२०२० को क्रिकेट कस्तो ?

अहिले चारैतर्फ अन्योल छ । कारण, कोरोना भाइरस संक्रमणको महामारी । यस्तै अन्योल स्थितिबाट विश्व क्रिकेट पनि गुज्रिइरहेको छ । सबैले विश्वास गरेका छन्, ढिलो–चाँडो एक दिन क्रिकेट सुरू त हुन्छ नै । यसअगाडि केही प्रश्नको उत्तर भने खोजिनेछ । ती के–के हुन् त ?
एएफपी

लन्डन — इंग्लिस क्रिकेट सुरु मात्र हुन लागेको थियो । त्यसलाई कोरोना भाइरस संक्रमणको महामारीले छोपिहाल्यो । अब जतिबेला क्रिकेट सुरु हुनेछ, त्यसका धेरै जटिलता हुनेछन् । यो पक्का छ ।

२०२० को क्रिकेट कस्तो ?

इंग्लिस पदाधिकारीहरू अझै आसमा छन्, वेस्ट इन्डिज र पाकिस्तानसँगको तीन टेस्टको शृंखला हुनेछ भनेर । यस्तै आस अस्ट्रेलिया र आयरल्यान्डविरुद्धको एकदिवसीय शृंखलाका सिरिजका लागि पनि छ । तर समस्या के छ भने जुलाई १ नछोएसम्म क्रिकेट हुने कुनै छाँट छैन ।

बन्द रंगशाला दर्शकबिना खेल गर्ने हो । त्यसैले केही हुने विश्वास पलाएको छ, क्रिकेट हुनेमा । यो छोटो समयकै लागि हुनेछ, तर कम्तीमा कोभिड–१९ को प्रकोपबीच क्रिकेट त फेरि सुरु हुनेछ । पूरा सिजन हुन नसके इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डलाई ठूलै आर्थिक क्षति हुनेछ । दर्शकबिना नै सही, टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्दा मात्र पनि राम्रै आम्दानी हुनेछ । अन्यथा तय छ, बोर्डले ठूलो आम्दानी गुमाउनेछ । त्यो पनि ४६ करोड ३० लाख डलरको हाराहारीमा । त्यसबारे सोच्नै सकिन्न ।

यसअगाडि केही यस्ता प्रश्न छन्, जसको उत्तर खोजिनु आवश्यक छ ।

के टिमहरू भ्रमणमा निस्कनेछन् ?

अचेल वेस्ट इन्डिज र पाकिस्तान ठूला टिम त हुन्, तर त्यति ठूला पनि होइनन् । यिनै दुई टिमले इंग्ल्यान्ड आउन आफूहरू तयार भएको बताइसकेको छ । अझ टिम त १४ दिनको क्वारेन्टाइनमा बस्न पनि तयार छ । बेलायती सरकारले विदेशबाट आउनेका लागि यस्तै नियम बनाएको छ । त्यो सुरक्षाकै कारण देखाएर हो । खेल पनि त्यस्ता मैदानमा हुनेछ, जसलाई ‘बायो सेक्वयर’ मान्न सकिन्छ । यो मैदान ह्याम्पसायरको एगेस बाउल हुन सक्छ वा ओल्ड ट्राफोर्ड ।

यो किनभन्दा मैदानसँगै जोडिएका छन्, होटल पनि । पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख कार्यकारी वसिम खानले भनेका छन्, ‘हामी जुलाईमा सकेसम्म चाँडै इंग्ल्यान्ड जाने कार्यक्रम बनाइरहेका छौं । यस्तो हुन सके क्वारेन्टाइनमा बस्न चाहिँदो समय हुनेछ ।’ अस्ट्रेलियाले तीन एकदिवसीय र तीन ट्वान्टी–२० खेल्ने कार्यक्रम छ जुलाईमै । सम्भवतः अस्ट्रेलिया यो शृंखला ढिलो सुरु होस् भन्ने चाहन्छ । हेर्न चाहन्छ, वेस्ट इन्डिज र पाकिस्तानविरुद्धको शृंखला कसरी चल्नेछ ।

क्रिकेट अस्ट्रेलियाका प्रमुख कार्यकारी केभिन रोबर्टसले सिड्नी डेली टेलिग्राफसँग भनेका छन्, ‘हामी खेलाडीको सुरक्षालाई लिएर कुनै जोखिम उठाउन चाहँदैनौं । हामी हेर्न चाहन्छौं, वेस्ट इन्डिज र पाकिस्तानको भ्रमण कसरी अगाडि बढ्नेछ । हामी त्यसपछि मात्र इंग्ल्यान्ड जान चाहन्छौं । हामीलाई के आस छ भने यी दुवै भ्रमणबिना कुनै समस्याले अगाडि बढ्नेछ ।’ त्यसैले निकै महत्त्वको भएको छ, वेस्ट इन्डिज र पाकिस्तानको इंग्ल्यान्ड भ्रमण ।

अबको क्रिकेट कस्तो हुनेछ ?

इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको शृंखला नयाँ कार्यक्रमअनुसार जुलाईमा सुरु भए पनि त्यसको स्वरूप पहिले जस्तो हुने छैन । फरक हुनेछ । पहिलो त रंगशालामा दर्शक नै हुने छैनन् । त्यतिमात्र होइन, मैदानमा खुसी मनाउने खास तरिका देखिने छैन । जस्तो, ‘हाइ फाइब’ । गत साता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको आचारसंहिता अनुसार यी परम्परागत खुसी मनाउने गरी प्रतिबन्धित हुनेछन् । अम्पायरहरूलाई भनिएको छ, अबदेखि पन्जा लगाउनुपर्नेछ ।

अब त बलरहरूले आफ्नो टोपी र स्विटर पनि अम्पायरलाई दिन पाउने छैनन् । बलरले बललाई चम्काउन र्‍याल प्रयोग गर्न पाउने छैनन् । जुनमा हुने आईसीसीको बैठकमा यसबारे निर्णय हुनेछ । बलरले सम्भवतः आफ्नै पसिनासम्म मात्र बलमा दल्न पाउनेछन् । यातायातमा रहेको स्थगनका कारण सम्भवतः घरेलु अम्पायरले नै दुवै छेउ रहेर खेल सञ्चालन गर्नेछन् । त्यसको अर्थ पुरानै दिनमा फर्केर घरेलु अम्पायरले नै खेल अगाडि बढाउनेछन् । सन् १९९४ देखि आईसीसीले तटस्थ अम्पायरको नियम निकालेको थियो, धेरै पूर्वाग्रही निर्णय भयो भनेर । आईसीसीको कमिटीले गत सातामात्र भनेको थियो, सम्भवतः एउटा टिमले प्रत्येक इनिङ्समा एउटा बढी ‘डीआरएस’ रिभ्युको अवसर पाउनेछ । अब स्थिति कस्तो हुन सक्छ भने आईसीसीको एलिट प्यानलमा रहेका अम्पायर क्रिस ब्रोर्डले त्यस्तो खेल पनि खेलाउनुपर्नेछ, जहाँ उनका आफ्नै छोरा स्टुवार्ट ब्रोड खेलिरहेका हुनेछन् ।

ट्वान्टी–२० विश्वकप र आईपीएल हुन्छ त ?

मे २८ मा हुने आईसीसीको बैठकले पुरुष ट्वान्टी–२० विश्वकप तय कार्यक्रमअनुसार नै हुने विश्वास पोख्न सक्छ । यो प्रतियोगिता अक्टोबर १८ सम्म सारिएको छ । यो प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । यी टिम कसरी अस्ट्रेलिया पुग्ने छन् त ? यसको यात्रा स्वरूप कस्तो हुनेछ त ? यही एक कारणले यो विश्वकप एक वर्ष पछाडि सर्न बेर छैन । यो स्थितिमा अझ नाजुक रहने छ, इन्डियन प्रिमियर लिग (आईपीएल) ।

विश्वको सबैभन्दा धनी यो फ्रेन्चाइज क्रिकेट लिग नभए यसको असर भारतमै मात्र सीमित हुने छैन । राजस्थान रोयल्सका मालिकमध्ये एक मनोज बडालले डेली टेलिग्राफसँग भनेका छन्, यसपल्टको आईपीएल हुन सकेन भने त्यो समग्र विश्व क्रिकेटकै लागि ठूलो क्षति हुनेछ । यो क्षतिको रकम पुग्नेछ, ६० करोड डलरबराबर । आर्थिक रूपमा कमजोर दक्षिण अफ्रिका पनि चाहन्छ, भारतविरुद्ध अगस्टमा शृंखला खेल्न । यस्तो छ, विश्व क्रिकेटका लागि भारतको महत्त्व ।

महिला क्रिकेटको अवस्था कस्तो ?

कोरोना भाइरस संक्रमणको महामारीका कारण विश्व क्रिकेट रोकिनु अगाडि अस्ट्रेलियामा महिलाको ट्वान्टी–२० विश्वकप भएको थियो । घरेलु टिमले भारतलाई मेलबर्नमा हराएको त्यस प्रतियोगिताको फाइनल हेर्न ८६ हजार दर्शक रंगशालामै पुगेका थिए । अब डर छ, यति लोकप्रिय महिला क्रिकेटलाई पनि बलिदान दिन बाध्य पारिन सक्नेछ । कम्तीमा पुरुष क्रिकेटलाई भए पनि जोगाउन । अहिले सबैको ध्यान खाली पुरुष क्रिकेटमै मात्र केन्द्रित छ । यो क्रममा महिला क्रिकेटलाई बिर्सिरहेको स्थिति छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?