कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘कोही नेपाली खेलाडी डोपिङमा छैनन्’

कुशल तिमल्सिना

काठमाडौँ — नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता तीन पाकिस्तानी खेलाडी डोपिङमा परेका छन् । 

‘कोही नेपाली खेलाडी डोपिङमा छैनन्’

मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको १३ औं साग खेल्न आएका उनीहरूले प्रतिबन्धित औषधी सेवन गरेको पाइएको छ । उनीहरूको दोस्रो चरणको परीक्षण हुन बाँकी छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले डोपिङको प्रतिवेदन सार्वजनिक नगरे पनि पाकिस्तानी अखवार द न्युज इन्टरनेसनलले आफ्नो देशका तीन एथलेटिक्स पदक विजेता खेलाडी डोपिङमा परेको समाचार प्रकाशित गरेको छ । पाकिस्तानी एथलेटिक्स फेडेरेसनलाई उद्धृत गरी अखवारमा भनिएको छ कि सागअन्तर्गत ४ सय मिटर हर्डल्सका स्वर्ण विजेता मेहबुब अली, १ सय १० मिटर हर्डल्सका मोहम्मद इनाम र १ सय मिटर दौडका कांस्य विजेता सामी उल्लाहको नमूना परीक्षणमा उनीहरूले प्रतिबन्धित औषधी सेवन गरेको पाइएको छ ।

राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले प्रतिवेदन आइसके पनि अन्तर्राष्ट्रिय मान्यताअनुसार सार्वजनिक गर्न नमिल्ने तर्क गरे । ‘मैले प्रतिवेदन पाएको छु यहाँ केही खेलाडी डोपिङमा परेका छन् र उनीहरूको दोस्रोपल्ट नमूना परीक्षणपछि मात्रै प्रतिवेदन सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकाले अहिले सार्वजनिक गर्न मिल्दैन,’ उनले कान्तिपुरसँग भने ।

सदस्य–सचिव सिलवालले नेपालका पदक विजेता कुनै पनि खेलाडीमा डोपिङमा नपरेको प्रष्ट पारे । ‘डोपिङमा कुनै पनि नेपाली खेलाडी परेका छैनन् ।’

सागमा पाकिस्तानले एथलेटिक्सतर्फ ५ स्वर्ण, २ रजत र ६ कांस्य गरी १३ पदक जितेको थियो । दोस्रो नमूना परीक्षण पनि सकारात्मक आए पाकिस्तानले ६ पदक गुमाउने छ । ती तीन खेलाडी ४ सय मिटर रिले टिममा पनि सहभागी थिए । उनीहरूले कांस्य पदक जितेका थिए ।

सागका पदकविजेता खेलाडी डोपिङमा परेकोबारे विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले सम्भवत: केही दिनमा वक्तव्य जारी गर्नेछ । पहिलो नमूना परीक्षणमा पोजेटिभ देखिएका खेलाडीले दोस्रो नमूना परीक्षणका लागि दिन सक्नेछन् । तर धेरैजसो प्रकरणमा दोस्रो नमूना पनि आयोजकसँग मौजुदा हुने गरेकाले त्यसैबाट परीक्षण गर्ने गरिएको छ ।

पाकिस्तानी एथलेटिक्स फेडेरेसनका अध्यक्ष अक्रम अलीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पहिलो परीक्षणमा पोजिटिभ देखिएका खेलाडीहरू दोस्रो परीक्षणमा पनि दोषी पाइए उनीहरूको पदक फिर्ता हुने र कारबाही प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७७ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?