२६ रनमै समेटिएको त्यो इनिङ्स

एएफपी

वेलिङटन — न्युजिल्यान्ड क्रिकेटका लागि अझै यो सबैभन्दा पीडाको प्रदर्शन रहेको छ । न्युजिल्यान्ड एकपल्ट टेस्ट क्रिकेटको एउटा इनिङ्समा २६ रनमात्र बनाएर अलआउट भएको थियो । ती दिन सम्झेर एएफपीले तयार पारेको यो सामग्री :

२६ रनमै समेटिएको त्यो इनिङ्स

यसलाई अझैसम्म पनि न्युजिल्यान्ड क्रिकेटका सबैभन्दा बिर्सनलायक कालो दिन मानिन्छ । सन् १९५५ को इंग्ल्यान्डविरुद्धको टेस्टमा ब्ल्याक क्याप्स २६ रनमै समेटिएको थियो । यो सबैभन्दा कम स्कोरको खराब कीर्तिमान अझै पनि कायम छ । पूरा घटनाक्रम बितेको ६५ वर्ष भइसक्यो तर न्युजिल्यान्ड क्रिकेटका समर्थक यो कीर्तिमानको कुरा उप्कियो कि अनुहार अँध्यारो पार्ने गर्छन् । उनीहरू चाहन्छन्, यो कीर्तिमान कसैले तोडिदिए कति राम्रो ?

पाउल फोर्ड हुन्, न्युजिल्यान्ड क्रिकेट समर्थकको समूह द बेज ब्रिगेडका संस्थापकमध्ये एक । उनी भन्छन्, ‘कुनै टिमले यो कीर्तिमान भंग गर्छ भने उसले न्युजिल्यान्ड क्रिकेटमाथि ठूलो गुन लगाएको हुनेछ । यो प्रदर्शन वास्तवमै अपमानजनक थियो, अझै लज्जा कायम छ । कसैले पनि २५ रन वा त्यसभन्दा मुनि स्कोर बनाएर आउट भइदिए हुन्थ्यो जस्तो लाग्छ ।’

सन् १९५५ मा टेस्ट क्रिकेट त्यस्तो थिएन, जस्तो आज थियो । धेरै फरक थियो, त्यो बेला । त्यो टेस्टको तीन वर्षअगाडि मात्र भारतले आफ्नो क्रिकेट इतिहासकै पहिलो जित निकालेको थियो । अझ पाकिस्तानले भर्खरमात्रै टेस्ट क्रिकेट खेल्न सुरु गरेको थियो । श्रीलंकाले टेस्ट क्रिकेट टिमको मान्यता पाउन अझै २७ वर्ष कुर्नु थियो । इंग्ल्यान्ड र अस्ट्रेलिया दुई बलिया टिम थिए । उनीहरूकै दबदबा चल्थ्यो । दक्षिण अफ्रिका, वेस्ट इन्डिज र न्युजिल्यान्ड सहयोगी भूमिकामा थिए । न्युजिल्यान्डले पनि कुनै टेस्ट जित निकाल्न सकेको थिएन ।

इंग्ल्यान्ड २२ वर्षको अन्तरमा अस्ट्रेलियालाई उसकै घरमा हराएर एसेज शृंखला जितेर गमक्क परेको थियो । यही बढ्दो आत्मविश्वासबीच इंग्ल्यान्ड दुई टेस्टको शृंखला खेल्न न्युजिल्यान्ड आएको थियो । यो शृंखला अगाडि न्युजिल्यान्डले टेस्ट नखेलेको पनि एक वर्ष भइसकेको थियो । न्युजिल्यान्ड क्रिकेट गडबडीबाट गुज्रिइरहेको थियो । यसबीच डुनेडिनमा भएको पहिलो टेस्ट इंग्ल्यान्डले सजिलै ८ विकेटले जितेको थियो । दोस्रो टेस्ट अकल्यान्डमा थियो ।

सुरुआती पहिलो इनिङ्सको समाप्तिमा न्युजिल्यान्ड ४६ रनले मात्र पछाडि परेको थियो, जुन धेरै अर्थमा राम्रो प्रदर्शन थियो । तर त्यसयता न्युजिल्यान्डका लागि केही पनि राम्रो भएन र यी दुई टिमबीच स्तरको गहिरो खाल्डो देखियो । पूरा न्युजिल्यान्ड टिमका लागि बर्ट सटक्लिफले मात्र दोहोरो अंकमा रन छुन सके, पाँच अन्य ब्याट्सम्यान त शून्यमै आउट भएका थिए । सटक्लिफले त्यतिबेला झर्को मानेर भनेका थिए, ‘हामीले साढे दुई दिन त राम्रो खेल्यौं तर त्यसपछि त हामीलाई अन्याय नै भयो ।’

यो प्रदर्शनलाई लिएर पूरा न्युजिल्यान्डमा विरोधको आवाज उठे । तर कप्तान जेफ राबोनले भने आफ्नो टिमको समर्थनमै बोले । उनले पछि लेखेका छन्, ‘खराब प्रदर्शनमा धेरै कारण थिए, मुख्य कारण त खराब ब्याटिङ नै रह्यो । तर हाम्रो प्रदर्शन वास्तवमै त्यति धेरै तल्लोस्तरको थिएन । त्यो दिन सबैले सक्दो खेले । खेलाडीले कडा मिहिनेत गरेकै हुन् । यस्तोमा टिमको प्रदर्शनमा किन लज्जा ?’ यद्यपि यो प्रदर्शनको एक वर्षपछि नै न्युजिल्यान्डले ऐतिहासिक सफलता भने चाख्यो ।

आफ्नो ४५ औं टेस्ट खेल्ने क्रममा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई हराएको थियो । सन् १९५५ यता न्युजिल्यान्डको त्यो प्रदर्शन तोडिनेछ भन्ने जस्तो धेरै खेल भए । तर खासमै तोडिने काम भने भएन । सन् २०१८ मा न्युजिल्यान्ड आफैं त्यो दुर्लभ उपलब्धिको संघारमा पुगेको थियो । अकल्यान्डमै भएको त्यस टेस्टमा प्रतिद्वन्द्वी अरू कुनै होइन, इंग्ल्यान्ड नै थियो । घटना दोहोरिए त्यस्तो मोडमा थियो, जुन इतिहासले बदलाको अवसर दिएको थियो ।

इंग्ल्यान्ड त्यस टेस्टमा एक समय २३ रन मात्र बनाएको बेला ८ विकेट गुमाएर दयनीय स्थितिमा थियो । टिम साउथीले मोइन अलीलाई भर्खरै बोल्ड गरेका थिए । इंग्ल्यान्डको त्यो इनिङ्समा ५ ब्याट्सम्यानले ‘डक’ खाए । ठीक यही बेला क्रेग ओभरटनले स्थिति सम्हाले र ३३ रन बनाए । यस्तोमा इंग्ल्यान्ड ५८ रन बनाएर अलआउट भयो । टिमले न्युजिल्यान्डको पुरानो सन् १९५५ नियति भोग्नुपरेन । न्युजिल्यान्ड भने इनिङ्स र ४९ रनले विजयी रह्यो ।

प्रशंसक फोर्डले त्यो टेस्ट पनि हेरेका थिए, उनी इंग्ल्यान्ड सस्तोमा आउट होस् भनेर कामना गरिरहेका थिए । उनी भन्छन्, ‘तर त्यस्तो भएन । अब त्यो २६ रनमा अउआउट भएको घटना त दन्त्य कथाजस्तै भइसकेको छ, जसलाई न्युजिल्यान्ड क्रिकेटबाट अलग गर्न सकिन्न । कसैले पनि अब त्यो भन्दा खराब प्रदर्शन गर्ने छैनन् ।’ हुन त क्रिकेटमा यस्ता केही पाटा हुने गर्छन्, जसमा लज्जाबोध हुने गर्छ । तर त्यसबाट अलग भने पक्कै हुन सकिन्न । त्योसँगै बाँच्न सिक्नुपर्छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?