बुंडेसलिगा मे १५ बाट सुरु हुने

बायर्न — जर्मन लिग आयोजकले बुंडेसलिगाका बाँकी खेल मे १५ बाट सुरु हुने बुधबार निश्चित गरेको छ । चान्सलर एन्जेला मार्केल र प्रान्तीय नेताले लिग सुरु गर्न अनुमति दिएपछि यो घोषणा भएको हो ।

खेल भने दर्शनबिनाको बन्द रंगशालामा हुनेछ । कोरोना भाइरस संक्रमणको महामारी रोक्न केही साताको लकडाउनपछि जर्मनी अहिले विस्तारै अन्य क्षेत्रमा पनि खुल्न थालेको छ ।
लिग आयोजकले बुधबार राति यसबारे घोषणा गर्दै भनेको छ, ‘सरोकार पक्षसँग लामो छलफल गरेपछि हामीले मे १५ बाट बुंडेसलिगा र दोस्रो डिभिजन फेरि सुरु गर्ने निर्णय गरेका छौं ।’
तय कार्यक्रम अनुसार खेल भएमा जर्मनीको माथिल्लो डिभिजन फुटबल सुचारु हुने युरोपका प्रमुख देशमध्ये पहिलो हुनेछ । खेलका क्रममा सरकारले लागू गरेका सबै नियम पालना गरिने पनि आयोजकले भनेको छ ।
प्रकाशित : वैशाख २५, २०७७ ०७:३६