कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एन्फाद्वारा निलम्बित जिल्ला अध्यक्ष भन्छन्-‘पूर्वाग्रही हिसाबले कारबाही गर्‍यो’

राजु घिसिङ

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा क्लबहरूको ग्रुप च्याटमा गरिएको कमेन्टलाई लिएर निलम्बन गरिएका ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले उक्त कारबाहीविरुद्ध अपिल कमिटी र राष्ट्रिय खेलकुद परिषद्लाई गुहार्ने भएका छन् । साथै पूर्वाग्रही हिसाबले कारबाही गरिएको पनि उनले बताएका छन् ।

एन्फाद्वारा निलम्बित जिल्ला अध्यक्ष भन्छन्-‘पूर्वाग्रही हिसाबले कारबाही गर्‍यो’

‘मैले दिएको स्पष्टीकरण चित्त बुझेन भनेर निलम्बन गरियो,’जिल्ला अध्यक्ष थापाले मंगलबार कान्तिपुरसित भने, ‘एन्फालाई विधानको जुन धारा उल्लेख गरेर निलम्बन गरेका छ, त्यो मिल्दैन । एन्फाको सचिवालयलाई कारबाही गर्ने अधिकार छैन । कार्यसमिति वा अनुशासन समितिले मात्रै कारबाही गर्नसक्छ ।त्यसैले मलाई निलम्बन गर्ने निर्णय त्रुटिपूर्ण हो र यसविरुद्ध अपिल कमिटी र राष्ट्रिय खेलकुद परिषद् जान्छु ।’ एन्फा कार्यसमितिको पछिल्लो बैठक २६ माघमा भएको थियो ।

पूर्वअध्यक्ष गणेश थापाविरुद्ध आन्दोलन चर्काएका कर्माछिरिङ शेर्पा २२ वैशाख २०७५ मा एन्फाको नेतृत्वमा पुगेका थिए । त्यसको अर्को वर्ष (२०७६ साल) एन्फाले २२ वैशाखलाई ‘एन्फा डे’ घोषणा गर्दै पाँचतारे होटल अन्नपूर्णमा मनायो ।

यसपाली कोरोना भाइरसका कारण एन्फा डे सन्देशमै सीमित भयो । राजधानीका ए, बी र सी डिभिजन क्लबहरूको ग्रुप च्याटमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले दिएको एन्फा दिवसको शुभकामनाको जवाफमा ‘आज एन्फा डे होइन चोरहरूको श्री गणेश डे हो’ लेखेपछि जिल्ला अध्यक्ष थापा कारबाहीमा परेका हुन् ।

उनलाई एन्फाले २४ वैशाखमा स्पष्टीकरण सोधेको थियो थियो र दुई दिनभित्रै अध्यक्ष थापाले ‘प्रतिशोधले त्यो शब्द प्रयोग नगरेको, कसैलाई इंगित नगरेको र कसैलाई चोट वा हानी पुर्‍याए क्षमा मागेको’उल्लेख गर्दै जवाफ दिएका थिए । त्यसमा उनले २२ वैशाखमै एन्फा डे मनाउनु पर्ने कारण पनि सोधेका थिए । त्यो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एन्फाले थापालाई विधानको धारा ३ को उपधारा २ र धारा ३६ को उपधारा १४ वमोजिम आगामी साधारणसभासम्मको लागि निलम्बन गरिएको भन्दै आइतबार पत्र पठाएको थियो ।

एन्फा अध्यक्ष शेर्पा पक्षको चुनावअघिबाटै विरोध गर्दै आएका जिल्ला अध्यक्ष थापाले आफूलाई पूर्वाग्रही रुपमा कारबाही गरेको पनि बताए । ‘मैले एन्फाको अनियमितताबारे कुरा उठाइरहे । चुनावको पूर्वाग्रही हिसाबले कारबाही गरियो, जुन विधानसम्मत छैन,’ जिल्ला अध्यक्ष थापाले भने ।

सहिद स्मारक ‘बी’डिभिजन लिगको झम्सीखेल युथ क्लबका प्रशिक्षकसमेत रहेका थापाले एन्फाको नेतृत्वमा शेर्पा समूह आएपछि ललितपुर जिल्ला फुटबल संघलाई सहयोग नगरेको पनि बताए । उनले भने, ‘जिल्लामा ग्रासरुट फुटबलका कार्यक्रम गर्ने भनेर सबैलाई रकम निकासा गर्‍यो । तर, हामीलाई गत भदौ २७ मा ५ लाखको डमी चेकमात्रै दियो, धेरैपल्ट मागे पनि पैसा अहिलेम्म दिएको छैन ।’

दुई वर्षअघिको भएको एन्फा कार्यसमितिको निर्वाचनमा थापा नेतृत्वको ललितपुरसहित काठमाडौं, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले गणेश थापाका साला मणि कुँवर पक्षलाई साथ दिएको थियो । चुनावपछि पनि यी चार जिल्लाले एन्फामा आर्थिक अनियमितता भएको, विधि–विधानअनुसार कार्यसञ्चालन नभएको भन्दै विरोध गरिरहेको छ । उनीहरूले राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालयमा उजुरी पनि दिएका थिए ।

प्रकाशित : जेष्ठ ६, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?