कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाको कारण राष्ट्रिय लिग नै अनिश्‍चित

राजु घिसिङ

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को महामारीको कारण फुटबल गतिविधि ठप्प भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को महत्वकांक्षी कार्यक्रम ‘राष्ट्रिय लिग’ नै अनिश्‍चित बनेको छ । वैशाख—जेठमा आयोजना गर्ने भनिएको राष्ट्रिय लिगको छनोट नै सकिएको छैन ।

कोरोनाको कारण राष्ट्रिय लिग नै अनिश्‍चित

‘राष्ट्रिय लिग वैशाख—जेठमा सिध्याउने भनेको हो, अब जेठसम्म आयोजना सम्भव नै छैन,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘अब वर्षायाम सुरु हुन्छ, यसमा लिग सञ्चालन गर्न सकिँदैन । दुई महिना (भदौ र असोज) मा फुटबल गर्न सकिन्छ । त्यसैले दसैं अगाडिसम्म राष्ट्रिय लिग सिध्याउन सकिन्छ कि भन्ने हो । यसको लागि बजेट र प्रायोजक हेर्नुपर्छ । प्राविधिक पक्ष र सरोकारवाला क्लबहरू सबैसँग छलफल नगरी राष्ट्रिय लिगबारे केही भन्न सकिने अवस्था छैन । एक किसिमको अन्योल सिर्जना भएको छ ।’

कोरोना भाइरसले नेपालमा पनि संकट सिर्जना गरेपछि चलिरहेको उपत्यकाको सहिद स्मारक बी डिभिजन लिग ५ चैतसम्ममात्रै सम्भव भयो । त्यसयता फुटबलका सबै किसिमका प्रतियोगिता ठप्प छ । मोफसलका प्रतियोगिता पनि रोकिएका छन् । महिला लिग र राजधानीको सी डिभिजन लिग पनि स्थगित भयो । ललित स्मृति यू १८ र स्कुल स्तरको क्वीक्स कप पनि अनिश्चित बनेको छ । ‘सबै कार्यक्रमको तालिका फेरियो । फुटबलका कोरोना भाइरसले ठूलै असर गऱ्यो । मोफसलका प्रतियोगितालाई व्यवस्थापन गर्न, लिग तथा अन्य धेरै कार्यक्रम सञ्चालन गर्न अप्ठ्यारो अवस्था सिर्जना भएको छ,’ महासचिव तुलाधरले भने ।

जिल्ला लिगको विजेताले प्रदेश लिग खेल्ने र प्रदेश च्याम्पियनले एन्फा प्रेसिडेन्ट लिगमा प्रतिस्पर्धा गर्ने गरी एन्फाले राष्ट्रिय लिगको छनोटको आधार बनाएको थियो । सात प्रदेशका च्याम्पियनहरूको प्रतिस्पर्धापछि एन्फा प्रेसिडेन्ट कपको शीर्ष चारमा रहने क्लबहरू राष्ट्रिय लिगमा छनोट हुने भनिएको थियो । ती चार क्लबसँगै उपत्यकाको सहिद स्मारक ए डिभिजन लिगका शीर्ष ६ क्लबले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने बताइएको थियो । सहिद स्मारक ए डिभिजन लिग भने फागुनमै सम्पन्न भइसकेको छ र यसबाट राष्ट्रिय लिगलाई मछिन्द्र, आर्मी, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, पुलिस र जावलाखेल छनोट भइसकेका छन् ।

तर, एन्फा गत पुसमा प्रदेश लिग सकाउने योजना बनाएर पनि एन्फाले फागुनसम्म तीन प्रदेशमा मात्रै सम्पन्न गरेपछि नै राष्ट्रिय लिग अनिश्चित बनेको थियो । प्रदेश १ मा सैनिक युथ क्लब (झापा), गण्डकीमा त्रिवेणी युवा क्लब (लमजुङ) र प्रदेश ५ मा धम्बोजी क्लब (बाँके) च्याम्पियन भए । प्रदेश २, वाग्मती, कर्णाली र सुदूरपश्चिमा प्रदेश लिग नै सञ्चालन भएको छैन । ‘प्रदेश लिग चैतसम्म सकाउने योजना थियो, अनि एन्फा प्रेसिडेन्ट कप वैशाख पहिलो हप्ता,’ एन्फाको लिग कमिटीका निर्देशक सञ्‍जीव मिश्रले भने, ‘कोरोनाले सबै कार्यक्रम प्रभावित भएको छ ।’

‘पहिला लिगअघि ब्रिटिस गोर्खा कप आयोजना गरेजस्तै राष्ट्रिय लिगको तयारीको रुपमा चैतमै एन्फा कप सञ्चालन गर्ने योजना पनि थियो । जसबाट क्लबहरूलाई आफ्नो कमीकमजोरी सच्याउने अवसर मिल्थ्यो । यो प्रतियोगिता पनि सम्भव भएन,’ महासचिव तुलाधरले भने । उनकाअनुसार एन्फा एकेडेमीको लागि महिला र पुरुषको खेलाडीको छनोट पनि स्थगित भएको छ । विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा नेपाली राष्ट्रिय टिमको अस्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनविरुद्धको खेल पनि सरेको छ ।

तीन विभागीय र उपमेयर कपबाट छनोट भएका सात टिमबीच विराटनगरमा चैत २ देखि हुने भनिएको महिला लिग रोकिएपछि एन्फाका केन्द्रीय सदस्य एवम् महिला समिति संयोजक पेमा डोल्मा लामाले भनिन्, ‘अब कहिले हुन्छ भन्न सकिने अवस्था छैन । लकडाउन नखुलेसम्म केही गर्न सकिँदैन । यसबेला हाम्रो प्राथमिकता स्वास्थ्य नै हो ।’

आहा रारा गोल्डकप १ चैतमा पोखरा रंगशालामा सम्पन्न भयो र यो नै मोफसलको पछिल्लो प्रतियोगिता बन्यो । त्यसयताका सबै प्रतियोगिता स्थगित भएका छन् । आहा रारा गोल्डकपअघि सताक्षी (झापा), वाग्मती (मकवानपुर), राइनो (चितवन), बुढासुब्बा (धरान), खप्तड (धनगढी), माइभ्याली (इलाम) र राजर्षि जनक (सर्लाही) गोल्डकप सम्पन्न भएको थियो । पोखरा, तिलोत्तमा, झापा, मकवानपुर, दुहवी, मेचीनगरलगायत दर्जन गोल्डकप स्थगित भए । राजधानीको ए डिभिजन क्लबले एक महिनामा तीन प्रतियोगिता खेल्न पाउने प्रावधान एन्फाले यसैपाली ल्यायो । तर, एउटै समयमा ४—५ प्रतियोगितालाई स्वीकृति दिएको भन्दै गोल्डकप आयोजकहरूले एन्फाप्रति गुनासो गर्छन् । यसलाई पनि यसपाली कोभिड १९ ले ओझेलमा पारेको छ ।

प्रकाशित : वैशाख २३, २०७७ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?