२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

१२औं खेलाडी छुटेको खेल

कोरोना महामारीले रोकिएको करिब दुई महिनापछि शनिबार दर्शकबिनाको रंगशालामा खेलाइएको बुन्डेसलिगाका खेल नेपाली खेलाडीहरूले पनि टीभीबाट हेरे– तर उनीहरूले न खेलाडीमा उत्साह देखे न त गोलको उमंग ।
राजु घिसिङ

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ मा दशरथ रंगशालाको प्यारापिट खालीखाली भएको माहोलमा खेल्नुपर्दा मच्छिन्द्र क्लबका मिडफिल्डर विशाल राईले भनेका थिए, ‘खेल्ने हाम्रो काम हो । राम्रो खेल्न मिहिनेत गर्छौं । तर दर्शक नै नभएको खाली रंगशालामा खेल्दा अल्छी लाग्दो हुँदो रहेछ । जोस नै हराउने रहेछ ।’

१२औं खेलाडी छुटेको खेल

गत फागुनमा सकिएको लिगको अन्तिम खेलमा आर्मीलाई हराएर उनकै क्लब च्याम्पियन भयो । त्यस बेला प्यारापिट खाली–खाली हुनुको कारण थियो, घरेलु फुटबलको घट्दो आकर्षण । यसका पछि अनेक कारण छन् । तर, त्यो कुनै बाहिरी संकट थिएन ।

चीनको वुहानबाट डिसेम्बरमा फैलिएको कोरोना भाइरस रोग (कोभिड १९) महामारीका कारण विश्वमै खेल गतिविधि ठप्प भयो । यो महामारीविरुद्ध लड्न सरकारले जारी गरेको लकडाउनका कारण उत्कर्षमा पुगिसकेका फुटबल लिगहरू रोकिए । त्यसैले टेलिभिजनको प्रत्यक्ष प्रसारणमै भए पनि फुटबलको मजा लिने अवसर थिएन । यसैबीच जर्मन बुन्डेसलिगा शनिबार पुनः सुचारु भयो । र, कोभिड–१९ महामारीका कारण रोकिएपछि दुई महिनायता सञ्चालनमा आउने पहिलो मुख्य फुटबल प्रतियोगिता बन्यो बुन्डेसलिगा ।

पहिलो दिन भएका ६ खेलमा सबैले बुन्डेसलिगामा नजर लगाए । दर्शकको उपस्थितिमा कीर्तिमान बनाइरहेको बुन्डेसलिगाका खेल लकडाउनपछि फर्किंदा खाली रंगशालामै आयोजना गरियो । केही नियम परिवर्तन गर्दै निरन्तरता दिइएको लिगलाई टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत धेरैले हेरे । फुटबलमा १२औं खेलाडीका रूपमा लिइने दर्शकबिनै भएको खेललाई टेलिभिजनमा हेर्दा पनि फरक पर्छ त ?

‘दर्शकबिनाको खेल टीभीमा हेर्न पनि मजा नआउने रहेछ । नरमाइलो लाग्यो । पहिलो गोलसम्म मात्रै हेरें ।’—अनन्त तामाङ

नेपाली राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङ भन्छन्, ‘दर्शकबिनाको खेल टीभीमा हेर्न पनि मजा नआउने रहेछ । नरमाइलो लाग्यो । खेलको स्तर पहिलाभन्दा अलि घटेको हो कि जस्तो पनि लाग्यो ।’ बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा साल्काविरुद्ध गरेको प्रतिस्पर्धा टेलिभिजनमा हेर्न बसेका उनले भने, ‘दर्शकबिनाको खेल स्क्रिनमा हेर्न पनि गाह्रो भयो । त्यसैले हालान्डले गोल हानेपछि खेल नै हेरिनँ ।’ डर्टमुन्डले ४–० ले जितेको उक्त खेलको पहिलो गोल इर्लिङ ब्रट हालान्डले २९औं मिनेटमा गरेका थिए ।

सिग्नल इडुना पार्कमा हात पारेको जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको दूरी १ अंकमा छोट्याएको उक्त खेल पूरा समय हेरेका गोलकिपर विशाल श्रेष्ठले भने, ‘धेरै पछि (२ महिना) खेल हेर्न पाउँदा रमाइलो लाग्यो ।’ तर उनले पनि खेलाडीहरूमा उत्साह पटक्कै देखेनन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्रका यी गोलकिपरलाई लाग्यो– सबै मानसिक रूपमा थाकेका छन्, खेलाडीहरू मेन्टल्ली डिस्टर्ब छन् । यो कोरोनाकै असर हुन सक्छ ।

दर्शकबिनाको खेलबारे विशालले भने, ‘टेलिभिजनमै हेर्दा थाह हुन्थ्यो कि गेममा पेस थियो तर चार्म थिएन । दर्शक नभएर होला त्यो । किनभने दर्शकको हल्ला र साथले गेम नै चेन्ज गरिदिन्छ । वास्तवमै दर्शक १२औं खेलाडी हुन् र बिनादर्शकको खेलमा फुटबलको आकर्षण नै हराउँछ । पहिला हामी एकेडेमी (एन्फा) बाट खेल्दा दर्शक हुँदैनथे । हिजो (शनिबार) बुन्डेसलिगाको खेल त्यस्तै लाग्यो ।’

१९ वर्षे हालान्डले गोल गरेपछि सहकर्मीहरूबाट अलग्गै रहेर खुसियाली मनाएका थिए । बेन्चमा रहेका सब्स्टिच्युट खेलाडी, मिडिया सेन्टरका पत्रकारले पनि सामाजिक दूरीमा रहेर मास्क लगाइरहेका थिए । डर्टमुन्डको घरेलु रंगशाला ८१ हजार दर्शक अटाउने क्षमताको छ, जुन जर्मनीकै सबभन्दा ठूलो रंगशाला हो । लिगमा औसतमा सबभन्दा बढी दर्शकको उपस्थिति हुने पनि यही इडुना पार्क हो ।

‘दुई महिनापछि खेल हेर्न पाउँदा रमाइलो लाग्यो । सबै खेलाडी मानसिक रुपमा थाकेजस्तो देखियो । त्यो कोरोनाको असर हुन सक्छ ।’—विशाल श्रेष्ठ

‘खुसियाली मनाउँदा पनि साथीहरू सँगै नहुने, एकअर्कालाई नछोएको देख्दा अनौठो लाग्यो । पाँच जना खेलाडी परिवर्तन गर्न पाउने नयाँ नियम पनि फरक नै लाग्ने रहेछ,’ विशालले भने । उनी जर्मन गोलकिपर एवम् कप्तान म्यानुएल नोयका समर्थक हुन् । त्यसैले जर्मन क्लबमा बायर्न म्युनिख मन पराउँछन् । खासमा उनी स्पेनी महारथी रियल म्याड्रिड र फ्रान्सेली क्लब पीएसजीका समर्थक हुन् । स्पेनी लिग सुचारु हुने निश्चित भइसकेको छैन भने फ्रान्समा लिग पूरा नहुने अवस्था देखिएपछि शीर्षस्थानको पीएसजीलाई च्याम्पियन घोषणा गरिसकिएको छ ।

थ्री स्टार क्लबसँग आबद्ध अनन्त प्रिमियर लिग क्लब लिभरपुलका समर्थक हुन् । त्यसैले अलि चिन्तित छन् । ‘बुन्डेसलिगा सुरु भयो, अब त इंग्लिस प्रिमियर लिग पनि हुन्छ होला,’ उनले भने, ‘प्रिमियर लिग सुरु भयो भने लिभरपुल च्याम्पियन हुन्छ । तर, क्यान्सिल भयो भने तीन दशकपछि जित्न लागेको उपाधि पनि जान्छ, तनाब नै हुन्छ ।’

प्रकाशित : जेष्ठ ४, २०७७ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?