२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

‘बलरले टेस्ट खेल्न दुई महिना लाग्ने’ 

रोयटर्स

मुम्बई — कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण गरिएको लकडाउपछि टेस्ट क्रिकेट सुरु हुँदा बलरले चोट पन्छाउन २ देखि ३ महिनाको तयारी गर्नुपर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ । क्रिकेटसहित अन्य थुप्रै खेल कोरोनाका कारण मार्चयता हुन सकेको छैन ।

‘बलरले टेस्ट खेल्न दुई महिना लाग्ने’ 

तर सरकारले लकडाउन नियन्त्रण खुकुलो पारेसँगै केही देशहरूले प्रशिक्षणको खाका बनाउन सुरु गरेका छन् । इंग्ल्यान्डले यसै सातादेखि व्यक्तिगत स्किलमा आधारमा रहेर प्रशिक्षण सुरु गरिसकेको छ । यसले ढिला गरी सुरु हुन लागेको इंग्ल्यान्डको क्रिकेट सिजनले निरन्तरता पाउने अनुमान गरिएको छ । इंग्ल्यान्डको वेस्ट इन्डिजसँग जुलाईमा हुने टेस्ट शृंखला पछाडि धकेलिसकेको छ ।

पाकिस्तानले अगस्टमा इंग्ल्यान्डसँग तीन टेस्ट र त्यति नै मात्रको ट्वान्टी-२० शृंखला खेल्न जाँदै छ । कोरोना संक्रमणबाट जोगिने आशामा यी सबै खेल दर्शकबिना बन्द रंगशालामा खेलिनेछ । ‘धेरै समय मैदानबाहिर रहेकाले एकै पटक खेल्न उत्रँदा बलरहरूलाई चोटको खतरा उच्च हुन्छ,’ आईसीसीले शुक्रबार जारी गरेको निर्देशिकामा भनिएको छ ।

आईसीसीले टेस्ट क्रिकेट खेल्न ८ देखि १२ साता लाग्ने, त्यसमा अन्तिम ४-५ साता उच्च गतिको बलिङ लय हुनुपर्ने जनाउँदै टोलीमा बढी खेलाडी प्रयोग गर्दै बलरलाई भार कम गर्न सचेत गराएको छ । आईसीसीले गरेको सिफारिसमा ५० ओभर र ट्वान्टी-२० मा फर्कन ६ साता तयारी आवश्यक भएको जनाएको छ ।

आईसीसीले आफ्ना सदस्य राष्ट्रलाई सुरक्षितसाथ मैदानमा फर्किने योजना बनाउन चिकित्सक, सल्लाहकार र बायोसेफ्टी नियुक्त गर्न भनेको छ । आईसीसीले रिभर्स स्विङ गर्ने हेतुले बल चम्काउन थुक प्रयोग गर्न प्रतिबन्ध रहेको जनाइसकेको छ । खेलाडी र अम्पायरले सामाजिक दूरी पनि कायम गर्नुपर्नेछ । विगतमा जस्तो खेलाडीले टोपी, गम्छा, चस्मा अम्पायर र आफ्ना खेलाडीलाई दिन पाउने छैनन् ।

प्रकाशित : जेष्ठ १२, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?