिएका छन्, जुन ‘डेब्यु’ को उत्कृष्ट प्रदर्शन हो । तास्मानियाका विलियम ब्राउनले १८५७-५८ मा ७३ रन खर्चेर कुल १५ विकेट लिई प्रथम श्रेणीमा आफ्नो पहिलो खेलकै उत्कृष्ट प्रदर्शन गरेका थिए । लिस्ट ‘ए’ मा नर्थन ट्रान्सभालका डेनिज होब्सनले १९७४-७५ मा आफ्नो पहिलो खेलमै २७ रन खर्चेर ७ विकेट तथा ट्वान्टी-२० मा तास्मानियाका माइकल डिघटोनले ‘डेब्यु’ मै २००७ मा २५ रन खर्चेर ६ विकेट लिएका थिए ।

कान्छा खेलाडी

पाकिस्तानका हसन राजाले टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय दुवैमा १४ वर्षमा ‘डेब्यु’ गरेका थिए । दुवै संरचनाको खेलमा १५ वर्ष टेक्नु अगाडि नै ‘डेब्यु’ गर्ने उनी एक्लो खेलाडी हुन् । विश्व क्रिकेटका शीर्ष १२ राष्ट्रमा ट्वान्टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा ‘डेब्यु’ गर्ने आयरल्यान्डका जोस लिटल हुन् । हङकङविरुद्ध ब्रिडीमा २०१६ मा खेल्दा उनी १६ वर्ष ३ सय ९ दिनका थिए । बंगलादेशका मोहम्मद असरफुल सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडी हुन् । उनले २००१ मा १७ वर्ष ६१ दिनका दिनमा शतक बनाएका थिए । बंगलादेशकै नइम हसनले २०१८ मा १७ वर्ष ३ सय ५५ दिनमा ५ विकेट लिएर ‘डेब्यु’ मा सबैभन्दा कम उमेरको उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए ।

पाका खेलाडी

इंग्ल्यान्डका जेम्स साउथर्टन टेस्टमा ‘डेब्यु’ गर्ने सबैभन्दा पाका खेलाडी हुन् । उनले १८७७ मा अस्ट्रेलियाविरुद्ध ४९ वर्ष १ सय १९ दिनका दिन टेस्ट ‘डेब्यु’ गरेका थिए । यो टेस्ट क्रिकेटकै पहिलो खेल पनि थियो । नेदरल्यान्ड्सका नोलान क्लार्क एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा बढी उमेरमा ‘डेब्यु’ गर्ने खेलाडी हुन् । उनी १९९६ को विश्वकप खेल्दा ४७ वर्ष २ सय ४० दिनका थिए । शीर्ष १२ राष्ट्रमा पाकिस्तानका रफतुल्लाह अहमदले ३९ वर्ष २० दिनका दिन २०१५ मा ट्वान्टी-२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेल खेलेका थिए । अस्ट्रेलियाका एडम भोग्स आफ्नो ‘डेब्यु’ मै शतक बनाउने सबैभन्दा पाका खेलाडी हुन् । उनले २०१५ मा वेस्ट इन्डिजविरुद्ध रोसेउमा अविजित १ सय ३० रन बनाउँदा ३५ वर्ष २ सय ४२ दिनका थिए । इंग्ल्यान्डका चार्ल्स मारियट ‘डेब्यु’ मा ५ वा सो भन्दा बढी विकेट लिने सबैभन्दा बढी उमेरका खेलाडी हुन् । सन् १९३३ मा वेस्ट इन्डिजविरुद्ध ओभलमा ३७ रन खर्चेर ५ विकेट लिँदा उनी ३७ वर्ष ३ सय ३२ दिनका थिए ।

एक खेलका उत्कृष्ट

आठ यस्ता खेलाडी छन्, जसले आफ्नो पहिलो खेलमै शतक बनाउनु वा ५ विकेट लिएका छन् । तर, त्यसपछि कहिल्यै टेस्ट खेलेनन् । त्यसमा शतक बनाउने दुई खेलाडी एन्डी गान्टेएउमे र रोड्नी रेडमन्ड हुन् भने बाँकी ६ खेलाडी अउब्रेय स्मिथ, गोबो एस्ली, आर्नोल्ड वारेन, डगलस कार, चार्ल्स मारियट र मिक मालोनले आफ्नो पहिलो टेस्टमै ५ वा सो भन्दा बढी विकेट लिए पनि । त्यसपछि उनीहरूले टेस्ट कहिल्यै खेलेनन् । अझ मारियटले त दुवै इनिङ्समा क्रमशः ५-६ गरी ११ विकेट लिए पनि कहिल्यै खेलेनन् । इंग्ल्यान्डका ज्याक म्याकब्रायनको टेस्ट ‘डेब्यु’ अझ अनौठो छ । दक्षिण अफ्रिकाविरुद्ध ओल्ड ट्राफोर्डमा पहिलो टेस्ट खेले पनि उनले त्यसमा बलिङ र ब्याटिङ गरेनन् भने कुनै क्याच पनि लिएनन् । त्यसपछि उनले अर्को टेस्ट खेलेनन् । सन् २०१५ सम्ममा टेस्टमा ४ सय ५ र एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय ८० खेलाडीले ‘डेब्यु’ गरेपछि यी संरचनामा फेरि खेलेनन् ।

एकैपल्ट सात खेलाडी

सन् १९५० यता एकै टेस्टमा ७ खेलाडीले आफ्नो पहिलो खेल खेलेका छन् । यो तथ्यांक टेस्ट ‘डेब्यु’ गर्दाका राष्ट्रबाहेकको हो । तीन पटक ७ खेलाडीले एकैपल्ट टेस्टमा ‘डेब्यु’ गरेको खेल दक्षिण अफ्रिकाले न्युजिल्यान्डसँग १९६१ मा डर्बानमा, श्रीलंकाले न्युजिल्यान्डसँग क्राइस्टचर्चमा १९८३ मा तथा बंगलादेशले किंग्सटाउनमा २००९ मा थियो । कुनै पनि देशले आफ्नो पहिलो टेस्ट नखेलिरहेको अवस्थामा न्युजिल्यान्डले दक्षिण अफ्रिकामा गरेको १९६१-६२ को भ्रमणताका १६ खेलाडीले ‘डेब्यु’ गरेका थिए । त्यसमा दक्षिण अफ्रिकाका १० र न्युजिल्यान्डका ६ खेलाडी थिए ।

विश्वकपमा २०

शीर्ष आठ राष्ट्रका २० खेलाडीले सन् १९८३ को संस्करणयता विश्वकपबाट आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका छन् । यसमा दक्षिण अफ्रिकाका ६ ‘डेब्यु’ खेलाडी समावेश गरिएको छैन । १९९२ को विश्वकप खेल्नु केहीअघिमात्र दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेको थियो । शीर्ष आठ राष्ट्रमा १९९६ को विश्वकपयता ७ खेलाडीले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकपमा खेलेका छन् । त्यसमा ५ खेलाडी वेस्ट इन्डिजका हुन् । सन् १९८३ को विश्वकपमा अब्दुल कादिर, जोन ब्रेसवेल, अथुला समरासेकरा, १९८७ मा नवजोतसिंह सिद्धु, टम मुडी, फिल सिमोन्स, ड्यानी मोरिसन, एन्ड्रयु जोन्स, टिम मे र एन्ड्रयु जेसर्स, १९९२ मा अजय जडेजा, इकबाल सिकन्दर, वसिम हैदर, १९९९ मा रिकार्डो पावेल, २००७ मा किइरन पोलार्ड, २०११ मा इमरान ताहिर, एन्ड्रयु रसेल, किर्क एडवार्डस, देवेन्द्र विसु, २०१५ मा थारिन्डु कुशलले आफ्नो पहिलो एकदिवसीय खेल विश्वकपमा खेलेका थिए ।

पहिलो टेस्टमै कप्तान

दुई खेलाडीले पछिल्ला ६० वर्षमा आफ्नो पहिलो टेस्टमै कप्तानी गरेका छन् । यस तथ्यांकमा पहिलो टेस्ट खेलिरहेका राष्ट्रलाई समावेश गरिएको छैन । इंग्ल्यान्डका टोनी लुइसले आफ्नो पहिलो टेस्टमै कप्तानी गर्ने सौभाग्य पाएका थिए । न्युजिल्यान्डका ली जर्मनले १९९५ मा आफ्नो ‘डेब्यु’ टेस्टमै कप्तानी गरेका थिए । दुवैपटक विपक्षी टोली भारत थियो । जर्मनीले आफूले खेलेको सबै १२ टेस्टमा कप्तानी गरे । लुइसले ९ टेस्ट खेले र त्यसमा पहिलो ८ टेस्टमा इंग्ल्यान्डको नेतृत्व गरे ।

प्रकाशित : जेष्ठ १९, २०७७ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?