‘एकताबद्ध भएर फुटबल विकासमा लाग्नुस्’
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई एकताबद्ध भएर फुटबल विकासमा लाग्न सुझाएका छन् ।
पछिल्लो समय सार्वजनिक टीकाटिप्पणी भएको एन्फा विवादबारे राखेप सदस्य–सचिव सिलवालले संघ नेतृत्वलाई अप्रत्यक्ष रूपमा समाधानका लागि अनुरोध गरेका हुन् । ‘आलोचना प्रत्यालोचनाभन्दा पनि एकताबद्ध रूपमा अगाडि बढ्न सकियो भने फुटबलको विकास सम्भव छ,’ एन्फामा असन्तुष्ट देखिएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अनुपस्थित कार्यक्रममा सदस्य–सचिवले थपे, ‘सबै मिलेर मात्र खेलकुदको विकास सम्भव छ ।’
हालै ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई अनुशासनको कारबाही गरिएकोमा एन्फा कार्यसमितिभित्रै मतैक्यता नरहेको सार्वजनिक भएको थियो । उनको कारबाही विधानसम्मत नरहेको स्वयं वरिष्ठ उपाध्यक्ष नेम्वाङले बताइसकेका छन् ।
सदस्य–सचिवले खेलको विकासका लागि दिगो कार्यक्रम तर्जुमा गर्नुपर्ने सुझावसमेत दिए । ‘दिगो विकासका लागि ग्रासरुट कार्यक्रमका प्रभावकारी निरन्तरता, खेलाडी उत्पादन, प्रशिक्षण, पूर्वाधार र प्रतियोगिता लगायतका नियमित गतिविधिलाई योजना बनाएर सञ्चालन गर्नुपर्छ,’ उनले थपे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको सभाकक्षमा एन्फा ‘ए’ डिभिजन लिग कमिटीले तयार गरेको प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै सदस्य–सचिव सिलवालले प्राविधिक पक्ष विश्लेषण गरेर भविष्यमा लिगको स्वरूपबारे छलफल गर्न सकिने बताए ।
‘फुटबल मैदानमा खेलिने खेल हो तर यसरी तयार पारिएको पुस्तकको विश्लेषणले मैदानमा सकारात्मक प्रभाव पार्ने गरी योजना बनाउन सजिलो हुन्छ,’ उनले थपे, ‘फुटबलको सबैभन्दा प्रभावकारी प्रतियोगिता लिग भएकाले यसको शैलीबारे छलफल गर्नुपर्छ । नेपालको अवस्था सुहाउँदो शैलीअनुसार लिग सञ्चालन गर्दा प्रभावकारी होला ।’
सिलवालले कोरोना भाइरसको महामारीका कारण देशको खेलकुद गतिविधि ठप्प रहनुले खेलाडीलाई असजिलो परेकोप्रति राखेप जानकार रहेको बताए । कोरोना संक्रमणको जोखिम कम भएका ठाउँहरूमा खेल गतिविधि सुरु गरी सकारात्मक सन्देश दिने चाहना रहेको उनले बताए ।
सहिद स्मारक ए डिभिजन लिगको झन्डै ७ दशकको इतिहासमा पहिलोपल्ट लिगको प्राविधिक प्रतिवेदन तयार पारिएको हो । लिग कमिटीका संयोजक पूर्वराष्ट्रिय खेलाडी विज्ञानराज शर्माले फुटबलको विकास र खेलाडीको स्तरोन्नतिका लागि यस्ता प्रतिवेदन अपरिहार्य रहेको र सुरुआत गरिएको बताए ।
कमिटीका सहसंयोजक तथा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले लिग र टिमको इतिहासलाई समेटेर सम्पूर्ण सूचनासहितको प्रतिवेदन तयार भएकाले भविष्यमा फुटबलको प्राविधिक पक्ष विश्लेषण गर्न सहज हुने बताए । ‘हामीले लिगको इतिहास, ए डिभिजन टिम र खेलाडीको समग्र परिचयसहित पहिलोपल्ट प्रतिवेदन बनाएका छौं । यस्तो सम्पूर्ण सूचनासहितको प्रतिवेदनले भविष्यमा प्राविधिक पक्षको विश्लेषण गर्न सजिलो हुनेछ,’ उनले भने ।
मंसिर २८ देखि फागुन १३ सम्म काठमाडौं र ललितपुरमा सञ्चालित सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लब च्याम्पियन बनेको थियो । त्रिभुवन आर्मी क्लब उपविजेता बनेको थियो ।
प्राविधिक प्रतिवेदनअनुसार यसपालिको लिग संक्षिप्त
विजेता : मछिन्द्र क्लब
उपविजेता : त्रिभुवन आर्मी क्लब
लिगका पाका खेलाडी : विष्णुबहादुर सुनार (४० वर्ष १ महिना)
लिगका कान्छा खेलाडी : मनग्य नकर्मी (१५ वर्ष १० महिना)
लिगको कुल गोल : २१० गोल (पहिलो हाफ ८८, दोस्रो हाफ १२२)
औसत बल पोसेसन : त्रिभुवन आर्मी (सर्वाधिक ५७.८४ प्रतिशत) र फ्रेन्ड्स क्लब (सबैभन्दा कम ४२.८४ प्रतिशत)
रातो कार्ड : १८
उच्च गोलकर्ता : आशिष लामा (एपीएफ)
सर्वाधिक गोल अन्तर : ६–२, (संकटाविरुद्ध सरस्वती)
आत्मघाती गोल : ७
पेनाल्टी गोल : १४
युवा टिम : ब्रिगेड ब्वाइज (औसत उमेर २०.०९ वर्ष)
मेडिकल टिमको भनाइ (लिगमा देखिएका अधिकांश चोट हुनुमा खेलाडीमा पर्याप्त वार्मअप, स्ट्रेचिङ र कुलडाउनको अभ्यास नहुनु, व्यस्त खेलतालिकाले खेलाडीमा आराम नहुनु, टिमसँग पर्याप्त चिकित्सक र फिजियो नहुनु, खेलाडीमा डाइट र न्युट्रिसनबारे जानकारी नहुनु, खराब मैदानलगायत)
प्रकाशित : जेष्ठ १०, २०७७ ०९:००