कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सेल्टिकको कोसेढुंगा, कति जायज ?

युरोपेली कप विजेता सेल्टिकले सन् १९६५ देखि १९७४ सम्म यस्तै लगातार सफलता चाखेको थियो । त्यो देखेर राम्रै लगानी गरेको रेन्जर्सले सन् १९८८ देखि १९९७ सम्म एकछत्र राज गरेको थियो ।
एएफपी

ग्लास्गो — स्कटिस फुटबलमा सेल्टिकको बलियो पकड फेरि एकपल्ट कायम रह्यो । उसले नवौंपल्ट लगातार लिग जितेको कोसेढुंगा उपलब्धि भर्खरै मात्र निश्चित भएको छ । भलै, दुई महिना भयो खेलाडीले बल प्रहार गर्न पनि नपाएको ।

सेल्टिकको कोसेढुंगा, कति जायज ?

स्कटिस फुटबल इतिहासमा लगातार नवौंपल्ट उपाधि जित्नु कम सानो उपलब्धि होइन किनभने यस्तो उपलब्धि खाली दुईपल्ट मात्र सम्भव भएको छ । एकपल्ट सेल्टिकको नै भयो । अर्कोपल्ट रेन्जर्सले ।

दुवै ग्लास्को सहरकै हुन्, एक अर्को छेउका । सेल्टिकको पछिल्लो सफलता एक प्रकारले एन्टी क्लाइमेन्स रह्यो भन्दा पनि हुन्छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण क्लबले यो सफलता कम्तीमा मैदानमै चुम्न सकेन, त्यो खुसी बटुल्न सकेन । मैदानमा प्राप्त हुने सफलताको स्वाद बेग्लै हुन्थ्यो । सेल्टिकका व्यवस्थापक नील लेननले यही तथ्य बुझेर आफ्ना खेलाडीलाई भनेका छन्, ‘म उनीहरूका लागि वास्तवमै दुःखी छु ।’

हुन पनि आफ्ना समर्थकसामु खेलेरै जित्नुको मज्जा नै बेग्लै । लेनन पनि यस्तै मान्छन् । सोमबार मात्रै लिगका प्रमुखले अब स्कटिस प्रिमियर लिगको यो सिजन यहीं टुंगिएको घोषणा गरेका थिए । लामो समयदेखि त्यहाँ लिगको भविष्यलाई लिएर विवाद र मतभेद चलिरहेको थियो । कम्तीमा रेन्जर्स चाहँदैन थियो, आफ्नो खास प्रतिद्वन्द्वी शत्रु टिमलाई त्यत्तिकै लिग उपाधि दिने । तर रेन्जर्सले अवरोध गर्ने कामका लागि पर्याप्त मत नै बटुल्न सकेन ।

बरु लगभग सबै क्लब के तथ्यमा तयार भए भने यो सिजनमा पूर्णविराम लगाउने अनि लिग तालिकाको निर्धारण प्रत्येक खेलमा बटुलेको औसत अंकबाट गर्ने । यी क्लब किन पनि लिग सक्न तयार भए भने स्कटिस फुटबल लिग संघको निर्णय नै थियो । जति बेलासम्म लिग सकिन्न वा सकिएको घोषणा हुन्न, क्लबले पुरस्कारबापतको रकम पाउने छैनन् । त्यो भनेको पुरस्कारका लागि राखिएको ८५ लाख डलर त्यसै दिइने छैन ।

फेरि लगातार तेस्रो महिनाको सटडाउन अगाडि सबै क्लब लाचार पनि थिए । कसरी लिग अगाडि बढाउने हो, यी क्लबसँग पनि कुनै ठोस उपाय थिएन, जुन सर्वसम्मत होस् । अब रह्यो, प्रश्न, सेल्टिकलाई लिग उपाधि दिने निर्णय कत्तिको जायज छ त ? लिग रोकिनुअगाडि सेल्टिकलाई शीर्षस्थानमा १३ अंकको ठूलो अग्रता प्राप्त थियो । सेल्टिकले विन्टर ब्रेक अगाडि नै रेन्जर्सलाई पछाडि छोड्न सफल भएको थियो, राम्रो अंक अन्तरले ।

यसैबीच सेल्टिकको भनाइ पनि बाहिर आएको छ । सेल्टिकले भनेको छ, ‘हामीले ८९ गोल गरेको थियौं, मात्र १९ गोल खाएर । लिग तालिकामा हामीलाई १३ अंकको अग्रता प्राप्त भएको थियो, जुन ठूलै हो । यही सबै कारणले हामी नै लिगको वास्तविक विजेता हौं ।’

यो सबै दाबीमा रेन्जर्स समर्थकको पक्कै पनि विमति हुनेछ । उनीहरूले सेल्टिकमाथि आक्रमण गर्ने काम छाड्ने पनि छैन । तर रेन्जर्ससामु अब अर्कै ठूलो चुनौती तेर्सिएको छ । त्यो हो, अर्को सिजन सेल्टिकलाई १०औं पल्ट लिग जित्नबाट रोक्ने ।

युरोपेली कप विजेता रहेको सेल्टिकले सन् १९६५ देखि १९७४ सम्म यस्तै लगातार सफलता चाखेको थियो । त्यो देखेर राम्रै लगानी गरेको रेन्जर्सले सन् १९८८ देखि १९९७ सम्म एकछत्र राज गरेको थियो । तर यी दुवै उपलब्धि एक दशक चलेन, जुन अहिले सेल्टिकसामु कीर्तिमान बनाउने अवसर छ । यहाँनिर समस्या के पनि छ भने सन् २०२०/२०२१ को सिजन सुरु चाहिँ हुने कहिले हो त ? स्कटल्यान्डमा क्लबले कमाउने भनेको टिकट काटेर रंगशालामा पुगेर खेल हेर्ने दर्शकबाट नै हो ।

युरोपेली फुटबल महासंघका अनुसार स्कटिस प्रिमियर लिगमा खेल्ने १२ क्लबका लागि आफ्नो आम्दानीको ४३ प्रतिशत भाग यिनै टिकट काट्ने दर्शकबाट आउने गर्छ । अब दर्शकबिनाका फुटबल भयो भने समस्या त भयो नै । सेल्टिक त नाफामै छ, रेन्जर्स पनि धेरै पछाडि छैन । अन्य केही क्लबले आफूलाई बचाउन सक्ने छन्, तर सबैले होइन । अहिले तत्कालका लागि हामी यत्ति भन्न सक्छौं, सेल्टिक मज्जाले लिग विजेता हो । अब उसलाई रोक्ने ठूलो चुनौती रेन्जर्ससामु आइपुगेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?