ओलम्पिक, महामारी र फिटनेस

राजु घिसिङ

काठमाडौँ — ग्रीष्मकालीन ओलम्पिकको ३२ औं संस्करण टोकियोमा २४ अगस्ट, २०२० देखि हुने निश्चित थियो । तर, विश्व खेलकुदको महाकुम्भलाई कोरोना भाइरस (कोभिड-१९) को महामारीले एक वर्ष पछाडि धकेलिदियो ।

ओलम्पिक, महामारी र फिटनेस

ओलम्पिक पहिलोपल्ट सारिएको निर्णय भएको पनि एक महिना भइसक्यो । यो एक वर्षको अवधिलाई पौडी खेलाडी गौरिका सिंह ओलम्पिक तयारीको रूपमा ट्रेनिङमा उपयोग गर्ने बताउँछिन् ।

गत मंसिरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमान ४ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेकी गौरिका भन्छिन्, ‘टोकियो ओलम्पिक एक वर्ष सार्ने निर्णयलाई हामी कसैले नियन्त्रण गर्न सक्ने थिएन । यसैपालि ओलम्पिक हुने थियो भने यो नै अन्तिम तयारीको अवधि हुन्थ्यो । त्यसैले ओलम्पिक स्थगित हुँदा धेरैलाई गाह्रो हुनसक्छ । तर, मलाई यो एक वर्षमा धेरै गर्न सक्छु भन्ने लाग्छ किनभने उही प्रशिक्षकसँग एक वर्ष ट्रेनिङ गर्दैछु ।’

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले टोकियो ओलम्पिकका लागि सहभागी हुनैपर्ने (युनिभर्सालिटी) कोटामा पौडीमा गौरिकालाई सिफारिस गरिसकेको छ । त्यसैले उनको टोकियो ओलम्पिकको यात्रा सुनिश्चित देखिएको हो । रियो ओलम्पिक-२०१६ मा ११ हजार बढीमध्ये सबैभन्दा कान्छी खेलाडीको रूपमा खुबै चर्चा पाएकी उनी बेलायती राजधानी लन्डनमा बस्छिन् ।

१३ औं सागमा कीर्तिमानी ४ स्वर्ण, २ रजत र ३ कांस्य जितेकी पौडी खेलाडी गौरिका सिंहले बेलायतमा लकडाउन लागू गरिएपछि फिटनेसका लागि घरमै विभिन्न किसिमका व्यायाम गरिरहेकी छन् । उनले फिटनेस ट्रेनिङका लागि स्पिनिङ बाइक र पुलअपका आवश्यक सामग्री किनेर अभ्यास गरिरहेकी छन् ।

बेलायतमा लकडाउन लागू गरिएपछि गौरिकाले फिटनेसका लागि घरमै विभिन्न किसिमका व्यायाम गरिरहेकी छन् । १७ वर्षीया उनी भन्छिन्, ‘पहिला सातामा ६ दिन ट्रेनिङ गर्थे । नौ सेसनमा १६ घण्टाजति खेल्थें । तर, कोभिड-१९ को कारण स्वीमिङ पुल बन्द भएको ४० दिन भइसक्यो । फिटनेसको ट्रेनिङ घरमै गरिरहेकी छु । स्पिनिङ बाइक र पुलअपका आवश्यक सामग्री किनेका छौं ।’त्यहीकै क्याम्डेन स्वीस कटेज स्वीमिङ क्लबमा प्रशिक्षक एडम टेयलरसँग ट्रेनिङ गरिरहेकी उनको नियमित अभ्यासलाई अहिले कोभिड-१९ ले बिथोलेको छ । १३ वर्षको छँदै १२ औं सागमा १ रजत र ३ कांस्य हात पारेकी उनले ४० दिनयता स्वीमिङ पुलमा खेल्न पाएकी छैनन् ।

पानीको खेल, जमिनमा ट्रेनिङ

प्रशिक्षक टेयलरले बनाएको कार्यक्रमअनुसार गौरिका फिटनेस ट्रेनिङ गर्छिन् । उनलाई पानीबिना नै स्वीमिङको तयारी गर्न गाह्रो भइरहेको छ । भन्छिन्, ‘जमिनमा गर्ने (खेलको) ट्रेनिङ सेटजस्तो छ । अलि गाह्रै भइरहेको छ । किनभने स्वीमिङ गर्नका लागि पानी नै चाहिन्छ । पानीको महसुस जमिनमा गर्ने ट्रेनिङमा हुँदैन । जमिनमा त्यो पानीको महसुस नै हराउँछ ।’

पानीमै खेल्न नपाएपछि प्रदर्शनमै पनि ठूलो असर पर्ने उनी बताउँछिन् । भन्छिन्, ‘एक साता स्वीमिङ नगर्दा प्रदर्शनमा तीन साता पछाडि पर्न जान्छ । घरको ट्रेनिङ राम्रै छ तर स्वीमिङमा पानी नै चाहिन्छ । यस खेलमा पानीको महसुस नै चाहिन्छ । तर, ४० दिन भइसक्यो लकडाउनको कारण पौडिन नपाएको । स्वीमिङमा एक महिना अभ्यास नगर्दा खस्किएको फर्म रिकभर गर्न ६ महिना लाग्छ । अब दुई-तीन महिना लकडाउन थपिएला, झनै समय लाग्ला ।’

प्रशिक्षक टेयलरले उनलाई दैनिक १ देखि डेढ घण्टाको फिटनेस ट्रेनिङ कार्यक्रम बनाइदिन्छन् । ‘तर मलाई त्यतिले पुग्दैन । त्योभन्दा धेरै नै ट्रेनिङ गर्छु । दिनभरि केही न केही गरिरहन्छु ।

दैनिक २-३ घण्टा फिटनेस ट्रेनिङ गरिरहेकी छु,’ उनले भनिन् । उनले १३ औं सागमा १ सय, २ सय, ४ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण चुमेकी थिइन् । दक्षिण एसियाली खेलकुदको एउटै संस्करणमा दुईभन्दा बढी स्वर्ण जित्ने उनी पहिलो नेपाली हुन् । उनले क्षेत्रीय खेलकुदको बृहत् प्रतियोगिताको इतिहासमा सर्वाधिक चार स्वर्ण विजेता दीपक विष्ट (तेक्वान्दो) को कीर्तिमान पनि बराबरी

गरेकी थिइन् । उनका भाइ सौरेन पनि पौडी खेलाडी हुन् । कक्षा ६ मा अध्ययनरत सौरेनका लागि पनि प्रशिक्षकले बेग्लै कार्यक्रम बनाइदिएका छन् । उनी पनि दिदीलाई साथ दिँदै घरमै फिटनेस ट्रेनिङ गर्छन् ।

अनलाइन क्लास

गौरिका ‘ए’ लेभलकी विद्यार्थी हुन् । ब्राम्पटन कलेजकी यी छात्राले बेलायतमा लकडाउन सुरु भएयता ‘अनलाइन क्लास’ लिइरहेकी छन् । भन्छिन्, ‘म एकदम भाग्यमानी छु किनभने कलेजले सबै क्लास अनलाइनबाटै गरिरहेको छु । सोमबारदेखि शुक्रबारसम्म स्कुलमा जस्तो दैनिक तालिका हुन्थ्यो, अहिले घरमा पनि त्यस्तै हो । सामान्यतः बिहान ९ बजे कक्षा सुरु हुन्छ र दिउँसो ३ बजे सकिन्छ ।’

११ वर्षको छँदै राष्ट्रिय खुला पौडी प्रतियोगितामा सात स्वर्ण जित्नेक्रममा आठपल्ट राष्ट्रिय कीर्तिमान बनाएर सनसनी मच्चाउँदै स्वीमिङजगतमा प्रवेश गरेकी गौरिकाले त्यसयता सबैभन्दा बढी समय घरमै बस्ने अवसर पाएको यसैपालि भएको बताउँछिन् आमा गरिमा राणा । ‘पहिला छोरीलाई स्कुल र स्वीमिङको ट्रेनिङ गर्दागर्दै फुर्सद कमै मिल्थ्यो । घरमा यसरी बस्नै पाएकी थिइनन्,’ गरिमाले भनिन् ।

खाना पकाउन सिक्दै


फिटनेस ट्रेनिङ र पढाइबाहेक अरु समय कसरी बित्छ त ? गौरिका भन्छिन्, ‘ममीसँग नेपाली खाना बनाउन सिकिरहेकी छु । दाल-भुजा बनाएँ । आलु तारेको बनाएँ । बोडी (तरकारी) बनाउन पनि सिकें । सबै राम्रो भयो । तर, मीठो पकाउन अभ्यास चाहिन्छ । स्वीमिङ सुरु भएपछि मसँग त्यस्तो समय नै हुँदैन ।’ उनको मनपर्ने खाना पनि हो दालभात र तारेको आलु ।

उनले केक र स्वीट बनाइरहेको फोटो र भिडियो पनि सामाजिक सन्जालमा अपलोड गरेकी थिइन् । ‘लो फ्याट र लो सुगरवाला केक र स्वीट बनाएको हो,’ आफ्नो खानपिनमा पनि ध्यान दिएकी उनले भनिन्, ‘हामीले धेरै बनाएको जस्तो देखिन्छ तर पोषण मिलाएको हुन्छ ।’

पोजिटिभ माइन्डसेटको खाँचो

गौरिकाका बुबा पारस लन्डनस्थित रोयल फ्री हस्पिटलका युरोलोजिस्ट हुन् । उनलाई कोभिड-१९ संक्रमण भयो । घरमै आइसोलेट भएका उनी निको भएर पनि काममा फर्किसकेका छन् । कोभिड-१९ लाई कसरी जित्ने त ? ‘पोजिटिभ माइन्डसेट लिनुपर्छ,’ कोभिडको औषधि पत्ता नलागेको सन्दर्भमा गौरिका भन्छिन्,

‘मृत्युदर धेरै उच्च छैन । तर, स्वस्थ मान्छे पनि मर्छ । त्यसैले यसलाई हामीले पोजिटिभ लिनुपर्छ । सबैले संक्रमितलाई सपोर्ट गर्नुपर्छ । उनीहरूलाई तातो र राम्रो पोषणयुक्त खाना दिनुपर्छ । ठीक भइहाल्छ ।’

बुबालाई संक्रमण भएप्छि घरमै बस्दा आफ्नो परिवारका लागि दुई सातासम्म खानेकुरालगायत आवश्यक सामग्री छिमेकीहरूले ल्याइदिएको पनि उनले सुनाइन् ।

‘बुबा फेरि काममा गइसक्नुभयो । फेरि त्यस्तो (संक्रमण) हुनसक्छ । हामीले गुनासो गर्नु हुँदैन । किनभने उहाँले धेरै मान्छेलाई सहयोग गरिरहनुभएको छ,’ चिकित्सक बुबाको जिम्मेवारीबारे उनले सुनाइन् । बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सन र युवराज चार्ल्सलाई पनि कोभिड संक्रमण भएको थियो । दुवै जना निको भइसकेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बेलायतमा मंगलबारसम्म १ लाख ५७ हजार बढीमा संक्रमण भएको छ भने २१ हजार बढीले ज्यान गुमाइसकेका छन् ।


बेलायतले ढिला लकडाउन गरेकाले ठूलो क्षति बेहोर्नुपरेको गौरिकाको ठम्याइ छ । ‘अहिले पनि बेलायतले सीमा बन्द गरेको छैन । हिथ्रो एयरपोर्टबाट दैनिक हजारौं मानिस स्वास्थ्य परीक्षणबिना प्रवेश गरिरहेका छन्,’ चिन्तित हुँदै उनले भनिन्, ‘नेपाल सरकारले कोरोना भाइरसबाट बच्न चाँडै लकडाउन गर्‍यो । यसलाई हामीले राम्रो मान्नुपर्छ । सरकारले राम्रो गर्दा साथ दिनुपर्छ ।’

बेलायतको लकडाउनमा कडाइ नभएको उल्लेख गर्दै उनले भनिन्, ‘सपिङ र व्यायामका लागि बाहिर जान मिल्छ तर सामाजिक दूरी कायम राख्नुपर्छ । दैनिक ८-९ सय मान्छे मरिरहेकाले डर लागिरहेको छ । मान्छेहरूले सरकारलाई साना बिजनेस खोल्न दबाब दिइरहेका छन् । तर, यति धेरै मान्छे मरिरहेको बेला अहिले नै खोल्नु राम्रो हुँदैन होला ।’

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको यो महामारीले विश्व खेलकुदलाई नै ठप्प पारेको छ । प्रतियोगितामा महामारीले पारेको असरबारे उनी भन्छिन्, ‘यस्तो बेला गेम सोच्नु हुँदैन, पोजिटिभ माइन्डसेट मात्रै लिनुपर्छ । यति धेरै मानिसहरू मरिरहेको बेला पनि आफ्नो गेम गर्नु र सोच्नु स्वार्थी हुन्छ ।’

प्रकाशित : वैशाख १७, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?