१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

एसियन जुनियर च्याम्पियनसिपमा नेपालका ६ खेलाडी प्रतिस्पर्धा गर्दै

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण धेरै प्रतियोगिता स्थगित भएपछि एसियाली चेस महासंघद्वारा आयोजित एसियन जुनियर एन्ड गर्ल्स अनलाइन चेस च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

एसियन जुनियर च्याम्पियनसिपमा नेपालका ६ खेलाडी प्रतिस्पर्धा गर्दै

२० वर्षमुनिको च्याम्पियनसिपमा महासंघको जोन ३.२ को छनोटमा बिहीबार पुरुषतर्फ अविश्रेय श्रेष्ठ, विवेक श्रेष्ठ र निकेन कुसाथाले नेपालको प्रतिनिधित्व गर्दैछन् भने महिलातर्फ खुश्बु थापा, अनिशा न्यौपाने र कृतिसारा अधिकारी भिड्दैछन् । नेपाल चेस संघकी केन्द्रीय सदस्य मोनालिसा खम्बुका अनुसार अनलाइन प्रतियोगितामार्फत् पुरुषतर्फका उत्कृष्ट तीन खेलाडीको छनोट गरिएको हो भने महिलातर्फ शीर्ष तीन वरीयताका खेलाडी छनोट भएका हुन् ।

जोन ३.२ मा नेपालसहित बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् । महिला र पुरुष दुवैमा सबै देशका ३—३ खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । प्रतियोगिता स्विस प्रणालीअनुसार ९ राउन्डको हुनेछ । एसियाका ६ जोन (क्षेत्र) को छनोट प्रतियोगितामा हरेक क्षेत्रमा शीर्ष तीन स्थानमा रहने खेलाडीहरू फाइनलमा प्रवेश गर्नेछन् । महिलाको फाइनल ३ जुन र पुरुषतर्फ फाइनल ४ जुनमा सञ्चालन हुनेछ ।

कोरोना भाइरसको महामारीको बेला खेलाडीलाई व्यस्त राख्न ल्याइएको प्रतियोगितामा नेपाल चेस संघकी खम्बुका अनुसार पुरुषतर्फको विजेताले १ हजार ५ सय अमेरिकी डलर, उपविजेताले १ हजार र तेस्रो हुनेले ५ सय डलर पाउनेछन् । महिलातर्फ पहिलो हुनेले ७५०, दोस्रोले ५ सय र तेस्रो हुनेले २५० डलर हात पार्नेछन् ।

प्रकाशित : जेष्ठ १४, २०७७ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?