१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

गांगुलीलाई लिएर दक्षिण अफ्रिकामा मत विभाजन

एजेन्सी

केपटाउन — केपटाउन दक्षिण अफ्रिकी क्रिकेटमा रहेको विभाजन फेरि एकपल्ट छर्लङ्ग देखिएको छ । क्रिकेट साउथ अफ्रिका (सीएसए) का अध्यक्ष क्रिस नेन्जानीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को प्रमुख पदमा भारतका सौरभ गांगुलीलाई समर्थन गर्नेमा कुनै आधिकारिक निर्णय नभएको बताएका छन् । 

गांगुलीलाई लिएर दक्षिण अफ्रिकामा मत विभाजन

यसअघि बोर्डका निर्देशक ग्रेम स्मिथले खुलेर गांगुलीको समर्थन गरेका थिए । अध्यक्ष नेन्जानीले भने, ‘हामीले आईसीसीको प्रमुखमा कसलाई समर्थन गर्ने हो भनेर आधिकारिक निर्णय गरेका छैनौं ।’ नेन्जानीलाई दक्षिण अफ्रिकी क्रिकेटमा विवादास्पद मानिन्छ । उनीमाथि राजीनामाको लगातार चर्को दबाब रहँदै आएको छ । तर शुक्रबार दक्षिण अफ्रिकी मिडियासँगको कुराकानीमा नेन्जानीले भने, ‘अहिलेसम्म आईसीसी प्रमुखका लागि कसले उम्मेदवारी दिने हो, त्यसबारे खुलस्त केही पनि आएको छैन । जतिबेला निर्णय गर्ने समय आउने छ, हामीले त्यसबारे छलफल गर्नेछौं ।’

यसअघिको पत्रकार सम्मेलनमा सीएसएका निर्देशक रहेका स्मिथले गांगुलीलाई खुलेर समर्थन गरेका थिए । दक्षिण अफ्रिकी क्रिकेट टिमका कप्तानसमेत रहिसकेका स्मिथले आईसीसीको अबको नेतृत्वका लागि भारतका पूर्वकप्तान गांगुली सबैभन्दा उपयुक्त रहेको बताएका थिए । अहिले आईसीसीको प्रमुखमा भारतकै शशांक मनोहर छन् । उनको कार्यकाल चाँडै सकिँदै छ । पछिल्लो सेप्टेम्बरमा भएको वार्षिक बैठकले नेन्जानीको कार्यकाल एक वर्ष थप्ने निर्णय गरेलगत्तै दक्षिण अफ्रिकी क्रिकेट विवादको घेरामा छ । नेन्जानीले यसअघि नै तीन वर्षको दुई कार्यकाल बिताइसकेका छन् ।

नेन्जानीको कार्यकाल थप्ने निर्णय भएपछि दक्षिण अफ्रिकी क्रिकेटका सबै प्रमुख प्रायोजकले बोर्डसँगको सम्बन्ध टुंग्याएका थिए । दक्षिण अफ्रिकी व्यावसायिक खेलाडीको संघ पनि नेन्जानीको विपक्षमा छ । यसैबीच ज्याक्स पाउललाई बोर्डको प्रमुख कार्यकारी नियुक्त गरिएको थियो । पाउलले स्मिथसँग मिलेर दक्षिण अफ्रिकी क्रिकेट हाँकिरहेका थिए । बोर्ड लगभग चुपचाप रहेको थियो । तर अहिले नेन्जानीले स्मिथको विरोध गरेर फेरि राजनीति गर्ने प्रयास गरेका छन् ।

गांगुलीमाथि उथप्पाको विश्वास

कोरोना भाइरस संक्रमणको महामारीले विश्व क्रिकेट थलिएपछि भारतीय क्रिकेट खेलाडीले पनि विदेशीमा व्यावसायिक क्रिकेट खेल्न पाउनुपर्ने माग राख्न थालेका छन् । भारतका पूर्वब्याट्सम्यान रोबिन उथप्पाले आफूजस्ता खेलाडीले विदेशी फ्रेन्चाइज ट्वान्टी–२० क्रिकेटमा खेल्न पाउनुपर्ने धारणा राखेका हुन् । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले पुरुष खेलाडीलाई विदेशमा फ्रेन्चाइज ट्वान्टी–२० क्रिकेट अनुमति दिँदैन ।

भारतीय खेलाडीका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नु एकमात्र विकल्प छ । बीबीसीसँगको कुराकानीमा उथप्पाले भनेका छन्, ‘कृपया भगवान्, हामीलाई विदेशमा खेल्न दिइयोस् ।’ उथप्पाले विदेशमा खेल्न नपाउँदा भारतीय खेलाडीले आर्थिक र अनुभव दुवै आधारमा अवसर गुमाइरहेको दाबी गरे । बीसीसीआईले अस्ट्रेलियाको बिग–बास तथा वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग जस्ता अन्य ठूला फ्रेन्चाइज ट्वान्टी–२० क्रिकेटमा भारतीय खेलाडीलाई खेल्न दिँदैन ।

भारतीय महिला खेलाडीले मात्र विदेशमा खेल्न पाउने गरेका छन् । सन् २००८ मा आईपीएल सुरु भएयता यसका सबै संस्करण खेलेका उथप्पाले विदेशमा खेल्न नपाउँदा आफूजस्ता सबै भारतीय खेलाडी दुःखी रहेको सुनाए । यसअघि अर्का भारतीय खेलाडी सुरेश रैनाले पनि विदेशी फ्रेन्चाइज ट्वान्टी–२० क्रिकेटमा खेल्न पाउनुपर्ने माग गरेका थिए । बीसीसीआईको नेतृत्वमा पूर्वखेलाडी तथा कप्तान सौरभ गांगुली आएयता विदेशमा खेल्न पाउने माग सुनिश्चित हुने उनको विश्वास छ ।

उथप्पाले भनेका छन्, ‘गांगुली नयाँ सोच राख्ने खेल पदाधिकारी हुन् । उनले क्रिकेटलाई नयाँ उचाइ दिन सक्छन् । अहिले भारतीय क्रिकेट जुन स्थितिमा छ, त्यसको जग बसाउने पनि उनी नै हुन् । उनले नै भारतीय खेलाडीलाई विदेशमा खेल्न दिने मौका तयार पार्न सक्छन् ।’ कोरोना भाइरस संक्रमण महामारीकै कारण इन्डियन प्रिमियर लिग (आईपीएल) हुने निश्चित छैन । प्रतियोगिता हुन नसके भारतीय खेलाडीका लागि यो ठूलो आर्थिक नोक्सानी हुनेछ ।

प्रकाशित : जेष्ठ १०, २०७७ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?