उपाधितिर लम्कँदै बायर्न

द गार्डियन

बर्लिन — जोसुआ किमिचले एकमात्र गोलका लागि निकालेको त्यो ‘चिप’ वास्तवमै उत्कृष्ट थियो । त्यसैको मदतले बायर्न म्युनिखले बोरुसिया डर्टमन्डलाई १–० ले हरायो, ‘डेर क्लासिकर’ मा । यो जितले जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको टिमले आफ्नो एक हात उपाधिसम्म पुर्‍याएको छ । किमिचको नापेर, तौलेर ४३ औं मिनेटमा गरेको प्रहारमा विपक्षी गोलरक्षक रोमन बुरकीले पटक्कै मौका पाएनन् ।

उपाधितिर लम्कँदै बायर्न

बायर्नको यो जित त्यो बन्द रंगशालामा सम्भव भएको थियो । जहाँ अरु बेला ८० हजार दर्शक हुन्थे । ‘आज हामीले मीठो जित निकाल्यौं,’ किमिचले भने, ‘यो उसका लागि घातक पनि साबित हुनेछ । त्यसैले डर्टमन्डलाई यो हार सहन सजिलो हुने छैन । अर्को खेलमा हामीले आजको जितलाई अझ अगाडि बढाउनुपर्नेछ । यो खेलका लागि हामीले निकै कडा मिहिनेत गरेको भुल्नुहुन्न ।’

उनले कम्तीमा डर्टमन्ड टिमको प्रशंसा गर्न पनि बिर्सेनन् । यता बायर्न भने पछिल्ला १३ खेलमा अपराजित छ । कीर्तिमान र लगातार आठौं लिग उपाधि जित्ने संघारमा बार्यन पुगेको छ । लिगमा ६ चरणको खेलमात्र बाँकी रहेको बेला बायर्नलाई निर्णायक साबित हुनसक्ने ७ अंकको अग्रता प्राप्त भइसकेको छ । बुन्डेसलिगा १० दिनअघि सुरु भएको थियो । त्यो पनि कोरोना भाइरस संक्रमणको महामारीबीच ।

यसबीच दुई महिना फुटबल सम्भव भएन । जोखिमबाट बच्न दर्शनबिनाको बन्द रंगशालामा सुरु बुन्डेसलिगा युरोपका प्रमुख फुटबल प्रतियोगिता भने रह्यो । डर्टमन्डका लागि लिगको यो पुन: सुरुआत राम्रै रहेको थियो, उसले पनि लगातार ६ खेलको जित आत्मसात् गरिसकेको थियो । बायर्नविरुद्ध पनि इर्लिङ ब्रट हल्यान्डले सुरुआती सेकेन्डमै झन्डै गोल गरिसकेका थिए । जेरोमी बोएटिङले गोललाइनबाट बल क्लियर गर्नुपरेको थियो । त्यसयता खेलमा पाहुना टिमको पकड विस्तारै सुरु भएको थियो । रोमाञ्चक साबित पहिलो हाफमा १९ वर्षीय हल्यान्डले कम्तीमा अपेक्षाअनुसार बढी राम्रो खेल्नुपर्ने थियो । उनले ३३ औं मिनेटमा पनि राम्रो अवसर पाएका थिए, तर अल्फान्सो डेभिसले त्यसमा व्यवधान पुर्‍याइहाले । खेलको निर्णायक मोड किमिचको त्यो ‘चिप’ प्रहारमै रह्यो ।

उनले बुरकीलाई आफ्नो स्वाभाविक स्थानमा के देखेनन्, पेनाल्टी एरियाको ठीक नजिकबाट बललाई उचाइ दिएर प्रहार गरे । यो गोलपछि त दोस्रो हाफको खेल पनि बायर्नकै पकडमा रह्यो । डर्टमन्डले चोटका कारण हल्यान्डलाई गुमाउन पनि बाध्य रह्यो । हल्यान्डले खेल सकिन १८ मिनेट अगाडि सिर्जना गरेको अर्को मौकाले पनि बोएटिङलाई छोएर बाहिरी दिशा लिएको थियो ।

डर्टमन्डका लागि मो दाहोदले पनि पेनाल्टी एरिया बाहिरबाट एक अर्को प्रयास बुनेका थिए, तर बायर्नका लागि चार सय खेल खेलिरहेका गोलरक्षक म्यानुयल नोयाले बचाउ गरे र कायम राखे, ‘क्लिन सिट’ । रोबर्टो लेवान्डोवस्कीले पनि ८३ औं मिनेटमा एक मौका पाएका थिए, तर उनको प्रहार पोस्टमा ठोक्किएको थियो । डर्टमन्डका म्याट्स हुमेल्सले कुनै समय बायर्नका लागि पनि खेल्थे । उनले खेलपछि भने, ‘पहिलो हाफमा हामीले उनीहरूको पेनाल्टी एरियामा प्राप्त मौकालाई धेरैपल्ट खेर पठायौं । कम्तीमा दुई वा तीन अवसरमा राम्रो अवसर बनेको थियो । नत्र खेलको नतिजा बेग्लै हुने थियो । समग्रमा भन्दा हाम्रो खेल खराब थिएन, तर हामी केही दूरीले चुक्यौं । अब बायर्नलाई छाडेर बाँकी टिम उपाधि होडबाट बाहिरिएका छन् । अब पूरा समीकरण बायर्नकै हातमा छ ।’

मंगलबार रातिका अन्य खेलमा वोल्भसबर्गले बायर लेभरकुजनलाई ४–१ ले हरायो । त्यसमा मारिन पोनग्रेसिसले दुई गोल गरे । यो जितले अर्को सिजन युरोपमा खेल्ने टिमको सम्भावना बलियो भएको छ । लेभरकुजनले लिग सुरुयताका दुवै खेल जितेपछि वोल्भसबर्गविरुद्ध निराश हुनुपर्‍यो । यस्तै आइन्ट्राक्ट फ्रान्कफर्ट र फ्रेइबर्गले ३–३ तथा वेर्डर ब्रेमन र बोरुसिया मुन्चेनग्लाडबाचले गोलरहित बराबरी खेलेका थिए ।

प्रकाशित : जेष्ठ १५, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?