२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

लिग फुटबलको  स्थिति  कहाँ कस्तो  ?

एएफपी

लन्डन — इंग्ल्यान्ड र इटालीका फुटबल प्रशंसकले आखिरमा त्यो समाचार सुन्न पाए, जो तिनीहरू निकै व्यग्रले प्रतीक्षा गरिरहेका थिए । फुटबल सिजन स्थगित रहेको स्थितिमा इंग्ल्यान्ड र इटालीमा त्यो मिति तय भएको छ । जहाँबाट लिग फेरि सुरु हुनेछ ।

लिग फुटबलको  स्थिति  कहाँ कस्तो  ?

इंग्ल्यान्डमा जुन १७ बाट लिग सुरु हुने भनिएको छ । इटालीमा खेलकुदमन्त्रीले नै घोषणा गरेका छन्, फुटबल जुन २० बाट सुरु हुने । जर्मन बुन्डेसलिगा त यसअघि नै सुरु भइसकेको छ । स्पेनमा पनि जुन ११ मा सुरु गर्ने घोषणा छ, लिग पूरा गर्ने । कोरोना भाइरस संक्रमणको महामारीबीच युरोपका पाँच प्रमुख फुटबल लिगका कसको कस्तो स्थिति छ त ?

जर्मन बुन्डेसलिगा

मैदानमा फेरि फर्कने पहिलो ठूलो लिग रह्यो, जर्मन बुन्डेसलिगा । मध्य मे महिनामा फेरि सुरुयता अहिलेसम्म तीन चरणको खेल भएका छन् । तर अहिले तै निश्चित जस्तै देखिएको छ, बायर्न म्युनिखले लगातार आठौंपल्ट लिग उपाधि जित्नेछ । हान्से फ्लिकको बायर्न ७ अंकको अग्रताले शीर्षस्थानमा छ । पछिल्ला लगातार तीन खेल जित्न बायर्नले खालि सिग्नल इडुना पार्कमा बोरुसिया डर्टमन्डलाई हराएको थियो । यसक्रममा लिगमा आफ्नो प्रभुत्व पनि सिद्ध गर्न सक्यो । युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने बाँकी दुई स्थानका लागि त्रिकोणात्मक प्रतिस्पर्धा छ, लाइप्जिग, बोरुसिया मुन्छेनग्लाडबाख र बायर लेवरकुजनबीच । बुन्डेसलिगाले एउटा अर्को काम पनि गरेको छ, अन्य लिग फर्केपछि त्यो कस्तो हुनेछ भनेर । अबको फुटबल हुनेछ, अस्वाभाविक खाली मौन र रंगशाला ।

अनि कडिकडाउ चिकित्सकीय निगरानी । यो निगरानीले सामाजिक दूरी कायम राख्न मात्र बाध्य पार्दैन । सब्स्टिच्युट खेलाडी बस्ने बेन्चमा पनि खेलाडीलाई मास्क लगाउन बाध्य पार्छ । त्यसैले ठूला ५ लिगमध्ये जति बेला स्पेन, इटाली र इंग्ल्यान्डमा फुटबल फर्कनेछ, त्यसको दृश्य लगभग त्यस्तै हुनेछ । यी तीनै देश कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुनेमा पर्छन् ।

इंग्लिस प्रिमियर लिग

तीन दशक लामो समयको अन्तरालपछि लिभरपुल पहिलोपल्ट लिग जित्ने संघारमा छ । जतिबेला लिग फेरि सुरु हुने निर्णय भयो, सबैभन्दा बढी खुसी लिभरपुल भएको हुनुपर्छ । जुन १७ देखि लिग सुरु हुने भनिएको छ । योर्गन क्लोपको लिभरपुललाई लिग उपाधि चुम्न जम्माजम्मी दुई जितमात्र आवश्यक छ । त्यसैले लिभरपुलले लिग जित्नेछ, त्यो शतप्रतिशत निश्चित देखिन्छ । लिग रोकिनु अगाडि लिभरपुललाई दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई २५ अंकको अग्रता प्राप्त थियो । तर लिभरपुलले उपाधि जिते मनाउने खुसी भने सुनसान हुनेछ । किनभने रंगशालामा उसका समर्थक हुने छैनन् । महामारीले तिनै समर्थकलाई ठूलो संख्यामा भेला भएर खुसी मनाउने छुट पनि दिने छैन । नत्र यस्तो अवसरमा अत्यधिक भीड हुने थियो ।

लिगमा ९ चरणको खेल हुन बाँकी छ । चेल्सी चौथो स्थानमा छ । चेल्सीलाई उछिन्ने दाउमा हुनेछन्, म्यानचेस्टर युनाइटेडदेखि वोल्भस र सेफिल्ड युनाइटेडसम्म । पुछारतिर पनि उत्तिकै रमाइलो समीकरण बनेको छ । यसले रोमाञ्च थपेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको एस्टन भिल्ला र १५ औं स्थानमा रहेको ब्राइटनबीचको दूरी छ । त्यो पनि ४ अंकको मात्रै ।

इटालीको सिरी 'ए'

खेलकुदमन्त्री भिन्सेन्जो स्पाडाफोराको लिग जुन २० बाट सुरु हुने घोषणाले एक प्रकारको तनाव कम गरेको छ, उनी र फुटबल पदाधिकारीबीच । जतिबेला लिग सुरु हुनेछ, मैदानमा देखिनेछ लामो समययता लिग उपाधिका लागि सबैभन्दा नजिकको प्रतिस्पर्धा । मन्त्री स्पाडाफोराले कतिसम्म भनेका छन् भने फेरि फुटबल सुरु हुने निर्णय गलत साबित भए, इटालीको फुटबल संघसँग अन्य बेग्लै योजना पनि छ ।

अन्य योजना हुन सक्छन्, शीर्षस्थान र रेलिगेसनमा पर्ने टिमका लागि प्लेअफ । थप अर्को योजना छ । लिगलाई अहिले जस्तो छ, त्यसैअनुसार टुंग्याउने । त्यो भए महामारीबीच जुन अन्तिम खेल भएको थियो, त्यतिबेला जस्तो अंकतालिका थियो, त्यसैलाई अन्तिम मान्ने । लिगमा अधिकांस टिमले १२ चरणका खेल खेल्न बाँकी छ । त्यसैले लिग सकाउन हतारो छ ।

युभेन्ट्सलाई शीर्षस्थानमा खाली एक अंकको मात्र अग्रता छ लाजियोमाथि । पहिलो योजनाअनुसार सातामा दुई खेल हुनेछ, अगस्ट महिना सुरु हुने बेलासम्म । सरकारको एउटा नियमले भने लिगलाई व्यवधान पुर्‍याउन सक्छ । त्यो हो, क्लबमा केही एक जना मात्र कोभिड-१९ बाट संक्रमित भएको पाइएमा पूरा टिमका खेलाडी र खेल पदाधिकारी दुई साताको क्वारेन्टाइनमा जानुपर्नेछ ।

स्पेनिस ला लिगा

ला लिगा प्रमुख जाभियर टेबासले जुन ११ देखि लिग सुरु हुने घोषणा गरेका छन् । पहिलो खेल सेभिया डर्बीमा सेभिया र रियल बेटिसबीच हुनेछ । जुलाई १८ र १९ मा लिग सम्पन्न हुनेछ । अर्को सिजनको लिग सेप्टेम्बर १२ मा सुरु हुनेछ ।

स्पेन सरकारको खेलकुद विभागले ला लिगा र स्पेनिस सकर फेडरेसनसँग यस सिजनको लिग पुनः सुरु गर्न सहमति जुटेको जनाएका छन् । सरकारले जुन ८ देखि लिग सुरु गर्न अनुमति दिइसकेको छ । फुटबल फेरि सुरु भएयता एक साताका सबै दिन खेल गर्न सकिनेछ । स्पेनी फुटबल संघले पनि यो सिजनको फुटबल सक्न विशेष व्यवस्थापन गर्न पाउने छुट दिएको छ । संघले साताको कुन दिन खेल गराउने हो, त्यसको निर्णय गर्न लिगलाई छुट दिएको छ । सबै लिग सक्ने उद्देश्यमै छन् । खेल भने बन्द रंगशालामै हुनेछ, बिनादर्शक । खेल हुने अघिल्लो दिन खेलाडीको अनिवार्य कोभिड-१९ परीक्षण गर्नुपर्नेछ । त्यति मात्र होइन, रंगशाला प्रवेश गर्नु अगाडि पनि खेलाडीको तापक्रम नापिनेछ । लिगमा बार्सिलोनालाई शीर्षस्थानमा रियल म्याड्रिडमाथि २ अंकको मात्र अग्रता प्राप्त छ ।

गत सातादेखि १० खेलाडीको समूह बनाएर प्रशिक्षण गर्न अनुमति दिइएको छ । अव केही सातापछि नै क्लबहरूले पूर्ण अभ्यास गर्न पाउने छन् । यो भनेको एक खेलाडीले अर्को खेलाडीमाथि ट्याकल पनि हान्न पाउनेछ ।

फ्रान्सेली लिग वान

युरोपका ठूला लिगमध्ये फ्रान्सको लिग वान मात्र त्यस्तो रह्यो, जसलाई फेरि सुरु गर्न सरकारी अनुमति नै प्राप्त भएन । प्रधानमन्त्री एडवार्डो फिलिपेले फेरि भनेका छन्, व्यावसायिक खेल सुरु गर्ने यो कुनै समय नै होइन, भलै पूरा देश भने लकडाउन खुकुलो बनाउने बाटोमा छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग विजेता घोषित भइसकेको छ । टुलुज र आमेन्स रेलिगेसनमा परेका छन् । यी दुवै क्लब यो निर्णयविरुद्ध फ्रान्सको उच्च न्यायालयमा जाने तर्खरमा छन् ।

प्रकाशित : जेष्ठ १८, २०७७ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?