'मिराकल इन बर्मुडा’

मे ४ लाई नेपाली क्रिकेटमा मिराकल अर्थात् चमत्कारी दिनका रुपमा सम्झिने गरिन्छ । यस्तो चमत्कार बर्मुडामा ७ वर्षअगाडि भएको थियो, जहाँ पहिलो दुई खेल हारेपछि रेलिगेसनको खतरामा पुगेको नेपालले लिगका बाँकी ३ खेलसहित विश्व क्रिकेट लिग डिभिजन-३ नै जितेर विश्वकप छनोट पुगेको थियो ।
विनोद पाण्डे

काठमाडौँ — ‘भाग्यले मिहिनेतीलाई नै साथ दिन्छ,’ ७ वर्षअघि आजै (मे ४) को दिन स्मरण गर्दै पारस खड्का यसो भनिरहेका थिए । सन् २०१३ मा बर्मुडामा भएको विश्व क्रिकेट लिग डिभिजन ३ को सफलता चामत्कारिक थियो, जुन पारसले व्याख्या गरेको भाग्यभन्दा निकै माथि थियो । यही भाग्यले पारस र उनको नेतृत्वको नेपाली टोलीलाई धपक्क पारेको थियो । 

'मिराकल इन बर्मुडा’

बर्मुडा नेपाली क्रिकेटको एक स्मरणीय यात्रामा पर्छ । नेपाल क्यारेबियन यात्रामा जानुअघि अमेरिका, युगान्डा, आयोजक बर्मुडा, ओमान र इटालीसम्मिलित प्रतियोगिताको प्रमुख दाबेदार थियो । त्यसको ठीक उल्टो पहिलो दुई खेलपछि नै नेपाल डिभिजन ३ बाट ४ मा झर्ने स्थितिमा पुगिसकेको थियो । अमेरिका र युगान्डासँगको हारले नेपाललाई डिभिजन ३ मै अडिन कठिन हुने देखाएको थियो ।

विश्व क्रिकेट लिगको संरचना यस्तो थियो जहाँ दुई हारबाट बिरलै टोली न त उक्लिएका छन्, न टिक्न सकेका छन् । सन् २०११ मा हङकङमा भएको पछिल्लो डिभिजन ३ यस्तो प्रतियोगिता थियो, जसबाट नेपाल प्रेरित हुनसक्थ्यो । पाँचमध्ये ३ खेल जितेर फाइनल पुग्दै हङकङ डिभिजन ३ विजेता बनेको थियो ।

नेपालको यात्रा नै झमेलाबाट सुरु भएथ्यो । उपकप्तान ज्ञानेन्द्र मल्लले भिसा पाएका थिएनन् । भैपरी स्थिति भनेर उनको स्थानमा नरेश बुढाऐरलाई बर्मुडा लगिएको थियो । भिसा आएपछि जसोतसो ज्ञानेन्द्र पनि बर्मुडा पुगे । नेपालले अमेरिका र युगान्डासँग खेल्नुपर्ने समरसेट क्रिकेट क्लब मैदान देखेपछि शरद भेषावकर अचम्मै परेको स्मरण गर्छन् । मैदान निकै सानो थियो, ४५-५० यार्डमा खुम्चिएको थियो । सुवास खकुरेलका अनुसार स्क्वायर कट क्षेत्र ४० यार्ड जतिको मात्र थियो ।

अमेरिकाले त्यसको फाइदा उठायो । अर्थात् मैदानको प्रकृति सुहाउँदो खेल खेल्यो । नेपालले टस जितेपछि अमेरिकाले ६ विकेट गुमाई ३ सय ६६ रन बनायो । त्यो नेपालले ५० ओभरमा खर्चेको सबैभन्दा बढी रन थियो । स्टेभन टेलरले एक्लै १ सय ६६ रन बनाएका थिए । १ सय २ बल खेलेका उनले १२ चौका र १२ छक्का हानेका थिए । नेपाली बलरमाथि अमेरिका ब्याट्सम्यानले कुल २२ छक्का हानेका थिए । सबैभन्दा किफायती मानिने शक्ति गौचन एक्लैले ९ ओभरमा ८१ रन खर्चेका थिए ।

नेपालले २ सय ७२ रन बनाए पनि अमेरिकालाई ९४ रनले नतिजा सुम्पेको थियो । शरदले ६१ बलमा ७२ रन बनाउँदा ६ छक्का हानेका थिए । उनले त्यो खेल सम्झिँदै केही अघि भनेका थिए, ‘मैदान यति सानो थियो कि मेरो ब्याटबाट टप एज लागेर पनि छक्का निस्किएको थियो ।’ अमेरिकासँग रन अन्तर घटाउनेक्रममा शक्तिले तल्लोक्रममा ब्याटिङ गर्दै ४७ बलमा ३९ रन बनाउँदा २ छक्का हाने ।

प्रतिद्वन्द्वी फेरियो, नतिजा फेरिएन नेपालको । कमजोर मानिएको युगान्डासँग नेपालले झनै दयनीय हार भोग्यो । ४५ ओभरभित्र नेपाललाई १ सय १६ रनमा अलआउट गरेको युगान्डाले २७ ओभरमै लक्ष्य पार गरेको थियो । ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलले भनेका थिए, ‘दुई हारपछि अब कसरी डिभिजन ३ मा टिक्ने हो भन्नेमात्र हामीले सोच्न लागेका थियौं । माथि उक्लने त हाम्रो कल्पनाबाहिर भइसकेको थियो ।’

प्रशिक्षक पुबुदु दासानायकेले नेपाललाई बर्मुडाको यात्रा पार गर्दै विश्वकपमा पुर्‍याउने लक्ष्य बनाएका थिए । जबकि पहिलो पटक डिभिजन ३ मा खेलेको र केही नौला प्रतिद्वन्द्वी पनि रहेकाले नेपाल यो स्तरको नरहेको हो कि भन्ने पनि अड्कल काट्न थालिएको थियो । स्वदेश फर्किएपछि नेपाली क्रिकेट समर्थकले गरेको एक सम्मान कार्यक्रममा दासानायकेले भनेका थिए, ‘दुई खेलपछि हामीले अब मौका नरहेको भनेर छलफल गरिरहेका थियौं । तर प्रशंसकहरूले ‘यसो गर्दा नेपाल फाइनल पुग्न सक्छ’ भनेर समीकरण सामाजिक सञ्जालमा पोस्ट गरिरहेका थिए । त्यसले पनि हामीलाई जोस भर्‍यो ।’

राउन्ड रोबिनका बाँकी तीन खेल नेपालले फराकिलो अन्तरले जित्नुपर्थ्यो, जसले फाइनल पुग्दै नेपाललाई डिभिजन २ अर्थात विश्वकप छनोटमा पुर्‍याउँथ्यो । त्यसमा एक अर्को हारले नेपाललाई डिभिजन ४ मा झार्न सक्थ्यो ।

बर्मुडासँग नेपालले आफूअनुकूल नै नतिजा निकाल्यो । बर्मुडालाई ३९ ओभरभित्र १ सय ६ रनमा अलआउट गरेको नेपालले ११.२ ओभरमा लक्ष्य भेट्यो । ओमानसँग नेपालले कठिन जित पायो । १६०/९ बनाउन सकेको नेपालले ओमानलाई ४७ ओभरभित्र १ सय ३२ रनमा समेट्दै २८ रनको जित पाएको थियो ।

लगातार दुई खेल जिते पनि इटालीसँग लिगको अन्तिम खेलअघि समीकरण नेपालको हातमा थिएन । शीर्ष दुई टोली भएर फाइनल पुग्न नेपालले इटालीलाई ठूलो अन्तरमा पराजित गर्नुपर्थ्यो भने बर्मुडाले अमेरिकामाथि पनि त्यस्तै जित पाएमा मात्र नेपालको फाइनल पुग्ने सम्भावना रहन्थ्यो । नेपालले इटालीलाई १२७-९ को स्कोरमा रोक्दै लय समातेको थियो । पारस, वसन्त रेग्मी, शक्ति, सन्जम रेग्मी, राहुल विश्वकर्मा सबैले १० ओभर गरे र कसैले पनि ३२ रनभन्दा बढी खर्चेनन् । राहुल र सन्जमले ३-३ तथा शक्तिले २ विकेट लिए ।

शक्तिले १५ रनमात्र खर्चेका थिए । सुवास र प्रदीप ऐरीले १२ ओभरभित्र पहिलो विकेटमा ८७ रन जोडेर दिलाएको उत्कृष्ट सुरुआतमा नेपालले १५ ओभरभित्रै १ सय २९ रन बनाएर खेल जितेको थियो । ज्ञानेन्द्रले खेलेको मात्र दुई बलमा एक चौका र एक छक्का हानेका थिए ।

नेपालले लर्डस सेन्ट डेविड्स क्रिकेट क्लब मैदानमा इटालीसँग खेलेको थियो । सुवासका अनुसार टिमका खेलाडी तथा अफिसियलहरू त्यही मैदानमा जर्सी पनि नफुकालेर बर्मुडा र अमेरिकाको खेल लाइभ स्कोरबाट पर्खिरहेका थिए । अन्तिम ३ खेल जिते पनि नेपाललाई त्यो फाइनल पुग्न पर्याप्त थिएन । ह्यामिल्टनको राष्ट्रिय रंगशालामा बर्मुडा र अमेरिकाको खेल भइरहेको थियो । त्यो नतिजाले मात्र नेपालको भविष्य निर्धारण हुन्थ्यो । इटालीलाई जितेर नेपालले ३ जितबाट ६ अंक पुर्‍याएको थियो ।

जबकि अमेरिकासँग बर्मुडाविरुद्ध खेल्नुअघि नै ६ अंक थियो । विश्व क्रिकेट लिग डिभिजनलाई एक उत्कृष्ट संरचना मानिन्छ । दुई टिम माथि जाने, दुई टिम अडिने र दुई टिम झर्ने । अमेरिकालाई जित्न नसके बर्मुडा घरेलु मैदानमै रेलिगेसन पर्थ्यो । अमेरिकाले २२०-९ को स्कोर बनाउँदा बर्मुडा र नेपाल दुवैको सम्भावना पातलिएको थियो । क्रिस्टोफर डगलस बर्मुडाका नायक बनेर निस्किए । उनले ७५ बलमा ९ चौका र ३ छक्का मदतमा बनाएको ८९ रन नेपालका लागि सेतु बन्यो ।

उनको प्रयासमा बर्मुडाले ४४.४ ओभरमै खेल ५ विकेटले जित्यो । यसले बर्मुडालाई रेलिगेसनबाट मात्र जोगाएन नेपाललाई पनि अमेरिकाभन्दा रनरेटमा उच्च राख्न ठूलो भूमिका खेल्यो । नेपालले यसअघि नै सुरक्षित भइसकेको युगान्डासँगै फाइनलमा स्थान निश्चित गर्‍यो । युगान्डाले ५ मध्ये ४ खेल जितेको थियो । नेपाल र युगान्डाले फाइनल पुग्दै विश्वकप छनोटमा स्थान पक्का गरे ।

पहिलो दुई खेलपछि लय भेट्टाएको नेपालको चमत्कारी यात्रा फाइनलमा पनि रोकिएन । नेपालले डिभिजन ५ र ४ उपाधिमाथि डिभिजन ३ को अर्को उपाधि थप्यो । लिग चरणमा युगान्डाले जसरी हराएको थियो त्यसरी नै फाइनलमा नेपालले बदला लिएको थियो । प्रदीप ऐरीले ६० र शरदले अविजित ५० रन बनाएपछि नेपालले ४० ओभरभित्र लक्ष्य पूरा गर्दै डिभिजन ३ जितेको थियो ।

सन् २०१० को डिभिजन ५ र २०११ को एसीसी ट्वान्टी-२० मा पनि नेपालले यस्तै स्थितिबाट आफूअनुकूल अविश्वसनीय नतिजा निकालेको थियो । पारस त्यतिखेर भाग्यभन्दा मिहिनेतमा जोड दिन्थे । डिभिजन ३ पछि उनले भाग्यलाई फरक रूपमा स्विकार्न थालेका थिए ।

उपाधिको प्रभाव

डिभिजन ३ को उपाधि जितेपछि नेपाली खेलाडीले झन्डै ५ लाख रुपैयाँको सम्मानस्वरूप पाएका थिए । त्यसमा सरकारले जनही ३ लाख ५० हजार दिएको थियो । त्यतिखेर त्यो नेपाली क्रिकेट खेलाडीले पाएको सबैभन्दा ठूलो रकम थियो । व्यापारिक घरानाहरूले पनि विश्वकप छनोटमा पुगेकामा नेपाली क्रिकेट टोलीलाई सम्मान गरे । यसले खेलाडीको मनोबल उच्च बनायो । डिभिजन ३ कै क्रममा शक्ति र वसन्त नेपालबाट ५० ओभरमा एक सय विकेट लिने क्रमशः दोस्रो र तेस्रो खेलाडी बनेका थिए ।

बर्मुडा पुगेर डिभिजन ३ हेर्नेमा एक थिए ब्रायन लारा । कीर्तिमानी ब्याट्सम्यान उनले उपाधि जितेपछि नेपाललाई बधाई दिँदै आफू नेपाली क्रिकेटको प्रशंसक रहेको बताएका थिए । तत्कालीन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष एलन इसाकले पनि नेपालीलाई बधाई दिए । नेपालको अविश्वसनीय यात्रामा नेपाली समर्थकको बधाईको मुख्यपात्र थिए क्रिस्टोफर डगलस । बर्मुडाका यी ओपनिङ ब्याट्सम्यानले खेलेको एक इनिङ्सले नेपालको क्यारेबियन यात्रालाई ‘मिराकल इन बर्मुडा’ बनाएको थियो ।

खेलजीवन नै सकिए जस्तो भएथ्यो : पारस खड्का, कप्तान

पहिलो दुई खेल हार्दा हामीलाई सबै सकिए जस्तो लाग्यो । विश्व क्रिकेट लिगमा दुई खेल हारेपछि माथि उक्लनु निकै कठिन हुनु हो । अमेरिका र युगान्डासँगको पहिलो दुई खेल एकदमै सानो मैदानमा भएको थियो । अमेरिकाले पहिलो खेलमा हामीविरुद्ध झन्डै ३ सय ७० रन जोडेको थियो । नेपालको बलिङ आक्रामणले कहिल्यै पनि त्यति रन खाएको थिएन । त्यो खेलमा हामीले टस जितेर फिल्डिङ गरेका थियौं । त्यो निर्णय घातक हुन पुग्यो । अर्को दिन युगान्डासँग टस जितेर ब्याटिङ गर्‍यौं । त्यसमा पनि हामीले राम्रोसँग ब्याटिङ गर्न सकेनौं । १ सय ३० रनको हाराहारीमा अलआउट भयौं । खेल हारेपछि हाम्रो सबै सकिएजस्तो लाग्यो । हामीले पहिलो दुई खेलमा खराब क्रिकेट खेल्यौं ।

त्यसपछि भने हामीले जसोतसो पुनरागमन गर्न सक्यौं । मैदानमा उत्रिइसकेपछि राम्रो क्रिकेट खेल्नै पर्छ भन्ने थियो । दुई खेल हारेपछि हामीले अब के गर्ने, कसो गर्न सक्छौं भनेर सल्लाह गर्‍यौं । साँच्चै भन्ने हो भने त्यसपछि चमत्कार नै भयो । तेस्रो खेलमा बर्मुडा र चौथो खेलमा ओमानलाई हरायौं । ओमानसँग निकै प्रतिस्पर्धात्मक भयो ।

ओमान लक्ष्यतिर बढिरहँदा ६० रन जति चाहिँदा निकै महत्त्वपूर्ण विकेट रनआउट गर्न सक्यौं । त्यो रनआउटले खेलको नक्सा परिवर्तन गर्‍यौं र हामीले खेल जित्न सक्यौं । अन्तिम खेलमा इटालीलाई हराइसकेपछि हामीले युगान्डा र अमेरिकाको खेल पर्खनुपर्ने भयो । बर्मुडाले अमेरिकालाई हराए मात्र हामी शीर्ष दुई टोलीमा छनोट हुन्थ्यौं ।

मलाई जहाँसम्म लाग्छ, त्यसमा विगतको इतिहास हेर्दा बर्मुडाले कहिल्यै अमेरिकालाई पराजित गर्न सकेको थिएन । हामीचाहिँ आफ्नो खेल सकिएपछि त्यहीं मैदानमा बसिरहेका थियौं । त्यो खेलको नतिजा कुरेका थियौं । त्यसमा हामीलाई निश्चित रनरेट पनि चाहिन्थ्यो ।

पहिलो दुई खेल हारिसकेपछि हामीले बाँकी खेल जित्नुका साथै रनरेट बढाउनुपर्ने थियो । अन्तिम खेलअघि समीकरण पनि आइसकेको थियो, के गर्दा कस्तो हुन्छ भनेर । बर्मुडाले अमेरिकालाई चाहेजस्तै हराएपछि हामीले मैदानमै धेरैबेर खुसी मनाएका थियौं । हर्डल्स गरेका थियौं, भगवान्लाई धन्यवाद दियौं । पहिलो दुई खेल हारेपछि बसमा फर्किंदै गर्दा हामी धेरैले आफूहरूको खेलजीवन सकिए जस्तो गरी कुराकानी गरेका थियौं ।

त्यसैले यो एक स्मरणीय भ्रमणमा पर्छ । बर्मुडा हाम्रा लागि एकदम नयाँ ठाउँ थियो, त्यहाँ हामीले सम्झनायोग्य अनुभव बटुल्यौं । पहिलो दुई खेलपछि जसरी पुनरागमन गर्‍यौं, त्यो झन् अविस्मरणीय थियो । भाग्यले मिहिनेतीलाई साथ दिन्छ भने जस्तो भयो । नेपाल अहिले यहाँसम्म आइपुग्न नै त्यो हाम्रो भाग्यमा लेखिएजस्तो लाग्छ । सबै खेलाडीको त्यसमा उत्तिकै मिहिनेत पनि थियो ।

मैदान देखेपछि नै स्तब्ध थियौं : शरद भेषावकर, ब्याट्सम्यान

अमेरिकासँग हामीले प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्ने अघिल्लो दिन । प्रशिक्षकसँगै व्यवस्थापक, सपोर्टिङ स्टाफ र २-३ खेलाडीलाई लिएर त्यो मैदान हेर्न गएका थियौं । त्यो मैदान सानो छ भन्ने सुनेका थियौं । त्यहाँ पुग्दा त स्तब्ध नै हुनपुग्यौं । त्यो मैदान देख्दा मलाई आफू बच्चा हुँदा सिफल र सानो गौचरन मैदानमा खेलेको याद आयो ।

यी मैदानभन्दा पनि सानो थियो त्यो अमेरिकासँग खेलेको मैदान । तपाई आफैं कल्पना गर्न सक्नुहुन्छ मैदान कस्तो थियो भनेर । सानो मैदान देखेर त्यतिबेलै थाहा भइसकेको थियो, यो प्रतियोगिता जता पनि जान सक्छ भनेर । भोलिपल्ट जब प्रतियोगिता सुरु भयो, नेपालसँग अमेरिकाको ब्याटिङमा सानो मैदानको जुन घाटा थियो । हाम्रो बलिङ टोलीलाई तुरुन्तै देखियो । त्यो आशाअनुरूप नै थियो ।

अमेरिकाले ३ सय ५० भन्दा बढी रन बनायो । नेपालले ५० ओभरको खेलमा सबैभन्दा बढी छक्का खाएको खेल पनि हुनसक्छ त्यो । यत्रो रन हाम्रोविरुद्ध हान्ला भनेर कसैले सोचेका थिएनन् । त्यस हिसाबमा त्यो अलिकति आशाविपरीत थियो । जस्तोसुकै मैदानमा पनि ३ सय ५० भन्दा बढी रनको स्कोर ठूलै हो । हामीले लक्ष्य पछ्याउँदा राम्रै स्कोर बनाए पनि त्यो जितनिम्ति पर्याप्त थिएन । त्यसपछि फेरि युगान्डासँग हार्दा हाम्रो आशा मरिसकेको थियो ।

एक त नकआउट जस्तै संरचनाको प्रतियोगिता अनि माथि जानलाई जित्नैपर्ने दबाब । त्यसमाथि हामी सबै खेलाडीको भविष्यसँग जोडिएको थियो यो प्रतियोगिता । माथिल्लो स्तरमा उक्लन सके हामी खेलाडीको पनि केही हुन्छ भन्ने आशा थियो । पहिलो दुई खेल हार्दा हाम्रो मनोबल झरिसकेको थियो । अन्तिम ३ खेलमा हामीले सजिलै जितेका थियौं ।

हामीले इटालीसँगको अन्तिम खेल जितिसकेपछि अमेरिका र युगान्डाबीचको खेलको नतिजा कुरिरहेका थियौं । अमेरिका उच्च फर्ममा थियो । हामी उनीहरूको नतिजा पनि भर पर्नुपरेको थियो रनरेटका हिसाबले । हामी यति धेरै अन्धविश्वासी भयौं कि सबै आ-आफ्नै तालमा मैदानभित्र हिँडिरहेका थियौं ।

स्कोर हेर्न त्यो ल्यापटप छेउमा एकजना म थिएँ र अर्को रमन (टेक्निकल एनालिस्ट रमन सिवाकोटी) हो कि को थियो, तर हामी १-२ जनामात्र थियौं । कोही ल्यापटपको छेउमा आए पनि यता नआऊ भनेर गाली गरेर उता जाऊ भन्थें । जे भइरहेको छ राम्रो भइरहेको छ भनेर सबैलाई मैदानमा प्रत्येक ओभरपछि अपडेट दिइरहेका हुन्थें । बर्मुडाले मिराकल (चमत्कार) नै गरेर खेलेको थियो । बर्मुडाले त्यो लक्ष्य पछ्याउँछ भनेर हामीले आशा नै गरेका थिएनौं ।

फाइनल सुनमा सुगन्धजस्तै भयो । छनोट भएको खुसी त छँदै थियो । तर मलाई के लागेको थियो भने फाइनल जित्नु भनेको अर्को उपलब्धि हो । त्यो बेला हाम्रो आर्थिक स्थिति पनि धेरै भरपर्नु खालको थियो ।

यस्तै प्रतियोगिता खेल्दा मात्र केही खर्च आउँथ्यो, तलब पनि खासै थिएन । सरकारले उपाधि जितेमात्र सम्मान गर्थ्यो । त्यसैले फाइनल जितेर उपाधि जित्नु पनि महत्त्वपूर्ण थियो । सबैलाई आर्थिक लाभ हुन्थ्यो । युगान्डालाई राम्रैसँग हराएर उपाधि जितेका थियौं ।

प्रकाशित : वैशाख २२, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?