कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एसियन जुनियर चेस : नेपाली खेलाडी छनोटमै रोकिए

काठमाडौँ — एसियन जुनियर एन्ड गर्ल्स अनलाइन चेस च्याम्पियनसिपमा नेपालका ६ खेलाडीको चुनौती बिहीबार सम्पन्‍न क्षेत्रीय छनोट प्रतियोगितामै समाप्त भएको छ ।

एसियन जुनियर चेस : नेपाली खेलाडी छनोटमै रोकिए

२० वर्षमुनिको च्याम्पियनसिपको जोनल ३.२ को छनोटमा पुरुषतर्फ अविश्रेय श्रेष्ठ छैटौं, विवेक श्रेष्ठ सातौं र निकेन कुसाथा दसौं स्थानमा रहे । महिलातर्फको छनोट खुश्बु थापा सातौं, अनिशा न्यापाने आठौं र कृतिसारा अधिकारीले नवौं स्थानमा रहेर टुंग्याए । नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्स र पाकिस्तानका ३–३ खेलाडी सहभागी दुवै स्पर्धाको शीर्ष तीनमा रहने खेलाडी फाइनल चरणको लागि छनोट भए ।

एसियाली चेस महासंघद्वारा कोरोना भाइरसको महामारीको बेला चेस खेलाडीलाई व्यस्त राख्‍न आयोजित च्याम्पियनसिपको लागि स्वीस प्रणालीअनुसार नौ चरणमा छनोट प्रतियोगिता सञ्चालन हुने बताइए पनि सातौं चरणसम्ममात्रै प्रतिस्पर्धा सम्भव भयो ।

छनोटमा १३८१ वरियताका अविश्रेयले दोस्रो चरणमा माल्दिभ्सका अब्दुल मोहमद सलिम, चौथोमा पाकिस्तानका मोमिन फायजन र अन्तिम राउन्डमा पापकिस्तानकै सलिस राफयलाई पराजित गरे । छैटौं चरणमा बाई पाएका उनले ४ अंक बटुले । १७३८ वरीयताका विवेकले पहिलो चरणमा पाकिस्तानका मोमिन, तेस्रोमा माल्दिभ्सका मुजाहिद याजिद र छैटौंमा आफ्नै देशका निकेनलाई हराए भने चौथो चरणमा श्रीलंकाली सन्दीप दसानायकेसँग बराबरी गर्दै ३.५ अंक बनाए ।

पहिलो चरणमा प्रतिद्वन्द्वीविहीन रहेका निकेन (१७३२) ले पनि ३.५ अंक जोड्ने क्रममा दोस्रो चरणमा पाकिस्तानका मोमिनसँग बराबरी गरे भने त्यसपछि तेस्रोमा पाकिस्तानी उसमान मलिक र पाचौंमा माल्दिभ्सका योसाउ यामिनलाई पराजित गरे । उनले अन्तिम चरणमा बाई पाएका थिए ।

महिलातर्फ १४६६ वरीयताकी खुश्बु थापाले दोस्रो चरणमा माल्दिभ्सकी मारियम लइसा, चौथोमा पाकिस्तानी माहिन मलिक र सातौंमा इमान अहमदलाई हराइन् भने पाचौंमा बंगलादेशकी वारसिया खुश्बुसँग बराबरी गर्दै ३.५ अंक बनाइन् । पहिलो चरणमा माल्दिभ्सकी अहमद इमानसँग बराबरी खेलेकी अनिशा (१४७१) ले तेस्रो चरणमा माल्दिभ्सकै लइसा, छैटौं चरणमा पाकिस्तानी माहिन मलिक र अन्तिममा मालिहा अलीलाई पन्छाउँदै ३.५ अंक जोडिन् ।

माल्दिभ्सका ऐसाथ हिम्याबाट पहिलो राउन्डमा वाकओभर पाएकी कृतिसारा (१४७८) ले नेपालकै अरु दुई खेलाडीलाई हराएर ३ अंक जाडेकी हुन् । उनले तेस्रो चरणमा नेपालकै खुश्बु थापा र चौथोमा अनिशा न्यौपानेलाई पराजित गरिन् ।

महिलातर्फ श्रीलंकाली जयवीरा सयुनी (६ अंक), बंगलादेशकी नोसिम अन्जुम (५.५) र श्रीलंकाली देवेथमी दहमप्रिया (५.५) शीर्ष तीनमा रहदै फाइनल चरणमा प्रवेश गरेका छन् । पुरुषतर्फ बंगलादेशका फाहद रहमान (६), जिया ताहसिन (६) र श्रीलंकाका जीएचएम थिलकरत्ने (५.५) ले फाइनलमा स्थान सुरक्षित गरे ।

महिला र पुरुष दुवैमा सबै देशका ३-३ खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । एसियाका ६ जोन (क्षेत्र) को छनोट प्रतियोगितामा हरेक क्षेत्रमा शीर्ष तीन स्थानमा रहने खेलाडीहरू फाइनलमा प्रवेश गर्नेछन् । महिलाको फाइनल ३ जुन र पुरुषतर्फ फाइनल ४ जुनमा सञ्चालन हुनेछ । पुरुषतर्फको विजेताले १ हजार ५ सय अमेरिकी डलर, उपविजेताले १ हजार र तेस्रो हुनेले ५ सय डलर पाउनेछन् । महिलातर्फ पहिलो हुनेले ७५०, दोस्रोले ५ सय र तेस्रो हुनेले २५० डलर हात पार्नेछन् ।

प्रकाशित : जेष्ठ १६, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?