२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

फुटबल लामो समय प्रभावित हुन सक्ने

एजेन्सी

नियोन — कोभिड-१९ को महामारीका कारण अन्तर्राष्ट्रिय फुटबल क्यालेन्डर दुईदेखि तीन वर्ष प्रभावित हुन सक्ने युरोपेली फुटबल महासंघ (यूईएफए) का सदस्य लार्स क्रिस्टर ओल्सनले बताएका छन् ।

फुटबल लामो समय प्रभावित हुन सक्ने

युरोपिन लिगका पनि अध्यक्ष रहेका उनले कोरोना महामारीको हिसाबकिताब आउन बाँकी रहेकाले २०२२ मा हुने भनिएको कतार विश्वकपसहित प्रतियोगिता ‘पर्ख र हेर’ को स्थितिमा रहेको जनाए ।

यूईएफएले च्याम्पियन्स लिग र युरोपा लिग अगस्टसम्म सम्पन्न भइसक्ने आशा लिएको छ । यो सम्भव छ कि छैन भनेर यूईएफएले मे अन्त्यमा निर्णय लिनेछ । युरो २०२० को छनोट चरण र नेसन्स लिगका खेल यसअघि नै अर्को वर्षलाई सारिएको छ । ओल्सनले आफूले नयाँ सिजन सुरु हुनुअगाडि वर्तमान सिजनको खाका हेर्न चाहेको जनाए ।

‘अहिलेको स्थितिमा अन्तर्राष्ट्रिय फुटबल सम्भवतः दुई-तीन वर्ष अझै प्रभावित हुन सक्छ ।’ यसअघि उनले बीबीसी रेडियोमा घरेलु लिगमा कोरोना महामारी र सम्बन्धित सरकारको निर्णयका कारण फरक स्थितिको सामना गर्नुपरेकाले निर्णय आउन समय लागिरहेको जनाएका थिए ।

फ्रान्सको शीर्ष दुई डिभिजन लिग वान र लिग टू यस सिजनमा नहुने भइसकेको छ । फ्रान्स सरकारले सेप्टेम्बरसम्म कुनै खेल गतिविधि गर्न नपाउने बताएपछि लिग वान र टू को सिजन समाप्त गर्नुपरेको थियो ।

सरकारको निर्णयअनुसार दर्शकबिना पनि खेल आयोजना गर्न नपाउने नियम थियो । डच लिगको शीर्ष डिभिजन पनि यसअघि नै कुनै च्याम्पियन तथा कुनै बढुवा र घटुवा लिग नराखी स्थगित भइसकेको छ ।

पेरिस सेन्ट जर्मेन र अयाक्सजस्ता क्लबले महिनौं खेल्न नपाउँदा यसले कस्तो असर पार्छ र युईएफएले यसमा कसरी सन्तोषजनक निर्णय गर्न सक्छ भन्नेमा उनले भने, ‘अहिले यो भन्न निकै गाह्रो छ । तर यो असाधारण स्थिति हो, यसमा हामी सचेत छौं । त्यसमा कुनै ठोस समाधन पनि छैन ।’

विश्वकपमा आउन दुई वर्ष बाँकी नरहेकाले यो पनि प्रभावित हुनसक्छ भन्नेमा ओल्सनले भने, ‘भाइरस अझ गम्भीर भएर विकसित भएमा अन्तर्राष्ट्रिय फुटबलमा यसले निश्चित रूपमा समस्या थप्नेछ । केही प्रतियोगिता एक वर्षबाट अर्को वर्षलाई सरेको छ । त्यसै पनि युरोपेली लिगको मध्यसिजनमा कतार विश्वकप हुन गइरहेको छ । घरेलु लिगमा पनि खेलिरहेको समयमा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्नुपर्ने हुन्छ । यसले कतिको असर पर्छ त्यो पनि पर्ख र हेरकै स्थितिमा छ ।’

प्रकाशित : वैशाख १९, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?