कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इस्तानबुलमा त्यो चमत्कार

एएफपी

लिभरपुल — ठ्याक्कै १५ वर्ष भयो, लिभरपुलले इस्तानबुलमा युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको । सन् २००५ को मे २५ । एसी मिलानलाई लिभरपुलले जसरी हराएको थियो, त्यसलाई विश्व फुटबलको दुर्लभ प्रदर्शनमध्ये एक मानिन्छ । एएफपीले ती दिन सम्झेर तयार पारेको सामग्री :

इस्तानबुलमा त्यो चमत्कार

स्टेफन जेरार्ड भन्थे, लिभरपुललाई चमत्कारमा विश्वास छैन । अनि जिमी कारेघर भन्थे, उनका सपना त धूलोमै विलीन भइसकेको थियो । ठ्याक्कै १५ वर्षअगाडि राफेल बेनिटेजको लिभरपुलले विश्व फुटबलकै एक महान् कोसेढुंगाको उपलब्धि पाएको थियो, युरोपेली च्याम्पियन्स लिग फाइनलमा एसी मिलानलाई हराएर ।

टर्कीको इस्तानबुलमा भएको फाइनलअगाडि लिभरपुल अझै पनि ‘अन्डर डग’ नै थियो, भलै उसले सेमिफाइनलमा बलियो चेल्सीलाई पन्छाएको थियो ।

त्यस अगाडि त झन् युभेन्ट्सको चुनौतीलाई अन्तिम आठमा किनारा लगाएको थियो । फाइनलको पहिलो हाफमा लिभरपुल ३–० ले पछाडि थियो । कसैले पनि लिभरपुलको सम्भावना देखेका थिएनन् । यस्तोमा टिमले पाँचौंपल्ट युरोपेली उपाधि जित्ने सम्भावना धेरै टाढा थियो । लिभरपुल सन् १९८५ को हेइसल दुर्घटनापछि पहिलोपल्ट युरोपको फाइनल खेलिरहेको थियो । टिमलाई समर्थन गर्न ४० हजार प्रशंसक इस्तानबुल पुगेका थिए ।

आखिरमा ६ मिनेट अन्तरमा सम्भव तीन गोलको अविश्वसनीय पुनरागमन र अन्त्यमा टाइब्रेकरमा प्राप्त जितले लिभरपुल नयाँ इतिहास रच्न सफल रहयो । मिलानले सन् २००३ मै मात्र ओल्ड ट्राफोर्डमा भएको फाइनल जितेको थियो । सन् २००५ मा पनि एकसेएक स्टार खेलाडीले भरिएको थियो मिलान टिम । कप्तान पाउलो माल्दिनीको भलीमा सम्भव गोलमा मिलानले ५० सेकेन्डमै अग्रता लिएको थियो ।

चेल्सीविरुद्ध गज्जब खेलेका डिटमर हमान बेन्चमै थिए, त्यसमाथि अर्का विंगरह्यारी किवेलले पहिलो हाफको बीचतिर चोट बोकिहाले । मिलान प्रशिक्षक कार्लो एन्सेलोट्टी मान्छन्, सन् २००५ को टिम धेरै राम्रो थियो । त्यो सन् २००७ को तुलनामा । फाइनलमा यो टिमले निकै राम्रो खेलेको पनि हो । सन् २००७ मा मिलानले फाइनलमा लिभरपुललाई नै हराएको थियो । अझ एन्सेलोट्टी भन्छन्, ‘सन् २००३ को भन्दा पनि राम्रो थियो सन् २००५ को टिम ।’

अर्जेन्टिनी हर्नान क्रेस्पोले ३९ औं मिनेटमा दोस्रो गोल थपे, काउन्टर आक्रमणमा । त्यसअघि लिभरपुल पेनाल्टीको माग गरिरहेको थियो, माल्दिनीको ह्यान्डमा । जेरार्डले पछि आफ्नो आत्मकथामा लेखेका छन्, ‘आन्द्रे पिर्लो, क्लेरेन्स सिड्रोफ र काकाको उत्कृष्ट प्रदर्शन अगाडि हामी फिक्का साबित भएका थियौं ।’

लगत्तै मिलान त्यो निर्णायक मोडमा पुगेको थियो, जहाँबाट विपक्षी टिमले पुनरागमन गर्ने प्रश्न नै थिएन । काकाले निकालेको पासमा क्रेस्पोले गज्जब गोल नै गरेका थिए, लिभरपुल गोलरक्षक येर्जी डुडेकलाई पन्छाएर ।

जेरार्ड भन्छन्, ‘हामी खुबै चिन्तित थियौं, अब कसरी खेलमा फर्कने हो भनेर ।’ कारेघरले पनि आफ्नो आत्मकथामा लेखेका छन्, ‘मेरो त सबै सपना टुटेको थियो, त्यो क्षणमा । मैले खेलमा कुनै सम्भावना नै देख्न छाडेको थिएँ । म त अझ आफ्ना समर्थक र परिवारलाई कसरी माफी माग्ने हो भनेर विचार गरिरहेको थिएँ ।’

अटाटुर्क स्टेडियममा भएका लिभरपुलका समर्थक भने आफ्नो टिमका उत्साह बढाउने प्रयासमा थिए । उनीहरू अझै गीत गाइरहेका थिए, ‘यू विल नेभर वक एलोन ।’

‘यो गीतले हामीलाई वास्तवमै उत्साही बनाएको थियो । तर हामीले यो खेलमा चमत्कार हुनसक्छ भनेर सोचेका थिएनौं ।’


प्रशिक्षक बेनिटेजले टिममा केही परिवर्तन गरे । चोटग्रस्त फुलब्याक स्टिभ फिननको स्थानमा ल्याए हमनानलाई । अनि टिमले खेल्न सुरु गरेको थियो, ३–५–२ शैलीमा । कारेघरलाई लागेको थियो, कम्तीमा एक गोल फर्काउन पाए, लिभरपुलको इज्जत बच्ने थियो । दोस्रो हाफ सुरु भएको नवौं मिनेटमा जेरार्डले पहिलो गोल गरे, जोन आर्न रिसेको पासमा ।

त्यसपछि झन् गज्जब भयो, किवेलको स्थानमा आएका भ्लादिमिर मिसरले दोस्रो गोल गरे, त्यो पनि २५ यार्डबाट बल बटुलेर । त्यसमा मिलान गोलरक्षक डिडाले कुनै मौका नै पाएनन् जोगाउने । भ्यादिमिर लिभरपुलका लागि आफ्नो अन्तिम खेल खेलिरहेका थिए । खेलले ५९ औं मिनेट छोएका बेला जेरार्डमाथि फल भयो र त्यसमै प्राप्त पेनाल्टीमा जाभी अलोन्सोले गोल गरे, त्यो पनि रिबाउन्डमा । उनको सुरुआती प्रहार डिडाले रोकेका थिए ।

लिभरपुलले लय समातिसकेको थियो । जेरार्ड मान्छन्, टिमको ध्यान अब पेनाल्टीतिर थियो । अतिरिक्त समयमा आन्द्रे सेभचेन्को मिलानका लागि निर्णायक गोल गर्नबाट नमज्जाले चुके । तर एन्सेलोट्टी के मान्छन् भने अतिरिक्त समयमा पनि मिलानको प्रदर्शन उच्च थियो । तर त्यो रातको पेनाल्टी मिलानको नाममा थिएन । सर्जिन्होले पेनाल्टी बाहिर प्रहार गरे, पिर्लोको प्रहार नाचिरहेको डुडेकले बचाए ।

भलै, डिडाले पनि रिसेको प्रहारलाई गोल गर्न दिएनन् । निर्णायक बचाउ डुडेकले नै गरे, फेरि सेभचेन्कोकै प्रहारमा ।

यो खेललाई अझै पनि सबै इस्तानबुलको त्यो चमत्कारीमा सम्झिने गर्छन् । फाइनलपछि जेरार्डले खेलको विश्लेषण ठीकै गरेका छन् । उनले भनेका थिए, ‘मैले झूटो बोलेको भए, कसैले पनि सच्याए हुन्छ । अहिलेसम्म कसैले यति सनसनीपूर्ण युरोपेली च्याम्पियन्स लिगको फाइनल यसअघि र पछि कसैले हेर्न पाएको छ ? मिलान पक्कै पनि हाम्रो टिमभन्दा राम्रो थियो, बलियो थियो । तर हामीले यही टिमलाई हराएका थियौं ।’

प्रकाशित : जेष्ठ १३, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?