लेभरकुजन शीर्ष चारको नजिक- खेलकुद - कान्तिपुर समाचार

लेभरकुजन शीर्ष चारको नजिक

एएफपी

म्युनिख — केइ हाभेर्टजले दुई गोल गरेपछि बायर लेभरकुजनले सोमबार राति जर्मन बुन्डेसलिगामा वेडर ब्रेमनलाई ४–१ ले हराएको छ । यससँगै कोरोना भाइरस महामारीबीच सुरु भएको बुन्डेसलिगाको एक चरण सकिएको छ ।

यो जितपछि लेभरकुजन शीर्ष चारसँगको दूरी एक अंकमा छोट्ट्याउन पनि सफल भएको छ । खेलअगाडि लेभरजुकन चौथो स्थानको लेपजिपसँग चार अंकले मात्र पछाडि थियो ।

लिभरपुल र बार्सिलोनाजस्ता ठूला क्लबको नजरमा रहेका आक्रामक मिडफिल्डर हाभेर्टजले २८ र ३३ औं मिनेटमा गोल गरे । त्यसपछि मिखेल वेइसर र केरेम डिमरबेले गोल थपे । ब्रेमनका लागि थियोडर ग्रेबेले एक गोल फर्काएका थिए ।

हारले ब्रेमनको स्थिति अझ कमजोर भएको छ । टिम पुछारबाट दोस्रो स्थानमा रहेको छ । सन् १९६३ यता ब्रेमनले एकै अवसरमा मात्र माथिल्लो डिभिजन खेलेको छैन ।

प्रकाशित : जेष्ठ ६, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले सहयोग र समन्वय नगरे उद्योग बन्द गर्ने चेतावनी

समयमै बजार पठाउन नसक्दा करोडौं मूल्य बराबरका वस्तुको प्रयोग मिति सकियो
राजु चौधरी

काठमाडौँ — गत चैत ११ देखिको लकडाउन जारी छ । यो तत्काल टुंगिने छाँट छैन । लकडाउनकै अवधिमा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय भयो । तर केन्द्र र प्रदेश सरकारबीच समन्वय हुन सकेन । केन्द्रमै रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयबीच समेत समन्वय हुन सकेन । यसले उद्योग व्यवसाय सञ्चालन अन्योल बढाएको बढायै छ ।

‘उद्योग मन्त्रालयले उद्योग चलाऊ भन्छ, गृहले नखोल भन्छ । जिल्लामा स्थानीय प्रशासनबीच पनि समन्वय हुन सकेको छैन,’ नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष भवानी राणाले भनिन्, ‘खाद्यान्न, औषधिलगायत अत्यावश्यक उद्योग पनि ४० प्रतिशतभन्दा चल्न सकेनन् ।’ सरकारले समन्वयकारी भूमिका नखेल्दा समस्या भएको उनले बताइन् । समन्वय अभावकै कारण गोदाममा रहेका वस्तु समयमा बजारमा पठाउन नसकिएको र यसले करोडौं मूल्य बराबरका सामानको उपभोग्य मिति सकिँदा आफूहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको उद्योगीहरूको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले भने ४४ प्रकारका उद्योग सञ्चालन गर्न अनुमति दिइएको र त्यसमा कसैले अवरोध गर्ने कुरा नआउने प्रस्ट्याए । केही स्थानमा देखिएको समस्या समाधानका लागि समन्वय गरिरहेको उनको दाबी छ । ‘हुरी बतास, नाकाबन्दीलगायतभन्दा अहिलेको अवस्था फरक छ । धेरै रिस्क लिन सक्दैनौं,’ उनले भने, ‘केही ठाउँमा वातावरण मिलेको छैन । कर्मचारी आवतजावत र कच्चा पदार्थलगायतको ढुवानीमा समस्या भएको छ । पसल खुलेका छैनन् । तर त्यसमा हामीले समन्वय गरिरहेका छौं ।’

सबैभन्दा बढी उद्योग तराई क्षेत्रमा छन् । कोरोनाको प्रभाव पनि यसै क्षेत्रमा बढी छ । जसले गर्दा उद्योग व्यवसाय सञ्चालन गर्न थप कठिनाइ भएको उद्योगीहरू बताउँछन् । महासंघका अनुसार लकडाउनले समग्र अर्थतन्त्रमा चक्रीय आर्थिक संकट परेको छ । ‘महामारीका कारण मुलुकले जीडीपीको ४/५ खर्ब नोक्सानी बेहोरिसकेको छ । लकडाउन अझै थपिँदै गए स्थिति थप भयावह हुने निश्चित छ,’ अध्यक्ष राणाले भनिन्, ‘उद्योग व्यवसाय डुब्न नदिऔं । सरकारले अर्थतन्त्र जोगाउन र निजी क्षेत्रको मनोबल कायम राख्न तत्काल आर्थिक पुनरुत्थान प्याकेज घोषणा गरोस् ।’

उद्योगधन्दा बन्द हुँदा र अर्थतन्त्र जटिल अवस्थामा पुग्दा त्यसलाई सम्बोधन गर्नेतर्फ सरकारले ध्यान नदिएको महासंघको आरोप छ । नीति तथा कार्यक्रमले समेत आफूहरूका समस्या सम्बोधन नगरेको उद्योगीहरूको गुनासो छ । ‘मुलुकको अर्थतन्त्रमा करिब ६५ देखि ७० प्रतिशत योगदान रहेको र ३५ लाखभन्दा बढीलाई रोजगारी दिएको उद्योग व्यवसायलाई कोमामा जानबाट बचाउनेतर्फ कुनै ठोस कार्यक्रम नआउँदा हामी अत्यन्त दु:खित छौं,’ राणाले भनिन् ।

बैंकहरूबाट ब्याज तथा किस्ता तिर्न ताकेता आउने गरेको, घर भाडा, जरिवानामा समस्या रहेको, ऋणको पुनर्तालिकीकरण र पुनर्कर्जाका विषयमा हालसम्म स्पष्ट व्यवस्था नआउँदा थप अन्योल बढेको महासंघले जनाएको छ । उद्योगी व्यवसायीसँग सञ्चालन पुँजीको अभावलगायतको समस्या तत्काल सम्बोधन नभए उद्योगीहरू सडकमा आउन बाध्य हुने महासंघको चेतावनी छ ।

‘उद्यमी व्यवसायीहरू गर या मरको अवस्थामा पुगेका छन्,’ अध्यक्ष राणाले भनिन्, ‘हामीले सरकारसँग राहत मागेका होइनौं, सहयोग मागेका हौं । बजेटमार्फत हाम्रा माग सम्बोधन नभए उद्योग बन्द गरेर सडकमा उभिन बाध्य हुन्छौं ।’ लकडाउनकै कारण ऋण तिर्न नसकेर केही व्यवसायी आत्महत्या गर्ने अवस्थामा पुगेको उनले बताइन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले हस्तक्षेप नगरे घरेलु तथा साना र मझौला उद्योग ध्वस्त हुने दाबी गरे । ‘जसले अर्थतन्त्रमा २५ प्रतिशत धानेको छ, २० लाखलाई रोजगारी दिएको छ, अहिले त्यही वर्ग समस्यामा परेको छ,’ उनले भने, ‘ती उद्योगहरूलाई सरकारले हेर्नुपर्छ ।’

महासंघका अनुसार कम्तीमा तीन वर्ष अवधिका लागि बैंकको कर्जाको ब्याजदर ५ प्रतिशत घटाइनुपर्छ । एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरी घाटामा जाने उद्योग, व्यवसायका लागि तीन वर्ष अवधिका लागि ३ प्रतिशत पुनर्कर्जा कोषले बेहोर्ने र २ प्रतिशत सम्बन्धित बैंकले स्प्रेडबाट मिलान गर्ने गरी कर्जा उपलब्ध गराउनुपर्छ । कम्पनी तथा फर्म (प्रतिष्ठान) ले आफ्नो आकार वा क्षमता घटाउन चाहे र बन्द गर्न चाहे विशेष कानुन बनाई कर्मचारी तथा कामदारलाई न्यूनतम रकम दिई कम्पनी तथा फर्मले आफ्नो आकार वा क्षमता घटाउन सक्ने र बन्द गर्न सक्ने व्यवस्था गरिनुपर्ने पनि महासंघको माग छ । ब्याज घटाउने सन्दर्भमा बैंकहरूसँग छलफल भइरहेको राज्यमन्त्री दुगडले बताए ।

याे पनि पढ्नुहाेस् ः

उद्यम चलाउन उद्योग र वाणिज्यको पास

प्रकाशित : जेष्ठ ६, २०७७ ०७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×