२६ रनमै समेटिएको त्यो इनिङ्स

एएफपी

वेलिङटन — न्युजिल्यान्ड क्रिकेटका लागि अझै यो सबैभन्दा पीडाको प्रदर्शन रहेको छ । न्युजिल्यान्ड एकपल्ट टेस्ट क्रिकेटको एउटा इनिङ्समा २६ रनमात्र बनाएर अलआउट भएको थियो । ती दिन सम्झेर एएफपीले तयार पारेको यो सामग्री :


यसलाई अझैसम्म पनि न्युजिल्यान्ड क्रिकेटका सबैभन्दा बिर्सनलायक कालो दिन मानिन्छ । सन् १९५५ को इंग्ल्यान्डविरुद्धको टेस्टमा ब्ल्याक क्याप्स २६ रनमै समेटिएको थियो । यो सबैभन्दा कम स्कोरको खराब कीर्तिमान अझै पनि कायम छ । पूरा घटनाक्रम बितेको ६५ वर्ष भइसक्यो तर न्युजिल्यान्ड क्रिकेटका समर्थक यो कीर्तिमानको कुरा उप्कियो कि अनुहार अँध्यारो पार्ने गर्छन् । उनीहरू चाहन्छन्, यो कीर्तिमान कसैले तोडिदिए कति राम्रो ?

पाउल फोर्ड हुन्, न्युजिल्यान्ड क्रिकेट समर्थकको समूह द बेज ब्रिगेडका संस्थापकमध्ये एक । उनी भन्छन्, ‘कुनै टिमले यो कीर्तिमान भंग गर्छ भने उसले न्युजिल्यान्ड क्रिकेटमाथि ठूलो गुन लगाएको हुनेछ । यो प्रदर्शन वास्तवमै अपमानजनक थियो, अझै लज्जा कायम छ । कसैले पनि २५ रन वा त्यसभन्दा मुनि स्कोर बनाएर आउट भइदिए हुन्थ्यो जस्तो लाग्छ ।’

सन् १९५५ मा टेस्ट क्रिकेट त्यस्तो थिएन, जस्तो आज थियो । धेरै फरक थियो, त्यो बेला । त्यो टेस्टको तीन वर्षअगाडि मात्र भारतले आफ्नो क्रिकेट इतिहासकै पहिलो जित निकालेको थियो । अझ पाकिस्तानले भर्खरमात्रै टेस्ट क्रिकेट खेल्न सुरु गरेको थियो । श्रीलंकाले टेस्ट क्रिकेट टिमको मान्यता पाउन अझै २७ वर्ष कुर्नु थियो । इंग्ल्यान्ड र अस्ट्रेलिया दुई बलिया टिम थिए । उनीहरूकै दबदबा चल्थ्यो । दक्षिण अफ्रिका, वेस्ट इन्डिज र न्युजिल्यान्ड सहयोगी भूमिकामा थिए । न्युजिल्यान्डले पनि कुनै टेस्ट जित निकाल्न सकेको थिएन ।

इंग्ल्यान्ड २२ वर्षको अन्तरमा अस्ट्रेलियालाई उसकै घरमा हराएर एसेज शृंखला जितेर गमक्क परेको थियो । यही बढ्दो आत्मविश्वासबीच इंग्ल्यान्ड दुई टेस्टको शृंखला खेल्न न्युजिल्यान्ड आएको थियो । यो शृंखला अगाडि न्युजिल्यान्डले टेस्ट नखेलेको पनि एक वर्ष भइसकेको थियो । न्युजिल्यान्ड क्रिकेट गडबडीबाट गुज्रिइरहेको थियो । यसबीच डुनेडिनमा भएको पहिलो टेस्ट इंग्ल्यान्डले सजिलै ८ विकेटले जितेको थियो । दोस्रो टेस्ट अकल्यान्डमा थियो ।

सुरुआती पहिलो इनिङ्सको समाप्तिमा न्युजिल्यान्ड ४६ रनले मात्र पछाडि परेको थियो, जुन धेरै अर्थमा राम्रो प्रदर्शन थियो । तर त्यसयता न्युजिल्यान्डका लागि केही पनि राम्रो भएन र यी दुई टिमबीच स्तरको गहिरो खाल्डो देखियो । पूरा न्युजिल्यान्ड टिमका लागि बर्ट सटक्लिफले मात्र दोहोरो अंकमा रन छुन सके, पाँच अन्य ब्याट्सम्यान त शून्यमै आउट भएका थिए । सटक्लिफले त्यतिबेला झर्को मानेर भनेका थिए, ‘हामीले साढे दुई दिन त राम्रो खेल्यौं तर त्यसपछि त हामीलाई अन्याय नै भयो ।’

यो प्रदर्शनलाई लिएर पूरा न्युजिल्यान्डमा विरोधको आवाज उठे । तर कप्तान जेफ राबोनले भने आफ्नो टिमको समर्थनमै बोले । उनले पछि लेखेका छन्, ‘खराब प्रदर्शनमा धेरै कारण थिए, मुख्य कारण त खराब ब्याटिङ नै रह्यो । तर हाम्रो प्रदर्शन वास्तवमै त्यति धेरै तल्लोस्तरको थिएन । त्यो दिन सबैले सक्दो खेले । खेलाडीले कडा मिहिनेत गरेकै हुन् । यस्तोमा टिमको प्रदर्शनमा किन लज्जा ?’ यद्यपि यो प्रदर्शनको एक वर्षपछि नै न्युजिल्यान्डले ऐतिहासिक सफलता भने चाख्यो ।

आफ्नो ४५ औं टेस्ट खेल्ने क्रममा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई हराएको थियो । सन् १९५५ यता न्युजिल्यान्डको त्यो प्रदर्शन तोडिनेछ भन्ने जस्तो धेरै खेल भए । तर खासमै तोडिने काम भने भएन । सन् २०१८ मा न्युजिल्यान्ड आफैं त्यो दुर्लभ उपलब्धिको संघारमा पुगेको थियो । अकल्यान्डमै भएको त्यस टेस्टमा प्रतिद्वन्द्वी अरू कुनै होइन, इंग्ल्यान्ड नै थियो । घटना दोहोरिए त्यस्तो मोडमा थियो, जुन इतिहासले बदलाको अवसर दिएको थियो ।

इंग्ल्यान्ड त्यस टेस्टमा एक समय २३ रन मात्र बनाएको बेला ८ विकेट गुमाएर दयनीय स्थितिमा थियो । टिम साउथीले मोइन अलीलाई भर्खरै बोल्ड गरेका थिए । इंग्ल्यान्डको त्यो इनिङ्समा ५ ब्याट्सम्यानले ‘डक’ खाए । ठीक यही बेला क्रेग ओभरटनले स्थिति सम्हाले र ३३ रन बनाए । यस्तोमा इंग्ल्यान्ड ५८ रन बनाएर अलआउट भयो । टिमले न्युजिल्यान्डको पुरानो सन् १९५५ नियति भोग्नुपरेन । न्युजिल्यान्ड भने इनिङ्स र ४९ रनले विजयी रह्यो ।

प्रशंसक फोर्डले त्यो टेस्ट पनि हेरेका थिए, उनी इंग्ल्यान्ड सस्तोमा आउट होस् भनेर कामना गरिरहेका थिए । उनी भन्छन्, ‘तर त्यस्तो भएन । अब त्यो २६ रनमा अउआउट भएको घटना त दन्त्य कथाजस्तै भइसकेको छ, जसलाई न्युजिल्यान्ड क्रिकेटबाट अलग गर्न सकिन्न । कसैले पनि अब त्यो भन्दा खराब प्रदर्शन गर्ने छैनन् ।’ हुन त क्रिकेटमा यस्ता केही पाटा हुने गर्छन्, जसमा लज्जाबोध हुने गर्छ । तर त्यसबाट अलग भने पक्कै हुन सकिन्न । त्योसँगै बाँच्न सिक्नुपर्छ । प्रकाशित : जेष्ठ ११, २०७७ ०७:३२

प्रतिक्रिया
पठाउनुहोस्

एक महिनामा डेढ लाखले गरे कोरोना बिमा

यज्ञ बञ्जाडे

काठमाडौँ — पछिल्लो समय कोरोना बिमा गर्नेको संख्या बढेको छ । कोरोना बिमालेख जारी भएपछि बिहीबारसम्म करिब १ लाख ६० हजारले यस्तो बिमा गरेका छन् । कोभिड–१९ को जोखिम सुरक्षणका लागि एक महिनाअघि (वैशाख ४ मा) बिमा समितिले कोरोना बिमालेख जारी गर्न निर्देशन दिएको थियो । वैशाख ७ देखि बिमा कम्पनीहरूले यो बिमालेख जारी गरेका हुन् ।



एक महिनामा १ लाख ५९ हजार ९ सय ३६ जनाले कोरोना बिमा गरेका हुन् । यसबाट ८ करोड ६१ लाख ४४ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ । यस अवधिमा १२ हजार ५ सय ७८ वटा बिमालेख बिक्री भएको बिमा समितिले जनाएको छ । गएको एक महिनामा औसत दैनिक ५ हजार ३ सय ३३ जनाले बिमा गरेको देखिन्छ । कोभिड–१९ को जोखिम सुरक्षणका लागि जारी गरिएको बिमा लेख हो यो । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले उक्त बिमालेख बिक्री गरिरहेका छन् ।

कोरोना जोखिम बढ्दो अवस्थामा रहेको र कम खर्चमा बिमा गरेर जोखिम सुुरक्षण गर्न सकिने भएकाले पनि यसमा आकर्षण बढ्दै गएको हो । निर्जीवन बिमा कम्पनीमध्ये बिहीबारसम्म शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३२ हजार ६७ जनाको १ करोड ७६ लाख रुपैयाँ बराबरको यस्तो बिमा गरेको छ । सबैभन्दा कम नेसनल इन्स्योरेन्सले २ हजार ३५ जनाको ११ लाख ५२ हजार रुपैयाँ बराबरको बिमा गरेको समितिको तथ्यांक छ ।

सुरु भएको पहिलो सातामै १० हजारभन्दा बढीले कोरोना बिमा गरेका थिए । त्यसपछिको साता थप १७ हजारको बिमा भएकोमा हालसम्म सवा लाख पुगेको समितिका कार्यकारी निर्देशक राजुरामण पौडेलले बताए । ‘लकडाउनको अवधिमा पनि बिमालेखको बिक्री राम्रो छ,’ उनले भने, ‘यो बिमा अनलाइनबाटै गर्न सकिने भएकाले पनि छोटो समयमा धेरैले लाभ लिन सकेका हुन् ।’ कोरोना बिमालेख कम आय भएका वर्गलाई लक्ष्य गरिएकाले उक्त वर्गमा पुर्‍याउनेतर्फ केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।

‘प्रतिव्यक्ति ३ सय र ६ सय प्रिमियम तिरेर परिवारको बिमा गरी क्रमश: ५० हजार र एक लाख रुपैयाँ दाबी भुक्तानी पाइन्छ,’ उनले भने, ‘कोरोना लागेका बिरामीका लागि उक्त रकमले ठूलो राहत दिन्छ ।’ कोरोनाको उपचार सरकारले गरे पनि बिमाको पैसा बिरामी कुरुवा, अस्पताल आवतजावत, भिटामिन, फलफूललगायतमा उपयोग हुने उनले बताए ।

कोरोना बिमालेखमा एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक तोकिएको छ । व्यक्तिगत, सामूहिक (परिवार, कार्यालयका कर्मचारी आदि) रूपमा पनि यो बिमा गर्न सकिन्छ । एक लाख रुपैयाँको बिमाका लागि व्यक्तिले एक हजार रुपैयाँ प्रिमियम (बिमा शुल्क) तिर्नुपर्छ । तर सामूहिक रूपमा घरपरिवार वा कार्यालयका कर्मचारीको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तिरे पुग्छ ।

यस्तै ५० हजार रुपैयाँ बिमांक रहेको बिमाका लागि प्रतिव्यक्ति ५ सय र सामूहिक रूपमा प्रतिव्यक्ति ३ सय रुपैयाँमा बिमा गर्न सकिन्छ । तीन महिनाको बच्चादेखि ९९ वर्ष उमेर समूहका व्यक्तिका लागि यो बिमा गर्न सकिन्छ । अस्पतालबाट कोरोना संक्रमण पुष्टि भएलगत्तै दाबी भुक्तानी पाइन्छ । तर बिमा गरेको १५ दिनपछि मात्र उक्त बिमा सक्रिय (एक्टिभ) हुने कम्पनीहरूले जनाएका छन् । कोभिड–१९ बाहेक अन्य कुनै रोग लागेमा भने दाबी गर्न पाइँदैन । यो बिमा परिपक्व हुने अवधि बिमा लेख सुरु भएको मितिदेखि १२ महिनाको हुन्छ ।

विदेशबाट फर्केकालाई परीक्षणपछि मात्र बिमा

यसैबीच भारतलगायत तेस्रो मुलुकबाट फर्केका नेपालीले स्वास्थ्य परीक्षणपछि मात्र कोरोना बिमा गर्न पाउने भएका छन् । पछिल्ला दिनमा भारतलगायत मुलुकबाट फर्किनेको संख्या बढेपछि बिमा समितिले शुक्रबार कम्पनीहरूलाई परिपत्र गरी उक्त निर्देशन दिएको हो ।

निर्देशनअनुसार अब कम्पनीहरूले भारतलगायत मुलुकबाट आएका नेपाली नागरिकको हकमा १५ दिन क्वारेन्टाइनमा बसेपछि परिवारसँग भेट भएको १५ दिनपछि मात्र कोरोना बिमा गर्न पाउनेछन् । ‘विदेशबाट नेपाल फर्केका नेपाली नागरिक र उनको परिवारले अनिवार्य आरडीटी परिक्षण गराई त्यसको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेस गर्नुपर्ने,’ निर्देशनमा भनिएको छ । आरडीटी प्रतिवेदन स्वास्थ्य मन्त्रालय वा मातहतका निकायबाट प्रमाणित हुनुपर्नेछ ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×