कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एन्फामा विरोधीलाई कारबाही

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा पक्षको चुनावअघिबाटै विरोध गर्दै आएका ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले आफूलाई पूर्वाग्रही रूपमा कारबाही गरिएको दाबी गरेका छन् ।
राजु घिसिङ

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) को विराटनगरमा चैत २०७५ मा भएको साधारणसभाअघि होटल इस्टर्न स्टारमा एन्फा पदाधिकारीमाझ कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले भनेका थिए, ‘पहिला गणेश थापा एक्लैले एन्फा लुटेर चलाएका थिए । अहिले सबै मिलेर लुटेका छन् । लुटेर खाओ तिमीहरू ।’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाकै सामु उनले तथानाम गाली गर्दै चुनौती पनि दिएका थिए, ‘कोही छ भिड्ने ?’

एन्फामा विरोधीलाई कारबाही

एन्फाले चैत २०७५ मा प्रदेश १ मा मुख्यमन्त्री प्रदेश लिग आयोजनाका लागि समिति गठन गरेपछि क्लबहरूको ग्रुप च्याटमा एन्फाका मानार्थ केन्द्रीय सदस्य रूपेश अधिकारीले लेखेका थिए, ‘काँक्रो लिग कमिटी । मुख्यमन्त्री हाम्रो, कमिटी कांग्रेसको ।’

सहिद स्मारक ए, बी र सी डिभिजन क्लबको ग्रुप च्याटमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले एन्फा दिवस (वैशाख २२) मा शुभकामना सन्देश दिएपछि ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले लेखेका थिए, ‘आज एन्फा दिवस होइन, चोरहरूको श्रीगणेश दिवस हो ।’

कास्की अध्यक्ष मिलनलाई गण्डकी प्रदेश लिगमा मनाङ जिल्लाको टिमलाई राम्रो व्यवस्थापन नगरेको भन्दै प्रदेश सभासद राजीव (दीपक) गुरुङले झापड हानिदिए । त्यसपछि मिलनले फुटबलको नाममा गरिरहेको ठगी धन्दाको रहस्य खुल्यो । बैंकिङ कसुरमा पक्राउ परेका उनलाई भेट्न एन्फा अध्यक्ष शेर्पा पोखरा पुगेका थिए । एन्फाले मानार्थ सदस्य रूपेश अधिकारीलाई साफ यू–१८ च्याम्पियनसिप र एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा टिम म्यानेजरको जिम्मेवारी नै दियो । ललितपुरका जिल्ला अध्यक्ष पुरुषोत्तम थापा भने निलम्बनमा परे ।

एन्फाले थापालाई २४ वैशाखमा स्पष्टीकरण सोधेको थियो थियो । अध्यक्ष थापाले ‘प्रतिशोधले त्यो शब्द प्रयोग नगरेको, कसैलाई इंगित नगरेको र कसैलाई चोट वा हानि पुर्‍याए क्षमा मागेको’ उल्लेख गर्दै जवाफ दिएका थिए । त्यसमा उनले वैशाख २२ मै एन्फा दिवस मनाउनुपर्ने कारण पनि सोधेका थिए । त्यो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एन्फाले थापालाई विधानको धारा ३ को उपधारा २ र धारा ३६ को उपधारा १४ बमोजिम आगामी साधारणसभासम्मका लागि निलम्बन गरिएको सोमबार (जेठ ५) पत्र पठाएको छ ।

एन्फा अध्यक्ष शेर्पा पक्षको चुनावअघिबाटै विरोध गर्दै आएका जिल्ला अध्यक्ष थापाले आफूलाई पूर्वाग्रही रूपमा कारबाही गरेको दाबी गरेका छन् । उनले भने, ‘मैले एन्फाको अनियमितताबारे कुरा उठाइरहें । त्यसैले चुनावको पूर्वाग्रही हिसाबले कारबाही गरियो, जुन विधानसम्मत छैन । एन्फाको सचिवालयलाई कारबाही गर्ने अधिकार छैन । कार्यसमिति वा अनुशासन समितिले मात्रै कारबाही गर्न सक्छ । त्यसैले मलाई निलम्बन गर्ने निर्णय त्रुटिपूर्ण हो र यसविरुद्ध अपिल कमिटी र राष्ट्रिय खेलकुद परिषद् जान्छु ।’

उनलाई निलम्बन गरिएको विधानको धारामा के छ त ?

धारा ३ को उपधारा २

कुनै व्यक्ति, देश वा समूह वा जात, रंगभेद, जाति, राष्ट्रियता वा सामाजिक उत्पत्ति, लिंग, अशक्तता, भाषा, धर्म, राजनैतिक वा कुनै अन्य विचार, धन, जन्म वा अन्य कुनै प्रकारको मर्यादा, यौनिक अभिमुखीकरण अथवा अन्य कुनै कारणको आधारमा कुनै पनि प्रकारको भेदभावलाई निषेध गरिएको छ र यस्तो कार्य दण्डनीय छ । यस्ता भेदभावका कार्य गरेमा निलम्बन, निष्कासन वा अनुशासनात्मक कारबाही गरिनेछ ।

धारा ३६ को उपधारा १४

कुनै पनि सदस्य वा व्यक्तिले एन्फाको विधानविपरीत गतिविधि गरेमा उक्त व्यक्ति वा सदस्य निकायको बर्खास्तगी वा आगामी कंग्रेस (साधारणसभा) को बैठकसम्म अस्थायी निलम्बन गर्ने ।

विधानको धारा ३६ ले कार्यसमितिको अधिकारलाई सम्बोधन गरेको छ तर उसको पछिल्लो कार्यसमिति बैठक माघ २६ मा भएको थियो । त्यसैले ललितपुर अध्यक्ष थापालाई कार्यसमितिको निर्णयबिना नै सचिवालयले निलम्बन गरेको पत्र पठाएको देखिन्छ । यसबारे एन्फाका प्रवक्ता किरण राईले छोटो प्रतिक्रिया दिए, ‘स्पष्टीकरण चित्तबुझ्दो भएन र सचिवालयले पत्र काटेको हो ।’ कोरोना भाइरसका कारण चैत ५ पछि देशमा फुटबलको गतिविधि ठप्प छ । ललितपुरका अध्यक्ष थापालाई विधानको जुन धारालाई आधार बनाएर निलम्बन गरिएको छ, त्यसअनुसार एन्फा अध्यक्ष शेर्पा आफैं पनि कारबाहीमा पर्न सक्ने देखिन्छ । फेसबुक लाइभमा दुई दिनअघि अध्यक्ष शेर्पाले ग्रासरुट फुटबलबारे भनेका थिए, ‘तराईतिर राष्ट्रियताको फिल अलिकता कम छ ।’

यसलाई लिएर एक पदाधिकारीले भने, ‘विधि–विधान सबैको लागि हो । जिल्ला अध्यक्षलाई लागू हुने विधानको धारा केन्द्रीय अध्यक्षलाई किन लागू हुँदैन ?’

सहिद स्मारक ‘बी’ डिभिजन लिगको झम्सीखेल युथ क्लबका प्रशिक्षकसमेत रहेका थापाले एन्फाको नेतृत्वमा शेर्पा समूह आएपछि ललितपुर जिल्ला फुटबल संघलाई सहयोग नगरेको पनि बताए । उनले भने, ‘जिल्लामा ग्रासरुट फुटबल कार्यक्रम गर्ने भनेर सबैलाई रकम निकासा गर्‍यो । तर हामीलाई गत भदौ २७ मा ५ लाखको डमी चेकमात्रै दियो, धेरैपल्ट मागे पनि पैसा अहिलेम्म दिएको छैन ।’ वैशाख २२, २०७५ मा भएको एन्फा कार्यसमितिको निर्वाचनमा थापा नेतृत्वको ललितपुरसहित काठमाडौं, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले गणेश थापाका सालो मणि कुँवर पक्षलाई साथ दिएका थिए । चुनावपछि पनि यी चार जिल्लाले एन्फामा आर्थिक अनियमितता भएको, विधि–विधानअनुसार कार्यसञ्चालन नभएको भन्दै विरोध गरिरहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालयमा उजुरी दिएका उनीहरूमाथि पनि एन्फाले कारबाही प्रक्रिया थालेको छ । एन्फाको नेतृत्वमा शेर्पा पुगेको त्यो चुनावकै दिनलाई गत वर्षदेखि एन्फा दिवसमा मनाउन थालेको हो ।

एन्फाको नेतृत्वमा आउनुअघि तत्कालीन उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकजविक्रम नेम्वाङले एन्फाका पूर्वअध्यक्ष गणेश थापाले संस्था एकलौटी चलाएको र आर्थिक अनियमितता गरेको आरोप लगाउँदै विभिन्न निकायमा उजुरी दिएका थिए । त्यसपछि उनीहरूलाई थापाले एन्फाको कार्यसमिति बैठकमा लगातार तीनपल्ट उपस्थित नभएको भन्दै असोज २०७२ मा निलम्बन गरेका थिए । त्यो कारबाहीलाई अर्को वर्ष अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले उल्टाइदियो ।

‘कारबाही विधानसम्मत भएन’

वरिष्ठ उपाध्यक्ष नेम्वाङले ललितपुरका अध्यक्ष पुरुषोत्तम थापालाई गरिएको निलम्बन विधानसम्मत नरहेको बताएका छन् । उनले भने, ‘विधानको जुन धारालाई आधार बनाएर निलम्बन गरिएको छ त्यो कारबाही कार्यसमितिको निर्णयले मात्रै गर्न सक्छ । त्यसैले ललितपुर अध्यक्षलाई गरिएको निलम्बन विधानसम्मत भएन ।’

अध्यक्ष शेर्पाको ठाडो आदेशमा थापालाई कारबाही गरिएको उनको आरोप थियो । पछिल्लो समय अध्यक्ष शेर्पासँग चिढिएका नेम्वाङले थपे, ‘फुटबलमा जिल्ला, क्लबमा स्वयंसेवकको रूपमा खटिरहेका छन्, उनीहरूलाई प्रोत्साहन गर्नुपर्ने बेला मानमर्दन गर्ने कुरा भयो । कसैले गल्ती गर्‍यो भनेर हामीले पनि गल्ती गर्नुहुँदैन । तुरुन्तै गल्ती सच्याएन भने यसले संस्थालाई नै नकारात्मक असर गर्छ, नेतृत्व क्षमतामै प्रश्नचिन्ह्न खडा गर्छ ।’

थापामाथिको कारबाहीले एन्फाको राजनीति चर्किदै गएको देखिन्छ । थापालाई निलम्बन गरिएको विषयलाई लिएर केन्द्रीय सदस्य दावा लामा, बी डिभिजन क्लबका संयोजक मनीष जोशी, बाँके, ताप्लेजुङ, काठमाडौं, कैलाली जिल्ला फुटबल संघका अध्यक्षहरूले सामाजिक सञ्जालमार्फत एन्फाप्रति आपत्ति व्यक्त गरेका छन् ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा पक्षको चुनावअघिबाटै विरोध गर्दै आएका ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरूषोत्तम थापाले आफूलाई पूर्वाग्रही रुपमा कारबाही गरेको दाबी गरेका छन् ।

सम्बन्धित समाचार :

प्रकाशित : जेष्ठ ८, २०७७ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?