कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कस्ता थिए मुरली, तथ्यांक बोल्छ

गतसाता जन्मदिन पर्ने पूर्वक्रिकेट खेलाडीमा श्रीलंकाली बलर मुथैया मुरलीधरन पनि थिए । उनको जन्म सन् १९७२ को अप्रिल १७ मा भएको थियो । रोयटर्सले उनलाई फेरि एकपल्ट सम्झने प्रयास गरेको छ ।
रोयटर्स

कोलम्बो — ब्याटिङ महारथी सचिन तेन्दुलकरले एकपल्ट खुबै भनेका थिए, ‘कसैले तिमीतर्फ ढुंगा प्रहार गर्छ भने त्यसको उत्तर उत्कृष्ट प्रदर्शनबाट गर ।’ यो भनाइ सबैभन्दा बढी कसैमा ठ्याक्कै मिल्छ भने त्यो श्रीलंकाली स्पिनर मुथैया मुरलीधरनमा मिल्छ, यी खेलाडीको जीवनमा मिल्छ । आधुनिक क्रिकेटमा उनी जतिको सुक्ष्म निगरानीमा कमै रहे । खासमा उनको बलिङ शैलीमै विवाद थियो । सबै मुरलीको त्यस शैलीबारे आ–आफ्नो फरक धारणा पोख्थे ।

कस्ता थिए मुरली, तथ्यांक बोल्छ

त्यसैले त उनी लगातार विवादमा पनि परे । यी अफ स्पिनरको बलिङ शैलीबारे धेरै प्रश्न उठेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले धेरै परीक्षणसमेत गर्नुपरेको थियो । युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियामा भएको परीक्षणमा उनी सर्टलेस भएर गुज्रिनुपरेको थियो । यसक्रममा उनका हातमा सेन्सर थिए, चारैतर्फ क्यामरा पनि । बायोमेकानिलक विशेषज्ञले मुरलीको शारीरिक स्थितिबारे गहन परीक्षण गरेको अवसर थियो, त्यो ।

मुरली आफैं भने आफ्नो खेलजीवन जोगाउन संघर्षरत थिए । एक अर्को अवसरमा उनले टीभी क्यामेराअगाडि बलिङ गर्नुपरेको थियो । उनको हातमा स्टिलको पाता थियो र उनी सिद्ध गर्न चाहन्थे । उनको बलिङ हात जति कोणले बाँगिएको थियो, त्यो प्राकृतिक थियो । उनले जानाजान गरेका थिएनन् । अहिले आएर उनी कस्ता बलर थिए भने खोजीनीति गर्नु छ भने उनको खेल तथ्यांकले नै बोल्छ । यो नै पर्याप्त छ, साँच्चै मुरली कस्ता थिए भनेर ।

उनले टेस्ट क्रिकेटमा कीर्तिमान ८ सय विकेट लिए अनि एकदिवसीय क्रिकेटमा ५ सय ३४ । विश्व क्रिकेटमा यो कोसेढुंगा प्रदर्शनको रूपमा छ । दुवै फरक ढाँचाको क्रिकेटमा यतिको प्रदर्शन गर्नुले उनले कति मिहिनेत गरेका थिए भनेर प्रस्ट हुन्छ । यो वास्तवमै यस्ता प्रदर्शन हो, जसलाई टेस्ट क्रिकेटमा डन ब्रेडम्यानको ९९.९४ रनको औसतसँग तुलना गर्न मिल्छ । अझ भनौं, दुवै उस्तै समान खालका उपलब्धिका प्रदर्शन हुन् ।

सम्भवत: दुवैको बराबरीमा कोही आउने छैनन् । एउटा बलरका रूपमा क्यान्डीबाट विश्व क्रिकेटमा उनको उदय अनौठो छ भन्दा हुन्छ । क्रिकेटमा पारम्परिक रूपमा तीव्र गतिका बलर त्यस्ता अस्त्र हुने गर्छन्, जसले विपक्षी टिममा डर उत्पन्न गराउने गर्छ । तर मुरली नै यस्ता बलर हुन्, जसले स्पिनरका रूपमा विपक्षी टिमका खेलाडीको सातो लिए । बलिङ गर्दा उनका आँखा खुबै चम्कने गर्छ । त्यसले खाउँला जस्तै गर्छ, उनको धारिलो बलिङ जत्तिकै । एकपल्ट श्रीलंकाका पूर्व कप्तान दिलीप मेन्डिस भन्थे, ‘मुरली कंक्रिटमा पनि बललाई घुमाउन सक्छन् ।’ यो वास्तवमै बढी बोलिएको पनि होइन । खासमा यो जादु हो, उनको रबर जस्तै तन्कन सक्ने नाडी अनि उत्तिकै बलियो काँधको । उनले बलिङ गर्दा खासमै पिच कस्तो थियो, त्यसको अर्थ हुने गर्दैन । ब्याट्सम्यानका लागि त उनको सामना गर्नु असम्भवजस्तै हुने गर्छ । यसैबीच पनि उनको बलिङ शैली भने कहिल्यै पनि विवादबाट टाढा रहेन ।

अस्ट्रेलियाली अम्पायर डारेल हेयरले सन् १९९५ मा उनलाई सातपल्ट नो–बल दिए । अवसर थियो मेलबर्नको टेस्ट । त्यसको १० दिनपछि रस एमरसनले पनि एकदिवसीय खेलमा मुरलीलाई नो–बल दिए । सन् १९९९ को जनवरीमा पनि यिनै एमरसनले एडिलेडमा फेरि एकपल्ट मुरलीलाई नो–बलको निर्णय सुनाए । जति–जति बेला मुरली बलिङका लागि तयार हुन्थे, अस्ट्ेरलियाली दर्शकदीर्घाबाट चर्को आवाज सुनिन्थ्यो– नो–बल, नो–बल र नो–बल ।

हाम्रा मुरली

सन् १९९५ के यो नो–बलको घटना एक अर्थमा श्रीलंकाली क्रिकेटका लागि सञ्जीवनी साबित भयो किनभने ईखले खेलेको श्रीलंकाले त्यसको एक वर्षपछि एकदिवसीय विश्वकप जितेको थियो। उनका साथी कुमार सांगकाराले विज्डन पत्रिकाका लागि लेखेका छन्, ‘मुरलीविरुद्ध दिइएको नो–बलकै कारण हामीलाई त्यस विश्वकपमा राम्रो प्रदर्शन गर्न प्रेरितगरको थियो। अझ भनौं उक्साएको थियो। यसले हामीलाईबलियो टिम बन्न मद्दत गरको थियो।’ त्यो नो–बलको घटनापछि श्रीलंकाली टिममा हाम्रो टिम भन्ने भावना विकास भएको थियो अनि सबै भन्थे, हाम्रा मुरली । श्रीलंकाली टिममा जुनसुकै बलियो विपक्षीलाई पनि हराउन सक्ने आत्मविश्वास यसले दिएको थियो।

भनिरहनुपर्दैन, यसको कारण पनि त तिनै मुरली र उनको खेल थियो। सन् २००२ मा पनि विज्डनले मान्यो, मुरली विश्व क्रिकेट इतिहासकै अग्रज बलर हुन्, अस्ट्रेलियाका लेग स्पिनर शेन वार्नभन्दा पनि अगाडि । अहिले पनि श्रीलंकाली क्रिकेट भनेपछि मुरलीको नाम अगाडि आइहाल्छ । यसको कारण पनि धेरै छन् । जतिबेला र जुनसुकै परिस्थितिमा पनि मुस्कुराइरहेकोदेखिने मुरलीले श्रीलंका टिममा तमिल जनता र क्षेत्रको प्रतिनिधित्व गरिरहेका थिए । त्यसै कारण पनि श्रीलंकाली टिमका लागि मुरली एकताको प्रतीक पनि थिए । श्रीलंकाली टिमले गाह्रो समयको सामना गर्दा मुरली वास्तवमै टिमलाई जोड्ने सेतु थिए ।

प्रकाशित : वैशाख १५, २०७७ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?