२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एन्फामा एउटा हुँदाहुँदै अर्को समिति

राजु घिसिङ

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो स्थायी समिति ‘सामाजिक उत्तरदायित्व समिति’लाई पन्छाउँदै अनौपचारिक बैठकबाट राहत तथा सहयोग समन्वय समिति गठन गरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले कोभिड–१९ का कारण विभिन्न कार्यक्रमका लागि जुलाईमा दिनुपर्ने ५ लाख अमेरिकी डलर (करिब करिब ६ करोड १० लाख रुपैयाँ) बिनासर्त तत्कालै पठाउने भएपछि एन्फाले स्थायी समितिलाई पन्छाउँदै राहत तथा समन्वय समिति बनाएको हो ।

एन्फामा एउटा हुँदाहुँदै अर्को समिति

केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा बनाइएको राहत तथा सहयोग समन्वय समितिमा उत्तमकुमार भण्डारी र रूपेश अधिकारी सदस्य छन् । आफ्नै उपचारमा एन्फाको कोष दुरुपयोग गरेको आरोप लागेका श्रेष्ठ स्वास्थ्य समितिका संयोजक पनि हुन् । भण्डारी एन्फाको सामाजिक उत्तरदायित्व समितिका संयोजक हुन् भने अधिकारी मानार्थ केन्द्रीय सदस्य हुन् ।

‘एन्फाको फुटबल खेल्नेभन्दा बाहिरको हकमा सामाजिक उत्तरदायित्व समितिले काम गर्न सक्छ,’ बुधबार बनाइएको राहत तथा सहयोग समन्वय समितिबारे भण्डारीले भने, ‘भिडियो कन्फरेन्स सुरु भएपछि राहत वितरणमा निस्कनुपरेकाले म आफैंले राहत तथा सहयोग समन्वय समिति बनाइएको बुधबार बेलुकामात्रै थाह पाएँ । कोभिड १९ मा स्वास्थ्य पनि जोडिन्छ भनेर नयाँ समिति बनाइएको होला । तर यो काम पनि सामाजिक उत्तरदायित्व समितिले गर्न मिल्ने हो । उद्देश्य सही छ र सरोकारवालाका लागि हो भने नयाँ समितिमा आपत्ति छैन ।’

एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘अध्यक्ष (कर्माछिरिङ शेर्पा) को प्रस्तावअनुसार राहत तथा सहयोग समन्वय समिति गठन गरिएको हो । कोभिड–१९ मा एन्फा सचिवालयलाई सहयोग हुन्छ भनेर समन्वय गर्न मात्रै समिति बनाइएको हो ।’

उनले थपे, ‘कोभिड १९ महामारीमा हामीले आफैं त्यस्तो समस्यामा परेको देखेको छैन । संक्रमितलाई सरकारले नै उपचार गरिरहेको छ । जम्मै राहत स्थानीय निकायले बाँडिरहेको छ । फुटबलकर्मीलाई अप्ठेरो परेको छ भने उनीहरूलाई सोध्नु हाम्रो कर्तव्य नै हो । लकडाउन बढ्दै गयो भने धेरैलाई समस्या हुन सक्छ, राहत वितरण गर्ने आवश्यकता आउन सक्छ ।’

राहत तथा सहयोग समन्वय समिति गठनबारे एन्फाले बुधबारै विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आइपरेको समस्या वा संकट पहिचान गरी एन्फाले आवश्यक राहत सहयोग गर्न संघको पदकाधिकारीबीच भिडियो कन्फरेन्स बैठक सम्पन्न भयो ।

बैठकले संघमा आबद्ध सम्पूर्ण संस्थाहरू (जिल्ला फुटबल संघ, क, ख, ग श्रेणीका क्लबहरू, खेलाडी, रेफ्री, प्रशिक्षक, महिला समिति) लाई संकटग्रस्त फुटबलकर्मीको सूची निर्धारित मापदण्डअनुसार सचिवालयको पत्र पाएको ५ दिनभित्र सचिवालयमा उपलब्ध गराउने र उक्त सूचीलाई आवश्यक प्रमाणीकरण गरी राहत तथा सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।’ संकटग्रस्त फुटबल खेलाडी र फुटबलकर्मीहरूलाई सहयोग गर्न संघको स्वास्थ्य समिति संयोजक रत्नकुमार श्रेष्ठको संयोजकत्वमा राहत तथा सहयोग समन्वय समिति गठन गरिएको जनाइएको छ ।

६ करोड कहाँ खर्च गर्ने ?

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कोभिड–१९ मा आफ्ना २११ सदस्य (फुटबल संघ) लाई सहयोग गर्न जुलाईमा दिनुपर्ने १५ करोड अमेरिकी डलर बिनासर्त उपलब्ध गराउने अप्रिल २४ मा घोषणा गरेका थिए ।

फरवार्ड २.० प्रोग्रामअन्तर्गत हरेक संघलाई ५–५ लाख डलर फिफाले यसै साता पठाउने जनाएको छ । विगतमा विभिन्न सर्त र मापदण्ड पूरा गरेपछि मात्रै उपलब्ध गराउने उक्त रकम पुरुष, महिला र युवा फुटबलको प्रतियोगिता, उमेर समूहका राष्ट्रिय टिम, प्रतियोगिता व्यवस्थापन र खेलाडी स्थानान्तरण, रेफ्रीका तोकिएका १० कार्यक्रमका लागि दिइन्छ । हरेक कार्यक्रमलाई ५०–५० हजार डलर छुट्याइएको हुन्छ ।

‘यो ५ लाख डलर एन्फाको नियमित बजेटभित्रै पर्छ, कुनै नयाँ शीर्षकमा बजेट आउने होइन,’ एन्फा महासचिव इन्द्रमान तुलाधरले भने, ‘कोभिड–१९ ले प्रतियोगिताहरू प्रभावित भएका छन् । यसबाट प्रत्यक्ष असर परेका कर्मचारी र सम्बन्धित सदस्यलाई सहयोग गर्न सकिन्छ ।

तर यो रकम कोभिडका लागि बेग्लै आएको होइन ।’ फिफाले आफ्ना सदस्यलाई पठाउने यो रकम दोस्रो किस्ताको बजेट हो । यसअघि गत जनवरीमै फिफाले प्रशासनिक तथा दैनिक कार्यसञ्चालनका लागि नियमित बजेटको ५ लाख डलर एन्फालाई पठाएको थियो ।

फिफाले १ करोड डलर विश्व स्वास्थ्य संगठनलाई कोभिड–१९ विरुद्धको लडाइँमा उपलब्ध गराइसकेको छ भने आफ्ना सदस्य राष्ट्रलाई थप सहयोगका लागि तयारी गरिरहेको पनि जनाएको छ । उसले चारवर्षे चक्र (सन् २०१९–२३) मा हरेक सदस्यलाई करिब ७० लाख डलर विनियोजन गरेको छ । फिफासँग २ अर्ब ७० करोड डलर बचत रहेको बताइएको छ ।

उपाध्यक्ष नेम्वाङको आरोप

फिफाबाट ६ करोड १० लाख रुपैयाँ बढी तत्कालै आउने सामाजिक उत्तरदायित्व समितिलाई बेवास्ता गर्दै अनौपचारिक बैठकमा अध्यक्ष शेर्पाको ठाडो प्रस्तावमा राहत तथा सहयोग समन्वय समिति बनाइएको एन्फाकै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको आरोप छ । ‘अनौपचारिक भनेर जुमको कन्फरेन्समा बोलाइएको थियो । तर, त्यसैमा अध्यक्ष (कर्माछिरिङ) को ठाडो प्रस्तावमा राहत तथा समन्वय समिति बनाइदियो,’ नेम्वाङले भने, ‘एन्फाको विधानमा भिडियो कन्फरेन्समार्फत् हुने बैठकलाई कल्पना पनि गरिएको छैन । कोभिड–१९ महामारीका बेला भिडियो कन्फरेन्सलाई औपचारिक बैठक मान्ने हो भने त्यसका एजेन्डाहरू कन्फरेन्सका लागि बोलाइएको इमेलमा समावेश गर्नुपर्छ, जुन बुधबारको कन्फरेन्समा थिएन ।’

उनले आफूले अनौपचारिक छलफलबाट समिति बनाउन मिल्दैन भनेको भए पनि अध्यक्षले जबरजस्ती बनाइदिएको आरोप लगाए । यस्तो अनौपचारिक छलफलबाट बनाइएको समितिलाई वैधानिक मान्न नसकिने उनको जिकिर थियो ।

‘एजेन्डा केही दिइएको थिएन, खाली छलफल भनिएको थियो । तर झुक्याएर बैठकबाट निर्णय गरिएको भनेर प्रेस विज्ञप्ति जारी गरियो,’ उनले भने, ‘यसरी अध्यक्ष झुक्याएर गरिएको अवैधानिक कामको जिम्मेवारी उहाँले लिनुपर्छ । पहिला काम गर्ने त्यसपछि बहुमतले पेलेरै जाने कार्यशैलीलाई अध्यक्षले निरन्तरता दिए ।’ भिडियो कन्फरेन्समा समतिका तीनैजनाको नाम अध्यक्ष शेर्पाले प्रस्ताव गरेका थिए ।

जुममार्फत् भएको कन्फरेन्समा एन्फाको निर्वाचित १७ सदस्यीय कार्यसमितिमध्ये उपाध्यक्ष कृष्ण थापामात्रै अनुपस्थित थिए । मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई, उपाध्यक्ष शिक्षित पराजुली, लिग कमिटीका संयोजक विज्ञानराज शर्मालगायत पदाधिकारी पनि सहभागी थिए ।

एन्फाको कार्यसमिति बैठक एक वर्षमा कम्तीमा चारपल्ट बस्नुपर्ने विधानमा उल्लेख छ । गत वैशाख १७ पछि आएर बैठक माघ २६ गते बसेको थियो । त्यसमा अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङबीच चर्काचर्की परेको थियो । त्यसयता एन्फाको कार्यसमिति बैठक बसेको छैन । कार्यसमिति बैठक बस्न नभ्याएको बेला आकस्मिक समितिको निर्णयअनुसार कार्यसञ्चालन गर्नुपर्ने व्यवस्था विधानमा छ । तर आकस्मिक समितिको बैठक नबसेको पनि ६ महिना बढी भइसकेको छ ।

कुनै समिति वा कार्यसमितिको निर्णयबिना नै अध्यक्ष शेर्पा एन्फाको रौतहटस्थित महिला एकेडेमी र सातदोबाटोस्थित एन्फा होस्टल कोभिड–१९ संक्रमितको उपचार गर्न क्वारेन्टाइन बनाउन दिएको आरोप पनि पदाधिकारीहरूले लगाएका छन् । कोभिडकै कारण सरकारले लकडाउन गरेपछि चैत १७ मा तोकिएको एन्फाको साधारणसभा, सहिद स्मारक बी डिभिजन लिग, राष्ट्रिय महिला लिग स्थगित भएको छ ।

‘एन्फाको फुटबल खेल्नेभन्दा बाहिरको हकमा सामाजिक उत्तरदायित्व समितिले काम गर्न सक्छ । उद्देश्य सही छ र सरोकारवालालाई समेट्न खोजिएको हो भने नयाँ समितिमा आपत्ति छैन ।’

प्रकाशित : वैशाख २०, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?