जो थिए भलिबलका उस्ताद- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो थिए भलिबलका उस्ताद

विराटनगरका दीपक सापकोटालाई अहिले पनि नेपाली भलिबल जगत्मा शिखर खेलाडी मानिन्छ । उनले नेपाली राष्ट्रिय टिममा लगातार १४ वर्षसम्म मुख्य खेलाडी भएर योगदान गरे । आठ वर्षसम्म टिमको कप्तानी सम्हाले । उनलाई सबैले त्यतिबेला ‘उस्ताद’ भन्थे ।
विनोद भण्डारी

विराटनगर — पूर्वराष्ट्रिय खेलाडी दीपक सापकोटा भलिबलका उस्ताद नै थिए । उनलाई टिमका सहकर्मी र प्रशंसकले उति बेला बोलाउने उपनाम नै ‘उस्ताद’ थियो । जसको वरिपरि मुलुकको राष्ट्रिय खेल भलिबल झन्डै डेढ दशक घुम्यो ।


माध्यमिक तहको अध्ययनका बेला विद्यालयस्तरीय तत्कालीन वीरेन्द्र सिल्ड खेलकुदबाट भलिबलमा छिरेका सापकोटाले त्यसबेला आफू भलिबलको शिखरमा पुग्छु भन्ने कल्पना पनि गरेका थिएनन् । उनलाई अहिले पनि नेपाली भलिबल जगत्मा शिखर खेलाडी मानिन्छ । उनले नेपाली राष्ट्रिय टिममा लगातार १४ वर्षसम्म मुख्य खेलाडी भएर योगदान गरे । उनैले आठ वर्षसम्म टिमको कप्तानी सम्हालेका थिए ।

सापकोटाका सहयात्री जनार्दन थापा देशले अझै भलिबलमा उनी जत्तिकै असाधारण खेलाडी पाउन नसकेको दाबी गर्छन् । थापाले भने, ‘दीपक जत्तिकै प्रभावशाली खेलाडी अहिलेसम्म छ जस्तो लाग्दैन । भविष्यमा जन्मनु बेग्लै हो । उतिबेला उनको टिमका कारण मुलुकमा भलिबलले प्रसिद्धि कमाएको थियो । नेपाली भलिबल इतिहासमा उनी असाधारण खेलाडी हुन् ।’

लिफ्टरसमेत रहेका थापाका अनुसार त्यसबेला सामान्य ज्ञानको नेपालको भलिबलका राम्रो खेलाडी को हो ? भन्ने प्रश्नोत्तरमा दीपकको नाम उल्लेख थियो । फराकिलो हातका पन्जा र ६ फिट उचाइका सापकोटा नेपाली राष्ट्रिय टिमका प्रमुख राइट ह्यान्ड स्पाइकर थिए ।

विराटनगरको आदर्श माध्यमिक विद्यालयमा माध्यमिक तह अध्ययन गर्दा उनले वीरेन्द्र सिल्डबाट भलिबल खेलको सुरुआत गरे । विद्यालयलाई पटक पटक सिल्ड जिताए । त्यसपछि उनी २०३२ सालमा उच्च शिक्षा अध्ययनका लागि बाँके नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस पुगे ।

नेपालगन्जको तत्कालीन रोडसी संगम क्लबसँग जोडिनु सापकोटाको भलिबलमा टर्निङ प्वाइन्ट बन्यो । १६ वर्षे ठिटो अग्लो र फूर्तिलो थिए । उनले विगत सम्झँदै भने, ‘क्लबका साथीहरूले तिमीले भलिबल खेल्नुपर्छ भनेर उक्साए । क्लबमा खेल्दा उनीहरू पहिलो दिन नै मेरो खेलप्रति आकर्षित भए र मुख्य स्पाइकरको जिम्मेवारी दिइयो ।’

सोह्र वर्षको उमेरमा सापकोटाले संगम क्लबबाट अन्तर क्लबस्तरीय जुनियर भलिबल प्रतियोगिता खेले । त्यो प्रतियोगितामा क्लबले रनिङ सिल्ड जित्यो । उनी उत्कृष्ट खेलाडी घोषित भए । सापकोटा सम्झन्छन्, ‘लगत्तै क्लबले मलाई सिनियर टिममा तान्यो ।’ सिनियर टिमको अन्तर क्लब प्रतियोगितामा पनि क्लबले उपाधि जित्दा उनी उत्कृष्ट खेलाडी चुनिए । त्यहाँबाट उनले बाँके जिल्लास्तरीय टिमको सदस्यमा स्थान पक्का गरे ।

लगत्तै भेरी अञ्चलस्तरीय प्रतियोगिता भयो । प्रतियोगितामा बाँके, जाजरकोट, बर्दिया, सुर्खेत र दैलेखको सहभागीता थियो । उक्त प्रतियोगितामा पनि बाँके प्रथम हुँदा सापकोटा अञ्चलकै उत्कृष्ट खेलाडी चुनिए । त्यसपछि उनी अञ्चलस्तरीय टिममा प्रवेश भए । सापकोटाले राष्ट्रिय प्रतियोगिताको रूपमा २०३३ सालमा धनगढीमा भएको चौथो राष्ट्रिय प्रतियोगितामा डेब्यु गरे । भेरी अञ्चलबाट खेल्दा प्रतियोगितामा उनको टिम फाइनलमा पुग्यो । फाइनलमा भेरी वाग्मतीसँग ३-० को सोझो सेटले पराजित भयो । तर सापकोटा भने उत्कृष्ट खेलाडी चुनिए । त्यसपछि २०३४ सालमा झापाको चन्द्रगढी र २०३५ सालमा हेटौंडामा भएको राष्ट्रिय प्रतियोगितामा पनि सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए ।

चौथो राष्ट्रिय प्रतियोगिता सकिएलगत्तै सापकोटा नेपालको राष्ट्रिय टिमको सदस्य बने । सन् १९७७ मा चीनको फिजिकल कल्चर एन्ड स्पोटर््स संगठनले नेपाली टोलीलाई मैत्रीपूर्ण खेलका लागि आमन्त्रण गरेको थियो । १५ दिने भ्रमण टोलीको प्लेइङ सिक्सका भरपर्दा खेलाडी हुँदै सापकोटा चीन पुगे । नेपाली टोलीले त्यहाँ तोथुङ, सियाङ, कुन्थिङ, आइसाङ र बेइजिङमा पाँचवटा म्याच खेल्दा तीन हार र दुई जित निकाल्न सफल भएको स्मरण सापकोटासँग छ ।

सन् १९७८ मा थाइल्यान्डमा आठौं एसियन च्याम्पियनसिप प्रतियोगितामा सहभागिता जनाउँदा सापकोटा राष्ट्रिय टिमको कप्तानीमा फड्को मार्न सफल भए । उक्त प्रतियोगिता उनको नेतृत्वमा टोलीले पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । सापकोटाले प्रतियोगिताकै सबैभन्दा कान्छा खेलाडीका रूपमा मार्चपासमा देशको झण्डा बोक्ने अवसर जुरेको थियो । त्यतिबेला उनी १७ वर्षका थिए ।

चौध वर्षको खेलाडी जीवनमा सापकोटाले पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए । चीन, रुस, भारत, थाइल्यान्ड, पाकिस्तान, इरान, जापान, दक्षिण कोरिया, इन्डोनेसिया, बंगलादेशलगायत २० देशमा खेलकौशल प्रस्तुत गर्न पाउनु नै आफ्नो उपलब्धि ठान्छन् सापकोटा । उनले सन् १९७८ मा आठौं एसियन र एसियन मेन्स च्याम्पियनसिप, १९८३ मा जापानमा भएको एसियन, दक्षिण कोरियामा पाँचौं एसियन, १९८६ मा १० औं एसियन, १९८७ मा कोलकाता साफ गेम्सलगायतका अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनी नेपाली टोलीका प्रमुख खेलाडी रहे ।

समकक्षीका अनुसार उनी स्पाइकका लागि नेटमा जम्प गर्दा टाउकोले एन्टिना छुन्थे । १९८७ मा जापानमा भएको आठौं एसियन भलिबल प्रतियोगितापछि त्यहाँको एक पत्रिकाले एसियाका टप १२ भलिबल खेलाडी छनोट गर्दा आफ्नो नाम ११ औं नम्बरमा समेटेको उनको दाबी छ ।

त्यसबेला सापकोटाका सहयात्रीमा जनार्दन थापा, जयनारायण चौधरी, महेन्द्रलाल श्रेष्ठ, दुर्जकुमार राई, प्रकाश थपलिया, सन्जय थपलिया थिए भने ऋषि आचार्य उनीभन्दा सिनियर थिए । लिफ्टर जनार्दनले भने ऋषिले छाड्ने समयमा सापकोटा नेपाली भलिबलका सुपरस्टारको लाइनमा थिए ।

पूर्वराष्ट्रिय टोलीका सदस्य देवेन्द्र भण्डारी सापकोटाको खेलबाट आकर्षित भएर आफू पनि भलिबलमा लागेको जनाउँछन् । उनी भन्छन्, ‘हामी भलिबलमा लाग्दा सापकोटालाई उनको टिममा सदस्य र दर्शकले भलिबलको उस्ताद भन्थे । उनी नेपाली भलिबलको अहिलेसम्मकै शिखर पुरुष हुन् ।’

सापकोटाका पालामा मुलुकका उत्कृष्ट भलिबल खेलाडीलाई सुरक्षा निकायलगायत विभिन्न संघसस्थाले तलब दिएर खेलाउँथे । त्यसैअनुरुप सापकोटाले नेपाली सेनाको देवदत्त गणबाट दुई वर्षसम्म भलिबल खेले । त्यसपछि उनलाई नेपाल विद्युत प्राधिकरणले करारमा लियो । त्यहाँबाट पनि उनले दुई वर्ष खेले । त्यसपछि उनी कृषि विकास बैंकमा २०४१ सालमा अस्थायी करारमा नियुक्त भए । उनी २०४३ सालमा स्थायी भए र चार वर्षअघि नवौं तहवाट अवकाश भए ।

स्नातक गरेका सापकोटाले भलिबलमा लागेर बीचबीचमा पढाइ अवरुद्ध हुनुबाहेक आफ्नो लोकप्रियता बढ्नु र राष्ट्रका नाममा अन्तर्राष्ट्रियजगतमा प्रतिनिधित्व गर्न पाउनुलाई गौरव ठान्छन् । भलिबल उत्पादन गर्ने भारतको भिनेक्स कम्पनीले २०३८ सालमा सापकोटाको हस्ताक्षर बलमा प्रिन्ट गरेर नेपाल पठाउने गरेको उनको भनाइ छ । कम्पनीले २०३८ सालमा आफ्नो हस्ताक्षर भिनेक्स बलमा प्रिन्ट गर्न लगेको उनलाई सम्झना छ ।

डेढ दशक लामो खेलजीवनको सबैभन्दा यादगर क्षण सन् १९८८ मा कभर्डहलमा भएको पश्चिम जर्मनीविरुद्धको मैत्रीपूर्ण म्याचलाई सापकोटा स्मरण गर्छन् । भन्छन्, ‘उक्त म्याच खेल्न कोर्टमा म केही ढिलो पुगेको थिएँ । त्यहाँ पुग्दा नेपालले एक सेट हारिसकेको थियो । दोस्रो सेटमा म कोर्टमा प्रवेश गरें र त्यो म्याचको मेरो पहिलो स्पाइक नै यादगर बन्यो । कोर्टको लेफ्टसाइडबाट राइट ह्यान्डले प्रहार गरेको पावरफुल स्पाइक विपक्षी कोर्टमा ड्रप हुँदै बलले कभर्डहलको माथिल्लो तहमा जडान गरिएको विद्युत्को बल्भ फुटेर सिसा कोर्टमा झर्‍यो । सिसा सफा गर्न केहीबेर म्याच नै रोक्नुपरेको थियो ।’ उनको खेलजीवनको अन्तिम खेल इस्लामाबादमा १९८९ को चौथो साफ खेलकुद थियो ।

सापकोटाका अनुसार उतिबेलाको तुलनामा अहिले नेपालको भलिबल खेल सुस्ताएको छ । तत्कालीन समयमा अनुशासन, नियमित प्रशिक्षण हुँदा खेलाडीको प्रतिभाका आधारमा टिम छनोट हुन्थ्यो । अहिले अनुशासन छैन । नियमित अभ्यास र प्रशिक्षण त छँदै छैन । उनी भलिबलमा पुरानै लयमा फर्कने आधार दिन्छन्, ‘अहिले छनोट समितिले आफू नजिकका र सुनेका आधारमा खेलाडी छनोट गर्दा खेलको विकास हुन नसकेको हो । उतिबेला भलिबलको लोकप्रियता सर्वत्र थियो । अहिले राष्ट्रिय खेल भए पनि सुस्ताउँदै गएको छ । खेलाडीलाई नियमित प्रशिक्षण, पर्याप्त अभ्यास गराएर निष्पक्ष रूपमा टिम छनोट गर्ने हो भने अझै पनि मुलुकमा भलिबलको लोकप्रियता बढ्न सक्छ ।’

प्रकाशित : जेष्ठ १८, २०७७ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउनले फेरिएको पेसा

कोही तरकारी बेच्छन् त कोही मोटरसाइकलमा दूध बोकेर गाउँगाउँ पुर्‍याउँछन्
विनोद भण्डारी

विराटनगर — लकडाउनअघि राजमिस्त्रीको काम गर्दै आएका विराटनगर–४ इक्राहीका सुरेश यादवको पेसा अहिले फेरिएको छ । दुई महिनायता उनी साइकलमा तरकारी लोड गरेर टोलटोलमा बिक्री गर्दै हिँड्न थालेका छन् ।

‘लकडाउनले काठको काम नै बन्द गर्‍यो । परिवारको गुजराका लागि पेसा नै परिवर्तन गर्नुपर्‍यो,’ यादवले भने, ‘साइकलमा तरकारी बोकेर बिक्री गर्न हिँड्न थालेको छु ।’

विराटनगर–५ मुनालपथका अमित देवको पनि दुई महिनायता पेसा परिवर्तन भएको छ । महानगरपालिकाको ढाटछेउ एक बर्षदेखि बिर्यानीको व्यापार गर्दै आएका उनी तरकारी व्यापारी बन्न पुगेका छन् । ‘लकडाउनले व्यापार ठप्प भयो,’ उनले भने, ‘बिर्यानी हाउसमै तरकारी पसल थापेको छु ।’ उनका अनुसार पहिले दैनिक १०–१२ हजारको बिर्यानी बिक्री हुन्थ्यो ।

महानगरको बरगाछीमा खसी काटेर मासु बिक्री गर्दै आएका कमुद्दिन मिया पनि लकडाउनपछि ठेलामा तरकारी बेच्न थालेका छन् । उनका अनुसार पहिले दैनिक २ वटा खसी काटेर ४० देखी ५० किलो मासु बेच्थे । कमाइले १० जनाको परिवार पाल्न समस्या थिएन । ‘लकडाउनले खसी काट्ने पेसा बन्द भएपछि परिवारको गुजाराकै लागि ठेलामा तरकारी बिक्री गर्न थालेको हुँ,’ उनले भने । मियाले चार हजार रुपैयाँ लगानी गरेर टमाटर, आलु, काँक्रा, भिन्डीलगायत तरकारी बिक्री गर्न थाले । दैनिक एक हजारको तरकारी बेच्दा तीन सय रुपैयाँ नाफा हुने गरेको उनको अनुभव छ । आम्दानी नगरी घरमा बस्नुभन्दा बिहान–बेलुका लकडाउन खुकुलो भएको समयमा तरकारी बेचेर केही कमाउनु उत्तम भएको मियाले बताए ।

विराटनगर विमानस्थलको मोडमा फास्टफुड एन्ड क्याफे सञ्चालनको अन्तिम तयारीमा बसेका दीपेन्द्र उराउ पनि पछिल्लो समय तरकारी बिक्रेता बनेका छन् । उनी क्याफेकै अगाडि टेबुलमा पसल लगाएर बिहान तीन घण्टा र बेलुका एक घण्टा तरकारी बिक्री गरिरहेका छन् ।

ऋण काढेर खोलेको क्याफे सञ्चालन गर्नै लाग्दा लकडाउन भएपछि उनी समस्यामा परेका छन् । ‘बैंकको ब्याज बढेको बढ्यै छ, घरखर्च चलाउने पैसासमेत छैन । त्यही भएर क्याफेकै अगाडि बाध्य भएर तरकारी पसल खोलेको छु,’ उनले भने । सरकारले तरकारी, दूध, दैनिक उपभोग्य वस्तु खरिदबिक्री गर्न बिहान तीन र बेलुका दुई घण्टा पसल खोल्न दिने गरेको छ ।

बूढीगंगा गाउँपालिकाका नजमल हुसैन लकडाउनअघि घर निर्माणको काम गर्थे । उनी मिस्त्री हुन् । लकडाउनको दुई सातासम्म चुपचाप बसेका उनले तेस्रो सातादेखी साइकलमा सबै साइजको चप्पल राखेर गाउँगाउँ गई बिक्री गर्न थाले । यो पेसाबाट दैनिक चार सयजति आम्दानी हुने गरेको हुसैन बताउँछन् ।

विराटनगर–४ इक्राहीका उमेश यादव एक निजी कम्पनीमा मुन्सीको काम गर्थे । लकडाउनले कम्पनी बन्द भएपछि यस बेला दूध बिक्रेता बनेका छन् । मोटरसाइकलमा दूधको भाँडो बोकेर गाउँगाउँ पुग्छन् । ‘दूध विक्रीबाट हुने आम्दानीले डेढ महिनायता परिवारको गर्जो टर्दै आएको छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ ११, २०७७ १२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×