कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाँडै सकिँदै छ पर्खाइ

जर्मन बुन्डेसलिगाले सबैको यति धेरै ध्यान यसअघि खिचेकै थिएन । यसपल्ट यस्तो नहोस् पनि किन ? कोरोना भाइरस संक्रमणको महामारीबीच मैदानमा फर्कन लागेको फुटबलको सबैभन्दा ठूलो अवसर यही त हुने छ । फ्रान्सेली समाचार संस्था एएफपीले जर्मन माथिल्लो डिभिजनको फुटबलबारे एकसरो विश्लेषण गरको छ । उसको भनाइ छ, बुन्डेसलिगा अब ब्युँझिँदै छ ।
एएफपी

बर्लिन — बोरुसिया डर्टमन्डका दुई युवा खेलाडी इर्लिङ ब्रट हल्यान्ड र जोर्डन सान्चोको शनिबार एकमात्र उद्देश्य हुनेछ, बढीभन्दा बढी गोल गर्ने । बन्द रंगशालामा यही दिनदेखि बुन्डेसलिगा फर्कन लागेको छ । डर्टमन्ड र साल्के ०४ बीचको डर्बी खेल हुनेछ । यो विश्व फुटबलकै अहिलेसम्मको अचम्मको डर्बी पनि हुनेछ ।

चाँडै सकिँदै छ पर्खाइ

त्यसो त सिगनल इडुना पार्कमा डर्टमन्डले घरमा खेल्नुपर्छ, दर्शकको संख्या पुग्ने गर्थ्यो, औसत पनि ८२ हजार । खेलमा क्रममा देखिने पहेँलो रङको सागर नै देखिने गर्थ्यो । तर यसपालि यो खेलमा फिटिक्कै दर्शक हुने छैनन् । हुनेछन् त खाली खेलाडीसँगै मिडिया र खेल पदाधिकारीको हल्का जमात । जर्मन राष्ट्रिय टिमका प्रशिक्षक जोचिम लोले पनि यो खेल हेर्न पाउने छैनन् । जतिबेला डर्टमन्ड र साल्के भिड्ने गर्छन्, त्यो खेलमा मात्रै सीमित हुन्न । त्यसमा असंख्य भावना, उत्साह, आक्रोश, पीडा हुने गर्छ । तर यी सबै यसपल्ट टाढाका कुरा भए ।

अहिले त मैदानमा फुटबल फर्कनु नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ । अनि मैदानमा दर्शक नहुनुको दु:ख पनि ठूलो हुने छैन किनभने सारा विश्वको नजर यो खेलमा हुनेछ । यस्तै नजर यो सप्ताहन्त हुने बुन्डेलिगाका बाँकी खेलमा पनि हुनेछ । डर्टमन्डको यो खेलमा अर्को एउटा उद्देश्य पनि हुनेछ । यो हो, लिग तालिकाको शीर्षस्थानको बायर्न म्युनिखसँगको ४ अंकको दूरी छोट्याउने । बायर्न आफैं भने आइतबार युनियन बर्लिनको भ्रमणमा निस्कनेछ ।

युरोपका अन्य प्रमुख फुटबल देश इंग्ल्यान्ड, स्पेन र इटालीमा एक प्रकारले फुटबल फेरि कहिले सुरु हुने हो, पत्तो छैन । सायद महिना दिनपछि मात्र त्यहाँ फुटबल सम्भव हुनेछ । जर्मन फुटबल लिग (डीएफएल) ले पनि बुन्डेसलिगाको यसपल्ट ‘हाइजेनिक’ सुरुआत गर्दै छ । यसैक्रममा युरोपमै कोभिड-१९ को महामारीबीच फुटबल सुरु हुने जर्मन प्रमुख देश हुनेछ । आखिरमा जर्मनी त्यही देश हो, जहाँ भाइरस संक्रमितमध्ये ७ हजार ७ सयभन्दा बढीले ज्यान गुमाए ।

मैदानमै पनि खेलाडीले मास्क लगाउनेछन् । गोल भएयता खुसियाली परम्परागत हुने छैन, बरु कुहिना मिलाउनेछन् । हात मिलाउन त पाउने छैनन्, खेलअघि एकआपसमा अँगालो मार्ने प्रतिबन्ध जस्तै छ । डर्टमन्डका विंगर जुलियन ब्रान्डटले ठीक भनेका छन् । उनी भन्थे, ‘तहसनहसको स्थितिबाट फुटबल हुन लागेको छ । न कुनै एक टिमलाई फाइदा छ, न अर्को टिमलाई बेफाइदा । साँच्चै खेल सुरु हुँदा स्थिति के हुने हो, त्यो त अहिले अनुमान मात्र गर्न सकिन्छ ।’

साल्केका खेलाडीहरु प्रशिक्षणमा तस्बिर : एपी

तेस्रो स्थानमा रहेको आरबी लेप्जिगले शनिबारकै अर्को खेलमा फ्रेइबर्गको सामना गर्नेछ । त्यसमा जर्मन स्ट्राइकर टिमो वार्नरको उद्देश्य हुनेछ, गोल गर्ने । यी २४ वर्षीय खेलाडी भन्छन्, ‘मेरो उमेरमा धेरै कम खेलाडीले मात्र २० गोल गरेका छन् । मैले अहिले नै २१ गोल गरिसकें । मेरो उद्देश्य हो, यसपल्ट ३० गोल छुने ।’

लेप्जिग ५ अंकले बायर्नभन्दा पछाडि छ । लिग स्थगित हुनु ठीकअगाडि उसले लेभरकुजन र उल्फसबर्गसँग बराबरी खेल्नु महँगो साबित भएको छ ।

सबैको आकर्षणमा रहने प्रमुख खेलाडी भने बायर्नका रोबर्ट लेवान्डोवस्की नै हुन् । उनी गोल गर्न सिपालु सदाबहार खेलाडी । उनी चोटमुक्त हुँदै खेलमा फर्कने प्रयासमा छन् । बर्लिनको सामना गर्दा उनी आफूले गरिसकेको २५ गोलसंख्या बढाउने प्रायसमै हुनेछन् । सन् २०१५-१६ र २०१६-१७ दुवै अवसरमा उनले ३० गोलको उपलब्धि छोएका थिए । बायर्नले लगातार आठौंपल्ट लिग उपाधि जित्ने हो भने सबैभन्दा बढी योगदान दिन सक्ने खेलाडी आखिरमा उनी नै हुन् ।

विश्वको ध्यान जर्मनीतिर

खुसियाली र सनसनी जर्मनीमा मात्र छैन । फुटबल फर्कन लागेकामा उत्तिकै उत्साह जर्मनबाहिर पनि छ । अझ भन्ने हो भने फुटबल मन पराउन सारा विश्व बुन्डेसलिगाको पछाडि लागेको छ । जतिबेला लिगका खेल सुरु हुनेछन्, सारा विश्व यसमै झुम्मिने पक्कापक्की छ । जस्तो, ब्राजिललाई नै भनौं, अहिले त्यहाँ पनि फुटबल चलिरहेको छैन । त्यसैले खासै चर्चा छैन, ध्यान पनि छैन । बरु त्यहाँका टेलिभिजन स्टेसन बुन्डेसलिगामा के अपेक्षा गर्ने भनेर कार्यक्रम चलाइरहेका छन् । ब्राजिलमा बुन्डेसलिगा देखाउने सर्वाधिकार फक्स स्पोर्ट्ससँग छ । च्यानलको वेबसाइटमा पनि जर्मन फुटबलबारे नै मुख्य र लामो समाचार छ । त्यसको शीर्षक छ, ‘पर्खाइ अब चाँडै सकिँदै छ ।’

बुन्डेसलिगा ट्रफी तस्बिर : एपी

ब्राजिली मिडियाको सबैभन्दा ठूलो समूह ग्लोबोले पनि त्यस्ता घरेलु खेलाडीको लगातार अन्तर्वार्ता लिइरहेको छ । जसले कुनै न कुनै समय जर्मनीमा खेलेको छ । भारततिर पनि अहिले बुन्डेसलिगामा रुचि बढ्दो छ । भारतका सहरी युवापुस्ता अहिले विदेशी लिग हेर्न मन पराउने खालका छन् ।

तिनका लागि इंग्लिस प्रिमियर लिग र यसका केही प्रमुख क्लब चेल्सी, लिभरपुल तथा म्यानचेस्टर युनाइटेड आकर्षित गर्न पर्याप्त छन् । तिनीहरूमध्ये केही अब बुन्डेसलिगा कहिले सुरु होला र हेर्नेछौं भनेर कुरिरहेका छन् । भारतीय स्टार फरवार्ड जेजे लालपेखलुआ पनि बुन्डेसलिगाको पर्खाइमा छन् । उनले भनेका छन्, ‘फुटबलबिना जीवन कहिले पनि सजिलो नहुने रहेछ । म पक्कै पनि यसपल्ट जर्मन लिग पछ्याउने क्रममा छु ।’ जापानमा भने बुन्डेसलिगा स्काई पर्फेक्टले देखाउने गरेको छ ।

युरोपमा भने बुन्डेसलिगाले ‘लाइभ फुटबल’ को तलतल मेटाउने पक्का छ । अडोल्फ बारबेरोले स्पेनमा बुन्डेसलिगाको कमेन्ट्री गर्ने गर्छन् । उनी भन्छन्, ‘पछिल्लो २० वर्षमा बुन्डेसलिगामाथि यति धेरैको रुचि यसअघि कहिले पनि देखेको थिइनँ । स्पेनमा खाली बायर्न म्युनिख, डर्टमन्ड वा बायर लेभरकुजनका केही समर्थक थिए । अब यिनै फुटबल समर्थकको ध्यान अन्य साना क्लबतिर पनि मोडिएको छ र यो स्थिति वास्तवमै अविश्वसनीय छ ।’

मेक्सिकोका फुटबल पत्रकार भने अहिले बुन्डेसलिगालाई धन्यवाद दिइरहेका छन्, आखिरमा उनीहरूले फुटबलबारे लेख्ने केही ठोस बहाना त पाएका छन् । तिनै पत्रकारमध्ये एक इमिलो फर्नान्डोले भनेका छन्, ‘फुटबलमै जीवन बिताउन चाहनेका लागि खेल नहुनुको पीडा साह्रै हुँदोरहेछ । फुटबलबिनाको समय के समय ?’

अनि चीनको कुरा । त्यहाँ पनि अहिले फुटबल रोकिएको स्थिति छ । तर तय छ, धेरै फुटबलप्रेमी चिनियाँले यो सप्ताहन्त बुन्डेसलिगा हेर्नेछन् ।

जर्मन बुन्डेसलिगाले सबैको यति धेरै ध्यान यसअघि खिचेकै थिएन । यसपल्ट यस्तो नहोस् पनि किन ? कोरोना भाइरस संक्रमणको महामारीबीच मैदानमा फर्कन लागेको फुटबलको सबैभन्दा ठूलो अवसर यही त हुनेछ । फ्रान्सेली समाचार संस्था एएफपीले जर्मन माथिल्लो डिभिजनको फुटबलबारे एकसरो विश्लेषण गरेको छ । उसको भनाइ छ, बुन्डेसलिगा अब ब्युँझिँदै छ ।

प्रकाशित : जेष्ठ ३, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?