कतारलाई मन्दीको डर

‘विश्वकप हुने बेलासम्म मलाई विश्वास छ, महामारीले पुगेको मानवीय क्षति कम भइसक्नेछ ।’
एपी

दोहा — कतारको विश्वकप आयोजकले कोरोना भाइरस संक्रमणको महामारीका कारण हुने मन्दीले सन् २०२२ मा हुने विश्वकप प्रतियोगितामा समर्थकलाई आफ्नो देशको यात्रा गर्न आर्थिक रूपमा गाह्रो हुने अनुमान गरेको छ ।

कतारलाई मन्दीको डर

कोरोनाको महामारी र यसलाई रोक्न लागू गरिएको कडा र लामो लकडाउनका कारण धेरै देश ऐतिहासिक आर्थिक मन्दीमा जानसक्ने अनुमान गरिएको छ ।

विश्वकप आयोजक कमिटीमा महासचिव हसन अल थवाडीले बिहीबार मिडियासँगको कुराकानीमा भनेका छन्, ‘अहिले नै हामी कस्तो प्रकारको आर्थिक मन्दी छाउने हो भन्न सक्दैनौं । तर विश्व अर्थव्यवस्थालाई लिएर चिन्ता गर्नुपर्ने अवस्था भने छ । विश्वकपका बेला विदेशी फुटबलप्रेमीलाई कतारको भ्रमण गर्न आर्थिक कठिनाइ हुन सक्नेछ ।’

महामारीकै कारण युरोपेली च्याम्पियनसिप एक वर्ष पछाडि २०२१ सारिसकेको छ । तय कार्यक्रमअनुसार यो प्रतियोगिता अर्को महिना हुनुपर्ने हो । महामारीले निर्माण कार्य बिथोले पनि विश्वकपका लागि प्रयोग हुने ८ रंगशालामध्ये ६ यो वर्षको अन्त्यसम्म पूर्णतः बनिसक्ने अनुमान छ । अबको विश्वकप सन् २०२२ को नोभेम्बर डिसेम्बरमा हुनेछ ।

विश्वकप जुन–जुलाईमा हुने गरे पनि कतारमा हुने गर्मीका कारण पछाडि सारिएको हो । यसको अर्थ कतारले विश्वकप आयोजनाका लागि केही महिनाको थप समय तयारीलाई पाउने छ । त्यतिबेलासम्म अन्तर्राष्ट्रिय हवाई उडान पनि पूर्णतः खुलिसक्ने विश्वास छ । थवाडीले भनेका छन्, ‘विश्वकप हुने बेलासम्म मलाई विश्वास छ, महामारीले पुगेको मानवीय क्षति कम भइसक्नेछ ।’

उनले थपेका छन्, ‘महामारीपछि विश्वकप नै सबैका लागि एकजुट हुने र खुसियाली मनाउन सबैभन्दा ठूलो अवसर हुनेछ ।’ कतारले विश्वकप आयोजना हुने समयसम्म आफ्नो देशमा यात्रा गर्ने खर्च पनि समर्थकले बेहोर्न सक्ने अवस्थामा पुग्ने विश्वास छ । तर पेट्रोलियन पदार्थको धनी कतार आफैं पनि महामारीका कारण आर्थिक समस्यातर्फ धकेलिएको छ ।

विश्वकपको प्रायोजक रहेको र सरकारी स्वामित्वको कतार एयरवेजले समेत आफ्ना कर्मचारी कटौती गर्ने निर्णय गर्दै विश्व उड्डयन क्षेत्र नराम्रोसँग प्रभावित रहेकोमा आफूमात्र अपवाद नरहेको जनाइसकेको छ । थवाडीले भने, ‘विदेशी पाहुनालाई कसरी कतार आउन सजिलो हुनेछ, त्यसबारे हामीले योजना बनाउनेछौं ।’

बहराइन, इजिप्ट, साउदी अरेबिया र यूएईले तीन वर्षदेखि गर्दै आएको आर्थिक नाकाबन्दीका कारण पनि कतारलाई आर्थिक रूपमा गाह्रो भएको छ । ती देशले लगाएको विभिन्न आरोपको भने कतारले अस्वीकार गर्दै आएको छ । कतारले त्यस आर्थिक नाकाबन्दीले आफ्नो विश्वकप तयारीमा कुनै बाधा नपुग्ने जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?