कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

'उडी जाऊँ भने म पन्छी होइन’

दीपक परियार

पोखरा — अचेल हावामा उड्न चरा नै हुनुपर्दैन । ग्लाइडरको सहायताले आकाशमा कावा खाँदै फनफनी घुम्न सकिन्छ । त्यसरी उड्न सीप चाहिन्छ । प्याराग्लाइडिङ खेलाडी युकेश गुरुङ यस्तै सोच्थे । लकडाउनपछि उनले चरा हुनु र प्यारापाइलट हुनुको भेद थाहा पाए । लकडाउनमा चराहरू स्वच्छन्द उड्न सक्छन्, तर उनी सक्दैनन् । 

'उडी जाऊँ भने म पन्छी होइन’

१८ वर्षीय यी स्टार प्याराग्लाइडर आफूलाई पखेटा काटिएको पन्छीजस्तै सम्झन्छन् । घरै अगाडिको ‘ल्यान्डिङ जोन’ मा अचेल प्याराग्लाइडर झर्दैनन् । बरु फेवातालले ल्याउने छालको आवाज घरसम्मै सुनिन्छ । खपौंदीको ताल किनारमा बसेर सराङकोटको डाँडातिर हेर्दै टोलाउँछन् । न चराजस्तै उडी जान सक्छन्, न घरमा बस्न मन मानेको छ ।

कोभिड-१९ को विश्वव्यापी महामारी नहुँदो हो त उनी यतिखेर भारत हिमाञ्चल प्रदेशको वीर बिलिङमा प्याराग्लाइडिङ प्रतियोगिता खेलिरहेका हुन्थे । मार्च/अप्रिलमा हुने भनिएको प्रतियोगिता कोरोना कहरका कारण अक्टोबरमा सर्‍यो ।

अहिले उनी सबेरै उठ्छन् । चिया नास्ता गरेर घरको काममा सघाउँछन् । प्याराग्लाइडिङलाई खुब ‘मिस’ गर्छन् । घरमा एउटा पुरानो ग्लाइडर छ । केही डोरी चुँडिएका छन् । मुसाले ठाउँठाउँमा प्वाल पारेको छ । हावा चलेको बेला त्यही ग्लाइडर उनी घर अगाडि फेवा किनारको सानो चौरमा लैजान्छन् । प्याराग्लाइडिङको झल्को मेट्न ग्लाइडरलाई तान्दै बस्छन् ।

लकडाउनले उनलाई सिर्जनशील पनि बनाएको छ । प्याराग्लाइडरमा उड्दा देखिने ‘बर्ड्स आई भ्यू’ को जस्तै दृश्य हेर्न उनले ड्रोन चलाउन सिकेका छन् । घर नजिकैबाट फेवातालमाथि ड्रोन उडाउँछन् । डाँडाकाँडा नियाल्छन् । सिनेम्याटिक सट खिच्छन् । युट्युबको सहायताले भिडियो सम्पादन गर्छन् । खिचेको भिडियो आफ्नै युट्युब च्यानलमा अपलोड गर्छन् ।

भिडियो खिच्न उनले पञ्चासेको फेदी सिंधानेमा तीन दिन बिताए । कास्कीकोट साथीको घरमा दुई दिन बसे । ‘उडिराख्नेलाई घरमा बस्न गाह्रो हुँदोरैछ,’ खपौंदीस्थित घरमै रहेको मायादेवी भिलेज होटलमा बसिरहेका उनले भने, ‘कहाँ जाऊँ, कहाँ जाऊँ हुन्छ । बजारतिर पनि निस्कन मिलेन । यतै गाउँतिरै जान्छु ।’

लकडाउनमै उनले गितार बजाउन सिके । युट्युब हेरेरै गितार बजाउन जान्ने भएका छन् । कभर गीत सुन्न मनपराउँ छन् । सज्जनराज वैद्य उनलाई पछिल्लो पुस्ताका मनपर्ने कलाकार हुन् । घरमा बसेर उनले खाना बनाउन पनि सिके । आमासँग उनले पास्ता, स्यान्डविच, बर्गर बनाउन सिके । ‘पहिला पकाउनमा खासै रुचि थिएन,’ उनले सुनाए, ‘अहिले दालभात, तरकारी पकाउन मन लाग्छ ।’ दाउरा चिर्न पनि उनलाई खुब मन पर्छ । दाउरा चिर्न उनी साथीको घरमा पनि पुगेका छन् ।


पुरानो मोटरसाइकल र गाडी खोलखाल गर्न पनि उनको मन जान्छ । एकदिन उनले घरको कुनामा थन्किएको हिरो होन्डा सीडी १०० मोडलको थोत्रो बाइक निकाले । खोलखाल पारे । इन्जिन र च्यासिस छुट्याए । पार्टपुर्जा सफा गरे । ‘लकडाउन खुलेपछि वर्कसपमा लगेर बनाएर चलाउँछु,’ उनले भने ।

सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपालले एकमात्र रजत जित्दा प्याराग्लाइडिङ टिमका सदस्य थिए, युकेश । त्यतिबेला उनी १६ वर्षका मात्रै थिए । प्याराग्लाइडिङ उडान भर्न उनले १२ वर्षको उमेरमै सिकेका हुन् ।

नेपालमा पहिलोपल्ट प्याराग्लाइडिङ भित्र्याउने बेलायती नागरिक एडम हिल २५ वर्षअघि कास्कीको ताङतिङ गाउँ आए । बेलायती सेनामा रहेका आफ्ना मित्र जितबहादुर गुरुङसँग उनी ताङतिङ आएका थिए । त्यतिबेला उनले पहिलोपल्ट ताङतिङमा प्याराग्लाइडर उडाए । युकेशका बुबा भूपालकुमार गुरुङ स्कुलमा पढाउँथे । मामा साइनो पर्ने जितबहादुरले एडम र युकेशका बुबाबीच चिनजान गराए । एडमले पोखराका व्यवसायीसँग मिलेर पहिलोपल्ट सन् १९९८ मा प्याराग्लाइडिङ कम्पनी खोले ।

सन् २००३ मा युकेशको परिवार खपौंदी झर्‍यो । जतिबेला उनी २ वर्षका थिए । तीन वर्षकै उमेरमा उनले प्याराग्लाइडिङ गर्ने अवसर पाए । भारतीय पाइलट अजय शर्माले युकेशका बाबुछोरा सँगै राखेर उडाएका थिए । त्यतिबेला प्याराग्लाइडिङ गर्दाको क्षण भने उनलाई खासै सम्झना छैन । उनका बुबाले एडमसँग मिलेर सन् २००६ मा लेकसाइडमा फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी खोले ।

उनले पहिलोपल्ट ग्लाइडर छोएको ८ वर्ष छँदा हो । सराङकोटबाट उडेका प्याराग्लाइडर घरै अगाडि फुत्तफुत्त झरिरहन्थे । ल्यान्डिङ गरेपछि प्यारापाइलट उनको रेस्टुरेन्टमा आराम गर्थे । प्यारापाइलट र यात्रु अधिकांश विदेशी हुन्थे । विदेशी पाइलटले प्याराग्लाइडर उडाएको उनले नियालिरहन्थे । ग्लाइडर अवतरण गरेपछि खपौंदीका केटाकेटी दौडिँदै त्यतै पुग्थे ।

ग्लाइडर प्याक गर्न तम्सिन्थे । त्यसवापत प्यारापाइलटले केही पैसा दिन्थे । युकेश पनि ग्लाइडर प्याक गर्न पुग्थे । पैसा माग्दैनथे । तर प्याराग्लाइडर उडाउन सिकाइ माग्थे । उनको रुचि देखेर प्यारापाइलट सुवास थापाले पुरानो ग्लाइडर दिए । त्यहीं ग्लाइडरबाट उनले ‘ग्राउन्ड ह्यान्डलिङ’ गर्न सिके ।

१२ वर्षको छँदा उनी ब्लुस्काई प्याराग्लाइडिङ स्कुल भर्ना भए । १५ दिन सराङकोट, स्याङ्जाको सिर्कोट र तनहुँको बन्दीपुरमा प्याराग्लाइडिङ सिके । ६ कक्षामा पढ्दै गर्दा उनी एक्लै उड्न सक्ने भए । शनिबारे बिदामा प्याराग्लाइडर उडान गर्न थाले । घरवरपरको कुनै डाँडा खाली छैन, जहाँबाट उनले प्याराग्लाइडिङ नगरेको होस् ।

उनले १४ वर्षकै उमेरमा प्रतियोगिता खेल्ने अवसर पाए । सन् २०१५ मा भारतरको वीर बिलिङमा भएको विश्वकप च्याम्पियनसिपमा उनी एयर मार्सलको रूपमा सहभागी भए । एक वर्षपछि पोखरामै प्याराग्लाइडिङको नेपाल च्याम्पियनसिप भयो । त्यसमा पनि उनी सहभागी भए । प्रतियोगितामा भाग लिन उनी चीन, दक्षिण कोरिया, इन्डोनेसिया र भारतसम्म पुगेका छन् ।

वर्ल्ड प्याराग्लाइडिङ र्‍याङकिङ सिस्टमअनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर पाएको अंकका आधारमा उनी एसियाड खेल्ने प्याराग्लाइडिङको राष्ट्रिय टिममा परे । नेपालले प्याराग्लाइडिङको क्रसकन्ट्रीमा रजत पदक जित्दा सर्वाधिक अंक उनैले जोडेका थिए । नेपालको टिम जापानसँग २७ अंकले मात्रै पछि परेको थियो । खेल सकिन दुई दिन बाँकी रहँदा तेस्रो स्थानमा रहेको नेपाललाई अन्तिम दिनमा उनले अंक जोडेर दोस्रोमा पुर्‍याएका थिए ।


एसियाडपछि उनको चर्चा चुलियो । नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको १६ औं पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा उनले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते । त्यसै वर्ष पोखरा स्पोटर््स अवार्डमा पुरुषतर्फ वर्ष खेलाडी घोषित भए । दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार २०७५ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड उनैले पाए ।

१२ कक्षामा पढ्दै गरेका उनी फुर्सदमा बुबाको प्याराग्लाइडिङ कम्पनीमा सघाउँछन् । यात्रुको चाप हुँदा व्यावसायिक उडान भर्छन् । लकडाउन खुलेपछि पहिलेजस्तै पर्यटक आउनेमा उनलाई शंका छ । पर्यटनमा पुनः सुधार आए नेपालमै बस्ने सोचमा छन् उनी । ‘चीनमा पनि प्याराग्लाइडिङको राम्रो सम्भावना छ,’ उनले भने, ‘धेरै चिनजानका साथीहरू उतै भएकाले १२ पास गरेपछि जानुपर्छ कि भन्ने पनि सोचेको छु ।’

भूपालकुमार पनि छोराले प्रतियोगिताहरूमा भाग लिन नपाएकामा चिन्तित छन् । कोरोना कहर चाँडै सकिएर फेरि पहिलेकै जस्तो दिन फिर्नेमा उनी आशावादी छन् । ‘खेलक्षेत्र नै कता जाने हो भन्ने चिन्ता छ,’ उनले भने, ‘पर्यटन पुनर्जीवित भए प्याराग्लाइडिङ पनि पहिलेकै जस्तो हुने थियो ।’

प्रकाशित : वैशाख १९, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?