१० विकेटको १२ वर्ष

महबुब आलमले टापु राष्ट्र जर्सीमा १२ वर्षअघि एकै खेलमा १० विकेट लिएर अद्वितीय कीर्तिमान बनाएका थिए । सबै १० विकेट लिएको त्यो क्षण स्मरण गर्दै महबुब भन्छन्, ‘त्यसले मेरो जीवनशैलीमै परिवर्तन ल्याइदियो ।’
विनोद पाण्डे

काठमाडौँ — ‘कहिलेकाहीं फोटोग्राफीको भगवानले तपाईंलाई दया गर्नुहुन्छ,’ नेपालका महबुब आलमले एकै खेलमा १० विकेट लिएको संस्मरण जोड्दै ब्यारी चेम्बर्सले केही दिनअघि ट्विट गरेका थिए । चेम्बर्स त्यस्ता भाग्यमानी हुन्, जसले महबुबले लिएका १० विकेटको अद्वितीय कीर्तिमान आफ्नो क्यामराले कैद गरेका थिए ।

१० विकेटको १२ वर्ष

उनले बेलाबखत भन्ने गरेका छन्, ‘महबुबको १० विकेटको कीर्तिमान खिच्ने म एक्लो फोटोपत्रकार हुँ, त्यसमा म गर्व गर्छु ।’ सन् २००८ को मे २५ अर्थात् २०६५ जेठ १२ को दिन महबुब ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा १० विकेट लिने पहिलो खेलाडी बनेका थिए । एसोसिएट क्रिकेटको यो अद्वितीय कीर्तिमान महबुबले विश्व क्रिकेट लिग क्रिकेट डिभिजन-५ मा मोजाम्बिकविरुद्ध रचेका थिए ।

चेम्बर्स त्यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र क्रिकेट युरोपसँग आबद्ध थिए । उनले यस क्षणलाई अविस्मरणीय बनाएका थिए । जर्सीको सेन्ट साभियर मैदानमा १२ वर्षअघि बनाएको कीर्तिमान महबुबका लागि अझ स्मरणीय छ । सबै १० विकेटको प्रदर्शनपछि महबुबको नाम अगाडि विश्व कीर्तिमान थपिएको थियो । सोही १० विकेटका कारण उनलाई विश्व कीर्तिमानधारी भनेर बोलाइन्छ ।

‘त्यो १० विकेट बिर्सन नसकिने क्षण हो, अझ टिम र साथीहरूको सेलिब्रेसन विशेष थियो । खेलपछि टिम म्यानेजर टंक पनेरूले ठूलो पार्टी दिनुभयो । त्यो पल सम्झिँदा जर्सीमै छु जस्तो लाग्छ । फेरि त्यही मैदानमा जान पाए हुन्थ्यो जस्तो लागिरहेछ । कसैले यो प्रसंग निकाल्दा गर्व लागेर आउँछ,’ महबुब त्यो क्षण सम्झिँदा अहिले नि त्यति नै उत्साही भए, जति त्यो १० विकेट लिँदा भएका थिए ।

उनले सुनाए, ‘१० विकेटको त्यो कीर्तिमान कति चाँडो १२ वर्ष पुग्यो जस्तो लाग्छ । यो प्रदर्शनलाई विश्व कीर्तिमानसम्म पुर्‍याउँदा मलाई गर्व लाग्छ । मलाई त्यही क्षण सम्झन मन लागिराख्छ । यो सम्झँदा टिमका साथीहरूको खुसी याद आउँछ । यो पलबाट निस्कन मन लाग्दैन ।’

आईसीसीद्वारा मान्यताप्राप्त अन्तर्राष्ट्रियस्तरको ५० ओभरको खेलमा पहिलोपटक सबै १० विकेट सम्झव भएको हो । महबुबले एउटा मध्यम/तीव्र गतिका बलरको रूपमा यो सफलता पाएका थिए । त्यसले नै उनको १० विकेटलाई अझ विशेष बनाएको थियो । टेस्ट क्रिकेटमा इङ्ल्यान्डका जिम लेकर र भारतका अनिल कुम्बलेले एकै इनिङ्समा १० विकेट लिएको इतिहास छ, दुवै स्पिनर हुन् ।

चेम्बर्स मात्र होइन देब्रेहाते महबुबलाई पनि १० विकेटमा भाग्यको ठूलो साथ थियो । नेपाल र मोजाम्बिकबीचको पहिलो दिनको खेल वर्षाले पूरा हुन दिएको थिएन । विनोद दास र वसन्त रेग्मीले ५-५ विकेट लिएपछि नेपालले मोजाम्बिकलाई २८.५ ओभरमा ७० रनमा अलआउट गरेको थियो । महबुबले ५ ओभर बलिङ गरी १ मेडन राख्दै २१ रन खर्चे पनि कुनै विकेट लिएका थिएनन् ।

नेपालले १ बल खेल्दै २ रन बनाएको अवस्थामा वर्षाले थप खेल हुन दिएन । त्यसको भोलिपल्ट वैकल्पिक दिनमा पुन: त्यही खेल खेलाउँदा विश्व क्रिकेटमा एउटा इतिहास बनेको थियो । नेपालले पहिला ब्याटिङ गर्दै ७ विकेट गुमाई २ सय ३८ रन बनायो । ज्ञानेन्द्र मल्लको ७१ रनको अलावा महबुबले १३ बलमा अविजित २३ रन बनाएका थिए । महबुबले बलिङमा पहिलो ओभरबाटै विकेट लिन सुरु गरेका थिए । उनले एकपछि विकेट लिनेक्रमलाई रनअप जस्तै द्रुत गतिमा अगाडि बढाउँदा मोजाम्बिक १४.५ ओभरमा १९ रनमै अलआउट भयो ।

आफ्नो ७.५ ओभरको स्पेलमा महबुब ३ पटक ह्याट्रिक नजिक पुगेका थिए । उनको बलमा मोजाम्बिकका ५ खेलाडी बोल्ड भए । चार एलबीडब्लू र एक विकेट उनले विकेटकिपर महेश क्षेत्रीको हातबाट क्याच गराए । नेपाली खेलाडीलाई क्याच दिने एक मात्र खेलाडी कलिम शाहले मोजाम्बिकबाट सर्वाधिक ९ रन बटुल्न भ्याएका थिए । आफ्नो खातामा स्कोर गर्न भ्याएका अर्का खेलाडी कप्तान सोएब युनिस थिए, जो २ रनमा अविजित रहे । बाँकी ९ खेलाडी शून्यमा पेभेलियन फर्किएका थिए ।

‘मोजाम्बिकसँग पहिलो दिनको खेलमा मैले विकेट लिइनँ । भोलिपल्ट पनि घाम लागेको थिएन । हावा चलिरहेको थियो । दिन लागेको रहेछ भने कसैले रोक्न सक्दैन,’ महबुबले १० विकेटको कीर्तिमानी क्षण स्मरण गर्दै भने, ‘वार्मअपमा स्पट बलिङमै पूर्ण लय समात्दै अभ्यास गरिरहेको थिएँ । अभ्यासबाटै लय मिलाउन खोजेको थिएँ, त्यो ठ्याक्कै मिलेको थियो । बल स्विङ भइरहेको थियो, भनेको ठाउँमा गइरहेको थियो, यो लय प्रतियोगिताभर रह्यो । म्यान अफ द सिरिज नै भएको थिएँ ।’

भाग्य एक ठाउँमा होला, महबुबको विकेट लिने ग्राफ भने १० विकेटतर्फ नै अग्रसर भइरहको थियो, जुन चाहेर पनि हत्तपत्त सम्भव हुने कीर्तिमान होइन । उनले सन् २००३ मा काठमाडौंमा भएको एसीसी इमर्जिङ कपमा माल्दिभ्सविरुद्ध ८ विकेट लिएका थिए । त्यस्तै २००६ को एसीसी ट्रफीमा उनले म्यानमारविरुद्ध मलेसियामा ३ रन खर्चेर ७ विकेट लिएका थिए । मोजाम्बिक होस् वा माल्दिभ्स या म्यानमार । यी सबै विश्व क्रिकेटमा निकै कमजोर राष्ट्र हुन् । प्रतिद्वन्द्वी जस्तोसुकै होस् सबै १० विकेट लिन ‘दिन’ नै लाग्नुपर्छ अर्थात् भाग्य नै चम्कनुपर्छ । त्यही दिन लाग्दै १२ वर्षअघि कल्पना, सपना र भाग्य महबुबकै पक्षमा आएको थियो ।

मोजाम्बिकसँग नेपालबाट महबुव, कप्तान विनोद र शक्तिले मात्र बलिङ गरेका थिए । ‘विनोद र शक्तिजस्ता नियमित विकेट लिने बलर भएको टोलीबाट सँगै खेल्दा सबै १० विकेट लिने कल्पनासमेत गर्न सकिन्न,’ महबुवले भने, ‘७ विकेट लिइसकेपछि मैदानमा भएको छलफलमा अर्को इन्डबाट डट खेलाउने, अफस्टम्पबाहिर बल फाल्ने, विकेटमा सिधा बल नफाल्ने र मेरा लागि १० विकेटको कीर्तिमानमा जाने निर्णय भएको थियो । विनोद र शक्ति दाइले त्यहीअनुसार बलिङ गर्नुभयो । ८ विकेट लिइसकेपछि मात्र मलाई १० विकेट लिन सक्छु जस्तो लागेको थियो ।’

आठौं ओभरमा महबुबले ३ विकेट लिँदै १० विकेट पूरा गरेका थिए । महबुबका अनुसार जर्मनीलगायतका खेलाडीले मैदानबाटै उनको कीर्तिमान हेरिरहेका थिए । नेपाली खेलाडीले काँधमा बोकेर उनलाई मैदान घुमाएका थिए । ३८ वर्ष हिँड्दै गरेका महबुबले सुनाए, ‘जबसम्म म बाँच्छु, जबसम्म नेपाली क्रिकेट हुन्छ तबसम्म यो कीर्तिमान मेरो नाममा हुन्छ । पैसा त आज छ भोलि नहुन सक्छ । तर त्यो कीर्तिमान अमर छ । टिमका सबैलाई धन्यवाद दिन चाहन्छु ।’

पछिल्लो तीन वर्षयता महबुब राष्ट्रिय टोलीमा नरहे पनि उनले स्थानीय प्रतियोगितामा खेलिरहेका छन् । तर १० विकेट प्रदर्शनले आफ्नो जीवनमा धेरै परिवर्तन ल्याएको उनको बुझाइ छ । १० विकेट कीर्तिमानको दुई वर्षपछि गिनिज बुकले महबुबको प्रदर्शन विश्व कीर्तिमान भएको प्रमाणित गरेको थियो । उनले आफैंले विश्व कीर्तिमानका लागि गिनिज बुकको फर्म भरेको र लन्डनबाट त्यसको प्रमाणपत्र पठाइदिएको बताए । महबुबसँग १० विकेट लिएको त्यो स्कोर कार्ड र गिनिज बुकको प्रमाणपत्र अहिले साथमै हुन्छ ।

‘नामको अगाडि विश्व कीर्तिमान जोडिसकेपछि बेग्लै सम्मान हुँदोरहेछ । दशकपछि अहिले पनि त्यो सम्मान पाइरहेको छु । विश्व कीर्तिमानले मेरो बेग्लै छवि बनेको थियो । धेरै सम्मानहरू पाए । जिउने जीवनशैलीमा परिवर्तन ल्यायो,’ उनले भने, ‘अहिले मलाई नामअगाडि विश्व कीर्तिमानी भनेर बोलाउँछन् । मेरो परिचय नै यही हो ।’ उनले चेम्बर्सका लागि पनि छुट्टै परिचय बनाइदिए । १२ वर्षअगाडि महबुबको कीर्तिमानपछि उनी भन्दै थिए, ‘यो सबै सही समय र सही स्थानमा हुनुका साथै भाग्य, कर्म जे तपार्इं भन्नुस् सबैको कारण थियो ।’

दुर्लभ कीर्तिमान : विनोद दास (तत्कालीन कप्तान)

पूरा १० विकेट क्रिकेटमा सबैभन्दा गाह्रो कीर्तिमानमध्ये एक हो । सीमित ओभरको खेलमा जहाँ एक बलरले १० ओभरभन्दा बढी बलिङ गर्न पाउँदैनन्, त्यस्तो खेलमा १० विकेट लिनु दुर्लभ कीर्तिमान हो । महबुब त्यो डिभिजन-५ भर असाधारण फर्ममा थिए । बल र ब्याट दुवैमा चम्किएका थिए । १० विकेट लिएपछिको अर्को खेलमा उनले अर्धशतक पनि बनाएका थिए । उनले हरेक खेलमा राम्रो बलिङ गरिरहेका थिए । १९ विकेट लिँदै उनी म्यान अफ द सिरिजमा चुनिएका थिए ।

सन् २००६ देखि २००८ सम्मको समय महबुबको उत्कृष्ट फर्मको समय थियो । डिभिजन-५ चाहिँ उनका लागि निकै राम्रो भएको थियो । उनी त्यसमा सर्वाधिक विकेट लिने खेलाडी पनि थिए । हामी सबैलाई थाहा छ सन् २०१० सम्मको समयमा नेपालको सबैभन्दा राम्रो अलराउन्डर उनै थिए । महबुब सुस्ताउँदै गएपछि पारसले त्यो स्थान लिएका हुन् । राजु खड्काले खेल्न छाडेपछि हाम्रो भरपर्दा अलराउन्डर महबुब नै थिए ।

उनको विश्व कीर्तिमानबारे अहिले पनि सारा विश्वले चर्चा गर्ने गरेको छ । त्यो टिमको सदस्य हुन पाउँदा पनि मलाई गर्व लाग्छ । कुनै नेपालीले आफूलाई त्यो स्थलमा गएर अवसर पाउँदा प्रमाणित गरेर देखाएको कीर्तिमान हो । एउटा कप्तानका रूपमा त्यो बेलाको स्मरण गर्ने हो भने हामी सबैले महबुबलाई बोकेर ल्याएको क्षण अझै ताजा छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?